मानवीय कार्यमा बढ्दै गरेका युवापुस्ता (भिडियोसहित)

ममीको इच्छापछि गत शनिबार बिहान भक्तपुरस्थित मानव सेवा घरमा बस्नेलाई खाना ख्वाउने उद्देश्यले  पुगेकी थिएँ।

हामी आश्रम पुग्दा त्यहाँ १८–१९ वर्षका लाग्ने विद्यार्थी कसैले काधमा कपडाको व्याग बोकेका थिए। कोही खानेकुरा राखेको बोरा त कोही साबुन–सर्फ बोकेर भित्रदैं थिए।

असिनपसिन समानको भारी बोकेका ती युवायुवती देख्दा छक्क लाग्यो।

हामी बिहानको खाना ख्वाउन मात्र त्यहाँ गएका थियौं। तर, उनीहरूको सेवाभाव देखेपछि हामी आमा–छोरी नै दिनभरी त्यहीँ बस्ने निधोमा पुग्यौं। 

धनी परिवारमा जन्मेहुर्केका झै देखिने यी विद्यार्थी आश्रमभित्र पस्ने वित्तिकै समान बिसाएर धमाधम आश्रममा बसेका मानिसको सेवामा जुटिहाले।

कोही आश्रममा बसेका बृद्धबृद्धालाई नुहाउन लागे। केही सकिनसकी कपडा धुन थाले। केही भने भाडा मस्काउन व्यस्त भए।

झट्ट हेर्दा उनीहरू घरमा पानी सारेर पनि खादैनन् कि जस्तो लाग्थ्यो। तर, यी किशोरकिशोरी जुन सेवाभावका साथ काम गरिरहेका थिए, मलाई लाग्यो–अहिलेका युवापुस्ता समाजिक कार्यमा उत्तिकै क्रियाशील रहेछन्। 

शारीरिक र मानसिक रोगले थलिएका, शारीरभरी खटिरैं खटिरा अनि नजिक जाँदा डुङडुङ गन्हाउने अशक्तको सेवामा घिन नमानि जुटिरहेका उनीहरू सेन्ट जेभियर्स कलेजका विद्यार्थी रहेछन्।

कालिकोटमा जन्मिएकी एलिसा बुढा सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा पढ्छिन्। उनी कक्षा १२ को ‘ह्युमन रिसोर्स म्यानेजर’ भएकाले आफ्नो टिमको नेतृत्व गर्दै सेवाघरमा आएकी रहिछन्। भन्दै थिइन्, ‘सेन्ट जेभियर्स कलेजले ‘डेलिकेटेड टु एक्सिलेन्ट लिडरसीप एण्ड सर्भिस’ भन्ने मोटो बोकेर हिँडेको छ। सोही उद्देश्यअनुसार युनाईटेड सोलिडारिटी मुभमेन्ट अर्थात ‘युएस एम’ भन्ने क्लबको स्थापना गरिएको छ। क्लबले कसैसँग फन्ड जम्मा नगरी खाजाको पैसा जम्मा गरेर सामाजिक काममा खर्च गर्ने गर्छ।’

उनको तर्क छ– अरुलाई पनि समाज सेवा गर्नुपर्छ भन्ने बाटो देखाउन उनीहरूले यस्ता कार्यक्रम गरेका हुन्।

अहिलेका युवापिढिले महङ्गो लुगा लगाउने, साथीभाईसँग बसेर मोजमस्तिमा धेरै खर्च गर्ने र परिवारलाई वेवास्ता गर्ने गर्छन्।

सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मै पढ्ने सुदेश्ना कोईराला भन्छिन्, ‘युवापिढिलाई परिवारको महत्व दर्शाउन र उनीहरूलाई माया गर्नुपर्छ भावनाको विकास गर्न पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने गर्छ।’ 

घरमा आमाबुवालाई दङ्गाउने छोराछोरीलाई घरका हजुरबुवा आमालाई माया गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पनि यस्तो कार्यक्रम निकै प्रभावकारी हुने उनको भनाई छ।

क्लब अध्यक्ष प्रनिश खनालले पछिल्लो समय मोबाईल तथा ल्यापटपले गर्दा आमाबुवा र छोराछोरीबीचको दुरी बढ्दै गएको बताए। आश्रममा बसेका बृद्धबृद्धालाई देख्दा घरको हजुरआमा हजुरबुवाप्रतिको माया बढेको भन्दै प्रनिशले खुसी जनाए।

बढ्दो शहरीकरण, प्रविधिको विकाससँगै परिवारबीच आएको दुरीले पछिल्लो समय युवापुस्तालाई आफ्नै परिवारप्रति टाढा बनाएको छ।

घरभित्र छोराछोरी नातिनातिना पसे भनेर फुरुङ्ग भएका हजुरबुवा हजुरआमाको खुशी सेकेन्डभर रहन नपाउँदै उनीहरू मोवाईल ल्यापटप अनि टेलिभिजनमा व्यस्त हुन्छन्।

त्यो समय कसैले ‘डिस्टर्ब’ गर्यो कि ‘ह्या बुढाबुढी कति किचकिच गरेको’ भन्दै ढोका थुनेर बस्छन्। अनि तिनै युवापिढिले विस्तारै आफ्ना आमाबुवालाई आश्रममा लगेर थन्काइदिन्छन्।

उनीहरूलाई परिवारको माया र अपनत्व अनि आफ्नो जिम्मेवारीको हेक्का हुँदैन। त्यस्ता युवापिढिलाई परिवारको माया, प्रेम, स्नेह अनि जिम्मेवारीको बोध गराउन अब घरबाट भन्दा कलेजबाट गरिने यस्ता कार्यक्रमले निकै प्रभावकारी भूमिका खेल्ने देखिन्छ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने