चौथी जोई पनि उस्तै भेटिए पछि?

बिर्ख बुढा आफ्नो चिया पसलमा । तस्बिरः हेमन्त विवश

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ रोजे जस्तो हुन्न जीवन

मुगुको सदरमुकाम गमगढी बजारलाई रातले ओढाइसकेको थियो चिसो अनि कालो पछ्यौरी । बसपार्क नजिक एउटा पसलमा बजिरहेका थिए शिरानीमा राखिएका गीतका पंक्तिहरु। एकातिर जिन्दगीको असली मर्म बोकेको उक्त कालजयी गीत बजिरहेको थियो भने अर्कोतिरको ससानो चिया पसलमा भाडाँकुँडा मिलाइरहेका थिए जुम्लाका बिर्ख बुढा। भोलि बिहानै उठ्नु छ, आज सुत्न ढिला भैसक्यो – उनी भन्दै थिए। हरेक साँझ प्रायजसो आठ बजेतिर सुतिसक्छन् उनी। भोलिपल्ट बिहान चार बजे उठ्नु परिहाल्छ। जुम्लाको सिंजा क्षेत्र गुठी जिउला स्थायी घर भएका बुढा गमगढीमा जडिबुटी चिया बेच्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छन्।

संघर्षको मौदानमा दौडिरहेकै छन् उनी। त्यही दौडाइमा कहिले कमाउछन् कहिले गुमाउछन्। बाहिर अरुले सुन्ने गरेर गुनगुनाउन नसके पनि भित्रभित्रै मनन् गरिरहन्छन् सिरानीमा रहेका गीतका पंक्तिहरू। मनमनै गुनगुनाउँछन् मन परेका अन्य गीतका पंक्तिहरू पनि । उसो त हिन्दी गीतका केही पंक्तिहरूले पनि निकै नै छुन्छ बुढालाई। आखिर जिन्दगी भन्नु पनि मिडियामा बजिरहेको गीत जस्तै त रहेछ। जसरी सुन्दा सुन्दै सिद्धिन्छ गीत उस्तै संघर्षको मौदानमा तल माथि, बाहिर भित्र गर्दा गर्दै सिद्धिन्छ जिन्दगी।

यो पनि हेर्नुहोस्- 

भक्कानिएका आलापको कुटुरो न हो जिन्दगी 

जीवनमा परिवारका प्रति कयौँ कर्तव्यहरू छन्। दिनचर्याका आफ्नै तालिकाहरू छन्। सजाउनुपर्ने बाँकी नै छ सम्पत्तिरुपी सम्झना, कल्पना र जिन्दगीका भोगाइहरूलाई। पलभरको लागि मात्र किन नहोस् सुसेल्न बाकी नै छ अतितको तरङ्ग सम्झाइरहने घाँटीसम्म पुगेका जिन्दगीका भाकाहरूलाई। यो सहर कदापि मेरो आफ्नो बन्न सक्दैन त्यसैले बृद्घावस्था सुरु नहुँदै गाउँ फर्किनु छ। किशोरावस्थामा गाइबाख्रा चराउँदै डुलेका वनजङ्गलमा गएर गोठाला गोठाल्नीका आँसु झार्न बाध्य तुल्याउने आलापहरू सुन्नु छ। Details

कहिले नीलो आकाश हेरिरहन्छन्। कहिले झ्यालबाट रातको जूनलाई चियाउँन थाल्छन् उनी। जिन्दगी असरल्ल छ। घरमा ९० वर्षकी बुढी आमा छन्। १८ वर्षको छोरो छ। करिव चार महिना भयो छोरी भागेको। कुन चाहि मल्लको छोरासँग हिँडि भन्ने सुनिन्छ, जाँ सुकै जाओस् –दिक्दारी पोख्दै उनले सुनाए। जिन्दगीको हरेक मोडमा छाइदिन्छ दिक्दारी।  नछाओस् पनि किन। दुःखको बाक्लो बादल ओढेरै बिताए बिर्खले जिन्दगीका ४७ औं वषन्त। ३ कक्षामा पढताका ११ वर्षको उमेरमा गुमाएका हुन् उनले बुवालाई। त्यसपछि फर्केर पनि हेरेनन् विद्यालयको आँगनतिर। सँगैका साथीभाइहरूले उच्च शिक्षा हासिल गरे। तर उनको पढ्ने धोको सकेन पुरा हुन। घरमा चार बहिनी र भाइलाई एक्ली आमाको जिम्मा लगाएर कतै जान सक्दैन थिए उनी। भाग्यलाई सरापे, भाग्यलाई नै दोष दिएर चित्त बुझाउँदै लागिपरे  घरको काममा।  आमालाई सघाए। आकाशका ताराहरूसँग बात मारे। धर्तीका गोरेटाहरूमा ठक्कर खाए। ठेस लागेका गोरेटाहरू, गोरेटाका ती ढुङ्गाहरु अझै उस्तै छन्। सम्झिन्छन् उनी अहिले पनि ती दिनहरूलाई।

