जुडोका अन्तर्राष्ट्रिय पदकधारी खेलाडी दृष्टिविहीन आदित्य (भिडियोसहित)

पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरू विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएका छन्। सरकारी तहतक्का मात्र नभएर खेलकुदको क्षेत्रमा समेत उदाएको देख्न सकिन्छ। सुन्दा अचम्म लाग्न सक्छ। तर सत्य यो हो। दौड, क्रिकेट, जुडोजस्ता खेलहरूमा दृष्टिविहीनहरू पनि भाग लिइरहेका छन्।

आदित्य शेर्पा म जस्तै दृष्टिविहीन हुन्। क्रिकेट र जुडो खेल उनको रूचिको क्षेत्र हो। हुन त उनी जन्मजात दृष्टिविहीन होइनन्।

२५ महिनाको हुँदा दृष्टिविहीन हुन पुगे। शेर्पा अहिले ठूली आमासँग काठमाडौंको कोटेश्वरमा बस्दै आएका छन्। बिए पहिलो वर्षमा अध्ययनरत उनका सामाजशास्त्र र ग्रामिण विकास मुल विषय हुन्। उनी कोटेश्वर क्याम्पसमा पढ्दै छन्।

१९ वर्षे उनलाई क्रिकेट र जुडो खेल मनपर्छ। त्यसमध्ये जुडो उनको सबैभन्दा मनपर्ने खेल हो। यति मात्र नभइ उनी यसका अन्तर्राष्ट्रिय खेलाडी समेत हुन्।

दस कक्षा पढ्दा भारतले आयोजना गरेको अन्तर्राष्ट्रिय जुडो खेलमा सहभागी भएका थिए। त्यसबेला नेपालको तर्फबाट दृष्टिविहीनहरू आदित्य शेर्पा, किरण दाहाल र मनोज भट्टले प्रतिनिधित्व गरेका थिए।

उनीहरुलाई पारा जुडो संघले लगेको थियो। त्यो खेलमा शेर्पा दोस्रो भए। अन्तर्राष्ट्रिय स्तरको मेडल पाउँदा उनले हर्सका आँसु बगाएका थिए। भन्छन्, 'मेडल पाउँदा म धेरै खुशी थिएँ। मलाई आशा थिएन म दोस्रो हुन्छु भन्ने। किनकि भारतमा म नौलो थिए। त्यसमाथि ठूलो देशमा अब्बल खेलाडी होलान् भन्ने थियो। डर लागेको थियो। हार्छु होला भन्ने ठानेको थिएँ। तर जितेँ। मेडल थाप्दा आँसु बगे।'

उनलाई त्यो जित आफ्नो मात्र नभएर हामी सम्पूर्ण दृष्टिविहीन र सिंगो नेपालकै जित हो भन्ने लाग्छ। देश चलाउने नेताहरू देशको कुनाउ गर्छन्। बेइज्जत गर्छन्। सिमाना मिचिँदा चुइक्क बोल्दैनन्। तर, खेलाडीहरू देश चिनाउँछन्। आदित्यले देश चिनाए। त्यसबेला उनी सात दिनसम्म भारतमै बसेका थिए।

उनी जुडो खेललाई यसरी वर्णन गर्छन्, 'यो खेल आँखा नदेख्ने साथिहरूले पनि सजिलै खेल्न सक्छन्। आँखा देख्नेहरूलाई सङ्केतको माध्यमबाट जानकारी गराइन्छ भने आँखा नदेख्नेहरुलाई आवाजको माध्यमबाट जानकारी गराइन्छ। हामीले खेल्ने खेलमा रेफ्रीले दुई जना प्रतिस्पर्धीलाई साइड-साइडमा उभ्याइएका हुन्छन्। तर, खेल हुनु भन्दा पहिले एकअर्कोलाई छुन भने पाउँदैनन्। आँखा देख्ने र नदेख्ने सबैलाई जुडो खेलमा समान नियम हुन्छ।'

रेफ्रीले खेलको सुरूवात जापानी भाषामा गराउँछन्। 'हाइजेनी' भनेपछि खेलाडीहरु रेडी हुन्छन्। खेल्नका लागि दिमाग तेज हुनुपर्छ। त्यति गरेपछि आँखा नदेख्दा पनि जुडो खेल्न सकिन्छ। आदित्य यहीँ गरिरहेका छन्।

आदित्यको घर दोलखाको गौरीशंकर गाउँपालिका -६ मा पर्छ। उनको घरमा एक दिदी, एक बहिनी, भाइ र बाबा छन्। आमा हुनुहुन्न।

आमालाई डायरिया जस्तो सामान्य रोगले लग्यो। उनी सामान्य परिवारमा जन्मिएका हुन्। उनकी बहिनी मामाघरमा बसेर पढ्दै छिन्। सात कक्षामा पढ्ने भाइ बालाजुको एउटा घरमा काम गर्दै पढ्दै छन्। दिदी वैदेशिक रोजगारको लागि साइप्रस गएकि छिन्। बाबा काठमाडौंको डिडिसी दुध डेरीमा काम गरिरहेका छन्।

बाबाको रक्सी खाने बानीका कारण उनको माया पाउनु आकासको फल भएको आदित्य बताउँछन्। उनको दिमागमा यी कुराहरु खेलीरहेका हुन्छन्। यस्तो बेला उनी निकै भावुक हुन्छन्। कहिलेकाहिँ उनी आफैसँग प्रश्न गर्छन्, 'यदि ठूली आमा नभएको भए कसले मायाँ गर्थ्यो, अनि कस्ले खर्च दिन्थ्यो होला?' वैदेशिक रोजगारमा गएकि दिदीले कहिले काहीँ पैसा पठाउने गर्छिन्। आदित्य आमालाई सम्झिँदा बहुत दुःखी हुन्छन्।

आदित्य सानो हुँदा आमाले उनीहरुलाई पालनपोषणका लागि बाख्रा पालेकी थिइन्। आमाको निधन हुनेबेला उनी ११ कक्षामा पढ्थे र जुडो खेल्नका लागि मोहन गुरूसँग भारतको गुजरात गएका थिए।

मङ्सिर महिनामा भारत गएका आदित्यलाई दोस्रो अन्तर्राष्ट्रिय खेलमा भने दोस्रो हुन परेन। त्यो खेलमा उनी पहिलो भए। त्यो मैत्रीपूर्ण खेल भारतले आयोजना गरेको थियो। उनले फेरि देशको नाम विदेशमा चम्काए।

वीर गोर्खालीको परिचय दिए। मेडल पाउँदा हर्सले सगरमाथाको शिर चुमेको बेला आमाको मृत्युको खबर सुने। उनको भर्खरैको खुसी काँचको सिसा जस्तै भयो।

सब फिक्का लाग्यो। खुसी सबै आँशुमा परिणत भए। 'खुसी भनेको पुतली जस्तै हुँदोरहेछ। एकछिनको लागि आउँछ, अनि थाहै नदि गैहाल्छ।' आमाको निधन हुँदा नजिकै बस्न पाएनन्। आज पनि त्यो घटनाले झस्काइरहन्छ।

आज कसैले आमा भनेको सुने भने दुःखी हुन्छन् र आमा सम्झिन्छन्।

बानेश्वरको एनसेल सेन्टर नजिकबाट आदित्यले मलाई फोन गरे।  म आइसकेँ भनेर हतार-हतार गर्दै अफिसको भर्‍याङ् बाट ओर्लिएर सेतो छडि टेक्दै नजिकै पुगेर फोन गर्दा त उनी मेरै अगाडि रहेछन्।

जन्मेको २५ महिनामा बिरामी परेका उनलाई बाबा आमाले अस्पताल लैजानु भन्दा पनि धामीझाँक्रीकहाँ लिए। केही गरि पनि निको नभएपछि अस्पताल लगियो।

त्यतिबेला निकै ढिलो भैसकेको थियो।  डाक्टरले निको नहुने बताए। त्यसपछिका सात वर्षसम्म उनी घरमै गुम्सिन पुगे। पछि उनी दिदी सँगै गाउँको स्कुलमा पढ्न थालेका थिए, बाबाको सरूवा भयो। त्यसपछि नौलो सहर काठमाडौं आए।

