अपाङ्गता पूर्व जन्मको पाप होइन (भिडियोसहित)

यहाँ पाइला पाइलामा च्यालेन्ज छ। तर, पनि हार खाएका छैनन् अपाङ्गता भएका व्यक्तिहरुले। ग्लोबल आइटी फर युथ डिस्याब्लिटी च्यालेन्जले २०७५ मा भारतको नयाँ दिल्लीमा ई-क्रिएटिभ च्यालेन्जको आयोजना गरेको थियो।

त्यस खेलमा नेपाल पनि सहभागी थियो। उक्त खेलमा दुई जना दृष्टिविहीन र २ जना बहिराहरूले भाग लिएका थिए। खेलमा ४ देशको सहभागिता थियो। अपाङ्गता भएका व्यक्तिलाई प्रोग्रामिङ् पद्धतिबाट गेम बनाउन एक्सेलको हिसाबलगायत अन्य च्यालेन्जका कामहरु दिइएको थियो।

आर्य निरौलाको टिमलाई इक्रिएटिब च्यालेन्ज कम्पटिसनमा भएका सबै कुराहरुलाई कन्भर्ट गरेर क्रिएटिभिटी थपेर एउटा पाँच मिनेटको भिडियो बनाउन दिएको थियो। त्यो पनि आँखा नदेख्ने र कान नसुन्नेलाई। तपाई आफैं कल्पना गर्नुस् एकछिन, आँखाले देख्न नसक्ने र कानले सुन्नेको कम्युनिकेशन कसरी भयो होला? के तपाईँ सजिलै पत्याउनु हुन्छ? अनुमान लगाउन सक्नुहुन्छ? सायद यो प्रश्नले तपाईँ अलमलमा पर्नु भयो होला। त्यस प्रतियोगितामा भाग लिनेहरुलाई ६ दिन सम्मका लागि आयोजक देश कोरियाले फोन उपलब्ध गराएको थियो। जन्मजात दृष्टिविहीन निरौलालाई बहिराहरुसँग कम्युनिकेसन गर्नु पर्ने भयो।

जहाँ समस्या, त्यहाँ समधान भने जस्तै आर्यले कानले नसुन्ने बहिरासाथिहरुसँग सामाजिक सञ्जालबाट कम्युनिकेशन गर्न थाले। सञ्जालले गर्दा कम्युनिकेशन गर्न सहज भयो। काम बाँडफाँड गर्ने क्रममा पाँच मिनेटको भिडियो बनाउन बहिरा साथिहरूलाई जिम्मा दिए। उक्त भिडियो साथिहरुले ल्याइसके पछि दृष्टिविहीन मधुसुधन र आर्यले त्यस भिडियोमा अडियो साउन्ड दिएर मिक्सिङ गरे। फलस्वरुप निरौलाको टिम दोस्रो भएर नेपालको नाम राख्न सफल भयो।

उनी सानैदेखि कम्प्युटर प्रविधिमा रूचि राख्थे। निरौलाले अडियो मिक्सिङ र सामान्य भिडियो मिक्सिङ पनि जानेका छन्। २०६३ मा काठमाडौं आएका उनीले २०७५ मा कीर्तिपुरको ल्याब स्कुलबाट एसइइ दिएका हुन्।

उनले परीक्षामा ए-प्लस ल्याएर पास भए। उनी काठमाडौंको कुमारी क्लबमा भाइ र ठुली आमासँगै बसिरहेका छन्। हाल गोल्डेनगेट कलेज बानेश्वरमा कक्षा ११ मा अध्ययन गर्दै छन्।

ब्रेलमा पढ्दै आएका उनी सानोमा पढ्न भन्दा खेल्न रुचाउँथे। कक्षा बङ्क हानेर खेल्न गएका कयौं दिनहरु आज पनि सम्झिरहन्छन्। ती दिन सम्झिदै भन्छन्, '२०६३ सालको साउन तिर ल्याव स्कुलमा भर्ना भए। त्यति बेला नर्सरीमा पढ्थेँ। पढ्न भन्दा पनि मलाई खेल्न औंधि मन पर्थ्यो। दुई कक्षामा पढ्दा एकदिन दुई घण्टी पछि सबै हापेर कसैले नदेख्ने ठाउँमा लुकेर बसे। अन्तिममा रोबट भन्ने सरले थाहा पाउनुभयो। धन्न पिट्नु भएन।' ल्याब स्कुलमा दृष्टिविहीन मात्र नभएर साङ्ग विद्यार्थीहरू पनि पढ्ने गर्छन्।

उनको घर सुनसरीको धरान उपमहानगरपालिका -१६ मा पर्छ। उनी सानैदेखि विद्यालयका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन्थे। स्कुलको परीक्षामा टप टेन भित्र पर्थे।
उनका बाबा नेपाल प्रहरीको रिटायर्ड हुन्। आमा नेपाल प्रहरी गाईघाटमा कार्यरत छिन्। पाँच वर्षको हुँदा निरौलाले आमाको काख छोडेका थिए। आमाले हवाई जहाजको टिकट काटेर काठमाडौं पठाएकी थिइन्।

आफूले चाहेको विषय दृष्टिविहिन भएकै कारण पढ्न नपाएकोमा उनी दुःखी छन्। बिएल नेपालीसँगको कुराकानीमा भने, 'नौ कक्षा पढ्दा मलाई कम्प्युटर विषय पढ्न रूचि बढेर आयो। तर स्कुलकै शिक्षकहरुले यो आँखा देख्दैन र नदेख्नेहरुलाई गाह्रो हुन्छ भनेर पढ्न दिनु भएन।' उनी थप्छन्, 'हामीलाई समाजले स्वीकार्यो तर, विश्वास गरेन। बाटोमा हामी हिँड्दै गर्दा वा कोहीसँग बोल्दै गर्दा मानिसहरु प्रश्न गर्छन्, तिमीहरु कसरी लुगा धुन्छौ? अनि कसरी आफ्नो काम गर्न सक्छौ?'
क्षमता भएर पनि दृष्टिविहीनहरू पछि परेको उनको तर्क छ। उनी मिस नेपालको उदहारण दिँदै भन्छन्, 'नेपालमा यस्तै विभिन्न कार्यक्रमहरुको आयोजना हुनेगर्छ। तर दृष्टिविहीनहरु कतिबेला आफैं अघि सर्दैनन्।'

उनीकी ठूली आमा काठमाडौंको ल फर्ममा काम गर्छिन्। परिवारको साथ सहयोग पाएर खुसी रहेका उनी भन्छन् 'अपाङ्गता पूर्वजन्मको पाप होइन। मानिस दुर्घटनाले पनि अपाङ्ग हुनसक्छ। दया घृणाभन्दा पनि माया गर्नुपर्छ। अवसर दिनुपर्छ।'

माइक्रोबसबाट ओर्लिएर सेतो छडी चलाउँदै गाडी नहिड्ने सडक छेउबाट। फोन गरे, 'सर म आइसकेँ' भनेर। त्यसको दश मिनेट पछि मेरो नजिक एउटा अपरिचित आवाज आयो। 'म आर्य दाइको भाइ' भन्दै। आवाजका भाइले हात समाएर घरतिर लिए। करिब पाँच मिनेट हिँडेपछि उनीसँग भेट भयो।

दृष्टिविहीनहरूले पढ्ने लिपिलाई ब्रेल भनिन्छ। उनले स्कुलमा भर्ना भइसकेपछि सिलेट स्टाइलसलाई छुँदा काँटी जस्तै लागेको, स्पर्स गर्दा अचम्मको लाग्ने बताए।

डाक्टरले उनलाई 'तिमी आँखा देख्दैनौं' भनेका थिए। बाल्यकालमा आफू दृष्टिविहिन हो भन्ने उनलाई लाग्दैन थियो। धरानबाट काठमाडौं आइसकेपछि पनि उनी धरानकै अनुभूति गरिरहेका थिए। साथीहरुसँग खेल्न खोज्दा तिमी सक्दैनौं भनेर खेलमा मिसाउन चाहादैनथे। जबर्जस्ती साङ्गहरुको ग्रुपमा मिसिन्थे। सात वर्षको हुन्जेलसम्म उनलाई आफू दृष्टिविहीन हुँ भन्ने लाग्दैन थियो। साथीहरूसँग खेल्दा खाल्डोमा लडे। 'त्यो बेला मैले आँखा नदेख्ने रहेछु भनेर थाहा पाएँ,' उनले भने।

त्यसपछि भने होस्टेल वरिपरि नै खेल्थे। ठूली आमाले होस्टेलमा भेट्न आउँदा 'भोलि घर जाने है म लिन आउँछु' भनेर फकाउँथिन्।' तर लिन नआउँदा उनलाई नरमाइलो लाथ्यो। १० वर्षको हुँदा उनलाई थाहा भैसकेको थियो, 'मैले हेस्टेलमा बसेर पढ्नुपर्छ' भनेर। उनी पढाइमा निकै तेज छन्। मेहनति पनि उत्तिकै। पछि भने उनका लागि सबै सहज बन्दै गयो। आमा बुवा प्रहरीमा कार्यरत भएका कारण उनी छिमेकी आन्टीहरुकोमा बस्थे।

छिमेकी आन्टीहरुले आफ्नो रेखदेख गरेको बताउने उनी भन्छन्, 'आमालाई खोज्न कति बेला माओवादी घरमा आउँछ भन्ने, कसैलाई थाहा थिएन। बेलाबेलामा माओवादी घरमा आमालाई खोज्न आइरहन्थे। त्यो बेला देशमा युद्व चलिरहेको थियो।'

आमा धेरै जसो अफिसतिरै बस्नुहुन्थ्यो। कहिलेकाहीँ लुकेर घरमा आउनु हुन्थ्यो। युद्व सम्झिदै भन्छन्, '२०६२ सालतिर म आमाको काखमा लुटपुटिएर सुतिरहेको थिए। रातको समयमा घरमा माओवादी आए। ठूली आमालाई सोधे यज्ञकुमारी खै? भनेर, उहाँले अफिसतिर छ भनेपछि उनीहरु लागे। त्यो दिन आमा संयोगले बाँच्नुभयो।'

निरौलाले प्राप्त गरेका पुरस्कारहरु कोठाको भित्ताहरुमा झुण्डाइएको छ। ती सबै मलाई यता/यता छन् भनेर महसुस गराए। सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्प्युटर प्रविधि त ल्यायो। तर विकट बस्तिहरुमा पुगेर सेवा दिन सकिरहेको छैन।

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर