दशैंलाई सम्झी हेर्दा…..

बीएल

शरद ऋतुको आगमनसँगै चिसो सिरेटो बहँदै जब मनै कठांग्रिने बिहानी आउँछ। अनि चारैतिर बेजोड हावाहुरी चल्छ। तब मलाई दशैंको आभाष हुन्छ। हरेक हरिया रुखका पातहरु हलाउँदै। अनि भूईभरि पहेंला पातले बाटो सिङ्गरिदैं गर्दा, यो समय रंगीन बहारको हो जस्तो लाग्छ। नीलो आकाशभरि चंगाहरु उड्दै होलान्, मेरो सुन्दर नगरी भक्तपुरमा। अनि नवरात्री र घटस्थापनाको तयारी हुँदै होला तर म यहाँ बिरानॊ शहरमा मानवीय मेशिनजस्तै चलिरहेकी छु। मलाई लाग्न थालेकाे छ, विदेशमा कुनै दशैं हुन्नन्। कुनै मन्दिर हुन्नन् । कुनै पूजा हुन्नन्। त्यसैले त यहाँ कुनै भगवान पनि हुन्नन्। अनि जमरा टिका नि हुन्नन्। हुन्छ त केवल आभाष अनि अनुभूति पिङ्गको। झड्का सयचोटी मचिए पनि दशैं, दशैंजस्तो लाग्दैन बिदेशमा मलाई। यस्तो मलाई मात्र होइन प्राय: विदेशमा रहेका नेपालीलाई हूदॊ हो सायद।

युरोपमा पाइला टेकेको केही वर्षसम्म मलाई सारै न्यास्राे लागेको थियो, बिशेषगरि चाँडपर्वमा। मान्छेले संसारको जूनसुकै भूगोल, जहाँ टेके नि आफूले बाल्यकालमा खेलेका ती आँगनहरु बिर्सन नसक्ने रहेछ। ती सम्झनाहरु यसरी झल्झली आँखैसामु आउँदोरहेछ। अनि त मन कुँडिएर आउँछ। एक मनले त भन्छ, बिर्स सबै बिर्सिदेऊ। सम्झनाले के दिन्छ र ? तर मन बुझाउँन कहाँ त्यति सजिलो छ र? समय, परिस्थिति अनि अवसर त कहिले रहरले कहिले कहरले। मान्छेलाई कहाँबाट कहाँ पुर्यौउछ। थाहै हुँदैन। भनिन्छ नि– जिन्दगीले प्रश्नपत्र कहिल्यै दिदैन् तर परीक्षा लिइरहन्छ मात्र।

कहिले उतीर्ण हुन्छ र हाँस्छु, कहिले गुल्टिन्छु र झन् हाँस्छु। किनकी जिन्दगीले सोध्ने प्रश्नको कुनै खाका हुँदैन र मैले दिने जवाफको पनि कुनै परिधी हुँदैन। स्नात्त्कोतर पढ्न आएकी म पनि कति बेला अध्ययनमै चुर्लुम्भ डुबें । पत्तो नै नपाईकन बित्यो। हरेक बिहानी बिश्वबिद्यालयका ती बाटाहरु धाउदै, झिसमिसेमै उठेर जीवन बिताउदै गर्दा, समयले कति छिटो नेटो काटिसकेछ। दशैंको केहि दिन अगाडी साथीभाईका शुभकामनाका संदेशहरु आइसकेपछि बल्ल भान हुन्छ, साँचिकै दशैं त घरको ढोकामै आइसकेको रहेछ।

दुनियाभरि खुसियाली अनि शुभकामना आदानप्रदान हुँदै गर्दा, म यता सप्ताको अन्तिम प़लहरु मनाइरहेकी हुन्छु। साथीहरुमाझ पार्टी गरिरहेकी हुन्छु, अनि, बिगतका ताजा सम्झनाका ती सुन्दर पलहरु एकएक गरि सम्झिरहेकी हुनेछु। आफ़्नॊ घरको आगन सम्झि मुस्कुराई रहेकी हुन्छु। विदेशको दशैं साचै भन्नुपर्दा सारै सुविधामुखी लाग्छ ।स्वादिस्ट भोजन अनि रक्सीका फरक स्वादहरु। बिकाशका उचतम नमुनाहरु। स्वोतन्त्रताको अनुपम उदाहरण। तर पनि, विदेशमा दशैं, दशैं जस्तो लाग्दैन् मलाई। मालश्रीको धून बजे नि , कर्णप्रिय लाग्दैन । सायद विदेशीपन भनेको यही हो । आफ़्नॊ धरातल चाहेर नि छोड्न नसक्नुको परिणाम हो यो।

रातॊ पहिरन, रातो टिका अनि पहे‌ंला जमरामा सझिने दुष्प्रयास गरिरहेकी हुन्छु। नवरातको पललाई नयाँ जागर बनाई उदाइरहेकी हुन्छु। हरदिन उषाको पहिलो भानुसँगै र पनि मलाई दशैं आएकोजस्तो फिटिक्कै लाग्दैन। बालापनका ती रहरलाग्दा दिनहरु, ती निश्चल हाँसो र उमंगहरु। नवरातको कथाले मनमा उथुलपुथुल मचाइ चारैतिर जमरा र शुभकामनाका लहरहरु! आहा, कति सफा अनि चंगा थिए मनहरु । दशैं , साच्चिकै लागेको थियो हिजो सायद। तर आज, चंगा उडेपनि गन्तव्य छैन। सुरिलो धुन छ। तैपनि, कतै मंगलता छैन। त्यो अभावमय रहर छैन। पहेंलो जमरा र राता टिकाहरुमा कुनै उमंग छैन। आखिर, दशैं किन लाग्दैन आजकाल? अभावमय, मन फुरुंग हुने दशैं कहाँ गयो ? अनि मलाई सोध्न मन लाग्छ– आमा, अब दशैं कहिले आउँछ? अनि आमाको एक बचन सुन्ने बित्तिकै यस्तो लाग्छ कि म आमासँगै, साथीसँगै उ त्यो पारी हिमालमा छु। त्यही बादलुको बीचमा लुकामारी खेल्दैछु। त्यो हावाको बीचमा श्वास लिदैछु। अनि त्यो निलो आकाशको घुम्टो र धर्तिको डोलीमा बसि रमाउँदैछु । त्यहीबेला खुला मनले भन्न मन लाग्छ– ए हावा, तिम्रो जीवनदेखि डाहा लाग्छ। मलाई पनि सिकाऊ न उड्न। हो, विदेशको दशैं यसरी नै आउने अनि जाने गर्छ हरेक साल। हरेक दशैंको शुभकामनासँगै साथीहरुले कहिले नेपाल आउने भनेर सोध्ने गर्छन? बेलाबेलामा कति साह्रो हौ, नेपाल आउन पनि किन हो नि यसरी फ्याट्टै माया मारेको भनेर गुनासो नि गर्छन्।

तर, यो सालदेखि दशैं साँचिकै दशैं जस्तै हुनेछ। किनकी समयसँगै हिड्न जानिसकें मैले। संसारमा जहाँ रहे नि रमाएर बाच्न सिकिसकें। अब सायद, समयसँगै मेरो मन पनि बिरानॊ बनिसक्यो क्यारे। र त, बिरानॊ माटोसँगै रमाउन सिकीसकें मैले। जीवनका आशाका किरणहरु हरेक बिहानीको भानुसँगै उदाउन थालिसके। 

जीवनका तेहिसौ बसन्त बहर अनि दशैं आफ्नै घरआगनीमा मनाउँदा जतिको आनन्द त अरु कहीं मनाउँदा नि नहुने रहेछ। पहिलोपटक घर छोडेर आउँदा नि सप्तमीको दिन थियो। आमाबाबाको मन कस्तो भयो होला? त्यो भन्दा नि मेरा पाइलाहरु अघि बढ्न कति गार्हो भएको थियो। दशैंको माहोललाई यसरी छोडेर आएको पहिलो थियो।त्यो शरद यामको एक साँझ कति यादगार छ। जीवनमा पहिलोपटक दशैंलाई छोडेर आउनुको पिडा! जीवनमा पहिलोपटक हवाईजहाज चढेर कोशौ टाढा पुगेकी म। कति आतिएकी थिएँ । कति चनाखो बसेकी थिएँ। मिलानॊपछिको ट्रान्जिट म्युनिख शहर। मनमा डर अनि धेरै उत्साह! कति खेर पुगौजस्तो! टर्मिनल दुईबाट आउँदै गर्दा जब आगमनमा साथीलाई देखें तब मुस्कानसहित थकित अनुहारमा हँसिलोपन छाएको पल। साच्चै नै अविस्मरणीय थियो। यति बेलासम्म सायद दशैंको त्यो उत्साह उतैकतै छुटिसकेको थियो। युबाहन चढेर होस्टेल पुग्दा करिब रातको ३ बजेको थियो क्यारे। लगेज डोर्याई गर्दा चिसो सिरेटोले पहेंला पातहरुको गुञ्जन! कति कति रमाइलो लागेको थियो।

मलाई कति खेर बिहान हुन्छ जस्तो भैरहेको थियो । अनि सुन्दर म्युनिख सहर हेरुँजस्तो ! त्यही भएर त एक थोपा निद्रा नि लागेन, जति नै थकित भए नि। बिहान ६ बज्न पाको थिएन अनि त जेंद्लिंगर टोरमा पुगेकी! त्यति बेला पुरै एक घण्टा कुर्नु परे नि रिस उठेको थिएन मलाई। साथीसँग कफी पिएको यो नै पहिलो थियो। जर्मनीमा पुग्नेबित्तिकै बिहानीपख बिश्वबिद्यालयको उही प्रिय क्याफेको कुनोमा पुगेपछि मैले ग्रीन टी र केक अर्डर गरेकी थिएँ। साथमा साथी पनि थियो र सोधें उसलाई– तिमी चाही के लिन्छौ? मुख छोपिएको गलवन्दी मिलाउदै उसले निर्धक्क भन्यो, म त रश्मि अर्डर गर्छु। प्राय: गाजल नछुट्ने मेरा आँखाहरु र निधारको कालो टिका नियाल्दै मज्जाले हाँसिदिए सबै साथीहरु।

किनकि जीन्दगीको मेनुमा रश्मि भेटिए पनि क्याफेको मेनुमा उपलब्ध थिएन। सबैजना आआफ्नै काममा मस्त थिए। म चाही जिन्दगीको रहर अनि रंगहरुको खेल हेर्दैथिएँ। मिठा सम्झनाको खेलमा हराउँदैथिएँ। सपना र यथार्थको खेल कोट्याउदैथिएँ। केही अतित र भोलिका योजनाको खेल बुन्दैथिएँ। फरक छन्, जीन्दगीका खेलहरु, फरक छन् मान्छेपिच्छे रमाउने, भुलाउने बाटाहरु र पनि म रमाउदै थिएँ। त्यति बेला दशैंलाई छोडेर आउनुको नमज्जा मनमा थियो। पहिलो पटक नमज्जा अनि नरमाइलो , र पनि एक प्रकारको उत्साह, रहर अनि स्फुर्ति थियो।

प्राचिनकालको राजदरबार जस्तो देखिने बिश्वविद्यालयमा लाइन लागेर बसेको नि अस्तिजस्तै लाग्छ। अनि त्यही दिन फेरी रियालमा शपिङ गएको नि भर्खरजस्तो लाग्छ। ताजै छ मनमा ती सुन्दर पलहरु। दुई रातदेखिको अनिदो पल नि कति रमाइलो थियो– अलिअलि चिन्ता, अलिअलि डर, अलिकति खुशी अनि धेरै कुराहरु।

शरद ऋतुको चिसो पनि कति घमाइलो थियो मेरो लागि। नौलो पर्यावरण अनि नयाँ देश। नलाग्नु नि कसरी? आफ्नै हातले बुनेको त्यो निलो गलबन्दी जो थियो त्यो चिसॊ सिरेटोमा। साँच्चै कति संघर्षशील, सुनौला थिए ती म्युनिखका म्युट पलहरु, कति शान्त। तर मलाई त्यही म्युट पलहरुलाई यसरी शब्दमा उतार्न मन लागेको छ यतिबेला। किनकि ती भनेका जीवनको सुनौलो अनि सधैं नै सम्झिरहुँ लाग्ने दिनहरु थिए। त्यसमा पनि देश बाहिरको पहिलो दशैं! मनभरी तनभरि दशैंकै धून थियो।

मारिनप्लाजको त्यो घन्टाघरमा हरेक दिन ठिक १२ बजे बज्ने त्यो धूनजस्तै सुमधुर थिए। साँच्चै नै कति मनमोहक थिए। कति सुन्दर थिए ती पहिला अनुभबहरु, पहिलो यात्रा , पहिलो शरद ऋतु , पहिलो दिन, पहिलो दशैं म्युनिकमा। सबै नै पहिलो अनि नुतन सुरुवात। कति म्युट थिएँ म पहिलो दिन तर मलाई मात्र थाहा छ कि त्यो मौनताभित्र कति अनगिन्ती छालहरु थिए जोडजोडले बहकिरहेका। कति आशाका किरणहरु थिए, अनि कति डर थिए । कति साहस थिए, उत्साह थिए अनि यो सब बीचमा म थिएँ, मेरा सपनाहरु थिए। सपनाभित्र अनेकन रहरहरु अनि त्यही बढदो रहरसंगै पछि छुटेका यादहरु साथीसंगीका।

बडादसैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिंदा त्यही जमरा सँगै नि मेरो मन पनि त्यही पुगेको भान हुन्छ। जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिरहँदा पानी र जीवन तथा पानीबीच तैरिरहने यो जिन्दगानी। चिसॊ सिरेटो अनि कपाल दुख्ने यो शिशिरको जिन्दगानी। कति फरक। फरक नि अब भनेर साध्य छैन। एक झोक्का न्यानॊ पवन मात्र भए नि कति आत्मिए महसुस हुन्थियो होला। सबै काकाकुल भएको यो पलमा न त पढ्ने जाँगर न त लेख्ने। लाग्छ, यो समय त्यो चिसो गहिरो निलो पानीभित्र माछाजस्तै पौडीरहन पाउँ।

एकएक थोपा पानी कति मुल्यवान छ अहिले। त्यति बेला नै मैले बुझें, साना–साना कुरामा जीवनका कत्रा–कत्रा सुख अडेर बसेका हुँदा रहेछन्। त्यही वर्ष हामीले होस्टेलमा सबै साथीहरु मिलेर दशैं मानेका थियौं। सबै जनाले आ–आफ्नै गाउँठाउँ अनुसारको मिठा परिकार बनाएका थियौं। पोखरा निवासी साथीले टिका थाप्दा मन्त्र नि पढेको थियो। त्यति बेला देखि हामीले पुरेतबाजे भनेर नाम नै राखेका थियौं। यही नै थियो पहिलो अनि अन्तिम दशैं सायद विदेशमा। त्यसपछिका वर्षहरुको त्यति याद नै छैन। कहिले कता, कहिले कता। कुन ठाउँमा बसाइँ सरिरहनु पर्ने जिन्दगी। आखिरमा सधैं कहाँ एकै ठाउँमा मात्र बस्न सकिने रहेछन नि !


देश बाहिर बसेको केही साल हुन लाग्यो। चाँडपर्वहरुमा हरेक पटक च्याटमा, मेसेजमा, नेपाल कहिले आउने? सोध्ने साथीहरु छन् आजकल।

ए मेरा मायालु साथीहरु!

त्यतिका बर्ष देशमै छँदा, किन कहिले नि यसरी भेट्न खोजेनौ? थाहा छ– मेरै नगरमा, अझ त्यो भक्तपुरमा, ललितपुरमा म कति पटक एक्लै थिएँ? तिमीहरु कहाँ थियाै‌ं? यो प्रेम कहाँ थियो त्यतिबेला? आज जिन्दगीको यात्रा गर्दै गर्दा बीचमा एक्कासी यसरी सोध्दा मलाई अलिअलि अनौठो लाग्छ। अनि स्वार्थको एउटा पाटोजस्तै लाग्छ। अर्को वर्ष फेरी नयाँ ठाउँको नया अनुभब। दशैंको फेरी उस्तै आगमन। बासन्ती क्रान्तीले आफ़्नॊ सुबास चारैतिर फिजाइरहेको थियो। त्यसपछि हामी फूलको बहार हेर्न कुरिरहयौं। पुरै एक घण्टा। चिसो सिरेटोसँगै असिनापानी दर्किदैं थियो तर पनि हामी भुलिरहयौं रंगीचंगी फूलहरुसंगै। मनमा दशैंको त्यही माहोलको अनुभब गर्दै। एकछिन् घाम एकछिन् पानी भैरहेको थियो मौसम। बिहानैदेखि आज मौसम बडा बेइमान हैु भन्दै ताली पिटेकोमा हामीलाई कत्ति नरमाइलो लाग्यो। तापनि हाम्रो मन, हाम्रो पाइला भने त्यहि अडिरहयो।

फूल जति कोमल छ, त्यति नै शक्तिशाली रहेछ, बुझ्यौं। यिनै फूलहरुले कति कठोर मनलाई पनि नरम बनाउने रहेछ। फूलैफूलको संसारमा भुलिँदा मन कति रंगिन बन्दोरैछ, त्यो त भनेर साध्य नै छैन। फेरि हामी त फूल भुल्यो भमंरामा, कुन्नि केमा म भुलें भन्दै रमाइरहेका थियौं। एउटा दशैं त फूल नै फूलको संसारमै बित्यो। मनमा पनि कति कोपिलाहरु फक्रिएका थिए, जिन्दगीका रंगहरुको, सफलताका शिखरहरुको।

दशैं मनाउन कोठामा हरियोपहेँला जमरा मात्र भएर नहुने रहेछ, रातै टिकामा सजे पनि दशैं आउदैन रहेछ। सबै कृतिम जस्तो लाग्दो रहेछ। दशैं, दशैं जस्तो हुन त, त्यही नवरातकै अधेरी चाहिने रहेछ । त्यही मन्दिरकै कर्णप्रिय घन्टी चाहिने रहेछ । अनि सय झड्का मच्चिने पिङ्ग नै चाहिने रहेछ । त्यही मेला अनि हाटबजार नै चाहिने रहेछ नि ! हरेक बिहान जमरामा जल दिनु अनि साँझ बत्ति बाल्नु अनि त्यो दियोले बनेको कालो टिका हेर्नु पो दशैं। दशैंको लागि भनेर उखु अनि आफ्ना किताबहरुको पूजा गर्नु पो दशैं। हरेक बिहानबेलुका माता दुर्गाको शक्तिपीठ त्यो पनि मायालुहरुसँग धाउनु पो दशैं। नयाँनयाँ लुगाहरु किन्नु अनि घुम्नु पो दशैं। आमाले नानू यो गर , त्यो गर अनि यस्तो गरु भन्दा नि अटेरी भएर बस्नु पो दशैं। आमासँगै पूजाकोठा सजाउनु अनि पूजा गरेको हेरिरहनु पो दशैं। बाबासँगै जिद्धी गरेर पिङ्ग खेल्न जानु पो दशैं। भाईहरुसँगै दशमीमा किताबपूजा गर्दा दक्षिन्णा लुकाउनु पो दशैं। आमाले हाकुपटासी लगाउँदा आफूले नि जानीनजानी लगाउनु अनि तलेजुभवानी, नवदुर्गाको दर्शन गर्नु पो दशैं। अनि दशैंमा पकाउने ती थरिथरिका परिकारहरु स्वाँद लिंदै आमासँगै घर रातोमाटोले लिप्नु पो दशैं। दशमीको सप्तमीमा फूलपाती राखेर १ माना भोज खानु पो दशैं। अनि दशमी सकेपछि पनि मामाघरमा जानु पो दशैं।

पिएचडी सर्टिफिकेट बाेकेर बृद्धाश्रम बसेकी शान्तिप्रियाको दुबै मृगौला चल्न छोड्यो (भिडियाे सहित)

अहिले सम्म जिन्दगीको यो यात्रासम्म आइपुग्दा यस्तो लाग्छ कि दशैं त उतिबेला रहेछ मनले मानेको। अहिले त बश, मानेजस्तो मात्र गरिरहेका छौँ। अहिले त्यो उत्साह छैन, त्यो रौनक छैन अनि त्यो रहर नि छैन। जति नै अध्यारो भए नि, छाना चुहिएको भए नि, आखिर घर भनेको घर नै हो। घर त्यही हो जहाँ आमा बस्नु हुन्छ, जहाँ बाबाको रेखदेख हुन्छ, जहाँ भाईहरुको किचकिच हुन्छ। मेरो लागि घर त्यही हो अझै सम्म पनि अनि अनन्तअनन्त सम्म पनि। त्यही घर मैले मेरा सबै निर्दोष बालापन बिताएँ। जहाँ म हुर्कें, खेलें अनि सुखदुखहरु भोगें। मलाई त्यही घर प्यारो लाग्छ जहाँ अझै पनि मेरा ती ससाना पाइलाका डोबहरु छन् , जहाँ मैले टेकेका इटहरु छन् । मैले हासेका अनि रोएका पलहरु छन् अनि मैले बिताएका अभावहरु छन् । भितामा तागेका ती मेरा चित्रहरुले मेरो संघर्षका कथाहरु बोकेका छन्। ती हरेक कोराकागजका पत्रहरुमा मेरा तितामिठा अनुभबहरु छन्, ती हरेक कलमका मसिले मेरो मनको रुपरेखा कोरेका छन् अनि मैले अहिलेसम्म बाँचेका सबभन्दा जीवन्त पलहरु छन्। हो त्यही घरमा मानेको दशैं पो दशैं। जुन घरबाट मेरी आमाले मलाई संस्कार दिनुभयो। अनि त्यही मेरी आमा जहाँ हुन्छिन्, त्यही मात्र मनले चाहेको जस्तो दशैं हुँदॊरहेछ। दशैं भन्ने बित्तिकै हामी परिवार,आफन्त अनि साथीभाईहरुको रमाइलो भेटघाटको रुपमा लिन्छौ। र त श्रद्धा अनि आत्मियेताको रुपमा लिन्छौं । 

मुख्य पर्यटकीय सिजनको मुखमा पर्यटकको विचल्ली, एभरेष्ट हिँडेका पर्यटक निराश

मेरी आमाले नै मलाई यति सशक्त, दृढ र धीर हुन सिकाएकी छिन्। र त आफूलाई संसारकै एउटा भाग्यमानी छोरी ठानेकी छु। मेरी आमाको अनुरागलाई हरपल महसुस गर्न पाएकोमा। किनकी आमाको हरेक अनुभूतिहरुको तरङ्गले नै मलाई सक्रिय तुल्याइराखेको छ अहिलेसम्म पनि, जहाँ रहे पनि। त्यही भएर नै यस्तो लागेको हो कि जहाँ आमा त्यहीं नै घर। त्यहीं नै घर अनि सबै दशैं पनि। जबजब दशैंको लहर आउँछ तब युरोपका विविध सुख सयलले नि भित्री चयन नदिने रहेछ। र पनि जिन्दगीको यात्रा त गर्नेपर्छ। जता रहे नि मनलाई उत्साहित त गर्नेपर्छ, चाहे त्यो चाडपर्व होस् या अन्य। युरोपका दिनहरु त प्राय: चिसॊ सिरेटोमै बित्छ। अनि आफ़्नॊ पढाई , काम अनि अलिकति रमाइलो। हरेक सप्ताको अन्तिममा नि रमाइलो नै गरिन्छ। आखिरमा जिन्दगी भनेकै खुशी हुनु त हो नि। माया अनि प्रेम कै त हो नि। 

डेउडा सम्राटका ती दिनहरू

साथीहरु मिलेर दशैं नमानेकाे पक्कै होइन, विदेशमा पनि। गमलामै भए नि जमरा उमारेकै हुन्छौं हामी पनि। टिका नि लगाएकै हुन्छौं अनि मिठामसिना नि खाएकै हुन्छौं। यी सब हुँदा नि हाम्रो दशैं, हामीले सोचेकोजस्तै दशैं हुँदैन, न हुनु नि ठिकै हो। हाम्रो संस्कार अनि संस्कृति त त्यति बेला झल्किन्छ जब हामी हाम्रै धरातलमा उभिरहेका हुन्छौं नि। अनि हाम्रै परिवारसँग हाँसीखुशी मनाइरहेका हुन्छौं। मालश्रीको धून गुन्जिँदा मात्र पनि दशैंको रमाइलो माहोल मनमा ताजा भैहाल्छ। आधुनिक युगसँगै प्रविधि साँघुरिएजस्तै आजकल हाम्रा चाँडपर्वहरु नि बिस्तारै साँघुरिदै छन्। यो सब बिकाशको उपज नि हो। र पनि हामीभित्र रहेको हाम्रा ती बिश्वास, आस्थाहरु  सधैं उस्तै रहन्छन्, रहिरहने छन् पनि।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज