बौद्धको एउटा स्कुल, जहाँ दूर्गम हिमालका ५ सय बढी केटाकेटी निःशुल्क पढ्छन् (भिडियोसहित)

सानोमा छिरिङ लामाको दिनचर्या चीनसँग सीमा जोडिएको उत्तरी गोर्खाको ल्हो गाविसमा भेडा–गोठाला गरेर बित्यो। उनलाई लाग्थ्यो, संसार यत्ति हो। परिवारको दूरावस्था पनि उस्तै। शिक्षाप्रति उनी पूरै निस्फिक्रि थिए।

यति बेला उनको परिचय बदलिएको छ। सानोमा गोर्खाको दूर्गम गाउँमा भेडा–गोठाला गरेर बसेका उनै छिरिङ अहिले आफू जस्तै दूर्गम र हिमाली क्षेत्रका बालबच्चालाई शिक्षाको उज्यालो र महत्व सिकाउँछन्।

र, यो अवसर जुरेको छ, काठमाडौंको बौद्धस्थित श्रीमंगलद्धीप हाई स्कुलमा। लामा गुरु खेन्छेन ठाङ्गु रिन्पोछेले ३२ वर्षअघि नेपालको हिमाली क्षेत्रको भ्रमण गर्दा दूर्गम भेगका नेपालीहरूमा शिक्षाको कमि देखे। उनीहरूको आर्थिक अवस्था पनि निकै कमजोर थियो। नेपाली भएर पनि उनीहरू नेपाली भाषा बोल्दैन्थे।

हिमाली क्षेत्रको तीर्थाटनपछि खेन्छेन रिन्पोछेले सन् १९८७ मा काठमाडौंको बौद्धस्थित आफ्नो गुम्बा नजिकै एउटा स्कुल खोले। जुन स्कुलमा आज नेपालको दूर्गम हिमाली क्षेत्रका मात्र होइन, तराईका अभावग्रस्त परिवारका छोराछोरी गरेर ५ सय ४० विद्यार्थी निःशुल्क शिक्षा लिइरहेका छन्। र, यसमा पनि ४ सय जति त स्कुलमै बसेर अध्ययन गर्छन।

‘हाम्रो स्कुलमा ७० प्रतिशत विद्यार्थी हिमाली भेगका छन्। भौगोलिक विकटता भएको र सरकारले शिक्षा पुर्याउन नसकेको ठाउँका केटाकेटीलाई यहाँ पढाउन ल्याउँछौं,’ श्रीमंगलद्धीप स्कुलका प्रधानाध्यापक वान्चुक तेन्जिनले बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा भने–‘यहाँ नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामाजिक शिक्षा अनिवार्य छ। ऐच्छिक विषयमा तिब्बतीयन भाषालाई राखेका छौं।’

शिक्षा मन्त्रालयसँग स्विकृति लिएर स्कुलले नेपाली ‘सिलेबस’ अनुसार अध्यापन गराइरहेको छ।

सन् २००० मा गोर्खाको ल्हो गाविसबाट काठमाडौं छिरेका छिरिङ भन्छन्, ‘मैले यही स्कुलमा बसेर स्नातकसम्मको पढाई पुरा गरे। अहिले आफै पढेको स्कुलमा अध्यापन गराइरहेको छु।’ उनी आफू जस्ता विकट हिमाली जिल्लाका भाईबहिनीलाई पढाउन पाउँदा औधि खुसी लागेको बताउँछन्। ‘म पनि दूर्गम र गरिब परिवारबाट यहाँ आएको थिए,’ उनले भने।
छिरिङ जस्तै ड्वाङ डोल्मा लामा पनि ७ वर्षको उमेरमा गोर्खाबाटै यो स्कुलमा पढ्न आएकी थिइन। हालै स्विट्जरल्यान्डबाट छात्रवृत्तिमा अध्ययन सम्पन्न गरेर फर्किएकी डोल्मा कक्षा ८, ९ र १० मा पढ्ने बिद्यार्थीलाई अंग्रेजी भाषा अध्यापन गराउँछिन्।

‘गोर्खाको दूर्गम गाउँबाट आएर मैले यही स्कुलबाट उच्च शिक्षा लिए। विदेशसम्म पुगे। त्यसैले यहाँ अध्यापन गराउँदा सन्तुष्टी मिल्छ,’ उनले भनिन्।

मुगुकी याङछिङ डोल्मा तामाङ पनि ११ वर्षअगाडि अध्ययनका लागि आएकी थिइन। भर्खरै १० कक्षाको अध्ययन पुरा गरेकी उनी स्कुलकै लाइब्रेरीमा भोलिन्टियर गरिरहेकी छिन्। उनको सपना मनोचिकित्सक बन्ने छ। भन्छिन्, ‘मुगु जस्तो विकट जिल्लाबाट यहाँ ल्याएर मलाई निःशुल्क अध्ययन गर्ने मौका दिनुभयो। त्यसैले मेरो पनि कर्तब्य हुन्छ। खाली समय स्कुलमा सेवा गर्ने,’ उनले भनिन्।
स्कुलले यहाँ पढ्ने विद्यार्थीका लागि खाना, लत्ताकपडादेखि किताबसम्म सबै व्यवस्था आफैले गर्ने गरेको छ। फेरि यो स्कुलमा अध्ययन गर्ने विद्यार्थी पढाई पुरा नगरिकन हत्तपत्त घर फर्किन मान्दैनन्। यसको मुख्यकारण गाउँमा छिट्टै विवाह गरिदिने रितिरिवाज हो।

हालसम्म यो स्कुलबाट ४ सय बढी विद्यार्थीले एसएलसी परीक्षा उत्र्तिण गरिसकेका छन्। धेरै विद्यार्थी आफ्नो अध्ययन पूरा गरेर गाउँघरमा सेवा पनि दिइरहेका छन्। नेपाल सरकारले दूर्गम हिमाली क्षेत्रका नागरिकहरूलाई प्रभावकारी शिक्षा दिन नसकिरहेको अवस्थामा श्रीमंगलद्धीप स्कुलले करिब साढे पाँच सय विद्यार्थीलाई निःशुल्क शिक्षा दिनु आफैमा प्रशंसायोग्य काम हो।

प्रधानाध्यापक वान्चुक भन्छन्, ‘सरकारले हामीलाई आर्थिकरूपमा सहयोग नगरेपनि स्थानीय र जनस्तरमा केही सहयोग पाएका छौं। फेरि गुरु खेन्छेन रिन्पोछेको चेलाहरूले शिक्षा जस्तो पुण्यकाममा सहयोग गरिरहनु भएको छ। हामीहरूले पनि भोलिन्टियर काम गरेर गुरुको उद्देश्यलाई सघाइरहेका छौं।’

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर