एसिडपीडित सिमा भन्छिन्–‘पैसा भए सर्जरी गर्न मन छ’ (भिडियोसहित)

नेपालमा अहिले एसिड आक्रमणको घटना बढ्दो छ। एसिडको सिकार हुनेमा किशोरी मात्र होइन, बालिका पनि बढी छन्। त्यस मध्ये एक हुन्- सिमा बस्नेत। हाल उनी रत्नराज्य क्याम्पसमा स्नातक तहको तेस्रो वर्षमा अर्थशास्त्र पढिरहेकी छिन्।

२०७१ सालमा एसएलसी तयारीको लागि ट्यूसन पठ्न जाँदा त्यहीँ उनकी साथी संगीता मगरसँगै एसिड आक्रमणमा परेका थिइन्।

सिमा त्यो कालो दिनलाई सम्झिदै भन्छिन्, ‘२०७१ फागुन १० मा बसन्तपुर कोठाबाट ट्यूसन पढ्नकै लागि बसन्तपुरमा रहेको एप्लस ट्यूसन सेन्टरमा बिहान पाँच बजे गयौं। सर आउनुभएको रहेनछ। त्यसपछि म पुनः छ बजे बिहान गए। कक्षा कोठा भित्र पसे। बत्ति बलेको थियो। म र संंगीता बसेर पढ्दै थियौं। त्यहिबेला एक अपरिचित केटा आयो। हातमा हर्लिक्सको बट्टा बोकेको। ऊ आत्तिएको देखिन्थ्यो। पहिला संगीतालाई र पछि मलाई एसिडले छ्याप्यो।’

सिमाका अनुसार त्यो दिन फागु पुर्णिमा थियो। सुरुमा उनले कसैले लोला हान्यो होला भन्ने सोचिन। तर मुख अत्याधिक पोल्न थालेपछि एसिड हो भनेर थाहा पाइन्।  

यसरी निर्ममतापूर्वक एसिड आक्रमण गर्ने जीवन विक नामको केटा थियो। उनी रुदै कराउँदै घरतिर दौडिन थालिन्। छिमेकी काकीले शरीरमा पानी छर्किदिइन्। लगत्तै उनका हजुरबा अनि आमाले वीर अस्पताल पुर्‍याए। उनी ३७ दिनसम्म अस्पतालमा बसिन्। यहीबीच उनलाई आफ्नो अनुहार हेर्न खुब मन लाग्थ्यो। तर हेर्न दिइँदैनथ्यो। त्यस बेला उनलाई निकै नरमाइलो लाग्थ्यो।

अस्पतालका दिन निकै उराठलाग्दा थिए। सारै पिडा पनि। त्यस बेला एकै दिनमा १२ वटासम्म सुई लगाउनु परेको उनी बताउँछिन्। अस्पतालमा धेरै मान्छे भेट्न आउँदा उनलाई डर लाग्थ्यो। औषधि किन्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका थिए। अन्य खर्चको जोहो परिवारले गरेको थियो।

अस्पतालको शैय्यामा छट्पटाइरहँदा तत्कालीन एमाले नेता माधव नेपाल, माओवादी नेता प्रचण्ड र  बामदेव गौतम आएका थिए। न्यायका लागि प्रधानमन्त्री सुशील कोइरालालाई चार पेज लामो चिठी लेखेकी थिइन्। चिठीमा उनले सानैदेखिका इच्छा र चाहना समावेश गरेकी थिइन्।

सजाएका सपना उतारेकी थिइन्। अस्पतालको बेडबाटै जीवनप्रतिको मोह सकाएर मर्न मन लागेको कुरा राखेकी थिइन्। समाज र साथीसंगीको नजरबारे अन्तसंस्करणबाटै प्रश्न गरेकी थिइन्।

उनले आश्वासनको थुप्रो पाइन्। तर, न अहिलेसम्म कडा कानुन बन्यो, न एसिड आक्रमण रोकियो।

अस्पतालबाटै उनले एसएलसी परीक्षा दिएकी थिइन्। उनको पत्रकै प्रभाव होला सायद उनले परीक्षामा थप समय समेत पाइन्।

सिमा जब अस्पतालबाट डिस्चार्ज भएर घर गइन्। आफ्नो अनुहार ऐनामा हेरिन्। त्यस बेला उनी बिक्षिप्त भइन्। जिन्दगी पुरै भारी लाग्यो। मन भक्कानियो। भतभती पोल्न थाल्यो। सायद त्यति त एसिडले पनि पोलेको थिएन। त्यस बेला उनलाई लाग्यो, शरीर जल्नुभन्दा पनि बढी पीडादायी क्षण त मन जल्नु हुँदोरहेछ।

‘मानसिक रूपले क्षतविक्षत भइसकेकी थिएँ। संसार अँध्यारो लाग्थ्यो। सधैका लागि बिदा हुन मन लाग्थ्यो’, उनले पीडादायी विगत सम्झदै भनिन्, ‘हजुरबा–हजुरआमाले गरेको स्याहार सुसार सम्झेर मर्ने आँट आएन। मैले मृत्युलाई जितेँ।’

सिमाको जीवन पहाडको बाटोजस्तो घुमाउँरो छ। जन्जिरले जेलिए जस्तो। विगत उराठलाग्दो छ। चैतको धुपजस्तो। जन्मेको ६ महिनामा उनलाई जन्म दिने आमा–बुवाले छोडेर गएका थिए। उनको पालनपोषण मामा घरका हजुरबा र हजुरआमाले गरेका थिए।

उनको मामाघर रौतहट जिल्लामा पर्छ। उनी सानो छँदा रौतहटकै सामुदायिक विद्यालयमा कक्षा सातसम्म पढिन्। २०६८ सालमा सिमा हजुरबा र हजुरआमासँग काठमाडौं आएकी थिइन्। त्यसपछि काठमाडौंमै पढिन्। १२ कक्षासम्म सानिमा बैंक र जर्मन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा पढेकि हुन्।

सिमाले अझैसम्म आफ्नो बुवाको मुहार देखेकि छैनन्। भन्छिन्, ‘भेट्न मन लागेको छ।’

‘छिमेकीले भन्ने गर्थे मेरो बुवाको तीन वटा श्रीमती थिए। पितृसत्ताले गाँजेको समाजमा छोरोको चाहना हुनु अनौठो भएन। त्यसैले बुबालाई छोरा चाहिएको थियो रे।’ उनले भनिन्, ‘सबै श्रीमतीले छोरी मात्र पाएपछि बुवाले मेरी आमालाई कुट्ने पिट्ने गर्नु हुन्थ्यो रे। म ६ महिनाको हुँदा आमा घरबाट निस्किनु भएको रे।’

सिमाले १५ वर्षसम्म आमासँग सम्पर्क गरिनन्। एसिड आक्रमणमा परेको सुनेपछि उनकी आमा अस्पतालसम्म पुगेकि थिइन्। त्यस बखत आमा धेरै रोइन्। माफी पनि मागिन्।  

उपचार गरेर घर फर्किएपछि सिमालाई पुरानो अवस्थामा फर्किन लामो समय लाग्यो। घाउ सुकिसकेको थियो। तर, समाजिक संरचनाले घाउ कोट्याउने काम गरिरह्यो। पब्लिक गाडिमा यात्रा गर्दा मान्छेले एकनाशले हेरिरहन्छन्। नसुन्ने गरि कानेखुसि गर्छन्। उढाउँछन्। मन दुख्छ। सम्हालिन गाह्रो हुन्छ। कोही बोल्न पनि अप्ठ्यारो मान्छन्।

सुरुसुरुमा झन् गाह्रो थियो। मानिस नराम्रो दृष्टिकोणले हेर्थे। पछिल्लो समय केही कम भएको छ। हुन त आफूले सबैको हेराई, बोलाई, कानेखुसी सबै पचाएर पनि होला। समाज सहज भएको हो कि बानी परेकी हुन्, यो उनी आफैं छुट्याउन सक्दिनन्। तर, उनी समाजप्रति सकारात्मक भइरहेकी छिन्।

सानैदेखि हजुरबा–हजुरआमासँग बसेकी उनले हजुरबाका दुःख नजिकबाट नियालेकी छिन्। हजुरबा दाउरा बेच्ने काम गर्थे। एउटा कार्यालयमा सहयोगी थिए। भन्छिन्, ‘१० वर्ष भएपछि बल्ल थाहा म टुहुरी रहेछु भन्ने कुरा।’

एक दिन हजुरआमाले उनलाई गाउँको एउटा कार्यक्रममा पठाएकी थिइन्। कोही नभएका बालबालिकालाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेछ। जब कार्यक्रम उद्घोषकले उनलाई अनाथ सिमा बस्नेतलाई चिट्ठा थुत्न भने, त्यसपछि मात्र रहस्य खुल्यो।

भन्छिन्, ‘बा–आमा भएरपनि नभए जस्तो हुनु र टुहुरी हुनु एउटै हो लगभग।’ माहोल यति खल्लो भयो। त्यसपछि उनका आँखाबाट आशुका बलिन्द्र धारा बगे।

जीवन संघर्षको मैदान हो। यो खुला छ। एकदम खुला। जिउनको लागि संघर्ष, बाँच्नलाई संघर्ष, अगाडि बढ्नलाई संघर्ष। यही सिलसिलामा नेपालमा कतै जागिर नपाएपछि अघिल्लो वर्ष उनी इन्डियामा मार्केटिङका लागि गएकी थिइन्।

हजुरबालाई प्यारालाइसिस भएपछि अहिले उनी नेपाल फर्किएकी छिन्। अहिले उनी हजुरबा र हजुरआमाको हेरचाहमा दिन बिताइरहेकी छिन्।

उनी एसिड आक्रमणमा परिसकेपछि राजनीति गर्छु भन्थिन्। तर, अहिले उनी त्यसो भन्दिनन्। किनकि. उनले बिस्तारै बुझ्दै गएकी छिन्, ‘राजनीति हदैसम्म टेडो छ भन्ने कुरा।’

सिमाको नाक, निधार र गालामा अहिले पनि घाउ छ। चेक गराउनका लागि दुई तीन महिनामा अस्पताल गइरहनुपर्छ। डाक्टरले भनेको औषधि किन्न तीन–चार हजार लाग्छ।

उनी विगत सम्झिँदा बेलाबेलामा भक्कानिन्छिन्। मलिन स्वरमा भनिन्, ‘एसिड आक्रमणमा परेकालाई नेपाल सरकारले निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्ने हो। तर हाम्रो देशमा त्यस्तो नीति छैन।’

मुखमा लगाउने औषधि किन्ने पैसासमेत आफूसँग नभएको बताउँछिन्। हजुरबा र हजुरआमाको काखमा हुर्किएकी उनलाई मायाको अभाव कहिल्यै भएन तर मन भक्कानिरहनु र माया पाइरहनु एउटै हुँदो रहेनछ।

अस्पतालमा हुँदा प्रेरणादायी किताब पढिरहन्थिन्। ‘मलला युसुफको कथा पढेपछि जिउने जाँगर बढेर आयो। आत्मविश्वास गुमाएकी छैन।’

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै सिमा भन्छिन्,‘कुनै दिन पैसा कमाएर फेस सर्जरी गर्ने इच्छा छ।’

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की