खस संस्कृतिमा दशै नभएर, 'शिउरी पिठा'

खस संस्कृतिमा दशै नभएर, 'शिउरी पिठा' । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

 राजेश हामाल र करिश्मा मानन्धर छमछम नाच्दै गर्दा हामी सबैले राताे टीका लगाइरहेका थियाैं । अनि हाम्रा निधार राता टिकाले टल्केका थिए । हाम्रा पुर्खाकाे चित्त दुखाइ यसैमा थियाे । 

तर, खस सभ्यताको उदगम थलाे सिञ्जा साम्राज्यमा निधार टल्किने गरी राताे टीका लगाइन्थ्याे कि नाई ? हामी यही विषयमा केन्द्रित छाैं ।

एसियाली क्षेत्रमा धान खेतीले नौ, दश हजार वर्षकाे अविछिन्न यात्रा पूरा गरेकाे छ । तर,  जुम्लामा धान खेतीबारे पुराना अभिलेख, किम्वदन्ति र तथ्य हेर्ने हो भने मार्सी धान उत्पादन हुन थालेकाे सात सयदेखि एक हजार वर्ष मात्र भएकाे देखिन्छ । यद्यपि वेदमा शाली (मार्सी) धानकाे चर्चा हुनुले यसकाे इतिहास लामाे रहेकाे प्रष्ट हुन्छ । 

जौं (हर्डियम)काे खेती लगभग सात-आठ हजार वर्षअघि भएको अनुमान गरिन्छ । तुलनात्मक रूपमा धानकाे आविष्कार केही अगाडि भएकाे देखिएपनि जुम्लामा धान खेतीभन्दा अगाडि जाैं खेतीकाे थालनी गरिएकाे देखिन्छ । पाखामा हुने जाैंकाे जातलाई 'पाबै जाैं' भन्ने गरिन्छ । 

मस्टाे परम्परामा 'बाह्र-भाइ मस्टाे र नाै दुर्गा भवानी' हुन्छन् । जहाँ मस्टाेकाे पूजा लाग्छ त्यहाँ दुर्गाकाे खाेपाे (पुजा गर्ने सानाे थान स्थापना) राख्ने चलन हुन्छ । नाैरातकाे समयमा नाैदुर्गा भवानीकाे पुजा हुनाले खस सभ्यतामा दशै मस्टाे परम्पराकाे उपज भएकाे बताउँछन् -उप प्रध्यापक बासु उपाध्याय । यसरी नवदुर्गाकाे पूजा गरिने दिन/बारलाई दशै नभनेर 'शिउरी पिठा' भन्न थालिएकाे जनजिब्राेमा 'पिठा' शब्द झुन्डिनुले सहजै अनुमान लाउन सकिन्छ ।

जुम्लामा जाैं खेती कहिलेदेखि गर्न थालियाे, याे थप अध्ययनकाे विषय हाे । तर यहाँकाे जाैं खेतीले जमराकाे हर्ज (अभाव) कहिले हुन दिएन । धान थिएन । तर, धानकाे विकल्प थियाे । फापर ।

 

हालसम्म लिखित र यकिन तथ्य नभेटिए पनि फापरको उत्पत्ति हजारौं वर्ष पहिले एसियामा भएको र पछि युरोप, अमेरिकालगायत पश्चिमी मुलुकमा यसको लोकप्रियता बढेको बताइन्छ । रुखो डाँडापाखा, पानी, मलको अभाव हुँदा पनि सजिलै फापरको उत्पादन गर्न सकिन्छ । जिउला(खेत)काे अभ्यास नभएको अवस्थामा डाँडापाखामा फापर खेती भैरहेकाे थियाे । यसले धानकाे विकल्पकाे रूपमा काम गरिरहेकाे थियाे । 

फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बि-१, बि-२ र बि-६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको ठुलाे स्रोत हो ।  जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययन अनुसार प्रोटिनयुक्त फापरको पिठोमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुन्छ । मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुने समेत बताइन्छ । 

तथ्यले चामलको विकल्पमा फापर उपयोगी रहेको देखाएका छन् । एक अध्ययनले भन्छ, एक सय ग्राम फापरमा ७१ दशमलव ५ ग्राम कार्वोहाइडेड, दश ग्राम फाइबर, ३ दशमलव ४ ग्राम फ्याट र १३ दशमलव २५ ग्राम प्रोटिन पाइन्छ । यही सय ग्राम फापरले मात्र मान्छेलाई ३ सय ४३ क्यालोरी प्रदान गर्ने भएकाले याे मानव जातिकाे लागि महत्त्वपूर्ण मानिएको छ र मानव शरिरलाई प्रशस्त शक्ति प्रदान गर्ने भएकाले फापर बहुगुणी छ ।

मानिसले आफूलाई हित गर्ने वस्तुलाई पूजा गर्दैआएको देखिन्छ । वेदमा आगो, पानीलगायत हितकारी वस्तुको वन्दना पाइन्छ । त्यसले प्राचीन मानिसहरु हितकारी वस्तुलाई पूजा गर्दा रहेछन् भन्ने देखाउँछ । ठ्याक्कै याे र ऊ खालकाे हित गर्छ भन्ने लिखत नभएपनि उपभाेग र अनुभवले फापरलाई अत्यन्तै लाभदायक मानेकाे देख्न सकिन्छ । 

खस सभ्यताकाे विकास हुँदै गर्दा बहुगुणी फापरलाई पुजा गर्न थालिएको र उच्च सम्मानस्वरुप निधारमा सिउरिने गरिएकाे देखिन्छ । त्यसैकाे परिणाम हाे, हालसम्म पनि कसैकाे छाेराे भयाे, कसैको बिहे भयाे, काेही कसैले औपचारिक परीक्षा उत्तीर्ण गर्‍याे, सरकारी जागिरमा नाम निस्कियाे, भाेट मधेस गरेर(विदेशबाट) आयाे, लडाइबाट सकुशल फर्कियाे वा लडाइ जितेर आयाे, मुद्दा-मामिलामा जित्याे वा नेपाल(काठमाडौं) पुगेर आयाे भने छरछिमेकी केही काेसेली लिएर पिठा लाउन जान्छन् । यसरी शुभकार्यमा लगाउने गरिएकाे पिठा छाेरी जन्मिदा र बिहे हुदाँ भने लगाइदैन । 

जसलाई पिठा लगाउन जाने हाे उसकाे निधार(शिर)मा फापरकाे पिठाकाे सिउराे तलदेखि माथितिर  लगाइदिने हुनालाे विस्तारै यसलाई 'शिउरी पिठा' भन्न थालियाे । बजार ठुलाे नभएकाे, रंगकाे आविष्कार नभएकाे तथा स्वास्थ्यका दृष्टिले पिठाे लगाउँदा कुनै हानि नहुने हुनाले फिक्का हरियाे तथा फिक्का पहेँलो मिश्रितजस्ताे देखिने फापरकाे पिठाे निधारमा सिउरिन थालियाे र लगाउँदा आकर्षक देखिने हुनाले फापरलाई नै राेजियाे । 

दशैमा गन्नेमान्ने  आदरणीयलाई पिठा लगाइदिने र पिठाकाे चलन दशैकाे बेला अरु समयभन्दा व्यापक हुने हुनाले दशैकाे दिनलाई शिउरी पिठा(शिर पिठा वा पिठा)काे दिन भनेर चिन्न थालियाे । त्यसैले आजपनि टीकाकाे दिन नभनेर पिठा भन्ने चलन व्यापक छ । पिठामा काेसेली अनिवार्य हुन्छ । 

प्रश्न उठ्न सक्छ जाैं, गहुँ, काेदाे आदिकाे पनि पिठाे हुन्छ । किन फापरकोलाई मात्र पिठाे भनिएको ? तर, यतातिर फापर र चामलकाे पिठाे बाहेक सबैलाई  धुलो भनिन्छ । पहिला पहला पिठो भन्ने वित्तिकै फापरको भन्ने आम बुझाई थियाे । धानखेती हुनुपूर्व नै फापरकाे पिठाे सर्वव्यापि भैसकेकाे थियाे । त्यसैले पिठो भनेर फापरलाई चिनिएको र फापरलाई नै पूजास्वरुप निधारमा सिउरिने गरेको देखिन्छ भने फापरलाई नै जोडेर दशैको दिनलाई 'शिउरी पिठा' भन्ने चलन व्यापक भएकाे हाे ।

बडा दशैं वा विजया दशमी पछि मात्र आएकाे हाे, नेपाल(काठमाडौं)बाट । जसरी पृथ्वीनारायण शाहलाई बडामहाराज भनियाे । 

दशैंमा जेष्ठ सदस्यबाट टिका थाप्ने चलन छ । शिउरी पिठा त्यसकाे विपरीत हाे । पिठा लाउन जानेले लगाइदिने हाे, थाप्ने हाेइन । एसएलसी पास भएकाे केटाेलाई पिठा लाउन आउने मान्छे ठूलाे भएपनि सानाेलाई अबिर लगाइदिएजस्तै । बरु उसले जमरा लगाइदिने हाे । जाैंमा ६७ प्रतिशत कार्वाेहाइड्रेट र १३ प्रतिशत प्राेटिन पाइन्छ । जसले मानव शरीरलाई प्रशस्त शक्ति प्रदान गर्छ । त्यसैले यसलाई कानमा सिउरिने गरिन्छ । 

तर शिउरी पिठाकाे चलन विस्तारै हराउँदै गएकाे छ । शब्दले वा कामले पिठा हालसम्म रहे पनि पिठाेको प्रयाेग हराउँदै गएकाे छ । खस सभ्यतामा धान खेतीपछि पिठाेकाे ठाउँ चामलले लिएकाे देखिन्छ । त्यसपछि चामलकाे टीका लगाउन थालिएको पाइन्छ । तर, चामलमा अबिर मिसाएर राताे टीका बनाउन थालेकाे चारदशक पनि भएकाे छैन । त्यसभन्दा अघि दहीमा चामल मिसेर लगाउने चलन थियाे । परिणामत: टीका नभनेर दही-चामल भन्न थालिएकाे हाे भने दही-चामलपछि बेसार मिसाए टीका लगाउने गरिएकाे थियाे । 

तर यी सबै मिचेर आइरहेछ, आधुनिकिकरण । जसकाे नेतृत्व गरिरहेका छन् बहुराष्ट्रिय कम्पनीले । अबिर, केसर जस्ता रंगहरु सहित आएका छन् र, खस संस्कृति समेत अतिक्रमण गर्न भ्याएका छन् । हाम्रा अनुकरणीय संस्कृति शिउरी पिठा, दहि चामल, बेसारे टीका विस्तारै हराइरहेका छन् । अनि 'राताे टीका निधारमा' टल्किरहन्छ । यसमा हाम्रा पनि थुप्रै कमजोरी छन् । एकएक गरी केलाउन जरुरी छ ।

यसपकटको दशैमा चाँहि यति नै । 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज