भक्कानिएका आलापहरूको कुटुरो न हो जिन्दगी

तस्बिरः बिएल

वर्षौ भइसक्यो यो सहरमा पाइला टेकेको । किसिम किसिमका अनुहारहरु देदिन्छ यहाँ । मधुशालाबाट लरखराउँदै निस्किरहेका हुन्छन् कयौँ अनुहारहरू । भेटिन्छन् कति त सडकमा आफ्ना पाइतालाले बक्ररेखा कोरिरहेका पनि । मेरो मधुशालाले त्यत्तिकै नशा दिइरहेको हुन्छ नपिइकनै । तथापि कुनै मेसो नै पाइँदैन जिन्दगीका तरङ्गहरू केलाउन, विगतका रङ्गहरूको झलक देखाउन अनि आलापहरू सुनाउन । जिन्दगीमा सबैभन्दा प्यारा बन्दा रहेछन् विगतको सम्झनाका छिटाहरू तप्किएका तरङ्गहरू । किशोरावस्थामा देखिएका तरङ्गहरूसँगै उछिट्टिएका छिटाहरू र बयस्क अवस्थामा भक्कानिरहेका आलापहरूबीच गुज्रिदैछ एक्काइसौ शताब्दीको जिन्दगी । 

समय प्रवाहको चेतनासँगै कठाङ्ग्रीन्छ संबेदनाको तार पनि । के नै कुरा रह्यो र यो मनको पनि । हुइकिन्छ गन्तब्यहीन यात्रामा चैते बतासझैँ बनेर । मानव जीवनको उपलब्धि नै असन्तुष्टि हो । असन्तुष्टिले नै मान्छे पस्किरहेकै हुन्छ दिनप्रतिदिन नयाँ नयाँ कुराहरु । सन्तुष्टि पैदा भएको भए अव्यक्त रहन्थ्यो होला कैयौं प्रतिभाहरुको प्रतिभा पनि । पाइँदैनथ्यो होला आधुनिकताको झल्को र धड्किदैनथे होलान् तड्पिदैनथे होलान् अनगिन्ति दिलहरू । तर यहाँका अधिकांश असन्तुष्ट मनहरू रुमल्लिरहन्छन् खालि द्रब्य पिपाशामै । दौडिरहन्छन् भौतिक सामग्रीको लागि । त्यही दौडाइको क्रममा बीच बाटोमै ढल्न पुग्छन् केही । ममा न त्यस्तो खालको असन्तुिष्टले नै डेरा जमाउन सक्यो न त सन्तुष्टिले नै । आफ्नै जिन्दगीका गराहरू हेर्ने क्रममा कयौँँका जिन्दगीका गराहरू समेत हेरिरहेको छु –टोलायमान बनेर । प्ढिरहेको छु कैयौँँ जिन्दगीका पानाहरू एकान्तमा उभिएर ।

डरलाग्दो ढंगको छ आजको विश्व । यहाँ दिन प्रतिदिन एक किसिमको दौड चलिरहेको छ । कोही नाम कमाउन, कोही धन कमाउन त कोही शक्तिको लागि आ–आफ्नो धावन मार्गमा तल्लिन देखिन्छन् । यहाँ कैयौँँका जिन्दगीका आलापहरू भक्कानिएका छन्– डर, त्रास, चिन्ता, रोग, भोग र शोकले । किसिम किसिमका छन् जिन्दगीका गीतहरू । छुट्टा छुट्टै छन् सडक बालकहरू, धनाढ्य र सम्पन्न कहलिएकाहरू, विद्वान्हरू अनि शासकहरू र मजस्ता सडक किनाराका पथिकका जीन्दगीका धुनहरू । पल पलमा सुनिन्छन् गाउँमा झुत्रा लुगा लगाएर गुजारा गरिरहेको किसान र लेकमा गाई भैंसी चराउने एक गोठालोका जिन्दगीका आलापहरू । त्यहाँ जिन्दगीको सुमधुर सङ्गीत छ । तर यो सहरमा कर्कश ध्वनि शिवाय सुनिदैन केही पनि । सङ्गीतविहीन छन् हजारौ जिन्दगीहरू अनि निरस छन् सपनाहरू । शन्त दण्डानीस जीवितै भएका भए कसैले यहाँको एक्काइसौ शताब्दीको जिन्दगी बारे सोधिहाले भन्थे होलान्–टिठ लाग्दो छ यहाँका मै हँु भन्ने को जिन्दगी । भक्कानिएका छन् एक्काइसौ शताब्दीमा जिन्दगीका आलापहरू ।

एक्काइसौँ शताब्दी विज्ञानको क्षेत्रमा गड्याङगुडिङ गर्दै चमत्कारको आँधि नै ल्याएर आइरहेको छ । ठुल्ठूला चमत्कारहरू भइरहेका छन् तर जति चमत्कार हुँदैछ उत्तिकै मात्रामा भय र त्रासले डेरा जमाउँदै छ । धर्म, संस्कृति र विज्ञान सँगसँगै हिँड्नु पर्छ यदि विकासको बाटो पहिल्याउने हो र अमन शान्ति दिलाउने हो भने । हाम्रो विज्ञानले बच्चा जन्माउन सिकाउँछ, सिकाउँदैन माया ममता र स्नेहका साथ पालन पोषण गर्न । पढाउँदैन नैतिकताको पाठ, पढाउँछ केवल धन सम्पत्तिको पाठ । समय बित्दै जादा त्यो बालक ठूलो हुन्छ तर कोही मर्दा सक्दैन दिल खोलेर रुन । जान्दैन कसैसामु हाँस्न । सक्दैन आफै आफ्नो सुरक्षा गर्न । ऊ केवल हाड मासुले बनेको एक सजीव मूर्ति हो । आवाज त निकाल्छ तर आलाप निकाल्न सक्दैन ।

यहाँ वर्षौदेखि नयाँ नयाँ योजनाहरू बन्दछन् देश विकासका लागि, समाज परिवर्तनका लागि । तर कसैले पनि मानसिकता परिवर्तनको योजना बनाउँदैनन् । सही ढंगको मूल्यदृष्टि बोक्न जान्दैनन् । सोच्दैनन् म केवल दुई दिनको पाहुना हुँ भन्ने कुरा । पाइला चलुन्जेल त धन दौलत र शक्तिको घमण्डले मात्तिन्छ माान्छे तर जिन्दगीका अन्तिम पलहरूमा जब अशक्त बन्दछ तब बल्ल सोच्नु पर्ने हुन्छ के रहेछ जिन्दगी ? यो धर्तीमा यात्री बनेर निस्किएपछि देवकोटाले भनेझैँ सिक्नुपथ्र्यो दीन दुःखीका चर्किरहेका घाउहरूमा मलम लगाउन । सोझा, निर्धा र इमानदार संवेदनशील मनहरू कमाउन । तर होस खुल्दासम्म नेटो काटिसकेको हुन्छ समयले । सोचाइको यो क्षणसम्म आइपुग्दा – न कोही उकुस मुकुस भइरहेका भावनाहरू सुनिदिन्छ न त त्यो विगत नै फर्किदिन्छ । न त ऐश्वर्यले नै मन शान्त हुन्छ । तब कुनै विकल्प रहँदैन भक्कानिएका आलापहरूलाई घाँटीसम्म पु¥याएर रसाइरहेका आँखाले दिउँसोको सूर्य अनि रातीको चन्द्रलाई हेर्नु शिवाय ।

दिनप्रतिदिन वृद्घि भइरहेकै छ नेपालमा शिक्षितहरूको संख्यामा । बढेको बढै छ शिक्षित बेरोजगारीको संख्या । मात्र सुनिन्छन् हिजो आज चारैतिरबाट चर्का नाराहरू । मान्छेको पहिलो रोजगारी दरिद्र मानसिकता त्यागेर उचित मूल्यदृष्टि बनाउनु हुनुपथ्र्यो भने पहिलो शिक्षा उचित संस्कार सिकाएर सकारात्मक मानसिकताको बिकास गराउने हुनु पथ्र्यो । तर यो कुरामा कसैको ध्यान जाने वाला छैन किन कि यो एक्काइसौ शताब्दी हो । भौतिकवाद मै मस्ति छ रे । रिल्याक्स गर्न सिक्नु पर्छ रे । कमाउनुपर्छ धन लुटपाट गरेर होस् या घुस खाएर होस् । झुम्नु पर्छ हरेक साँझ मदिराको नशामा साथीभाइ कमाउन । यही हो हाम्रो एक्काइसौँ शताब्दीको उपज । यहाँ कोही पनि माया, प्रेम, स्नेह, दया र धर्मको नशा प्यून चाहँदैनन् । शिक्षित भनाउँदाहरू नै घर समाज र देश बिगार्दै छन् ।

हामी भन्ने शब्द बिर्सेर म मा पुगेका छन् । आफ्नो गुणगान आफै गाइरहेका छन् । विद्यालयदेखि कलेजसम्म विरोधमा लगाइने तालादेखि सडकमा जलाइने टायरसम्मका कयौँँ चिजबीजहरू हाम्रो पाठ्यक्रमले तोकेका शैक्षिक सामग्री बन्न पुगेका छन् । तोडफोड गर्ने तयारीदेखि अभद्र व्यवहारसम्मका सम्पूर्ण क्रियाकलापहरू शिक्षण बिधिहरू बन्न पुगेकाछन् । जो माथिल्लो निकायमा पुग्यो, जसलाई जिम्मेवारी दिइयो उसको ठाडो आदेश र दम्भीपन नै हाम्रो पाठ्यक्रमको दस्तावेज बन्न पुगेको छ । अनि चाकडी चाप्लुसीदेखि सडयन्त्रसम्मका सम्पूर्ण गतिविधिहरू नै हाम्रो पाठ्यक्रमका विषयवस्तु बन्न पुगेका छन् । ग्रहण गरिरहेका छौं यसरी नै हामी एक्काइसौ शताब्दीको शिक्षा । बढाइरहेका छौ साक्षरताको दर । सर्टिफिकेट अनुसारको विवेक छैन हामीमा । यही हो हाम्रो एक्काइसौ शताब्दीको शिक्षाको उपलब्धि ।

द्रुतगतिले नशामा तातो रगत बगुन्जेल अझ भनाँै जवानी छन्जेल त अनेक विधि र सामग्रीहरूको प्रयोग गर्छौ तर जब त्यो जवानी शिथिल हुन्छ तब भक्कानिएका आलापहरू नै हाम्रा प्रमाणपत्रहरू बनिदिन्छन्, सम्पत्ति बनिदिन्छन् । मैले यतिका वर्षसम्म यो सहरमा बसेर धेरै कुराहरू कमाएको छु । दिन प्रतिदिन विगतको सम्झना, वर्तमानका पलहरूको अवलोकन, भविष्यका पलहरूको कल्पना गर्नदेखि आफैले आफैलाई जिन्दगीका भाकाहरू सुनाउने प्रयत्न गर्नु एक किसिमको दिनचर्या नै बनिसकेको छ । कहिले काही साथी संगती र आफन्तहरूको षडयन्त्र हेर्छु । कहिले विवेकशून्य तातो रगत उम्लिरहेको भीड हेर्छु ।

कहिले मैहुँ भन्नेहरूको दम्भ हेर्छु । यो एक्काइसौँ शताब्दीमा झाँगिएको अश्लिल स्वार्थको जङ्गल हेर्छु र लाग्छ कतै एकान्तमा बस्न पाएँ हुन्थ्यो जहाँ मान्छेहरू नहुन केवल पशु पन्छी र जनावरको मात्रै राज्य होस् । प्रकृतिको छत्र छायाँमा दिल खोलेर जिन्दगीको गीत गाउन पाइयोस् । तर भने जस्तो सोचे जस्तो अनि खोजे जस्तो कहाँ हुन्थ्यो र। जीवनमा परिवारका प्रति कयौँ कर्तव्यहरू छन् । दिनचर्याका आफ्नै तालिकाहरू छन् । सजाउनुपर्ने बाँकी नै छ सम्पत्तिरुपी सम्झना, कल्पना र जिन्दगीका भोगाइहरूलाई । पलभरको लागि मात्र किन नहोस् सुसेल्न बाकी नै छ अतितको तरङ्ग सम्झाइरहने घाँटीसम्म पुगेका जिन्दगीका भाकाहरूलाई ।

यो सहर कदापि मेरो आफ्नो बन्न सक्दैन त्यसैले बृद्घावस्था सुरु नहुँदै गाउँ फर्किनु छ । किशोरावस्थामा गाइबाख्रा चराउँदै डुलेका वनजङ्गलमा गएर गोठाला गोठाल्नीका आँसु झार्न बाध्य तुल्याउने आलापहरू सुन्नु छ । ती खोला झरना पाखा पखेरु सबैतिर दृष्टि फैलाउनु छ । भेटमा देउसरालाई भन्नु छ सहरबाट वर्षौदेखि भक्कानिएका आलापहरूको कुटुरो बोकेर आएको छु, । देउसरा, यो जिन्दगी आखिर भक्कानिएका आलापहरूको एक कुटुरो मात्रै त रहेछ !

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने