डा.गोविन्द केसी अस्पताल भर्ना

फाइल तस्बिर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो।

डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए। प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए। डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए। सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन्।

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की