गमगढी बजार

घरमा आमालाई सघाउने हात खोजे। १६ वर्षको गोरेटोमा उक्लिदै गर्दा आफु भन्दा एक वर्ष कान्छी केटीलाई घरमा भित्र्याए दुलही बनाएर। दिनहरू बित्दै थिए। माया पिरति झागिदै थियो। फुर्सदको समयमा हेरिरहेकै थिए श्रीमतीको मुहारमा मायालु नयनले। बिडम्बना उनले जतिसुकै माया गरे नि छोएन छ श्रीमतीलाई उनको त्यो मायाले। पग्लेन छ त्यो निष्ठुरी मन कसै गरे पनि। बिहे भएको वर्षदिन नबित्दै हिडिछन् अर्कै केटासँग। श्रीमती पोइल गएपछि बिताए केही वर्ष एक्क्लो जीवन।

कहिले लेक कहिले बेसी,चालिरहे पाइलाहरू। आफन्त र शुभचिन्तकहरूले घचघच्याइरहे दोस्रो बिहे गर्नलाई। चाहेनन् उनले पनि अझैं लामो समय चुपचाप बसिराख्न। एकदिन सोचे दोस्रो बिहे गर्नलाई। २०५७ सालमा दोस्रो बिहे गरे। बिहे गरेको केही महिनामै श्रीमतीलाई लिएर उनी पुगे मुगुको गमगढीमा। जहाँ ससानो पसल राखे। व्यापार व्यवसाय राम्रै थियो। आठ दस वर्ष राम्रैसँग दिन बिते।

एक छोरा र एक छोरी जन्मिसकेका थिए। एक सुन्दर परिवार थियो। जसो तसो लाउन खान पुर्‍याएकै थिए। जाउला बम्बै करिम सँगै भनेझैं २०६४ सालमा बुढा बाहिर गएको मौका छोपी छोराछोरी छोडेर श्रीमतीले टाप ठोकिछन् कुन चाहि केटासँग। भोलिपल्टै खबर सुनिएछ बिर्खकी श्रीमती फलानो दलितसँग पोइल गइन् भन्ने। बस्न चाहेनन् उनी अब त्यो ठाउँमा।

यो पनि हेर्नुहोस्  सम्राइ लगाइरहने जुम्लाका जुम्ल्याहा डाँडा 

जुम्लाको एउटा होटेलमा पाइला मात्र के टेकेको थिएँ भेट भयो तीन जना अमेरिकनहरूसँग। साथमा थिए एक नेपाली ठेकेदार पनि। ठेकेदार यस अर्थमा कि क्रिश्चियन धर्म प्रचारका लागि स-सानो पसल थापेका रहेछन् नेपालगञ्जमा तिनले। Details

सस्तोमा पसल बेचेर छोराछोरीसँगै गहभरि आँसु बोकेर फर्किएछन् गुठी जिउलातिरै। जहाँ पुर्खाको आँगन थियो। केही जग्गा जमिन थियो। मौनता भङ्ग गर्नलाई घरमा आमा थिएन् भाइ थिए। छोराछोरी आमाको जिम्मा लगाएर बिर्ख कस्सिए भेडा पालन गर्न। उनले भेडा पालन सुरु गरे। ९ वर्ष सम्म भेडा पालेर बसे। ९वर्षको दौरानमा १२० भेडा भए। तीन वर्ष अघि तेस्रो बिहे गरे। भेडा बेचेर करिव ५ लाख जति हात पारे। बिहे भएको १० महिना पछि पुनः श्रीमतीलाई साथै लिएर मुगु पुगे। सडक किनारमा मासिक १५ सय रुपैयाँ तिर्ने कबुल गरी अलिकति जमिन भाडामा लिए। सानो टहरो निर्माण गरे। त्यही टिनले छाएको टहरोको नाम राखे कैलाश खाजा घर। जहाँ सुरु गरे चिया नास्ता बनाउन। खाजाघर चलाउन थालेको  केही महिनामै फेरि श्रीमतीले छोडेर हिँडिन्। यतिखेरकि श्रीमती भने पोइल नगएर माइतमै बसेकी छन्। आमा बुवा पाल्छु भनेर हिँडिछन्। सम्पर्क छैन दुबैको एकअर्कासँग।

जति बिहे गरे नि उस्तै पीडा। आफैं एक्लै हातमुख जोर्नु पर्ने। एक्लै बस्नु पर्ने। बिर्ख बुढालाई कहिले काही लाग्छ यहि बिहेले पछाडि परे भन्ने। उनी सुनाउँछन् –जिन्दगी घाटै भइग्यो। दुःख पडिग्यो। आफूसँगै व्यापार गर्ने कत्राकत्रा साहु बनिगे। आफू पन बन्ने विचार हो। आब सोचेर के गर्ने। 

दिनमा गर्न नसकेको काम रातमा गर्नु पर्ने हुन्छ बिर्खले। ग्राहक गइसके पछि राति ७ बजेतिर आलु उसिन्छन्, छिल्छन् र तयारी अवस्थामा राख्छन्। भोलिपल्ट अँध्यारोमै मैदा मुछ्न, पिठो बेल्छन्, छिलेर राखेका आलुलाई कराइमा फ्राइ गर्छन् र तयार पार्छन् समौसा। दिनमा दुई सय जति समौसा बिक्रि गर्छन्। त्यस्तै चाउमिन, जेरी, नम्किन, मःमः सबै तयार पारिसक्छन् बिहान ग्राहक आउनु अघि नै। एक्लैले भ्याएका छन् सबै काम गर्न। साँझ सात नबज्दै सिद्धिसक्छ सबै खाने कुरा।

एकाबिहानै जडिबुटि चिया उमालेर थर्मसमा राखिसक्छन् उनी। ९० वर्षीया आमाले अहिले पनि पठाइरहन्छिन् जुम्लाबाट यो चिया। घोडोमोचो, गुनदाइनो, रामतुलसी, बाइजडी र लौठाखालो गरी पाँच ओटा जडिबुटि मध्ये कसैका पात अनि कसैका जरालाई कुटेर बनाइएको धुलोलाई जडिबुटी चियाको रुपमा प्रयोगमा ल्याएका हुन् उनले। पूर्वजका पालादेखि नै यस्ता जडिबुटी उमालेर खाने गरेका थिए गाउँघरतिर। जो स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ। त्यही जडिबुटीलाई २०५७ सालदेखि नै व्यवसायिक चियाका रुपमा ल्याएका हुन् उनले।  यही चियाले चिनाएको हो सुरुसुरुमा बिर्खलाई मुगुमा। अहिले त अरुले पनि बेच्छन्। उनका अनुसार जाडो मौसममा बढी बिक्छ यो चिया।

दिनमा सबै खर्च कटाएर १८ सय २ हजार जति बचेकै हुन्छ। कम लगानीको व्यवसायमा यो राम्रै कमाइ हो। अहिलेको व्यापारमा उनी सन्तुष्ट नै छन्। तर जिन्दगीदेखि सन्तुष्ट बन्न सकेका छैनन्। जिन्दगीप्रति सन्तुष्ट बनुन् पनि कसरी आखिर जिन्दगीप्रति सन्तुष्ट तिनै सिद्ध पुरुषहरू बन्छन् जो परमात्मासँग लिन भैसक्छन्। मान्छे हुन सक्दैन कहिल्यै पनि सन्तुष्ट।  जिन्दगीको अर्को परिभाषा पनि असन्तुष्टि नै त हो।

असन्तुष्ट भएकै कारण प्रगतिपथमा लम्केको हो मान्छे। तर बिर्ख बुढाको असन्तुष्टि एक्लोपनको हो। साँझ बिहान गफगाफ गर्ने साथी नहुँदाको हो। कहिले काही सन्चो नहुँदा पानीसम्म तताएर दिने हात नहुँदाको हो। यही कुरालाई मनन् गर्छन् उनी बेलाबखत। भावी दिनहरूलाई कल्पेर भन्छन् उनी – बुढेशकाल लाग्न थाल्यो, दिक्क लाग्छ, त्यति सजिलो छैन एक्लो जीवन चलाउन। तर दोष दिदैनन् कसैलाई। दोष दिन्छन् केवल आफ्नै भाग्यलाई। उनी निधार देखाउँदै भनिरहेका थिए – यो नशो राम्रो छ भने राम्रो हुँदो रैछ नशो ढल्क्यो भने ढल्कि जादो।

यो पनि हेर्नुहोस्- 

डेउडा सम्राटका ती दिनहरू 

तिखाको झल्लरे पीपल चौकी छापन लाग्यो भन्ने भनाइलाई मनन् गर्दा सजिलै अनुमान गर्न सकिन्छ चल्ल्या साईलाई त्यो निकै पुरानो, टाढैबाट टल्किने अग्लोस्थानमा रहेको सुन्दर पीपलको रुखसँग दाजिएको हुनुपर्छ भन्ने । निकै सुन्दर उपमाअलंकारको प्रयोग भएको देखिन्छ कतिपय गीतहरूमा । डोटी जिल्लाको सेती पारिको भूभागलाई चौकी भनिन्छ भने सेती वारिको भूभागलाई पश्ये भनिन्छ । त्यही चौकीका प्रतिनिधि पात्र थिए उनी । डेउडा गीतको दुनियामा एउटा बिम्बकै रुपमा स्थापित भए पछिल्ला दिनमा । Details

उनको पसलमा जडिबुटी चिया पिउँदै गर्दा लक्ष्मीले सोधिन् –अब चौथो बिहे गर्ने ? उत्तर दिन पनि अल्छी लागेझैं गरी लामो सास तानेर उल्टै प्रश्न तेस्र्याउँदै बोले उनी –जो जोगी आए कानै चिरेका, चौथी जोई पन उस्तै भेटिए पछि ?

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की