कार्तिक महिना र यसको महात्मय

बिएल

सौर्य वर्षअनुसार कार्तिक महिना वर्षको सातौ महिना हो। वर्षायाम बितेर कार्तिक महिना शिशिर र हेमन्त ऋतुको संसधिकालको समय हो। वातावरण, धर्ती आकास सफा स्वच्छ भइ उदाङ्गिएर झलमल्ल भएको हुन्छ। भन्दछन्, आश्विन र कार्तिक मासको जस्तो कालो रात र दिन पनि अन्य महिना भन्दा टड़्कारो हुन्छ। वस्तुतः कार्तिक महिना हिन्दू धर्मावलम्बीहरुको विश्वास अनुसार चतुर्मासको अन्तिम महिना पनि हो।

यथार्थमा आषढ़ महिनाको शुक्ल एकादशीको दिन ‘हरिशायीनि’ अर्थात् भगवान विष्णुको सुत्ने दिन तथा कार्तिक शुक्लपक्ष एकादशीको दिनलाई ‘हरिबोधिनी’ अर्थात् भगवान सुतेर ब्यूझ्ने दिन भन्ने हिन्दूहरुको धार्मिक विश्वास रहेको छ। यस चार महिनाको वर्षायामको हिलो, पानी, बाढ़ी, पहिरोको समयमा कालातीत साधु-वैरागीहरुको लागि पदसंचालन गार्‍हो भएको हुनाले पुराना दिनहरुमा उनीहरु कुनै सद्गृहस्थ, राजा, महाराजा र धनी-मानीहरुको घरमा गइ चार महिनासम्म आनन्दपूर्वक समय व्यतीत गर्ने परम्परा हाम्रो समाजमा रहेको थियो। यसलाई चतुर्मास सेवन भनिन्थ्यो।

कार्तिक महिनाको शुक्लपक्षको एकादशीको दिनलाई हामी देवोत्थान वा ‘देवठन’ एकादशी भन्दछौं। यस चार महिनामा विवाह, द्विरागमन, उपनयन, चूड़ाकर्म वा अन्य कुनै शुभकर्म भने हुदैन तर वर्ष भरिको जम्मै चाड़-पर्व, त्योहारहरु यसै महिना भित्र पर्छ।

शिवशङ्कर महाकालको अभिषेक, श्रावणी काँवरियाहरुको जल अर्पण, चण्डीपूजा, रूद्राभिषेक भने यसै चतुर्मासमा सम्पन्न गर्ने गरिन्छ। त्यसपछि श्रीकृष्ण जन्माष्टमी, सोर्‍ह श्राद्ध, तीज, जीउतिया, अनन्त चतुर्दशी आदि धार्मिक अनुष्ठानहरु। भदौ र आश्विन महिनाको कृष्ण र शुक्ल पक्षमा सम्पन्न गर्ने गरिन्छ भने आश्विन महिनाको परेवाको तिथिदेखि दशमी तिथिसम्म महादुर्गाको अर्चन पूजन तथा बड़ादशैंको आनन्दोत्सव मनाउने चलन, परम्पराअनुसार चलिआएको छ।

आश्विन शुक्ल पूर्णिमाको दिन भने कोजाग्रत पूर्णिमा भएको हुनाले सो दिन बिहान चोखो भान्सा-वासन गरि राती सुत्ने बेलामा भान्सामा पकाइएको खीरलाई खुल्ला आकासमा उदाङ्गो पारेर राख्ने गरिन्छ। भनिन्छ, त्यस दिन देखि रात्रीको व्योमाकासबाट पृथ्वीतलमा अमृत वर्षने गर्दछ। सो अमृत रातभरि उदाङ्गो आकासबाट खुल्ला खीरमा परे पछि पृथ्वी तलका प्रत्येक मान्छेको भाग्य, समृद्धि र आयुषको वृद्धि गर्ने गर्दछ भन्ने लोक तथा धार्मिक विश्वास रहि आएको छ।

त्यसपछि कार्तिक मास आउँदछ। चतुर्मासको यो अन्तिम महिना हो। हुन त यो महिनालाई वर्षभरिको पवित्र महिनाको रूपमा मान्ने धार्मिक विश्वास रहेको छ। भनिन्छ यस महिनाभरिको रात्री समयमा आकासबाट पृथ्वीतलमा अमृत वर्षा हुन्छ। त्यसै कारणले पवित्र नदी, तलाउ र पोखरीहरुमा जनमानसले यस महिनाभरि नै कार्तिक स्नान गर्ने गर्दछन्।

ब्राह्म मूहुत्र्तमा कार्तिक स्नानले धार्मिक भावनाको तुष्टी गर्नुको साथै दैनिक स्वास्थयको लागि पनि गुणकारी हुने गरेको कुरा वैद्यहरुले बताउदछन्। यसै महिनामा यमपञ्चक पर्दछ। यमपञ्चकको पहिलो दिनलाई कागतिहार, दोश्रो दिनलाई कुकुर तिहार, तेश्रो दिनलाई गाई तिहार तथा लक्ष्मीपूजा, चौथो दिनलाई गोवर्धन पूजा तथा यमपञ्कको पाँचौ र अन्तिम दिनलाई भाइटीका भन्दछन्।

पहिलो दिन बिहानै यमको दूत कागलाई मीठो खाना अर्पण गरेर कागतिहार मनाइन्छ, दोश्रो दिन यमको संदेशवाहक कुकुरलाई माला लगाइ पूजन गरेपछि मीठो खाना खान दिएर कुकुर तिहार मनाइन्छ। तेश्रो दिन बेलुका पख लहरै कत्तारवद्ध झिलीमिली दियो बालेर, विभिन्न खाले पटाका, फूलझरी आदि आतिश बाली लक्ष्मीमाताको स्वागत गरि लक्ष्मीपूजन गर्ने गरिन्छ।

यस अवसरमा घरको प्रत्येक कुना-काप्चामा लहरै माटोको दियोमा तेल राखि कपासको बात्ती बालेर दीपावलीको मन्त्र उच्चारण गरिन्छ:- 'त्वं ज्योतिस्त्वं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः। सर्वेषां ज्योतिषां ज्योतिर्दीपावल्यै नमो नमः।' नेपाली साहित्यका कविशिरोमणि लेखनाथ पौड्यालको यस बारेमा एक कविताका हरफहरु द्रष्टव्य छन्:- 'घर घर सबका भांति भांति, झकमक बल्दछन् दीपक तांती। झिली मिली झिलीमिली वारी पारी, यो छ मज्जाको रमिता भारी। जय जय लक्ष्मी आउ आउ, स्थिर गर हाम्रो घरमा पाउ।'

चौथो दिन गाई बाध्ने गोठाको ढोकामा गोबरले गोवर्धन पर्वत्को आकृति बनाइ अक्षता, फूल, फल नैवेद्य तथा धूप आरतीले त्यसको पूजा गरिन्छ तथा पाँचौ दिन भाइटिका गरि यमपञ्चक समाप्त हुन्छ। यम पञ्चकको भाइटिकाको दिन देखि नै चतुर्मासमा निषेधित रहेका सर्व शूभ कर्महरु फूक्का भइहाल्दछन्। भोजपुरी लोक मान्यता तथा ज्योतिष शास्त्र अनुसार सोही दिनदेखि ‘लगन’को थालनी हुन्छ। विवाह योग्य केटा-केटीहरुको विवाहको लागि देखा-सुनीको थालनी (जसलाई भोजपुरी भाषामा ‘बरतुहारी’ भन्दछन्) भइ हाल्दछ।

तिहार पछिको सबै भन्दा महान् तथा भव्य रूपमा मनाइने पर्व हो:- प्रकृति र पुरूषको प्रतीकात्मक ‘छठ’ पूजा। पुत्र तथा पतिको आयुष, समृद्धि, तथा सुख प्राप्तिको लागि यो व्रत तीन दिनसम्म गरिन्छ। नेपालको तराईमा भव्य रूपले मनाइने यो व्रत भड़्किलो देखिए पनि वस्तुतः यो निकै कठीन व्रत हो। व्रतालू आइमाइहरु यस व्रतको पालनको क्रममा ३६ घण्टासम्म निराहार बस्ने परम्परा रहेको छ। छठीमाताको पूजाको प्रसादको रूपमा तराइको प्रसिद्ध परिकार ‘ठेकुवा’ हो। गहुँको पीठोको सानो आकारको रोटीको आकारमा तेल वा घिउमा पकाइ ठेकुवा छठीमातालाई अर्पण गर्ने गरिन्छ तथा साथी-भाइ, नाता-कुटुम्बहरुमा बाँडि़न्छ । ठेकुवा छठको अवसरमा छोरी-चेलीहरुको घरमा पठाउनु पर्ने विशेष कोसेली पनि हो ।

गोपाष्टमी, देवोत्थान, तुलसी विवाह तथा कार्तिकको पूर्णवांसी कार्तिक महिनाका अन्य व्रत-पूजाहरु हुन । कार्तिक महिना पछि किसानहरुको खेतमा अन्नबालीहरु तयार भइसकेका हुन्छन् तथा रब्बीबाली छर्ने बेला भइसकेको हुन्छ। जसको लागि किसानहरु वर्षभरिको खाद्यान्न बाली भित्र्याउन-रोप्न व्यस्त भइ हाल्दछन्। यस प्रकार कार्तिक महिनासम्म मनाइने चाड, पर्व, व्रत त्योहार आदि अर्को वर्षसम्मको लागि समाप्त भइ हाल्दछन् तथा मानिसहरु तिनीहरुबाट प्राप्त नयाँ उर्जाको साथ दैनिन्दन जीवन यापनको बाटोमा लागिपर्दछन्।

कार्तिक महिनाको महत्वलाई सम्झदै हात जोरी प्रार्थना गर्न मन लाग्दछ:- 'नमस्ते सर्वदेवानां शक्तित्वे सत्यमाश्रिता। साक्षीभूता जगद्धात्री निर्मिता विश्वयोनिना।।'

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की