त्यहाँ साथीहरू कोही थिएनन्। एक्लै बस्दा पट्यार लाग्ने भइसकेको थियो।

२०६३ सालमा उनी गाउँका बाजेसँग काठमाडौंको कीर्तिपुरस्थित टिएसडीसीबिडी (TSDCBD) नामकसंस्थामा आए। त्यहीँ ब्रेललिपि सिके र माध्यमिक तहको शिक्षा कीर्तिपुरको ल्याब स्कुलबाट पुरा गरे।

२०७३ मा एसईई परीक्षामा उनले ए ग्रेड ल्याए। गोल्डेन गेट कलेजबाट प्लस टु गरेका उनी सानो हुँदा टेबल टेनिस पनि खेल्थे।

नौ कक्षा पढ्नेबेलासम्म उनले जुडो खेलको बारेमा जानकारी हासिल गरेमा थिएनन्। प्रशिक्षणमा आउने गुरूहरुले दृष्टिविहीनहरुलाई खेलाउन सकिन्छ भनेर प्रशिक्षण थाले।

आकाश सुरूमा आफूलाई निकै गाह्रो भएको  बताउँछन्। सुरुवाती दिनलाई उनी यसरी सम्झिन्छन्, 'अरुले पछार्दा यस्तो दुख्थ्यो कि, मुटु नै निस्किए जस्तो लाग्थ्यो। तर, बिस्तारै सहज हुन थाल्यो।

आदित्य भारतमा मात्र नभएर २०७३ सालमा इन्डोनेसियाले आयोजना गरेको एसियन माइनस ६० को जुडो खेलमा पनि सहभागी भएका थिए। हवाई जहाजको यात्रा गर्दा पहिलो पटकमा डर लागे पनि पछि रमाइलो लागेको बताए।

अन्तर्रास्ट्रिय जुडो खेलाडी आदित्य दृष्टिविहीनका लागि जुडो प्रशिक्षक नभएकोमा दुखेसो पोख्छन्। उनी भन्छन्, 'हाम्रो लागि राम्रो जुडो प्रशिक्षक नभएकाले जुडो सिक्न निकै गाह्रो हुन्छ। सायद सरकारलाई पनि थाहा छैन होला हामी नदेख्नेहरू पनि जुडो खेल्न सक्छौं।

सरकार यो विषयमा गम्भीर भैदिए भविस्य सुनिश्चित हुने थियो।'

आदित्यले सुरुमा तालिम लिनेबेला १५ जना दृष्टविहीन साथिहरु थिए। तर पछि घटेर दुई तीन जना मात्रै बाँकी रहे। जुडो खेल्नका लागि बजेट कम भएकाले आफूहरुलाई गाह्रो भएको ठान्छन्। उनीहरुले जुडो सिक्ने ट्रेनिङ सेन्टर सोह्रखुट्टेमा छ। उनी कोटेश्वरबाट त्यहाँ पुग्छन्। बाटोमा भएका अव्यवस्थित गाडी, मोटरसाइकल, पोलहरुसँग ठोकिदै, ट्रेनिङ सेन्टर पुग्छन्। फर्किदा गाडि भाडा पनि हुँदैन। कहिलेकाहीँ गुरुले गाडी भाडा दिन्छन्। नत्र प्राय उहीँ नियति भोग्छन्।

यति धेरै अभावमा पनि आदित्य जुडो खेललाई जीवन बनाउन चाहन्छन्।

यो पनि हेर्नुहोस् 

‘छोरो हराए पो दुःख, नत्र क्या का दु:ख’ 

बाले बसको छतबाट ओढ्ने कम्बल, ओछ्याउने खसीको छाला, खाना पकाउने भाँडाकुडी र खाने सामलको भारी झारेर पिठ्यूमा बोके। र मलाई जुरुक्क उचालेर काखमा टाँसे। मेरा दुबै आँखाका डिलमा सुकेको माटोजस्तो सारो हातको हत्केलाले बगिरहेको नुनिलो पानी पुछ्दै भने -'छोरा, अरूले दिएको खाएर बेली हामी सप्पैको पैसा हरायो। अरुले दिएको खान हुन्न छोरा।'Details 

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर