समलिंगी जोडीको यौन दम्भ, पुरुष जस्तै शोषण (भिडियोसहित)

कलैयाकी विनिमा अधिकारीलाई पाँच वर्षअघि तेस्रो लिंगी भनेर चिनिएका कृष्ण चौधरीले पहिलो पल्ट प्रेम प्रस्ताव राखे। 

महिलाको शारीरिक बनौट भएका कृष्णले साथीमार्फत विनिमालाई प्रेम प्रस्ताव राख्दा उनी जोडले हासेकी थिइन–‘हैट! केटीकेटीबीच पनि कही प्रेम हुन्छ’ भनेर।

उनले तत्कालै कृष्णको प्रस्ताव अस्विकार गरिन्। तर विनिमाको अस्विकृति कृष्णका लागि यति स्तब्ध बनाउने खालको थियो, उनले घर नै छोड्ने निर्णय गरे।

विनिमालाई पनि त्यति बेलासम्म आफू समलिंगी हूँ वा हैन भन्ने हेक्का थिएन। तर कृष्णले आफ्नो कारण गाउँ छोड्ने निर्णय गरेपछि उनलाई नरमाइलो लाग्यो।

अन्त्यमा उनले फोन गरेर कृष्णलाई घर बोलाइन र २०७० सालको १६ कार्तिकमा उनीहरूको प्रेमले विवाहको आकार लियो।

कृृष्ण र विनिमाको यो निर्णयलाई समाजले मात्र होइन, परिवारले पनि स्विकार गरेन।

विनिमा भन्छिन्–‘घरमा पनि छिछि दूरदूर गर्ने काम भयो। आमाबुवाले अर्कै केटा खोजेर बिहेसमेत गरिदिन खोज्नुभयो।’

गाउँमा बस्ने अवस्था नबनेपछि यो जोडी बाध्य भएर काठमाडौं आयो।

हाल यी जोडी काठमाडौंको कलंकीमा डेरा लिएर बसोबास गर्दै आइरहेका छन्। घर चलाउन कृष्ण पेन्टिङ्गको काम गर्छन्। विनिमा बुटिकमा जागिरे छिन्।

उनीहरूको जीवन अन्य परिवार जस्तै सामान्य बितिरहेको छ। विनिमा भन्छिन्, ‘म त मोटु (कृष्ण) विनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन्। गाउँमा गए बिहे गरिदिन्छन्, यही बसेर संघर्ष गर्ने हो।’

घरमा विनिमा श्रीमतिको भूमिका निर्वाह गर्छिन्। कृष्ण पुरुषको। दुबैजना घरबाहिर काम गर्छन्। तर, घरायसी कामको सम्पूर्ण जिम्मा विनिमाको काँधमा हुन्छ।

समलिंगी भए पनि यी जोडी खुसी देखिन्छन्। कृष्ण अरुबेला सामान्य देखिन्छन्। तर, जतिबेला सहवासको कुरा आउँछ, स्त्रीको शारीरिक बनोट पाएका कृष्ण विनिमालाई आफ्नो शरीर छुन र चुम्न त के, चलाउन पनि दिदैनन्।

भन्छन्, ‘उसले आफ्नो हात सलबलाएर मेरो छातीसम्म पुर्याउँदा मलाई स्त्री भएको अनुभव हुन्छ। त्यसैले म उस (विनिमा) लाई शरीर छुन र चलाउन दिन्न।’

विनिमा पनि कृष्णलाई शरीर चलाएको मन पर्दैन भनेर कही कत्तै छुने गर्दिनन्।

कृष्ण मात्र होइन सुदूरपश्चिममा जन्मिएका रमेशको शारीरिक बनोट पनि स्त्रीको जस्तै छ। उनी पनि सानैदेखि केटाहरू जस्तै हाउभाउ देखाउँथे।

शारीरिक बनौट केटीको भएका रमेशमा सानैदेखि हाउभाउ भने केटाको थियो। करिब एक दशकअघि काठमाडौं प्रवेश गरेका रमेशको साखुमा जन्मे हुर्केकी उषासँग ७ वर्ष पहिले प्रेम–विवाह भएको हो।

कृष्ण र विनिमा जस्तै यो जोडीको विवाहलाई पनि गाउँ समाजले मान्यता दिएन। आफ्ना घरका अन्य सदस्यसमेत बैरी भएपछि उनीहरूले पनि भागेर बिहे गरे।

हाल उनीहरू काठमाडौंको सामाखुसीमा डेरा गरेर बस्छन्। रमेश ‘ब्लु डाइमन्ड सोसाइटी’ मा काम गर्छन भने उषा गृहणी हुन्।

घरमा रमेशको भूमिका श्रीमानको हुन्छ। उषा श्रीमति। उनी घरको सबै काम गर्छिन। खाना पकाउनेदेखि कपडा धुनेसम्म। श्रीमान बाहिरबाट थाकेर फर्किदा मालिससमेत गरिदिने काममा सक्रिय हुन्छिन्, उषा।

भन्छिन्,‘ शरीर केटीको भएर के गर्नु? तेस्रो लिंगी हूँ भन्ने मानसिकता राख्ने बुढाको व्यवहार अन्य पुरुषभन्दा कम छैन।’

कृष्ण जस्तै यौन सम्पर्क राख्ने बेला रमेश पनि आफ्नो श्रीमतिलाई शरीर चलाउन दिदैनन्। भन्छिन्, ‘समलिंगी भनेर के गर्नु पुरुष भूमिकामा हुनेको मनपरी सहनुपर्छ।

महिलाको भूमिकामा हुने समलिंगीले साथीको शरीर सुमसुम्याउने चाहना पनि दबाएर राख्नुपर्छ।’

विनिमा र उषा जस्ता समलिंगी जोडी नेपालमा धेरै छन्। तर, उनीहरू खुलेर आफ्नो पीडा बाहिर ल्याउन सक्दैनन्। उनीहरू सानैमा प्रेममा पर्छन, विवाह गर्छन र सँगै बस्छन्।

जब यी जोडीसँगै बस्न थाल्छन्, महिलाको भूमिकामा रहनेले आफूलाई समलिंगी भन्न रुचाउँछन्। तर, पुरुषको भूमिकामा रहनेले आफूलाई तेस्रो लिंगी भन्ने गर्छन् र महिलाको भूमिकामा हुने ‘साथी’ माथि हैकम जमाउन थाल्छन्।

समलिंगीको अधिकारको लागि स्थापित समावेशी मञ्च नेपालका अध्यक्ष बद्री पुन समलिंगीमा पनि घरेलु हिंसा हुने गरेको स्विकार गर्छिन्। भन्छन्, ‘महिला पुरूषबीच हुने गरेको हिंसाविरूद्ध उजुरी गर्ने कानुन छ। तर, समलिंगी तथा तेस्रो लिंगीमाथि हुने हिंसा सम्बोधन गर्ने कुनै कानुन बनेको छैन। त्यसैले पनि उनीहरूमाथि हिंसा बढेको हो।’

बद्री भन्छन्–‘म आफै तेस्रो लिंगी हो र मैले पनि आफ्नो साथीले शरीरमा हात राख्यो भने झटकारेर फ्याँकिदिन्छु। उनको बुझाईमा त्यो हिंसा हैन।’

उनी थप्छन्– ‘म आफू केटा हूँ भन्ने दम्भ राख्ने पक्षमा छुइन्। त्यसैले मेरो साथीलाई पनि पुरुष भएको अनुभूति यौन कार्यमा हँुदा पनि दिलाउन चाहन्छु। फरक यति हो, मेरो शरीरको अंंगमा हात लैजादा मसँग भएको स्त्रीको संरचनाले मलाई नझस्काओस् भन्नलाई मात्र छुन नदिएको हो।’

समलिंगी जोडीमा श्रीमानको भूमिकामा रहने महिलाको शारीरिक बनौट भएका तेस्रो लिंगीले जाँडरक्सी र चुरोट पनि मज्जाले सेबन गर्ने पाइएको छ। तर महिलाको भूमिकामा रहेका साथीलाई घरबाट बाहिर जान नदिने, अनावश्यक शंका गर्ने, कुटपिट गर्ने र घरमा एकलाई श्रीमति मानेपनि बाहिर बरालिएर अरुसँग पनि सम्वन्ध स्थापित गर्ने जस्ता समस्या देखिएका छन्।

तर, उनीहरू माथि हुने गरेको हिंसा सम्बोधन गर्ने छुट्टै कानुन नभएको कारण समस्या झन् विकराल बन्दै गइरहेको छ।

समलिंगी विवाहलाई कानुनले मान्यता दिएको छैन। जसले गर्दा उनीहरू सम्पत्ति माथिको अधिकारबाट पनि बञ्चित छन्। राज्यले यस्ता समूहलाई कुनै अवसर प्रदान गरेको छैन। परिवारले पनि घृणा गर्ने हुँदा उनीहरू समाजिक र पारिवारिक रूपमै बहिस्कारको शिकार भएका छन्। यसले जतिसुकै हिंसा भएपनि उनीहरू सहन बाध्य छन्।

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की