डा. शान्तिप्रियाको जस्तो अवस्था अरू कसैको नहोस्! (भिडियोसहित)

मेरो १७ वर्षे पत्रकारिता जीवनमा सबैभन्दा बढी मनमा बिझेको विषय हो, डाक्टर शान्ति प्रिया उपाध्याय।

ललितपुरमा मेरो बसाईं र शान्ति प्रियाको घर!

यो पछिल्लो समय मेरो दिमागमा खेलिरहने विषय हो। प्रायः म उनको घरको आडैबाटै अफिसतर्फ निस्कने गर्छु। जब कुपन्डोलस्थित उनको घर नजिकैको बाटोबाट अफिसतर्फ लम्किरहेको हुन्छु, मेरो ध्यान शान्ति प्रियाको घरमा पुगेर टक्क अडिन्छ।

अहिले पनि उनको घरको ढोका चाबीले रक्षा गरिरहेको छ। तर, झ्याल भने खुल्लै छ। बाहिरबाट चिहाएर हेर्दा कोठाभित्र एउटा रित्तो कुर्ची मात्र देखिन्छ। जहाँ कुनै बेला शान्तिप्रिया वर्षौसम्म कुँजिएर बसेकी थिइन्।

यो दृश्य हेर्दा मेरो मन कटक्क खान्छ। कता हो कता? मुटु चसक्क दुखे जस्तो हुन्छ। मन अमिलो पार्दै जब म त्यो बाटो ‘क्रस’ गर्छु, कल्पनाको संसारमा डुब्ने गर्छु।

अहिले पनि डा. शान्ति प्रियाको घर उनको प्रतिक्षामा उदास र उजाड भई ठिङ्ग उभिएको छ। घरबाहिर झुन्डिएको ‘डा. शान्ति प्रिया’ लेखेको बोर्डले उनलाई बोलाइरहेझैं लाग्छ।

पत्रकारिताको तालिम लिँदा गुरूले भनेको सम्झन्छु– ‘कुनै पनि घटनामा पत्रकार भावुक बन्न थाल्यो भने लेख एकाङ्की हुन्छ। यसले पाठकलाई न्याय गर्न सक्दैन। लेखक स्वयम् पनि मानसिक रूपमा विक्षिप्त हुन सक्छ। त्यसैले पत्रकारले रिपोटिङ गर्दा मन दह्रो बनाउनुपर्छ।’

यसअवधिमा समाजिक सरोकार राख्ने थुप्रै मुद्दा उठान गरे। विभिन्न हिंसामा परेका महिलाको मुद्दालाई हरेक कोणबाट विश्लेषण गर्ने प्रयास गरे। बाल–बालिकामाथि हुने यौन हिंसालगायत अन्य घटनालाई पनि केलाएर समाचार लेखेँ। तर, मलाई डा. शान्ति प्रियाको वास्तविक कथाले लामो समयदेखि विक्षिप्त बनाइरहेको छ।

शान्तिप्रियाको बुबाले कान्छी श्रीमति भित्र्याएपछि परिवारको पुरै वेवास्ता गरेका थिए। आमाले आफ्नो श्रीमानबाट सधै दुःख मात्र भोग्नुपर्‍यो।

बुबाको ज्यादतिबाट स्तब्ध शान्तिप्रिया आफ्नो आमाको सेवा गर्न आजीवन अविवाहित बसिन्।

पहिलो भेटमा उनले मलाई भनेकी थिइन्–‘मलाई कति धेरै केटाहरूले मन पराउँथे। तर, आमा एक्लै भएकोले न मैले बिहे गर्छु भन्न सके, न त उहाँले नै मलाई कर गर्नुभयो।’

आमा जीवित रहुन्जेल शान्ति प्रियालाई कहिल्यै एक्लो महसुस भएन। तर, जब आमा बितिन्, त्यसपछि शान्ति प्रियाको जीवन नर्क बन्यो।

शान्ति प्रियाको जीवनलाई नियाल्दा सबैलाई अनुभूति हुन सक्छ– लामो जीवन काट्न जीवन साथी आवश्यक पर्नेरहेछ।

वास्तवमा उनीसँग के छैन? काठमाडौंको सेन्टरमा घर छ। ‘डक्ट्रेड’को उपाधि। तर पनि उनी अहिले जिउँदो लास बनेकी छिन्।

उनको वास्तविकतासँग नजिक रहेका धेरैले मलाई भने–‘उनको अवस्था दयनीय हुनुमा उनीसँग लामो सहयात्रा गर्ने कोही नभएर हो।’

केही महिनाअघि नेपालको सबैभन्दा ठूलो चाड दशैं सम्पन्न भयो। त्यति बेला सबै टिका थाप्न घर गए। तर, मलाई उनको अवस्थाले घोचिरह्यो।

मेरो बसाईं र उनको घर नजिकै छ। तर, गत वर्षदेखि उनको मुकाम कुपण्डोल नभएर भक्तपुरको नगरकोट जाने बाटो नजिकै रहेको ‘मानव सेवा समाज’ मा सरेको छ।

यतिबेला उनी र म बसोबास गर्ने ठाउँको दूरी निकै टाढा छ। तर, जति नै टाढा भए पनि मैले आफूलाई रोक्न सकिन र परिवारलाई सुइको नदिई स्कुटर हुईकाएर टिकाको दिन उनी बसेको सेवा समाजमा पुगे।

दशैं भएको कारणले होला समाजमा निकै चहलपहल थियो। तर, एउटा कुनामा शान्ति प्रिया ओछ्यानमा सिकिस्त अवस्थामा लडिरहेकी थिइन्। यसअघि दुईपल्ट उनीसँग मेरो भेट भइसकेको थियो। त्यति बेला उनको अवस्था यति दयनीय थिएन।

पछिल्लो समय उनलाई देखेपछि मेरो मन थामिएन। ओछ्यानमा पल्टिएकी शान्ति प्रिया निन्द्रामै चलमलाइरहेकी थिइन। समाजकै केही दिदीबहिनी उनको डाइपर फेर्दे थिए। खुट्टाको छाला डढे झैं कालो भएको थियो।

‘दशैंमा टिका लगाउनु भयो’, मैले प्रश्न गर्दा उनी भनिरहेकी थिइन– ‘खुट्टाले गर्दा झन्डै माथि गइएन नि।’

सिकिस्त अवस्थामा रहेकी शान्ति प्रियालाई आफू छिट्टै निको हुन्छु भन्ने विश्वास छ। भनिन्,‘सन्चो भएपछि विदेश जाने रहर छ।’

शान्ति प्रियालाई उच्च रक्तचाप छ। जसका कारण उनको किड्नीमा पनि समस्या देखिएको छ। दशैं अगाडि यही समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो।

तर, दशैंमा उनलाई हेरविचार गर्ने कोही स्वयम् सेवक नभएपछि समाजकी हर्ताकर्ता सुमी मानवले सेवा घर नै फर्काएर ल्याएकी थिइन।

गत वर्ष घरमै लावारिश अवस्थामा डाक्टर शान्ति प्रियालाई भक्तपुरको मानव सेवा समाजले स्थानियको रोहवरमा उद्धार गरेको थियो।

प्रतिष्ठित परिवारमा जन्मिएकी उनी वनस्पति विभागमा उपसचिव पदमा कार्यरत थिइन्।

उनको उपचारमा हालसम्म ८० हजार खर्च भइसकेको छ।

बिएल नेपाली सेवाले केही समयअघि उनको अवस्थाबारे समाचार सार्वजनिक गरेको थियो। यसपछि उनको घनिष्ट केही साथी हेर्न पुगेका थिए। तर, अहिलेसम्म उनलाई हेर्न न त उनको कोही आफन्त आश्रम पुगेको छ, न सरकारका कुनै प्रतिनिधि नै।

समाचार बाहिरिए लगत्तै उनको पेन्सनका कागज कुपन्डोलकै एक स्थानिय शिव थापाले समाजलाई उपलव्ध गराएका थिए। शान्ति प्रियाको घरको लालपुर्जा अहिले पनि वडा कार्यालयमा सुरक्षित छ।

पछिल्लो समय उनलाई नजिकबाट नियालिरहेकी समाजकी सुमी मानव भन्छिन्, ‘हामीले ऋण खोजेर उपचार गरिरहेका थियौ‌‌। अहिले पेन्सनको केही रकम आएपछि उपचार गर्न अलि सहज भएको छ।’

डाक्टर शान्ति प्रियाको वास्तविकता सार्वजनिक भएपछि उनी निकै भाईरल भएकी थिइन। देशका सबैजसो अनलाईनले उनको समाचारलाई स्थान दिए। तर, यति हुँदा पनि सरकारको ध्यान उनीतर्फ आकर्षित हुन सकेन।

राज्यको उपसचिव जस्तो गरिमामय पदमा आसिन राष्ट्र सेवकको अवस्था यति दयनीय हुँदा समेत राज्य मौन बस्नु कत्तिको जायज होला?

मेरो विचारमा सरकारले उनको उपचारको जिम्मा आफै लिनुपर्छ। र, उनलाई कुनै सुविधायुक्त बृद्धाश्रममा राखेर उपचार गराउँदा सायद उनको स्वास्थ्यमा केही सुधार

आउथ्यो कि!

यो पनि हेर्नुहोस् 

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर