डेउडा सम्राटका ती दिनहरू

बीएल

सुनिन्छ जानुभन्दा अगाडी पूर्व संकेत दिइसकेका थिए उनले । केही दिन बिमारले च्यापेपछि ओछ्यानमा आराम गर्दागर्दै बिदा मागे सबै आफन्त र शुभचिन्तकहरूसँग । त्यतिबेला त्यो आकाशमा बादल लागेको हुनु पर्छ भन्ने कल्पनामा डुब्न पुग्छु कहिले काही । सुदूरपश्चिमले त्यति ठूलो स्रष्टालाई गुमाउनु पर्दा अश्रुपूर्ण बने हुनन् हजारौं मनहरू । त्यो परिवेशले कतै आकाश पनि भावपूर्ण बन्न गयो कि भन्ने तर्कना उत्पन्न हुन्छन् मनमा । भावना न हो कता कता पु¥याइ दिन्छ मनलाई । जे होस् चल्ले साईले धर्ती छोड्नु भन्दा केही दिन अघिदेखि नै कैयौ मनहरू निराश बनिसकेका थिए भन्ने उदाहरणको रुपमा देखापरेका छन् केही गीतका पंक्तिहरू ।
म सम्राई लागेकै हुन्छ जिली चामलको
छदैछ खेल खेल्ने आँगन छैन दामलको

नयाँ वर्षको दिन डोटीको कोटान्जर भन्ने गाउँका ड्यौडिया लाले बैदारले खेल सुरुहुने बित्तिक्कै चल्ल्या साईलाई सम्झेर भाबुक बनाएछन् सम्पूर्ण परिवेशलाई । माथिल्लो पंक्ति अनुप्रास मिलाउनकै लागि रचिए जस्तो देखिए पनि भाव पक्ष प्रवल छ त्यहाँ पनि । त्यतिबेलाको उच्च प्रजातीको मानिने जिली धानको चामलको स्वादिष्ट भात वा खानासँग दाजेका छन् चल्ल्या साईको प्रतिभालाई । मिठो, मनपर्ने चिजको बारम्बार याद आएझैं चल्या साईको पनि याद आइरहेको अभिव्यक्ति पाइन्छ त्यहाँ । दोस्रो पंक्तिमा खेलखेल्ने आँगन पनि उही हो उस्तै छ । साथदिने खेलाडीहरू पनि छदैछन् तर मेरो दामलको (साथको, मनमिल्ने ) त्यो प्रतिभा छैन भनिएको छ । चल्ल्या साई जति बेला ओछ्यानमा मृत्युसँग लडिरहेका थिए त्यतिबेलै नजिकको गाउँमा खेल खेल्ने क्रममा सुरुवातिको गीत यही थियो ।
विगतमा पानी पंैचो लिने दिने गरिएको गाउँको रुपमा चिनिएको थियो डोटीको तिखा गाउँ । त्यही गाउँ पछि चिनिन थाल्यो लोककवि डेउडा सम्राट खण्टे खड्का अर्थात चल्ल्यासाईको जन्मस्थलको रुपमा । दिलबहादुर खड्का र सञ्जी खड्काका जेष्ठ सुपुत्र तिनै चल्ल्या साईका बारेमा बिभिन्न प्रसंङ्गहरू सुनिन्छन् अहिले पनि । मर्कट्टेका ठगी महारा तिखाका चल्ल्या साई ः यो एक पंक्ति गीत अझै सुदूरपश्चिमेली जनजिब्रोमा झुण्डिएको पाइन्छ । डोटी जिल्ला मरकट्टे गाउँ निवासी ठगी महरा गाउँगर्खा डुलेर चल्ल्या साईसँगै डेउडा खेल खेल्ने र उनीसँग सवालजवाफ गर्ने नाम चलेकै अर्का ड्यौडिया थिए । उनी चल्ल्या साईका समकक्षी थिए ।

तिखाको झल्लरे पीपल चौकी छापन लाग्यो भन्ने भनाइलाई मनन् गर्दा सजिलै अनुमान गर्न सकिन्छ चल्ल्या साईलाई त्यो निकै पुरानो, टाढैबाट टल्किने अग्लोस्थानमा रहेको सुन्दर पीपलको रुखसँग दाजिएको हुनुपर्छ भन्ने । निकै सुन्दर उपमाअलंकारको प्रयोग भएको देखिन्छ कतिपय गीतहरूमा । डोटी जिल्लाको सेती पारिको भूभागलाई चौकी भनिन्छ भने सेती वारिको भूभागलाई पश्ये भनिन्छ । त्यही चौकीका प्रतिनिधि पात्र थिए उनी । डेउडा गीतको दुनियामा एउटा बिम्बकै रुपमा स्थापित भए पछिल्ला दिनमा ।
त्यही तिखा गाउँका तिनै खण्टे खड्का बडाहाकिम प्रतापजंङ राणाका पालामा डोटी जिल्लाको सदरमुकाम सिलगढीमा रहेको कालीजंङ गुल्मका सिपाइ थिए । मौका मिल्नासाथ नजिकैका गाउँतिर राती सबै सुतिसकेपछि निस्कन्थे डेउडा खेल खेल्न । जहाँ रातभर महिला पुरुषका बीचमा सवाल जवाफ हुन्थे । अनि फर्किन्थे उज्यालो नहुदै बिरालोको चालमा । यो कार्य धेरै दिन टिकेन । एक दिन जर्नेलले उनका सबै गतिबिधि थाहा पाए । तर उनलाई न कुनै प्रश्न सोधियो न त दिइयो कुनै किसिमको सजाए । दिइयो उल्टै महत्वपूर्ण अवसर । त्यो अवसर थियो डेउडा प्रतियोगितामा भागलिनु पर्ने ।
गाउँगर्खाका मानिसलाई बोलाएर टुडिखेलमा एक दिन एक रात डेउडा खेल खेलाइयो । जहाँ कैयौ नाम चलेका ड्यौडियाहरूलाई परास्त पार्दै खण्टे खड्काले जीत हात पारे । त्यो विशाल उपस्थितिका बीच उनलाई पुरस्कारका साथै चल्ल्यासाईको उपाधि समेत दिइयो । गाउँगर्खा र अन्य जिल्लाहरूमा समेत उनको चर्चा परिचर्चा हुनथाल्यो ।
डोट्याली भाषामा चल्ल्याको अर्थ हुन्छ –चालु या तुरुन्तै गीत सिर्जना गर्न सक्ने अद्भुत क्षमता भएको हौसिया, रहडी । साईको अर्थ हो प्रसिद्धि कमाएको नामी, उच्च ओहदाको । एउटै शब्दमा भन्नु पर्दा चल्ल्या साईको अर्थ हो – डेउडा सम्राट । त्यसै दिनदेखि उनलाई गाउँगर्खातिर सबैले चल्ल्या साई भन्न थाले । पछि गएर उनको नाम नै चल्ल्या साई रहन गयो ।
बोलीचालीका क्रममा कतै भूलवश त कतै बोल्दा सजिलो महशुस गरेर चल्ल्या शाही पनि भनिन थालियो । यही कुरालाई मनन् गरेर एक दिन बाटोमा यात्रारत रहदा नजिकै गोरु चराइरहेका चल्ल्या साईलाई देखेर बझाङका ठकुरी खलकका कसैले प्रश्न सोधेछन् ः

बल्ल(गोरु) कै का हुन् ? बेच्न्या हौ ?
चल्ल्या साई ः हजुर मेराइ हुन् । बेच्न्या हुँ ।
ठकुरी ः कति खेती लगायो ?
चल्ल्या साई ः धान, गहुँ, काकुन, कोदो ......... कति कति ।
ठकुरी ः हैन कति रोपाइँ ग¥यो भनेको ?
चल्ल्या साई ः दाइकी, भाइकी, काकाकी, मितकी, वल्ला घरकी पल्ला घरकी ........ भउतकी रोपाइँ अर्यो हजुर ।
एवम् प्रकारका सवाल जवाफ भै नै रहे । चल्ल्या साईले बुझिसके यसले हेप्न खोज्दै छ भन्ने । ठकुरीको आशय थियो घुमाइ फिराइ ब्यङ्ग्यात्मक हिसाबले यौटै प्रश्न सोध्नु । त्यो प्रश्न थियो तँलाई त सबैले शाही पो भन्न थाले कसरी ठकुरी बनिस् ? अँ भन्दा अलङ्कार बुझ्ने चल्ल्या साईलाई एकोहोरो आइरहे प्रश्न । उनले पनि कौशलतापूर्वक दिइ नै रहे जवाफ । अन्तमा सोधिएछ ः तमी बिहे कोसित गर्दा छौ ? चल्ल्या साईले प्रतिप्रश्न गरेछन् – तमी कोसित गर्दा छौ ? उत्तर आए छ । मल्ल, बम, पाल, शाही...... आदि सँग । अनि बिस्तारै बोलेछन् चल्ल्या साई – हजुर हामी त महिलासँग गर्छौ बिहे । चल्ल्या साईको क्षमता बुझेपछि चुपचाप आफ्नो बाटो लागेछन् ती प्रश्नकर्ता ।
यी सवाल जवाफ सबै गीतमै गरिएका थिए । उनी घरमा समेत प्राय गीतमै कुराकानी गर्थे । यसै प्रसङ्गमा उनलाई पुनः कतै खेलखेलिरहेको बेला कुनै ड्यौडियाले गीतमै प्रश्न सोधेका थिए जसको उत्तर उनले यसरी दिएका छन ः
प्रश्नः कैका तमी भाइ भया कै कैका दाइ भया
कैल तमी रजवार भया खड्काका साई भया
उत्तरः बुढ्यौली कोइपन छैनन् सबैको दाइ भए
जर्नेलका परताप (कृपाले) खड्काको साई भए

उनले सेनाको जागिर पनि धेरै दिन खाएनन । फकिरलेझै गाउँ गर्खा डुल्दै डेउडा खेल खेल्दै आफ्नै मनमर्जीको जिन्दगी बिताए । उनको जन्मथलो पुग्दा सोही गाउँका ७६ वर्षका करबीर खड्काले निकै नै उत्साहित भएर सुनाएका थिए उनका बारेमा केही कुराहरू । करबीर खड्काका अनुसार एकजना भारतीय नागरिकले डडेल्धुरामा काठको ठेका लिएका थिए । पछि तिनै ठेकेदारले जुम्लामा दारपातको ठेका लिए । डेउडा गीत त्यतिसारो नबुझे पनि चल्ल्या साईको मान्छेमा प्रभाव पार्न सक्ने कला र तुरुन्तै गीत सिर्जना गर्न सक्ने क्षमताबाट प्रभावित भएर उनलाई आफुसँगै जुम्ला लगेर मुन्सिको जागिर दिए । उनका भाइ सकराम खड्कालाई समेत मेटको जागिर दिए । जुम्लामा बस्दा पनि उनले डेउडा खेल खेलेर निकै प्रसिद्धि कमाए ।
अछाम बझाङ्ग बाजुराका कैयौ नाम चलेका महिला गितेरुहरू पनि उनीसँग डेउडा खेल खेल्न पाउनु, सवालजवाफ गर्न पाउनु सौभाग्य नै ठान्दथे । उनले बझाङ्गकि झीरु,बिसु, डोटी कलेनाकी मुसी लगाएत कैयौ महिला ड्यौडियासँग डेउडामा सवालजवाफ गरी दिनरात बिताएको कुरा सुनाउछन् लाल खड्का र चन्द्रभान लुहार ।

उनी डेउडा प्रेमीहरूका हृदयका ढुकढुकी थिए । त्यतिबेलाको सुदूरपश्चिममा निकै नै प्रशिद्धि कमाएका एक लोककवि थिए । उनलाई घरको कामसँग सरोकार हुँदैनथ्यो । नत पारिवरिक जिम्मेवारीकै त्यति ठूलो बोझ उठाए । कतै जात्रामा बाजा बजेको सुन्दा होस् वा डेउडा खेल खेल्दा कतैबाट निस्केको आवाजको रन्को कानमा ठोकिदा होस् ठेगानमा हुँदैन थियो उनको मन । र त अनेक उपाए निकालेर पुगि हाल्थे डेउडा खेल चलिरहेको स्थलतिर । डेउडा गीतप्रति उनको लगाव कति थियो भन्ने प्रसंगमा बुझ्दै जादा एउटा घटना सुनाउछन ने.का.का युवानेता बिजय खड्का ।
खेतका सबै गराहरूमा गहुँको बीउ छरिसकेर हलो जोतिरहेका बेला सुनेछन् एकाएक पारि खातिवडाकी जाँतमा बजेका बाजाको रौनक । आधी खेत जोत्न बाकी नै थियो । मन ठेगानामा कहाँ हुनु । खेत जोत्ने जोसजाँगर केही रहेन । दिमागमा घुम्न थालेछ खातिवडाकी जाँतमा खेलिने डेउडा खेल । यतिकैमा आमाले आफुलाई खाजा र गोरुलाई दुई मुठा पराल बोकेर खेततिर आइरहेको देखेर निकाले छन् उपाय । आमा खेतमा पुग्नु अगावै बाँधेछन् गोरुको टाउकोमा गलबन्दी । त्यो दृश्य देखेपछि अचम्म मान्दै सोधिछन् आमाले – के भयो खन्टु केलाई बाँधि तइका मुन्टामुणी गलबन्दी ?
“आमा यैको मुन्टो दुख्या छ । जऽर (ज्वरो) लगइ आएको छ । गलबन्दी बाधेपछि नम्माइ शान्त भया हो” – उत्तर दिन्छन उनी ।
आमा गोरुको टाउको मुसार्छिन निकै नै तातेको छ । जोतेका गोरुको टाउको तातो हुनु स्वभाविक नै थियो तर आमालाई थाहा हुँदैन ।
“बल्ल (गोरु) लाई सञ्चो भया पछि जोतल्लै ब्वा भइग्यो आब जनजोत” – आत्तिदै भन्छिन आमा । हलो जुवा फुकालेर आमालाई गोरु घर लग्न भनेर हिंडेछन् जात्रामा । दिनभर रातभर डेउडा खेल जमाएछन् त्यहाँ । मै हूँ भन्नेलाई परास्त पारेर हिडेछन् अर्को गाउँतिर । ठाउँठाउँमा डेउडा खेल खेल्दा खेल्दै हप्तादिन बितेको पत्तै भएन छ ।

चल्ल्या साईको जन्म मिति थाहा छैन कसैलाई । मृत्यु चाही २०२६ साल बैसाख १२ गते भएको कुरा बताउछन तिखाका ६५ वर्षिय डम्बर खड्का । ६४ ÷६५ वर्षको उमेरमा उनले धर्तीबाट बिदा लिए । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा बिमानस्थल बनाउने कार्य तीब्र गतीमा भैरहेको थियो । करिब दुई तीन सय जना कामदारहरू थिए बिमानस्थल निर्माणमा जुटेका । माथि डाँडाबाट चल्ल्यासाईको लाश आइरहेको चाल पाएपछि बिमानस्थल निर्माणको काम बन्द गरी सारा कामदारहरू मलामी बनेर सेती किनारमा पुगेको कुरा बताउँदै उनी भन्छन् –चल्ल्यासाई बितेको दिन उनका आफन्त र गाउँलेहरू मात्रै नरोएर पुरै गर्खा रोएको थियो ।


चल्ल्या साईका बारेमा कैयौं मार्मिक घटनाहरू र उनले सिर्जना गरेका मर्मस्पर्शी केही गीतहरू, भनाइहरू सुन्नमा अउछन । एक पटक गाउँमा एक जना मान्छेको मृत्यु भएछ । मलामी बनेर लाशको पछिपछि गइरहेका थिए चल्ल्या साई पनि । बाटो नजिकैको खेतमा गहूँ काटिरहेकी एक महिलाले गराको डिलमा उभिएर चल्ल्या साईलाई प्रश्न गरिछन् –“यो मान्स बेलि (हिजो) म¥या हो कि आज ?” उक्त प्रश्नको उत्तर थाति राखेर चल्ल्या साईले प्रतिप्रश्न गरेछन् – “ यो लाइखेती हो कि खाईखेती ?” “यो खाईखेती हो” –महिलाले सहजै जवाफ दिइछन् । अनि चल्ल्यासाईले भनेछन “यो मान्स बेलि (हिजो) मरिसक्याथ्यो” । यति भनेर चल्ल्यासाई आफ्नो बाटो लागेछन् । घाटमा अरु मलामीको बीचमा त्यो सवाल जवाफ निकै चर्चाको बिषय बनेछ । एकदुई जनाले त चल्ल्या साईलाई झपार्दै भनेछन् – आज मरेको मान्सलाई हिजो मरेको किन भनिस् ?
बिस्तारै बोलेछन् उनी – मात्र आफ्नो स्वार्थको लागि बाँच्ने मान्छे समाजको लागि हिजो नै मरेको मानिन्छ । यो पन समाजको लागि काम लाग्दे नइथ्यो । हिजै मरिसक्याथ्यो । सास मात्तरै चल्या त थ्यो । आज त्यो सास लगइ सकिग्यो ।
अनि सोधियो ती महिलाले भनेको खाईखेतीको अर्थ । उनले त्यो पनि सुनाएछन् –लाइखेती भनेको आफ्नो हो । आफु भित्र्याउन पाइन्छ । साहु महाजनसँग ब्याज वापत फलानो खेतको गहूँ अथवा धान दिउँला भन्ने वाचा गरेर पहिल्यै केही रकम लिइसकेको छ भने त्यो खाईखेती हो । यति कुरा सुने पछि सारा मलामी चुप लागेछन् ।
उनका सवाल जवाफ नै काब्यिक थिए । सेती महाकाली र कर्णाली अञ्चलका केही जिल्लामा समेत उनले आफ्नो समयमा निकै प्रशिद्धि कमाएका थिए । जात्रा, मेला भूवाः, देवाली, गौरापर्वका बेला गाउँगाउँमा जिल्लाजिल्लामा उनको माग हुन्थ्यो ।
उनी डेउडा गीतका प्रतिनिधि थिए । दुर्भाग्य उनले सिर्जना गरेका गीतहरू लिखित रुपमा आउन सकेनन् । आफैमाथि समेत ब्यंग्य प्रहार गर्न सक्ने चल्ल्या साई शब्दचयनदेखि बिम्ब बिधानका साथै उपमा अलङ्कारको प्रयोग गर्न समेत निकै सिपालु र पोख्त मानिन्छन् । यद्यपि उनलाई यी कुराको कुनै ज्ञान थिएन । उनी असाक्षर नै थिए ।

उनले समाजको असमानता हटाउन गीत रचे । गरिवगुरुवाको पक्षमा रहेर गीत गाए । समाजमा अरुमाथि हैकम चलाउने सुकिला मुकिलाप्रति ब्यङ्ग्य प्रहार गरेर गीत सिर्जना गरे । र सिर्जना गरे केही प्रणयपरक गीतहरू । लाल्छणिक ढंगले तर्कगत शैलीमा गीत प्रस्तुत गर्ने अद्भुत क्षमता थियो उनीसँग । त्यसैले गाउँघरतिर आज पनि भनेको सुनिन्छ – “डेउडा हुन त चल्ल्या साईका जसा” ।

 

 

 

 

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज