दशैको दिशा– पहाड र मधेशको भिन्नता

traveltrangle

हिन्दु बहुल जनसंख्याद्वारा बसोबास गर्ने हाम्रो प्यारो देश नेपालको राष्ट्रिय चाड़ दशैं हो। वर्षभरिमा दशैं मुख्यतया दुई चोटि मनाइन्छ–शारदीय तथा वासन्तिक दशै‌।

परम्पराअनुसार पहिलो दशैं यथानाम शरद ऋतुको आरम्भ भएपछि आश्विन शुक्लपक्ष परेवाको दिनदेखि शुक्ल पक्षको दशमी तिथिसम्म मनाइन्छ भने वासन्तिक दशै वसन्त ऋतुको आरम्भ अर्थात् चैत्र महिना परेवाको दिनदेखि दशमी तिथिसम्म मनाउने चलन छ।

दशैं भन्ने वित्तिकै बालक, तन्नेरी तथा बुढ़ापकासम्मको मन ठूलो हर्षोल्लासले भरिएर आउँदछ। नयाँ–नयाँ लुगा–फाटो, मिठो–मसिनो खाना–पीउना, विभिन्न किसिमका उत्सव–मेलाको रहल–पहल, विभिन्न खाले खेल–तमाशाको रमझम तथा अन्त्यमा ठूला–वड़ा मान्यजनहरुको हातबाट निधारभरिको टिका–टालो तथा आशिष र द्रव्य–दक्षिणाको आदान–प्रदान। मनै रमाइलो, देशैं रमाइलो गरेर वित्दछ।

दिनानुदिन जीवनको एकोहोरो दिनचर्याद्वारा आक्रान्त जनजीवनमा दशैंको उमङ्गले एउटा नौलो उर्जा उत्पन्न गरिदिन्छ, जसले वर्षभरिको लागि पुनः जोश र जाँगर थपि दिन्छ। नेपालमा एउटा प्रसिद्ध उखानै छ–‘आयो दशै ढोल बजाइ, गयो दशैं ऋण बोकाइ।’ सिमित आयश्रोत भएका जनसाधारणको लागि दशैं एउटा रमाइलो चाँड त हुँदै हो तर यसको अन्त्य प्रायः दुःखद नै हुन्छ।

दशैको अवसरमा जहान–परिवार र बाल–बच्चाको मुख हेरेर काढि़एको ऋण लामो समयसम्म पिरी रहेको कैयन दुःखद घटना समाजमा देखिन्छन्। नेपाली साहित्यका मूर्धन्य व्यग्यकार स्व भैरव अर्यालको असामयीक निधन यसैको दुस्परिणाम थियो भन्ने जानिफकारको आंकलन छ। यसैलाई हृदयंगम गरि पञ्चायतकालमा सरकारी कर्मचारीहरुलाई एक महिनाको तलब बराबरको रकम दशैं खर्चको रूपमा दिने चलन चलेको थियो जुन अद्यावधिक जारी नै छ।

नेपाल हाम्रो प्यारो देश, सुन्दर, शान्त र विशाल रहे पनि यो बहुल सांस्कृतिक, बहुल जातीय तथा बहुभाषी देश हो। यहाँ शुद्ध आर्य रगतधारी मानिसहरुको बसोबास छ भने, त्यस्तै मंगोलियन र द्रविड़ जातीहरुको पनि सघन बस्ती छ। अतः धार्मिक तथा सांस्कृतिक चलनहरुको भिन्दा भिन्दै प्रवृति र आचरण विद्यमान छ। पहाड़मा दशैको आफ्नै किसिमको परम्परागत चलन छ भने मधेशमा पनि आफ्नै किसिमको परम्परागत चलन छ।

पहाड़मा दशैं उत्सव, त्योहार र चाँडको रूपमा मनाइन्छ भने मधेशमा दशैं आस्था, विश्वास, अध्यात्म र तपस्याको रूपमा मान्ने परम्परागत चलन रही आएको छ। सरकारी मान्यता अनुसार पहाड़ी मूलका मानिसको लागि दशैं सरकारी वा राष्ट्रिय चाँडको रूपमा रहे पनि मधेशमा भने दशैं प्राचीन कालदेखि नै सरकारी उपेक्षाको बाबजुद समाजमा धार्मिक अनुष्ठानको रूपमा मानिदै आइरहेको तथ्य भने प्रचार–प्रसारमा कहिले थिएन र छैन पनि। मधेशमा दशैलाई ‘दसहरा’ तथा ‘नवरात्र’ पनि भन्दछन्। उपरलिखित शारदीय र वासन्तिक नवरात्र भन्ने नौ रात्रीसम्म शक्ति अर्चनको लागि गरिने तपस्चर्याको बोध गराउँदछ।

नवरात्रको प्रत्येक रात्री नवदूर्गाको नौवटा रूपहरुको अर्चना गर्नको लागि तपस्या, पूजा, पाठ, जप, हवन गर्ने गरिन्छ।

शक्तिरूपा भगवतीको नौवटा रूपको बारेमा स्वयं ब्रह्माजी भन्नु हुन्छ–प्रथमंं शैलपुत्री च द्वितियं ब्रह्मचारिणी, तृतियं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्। पञ्चमंं स्कन्दमातेति षष्ठं कात्यायनीति च, सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्। नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।

शक्तिस्वरूपा यी नौवटी अराध्य देवीहरुलाई नौ दिनसम्म प्रत्येक देवीको रूप–स्वभाव तथा रूची अनुसारको पूजा अर्चना गर्ने परम्परा त चलिआएकै हो। तर शारदीय नवरात्र किंवा वासन्तिक नवरात्रमा पनि दुर्गार्चनको अर्को पनि एउटा विशेष पद्धति हिन्दु समाजमा विद्यमान रहेको पाइन्छ।

नवरात्रको प्रथम दिन घटास्थापना गर्ने चलन रहि आएको छ। सो अनुसार सो दिन बिहानै भक्तजन नदी, तलाउमा गइ दैनिक दिनचर्या पश्चात स्नान–ध्यान गरेर नदी, खोलाको मध्यबाट बालूवा झिकि ल्याएर पूजा कोठामा एउटा स्थानुसारको वेदी निर्माण गरि बीचमा जलपूर्ण कलशको विधिपूर्वक स्थापना गरेर त्यस कलशको वरिपरि नौगेड़ीको बिउ छर्दछन्।

त्यहाँ कलश स्थापन, गणेश पूजन, उदकुम्भ पूजन, आदि इत्यादि शास्त्रोत्त विधिअनुसार विविध देवी–देउताहरुको पूजन अर्चन गरेर अखण्ड दीप प्रज्वलित गरि दुर्गा सप्तशतीको पाठ गर्दछन्। दुर्गा सप्तशतीको पाठ गर्नु भन्दा पहिले कवच, कील, अर्गला रूपी पूर्वाङ्ग तथा प्रधानिकं रहस्यम्, वैकृतिकं रहस्यम् तथा मूर्तिरहस्यम् रूपी उपाङ्गको पाठ गरेर देवीसूक्तम्, सिद्धकुञ्जिकास्तोत्रम् तथा श्रीदुर्गामानस–पूजाको पाठ गर्नु पर्दछ। आश्विन शुक्ल परेवा तिथिदेखि नवौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गरेपछि त्यसै दिन अथवा पाञ्चाङ्ग अनुसारको निर्दिष्ट समयानुसार हवन गर्नु पर्दछ तथा दशमी तिथिको दिन कलशस्थानमा रोपण गरिएको जमरा विधि र मन्त्र अनुसार काटि भगवतीको प्रसाद ग्रहण गरेपछि मात्र अन्नाहार अथवा पारण गर्नु पर्दछ।

मधेशी संस्कृति अनुसार नवरात्रको नौ दिनसम्म गरिने दुर्गा पाठको भाव पनि अत्यन्त गूढ़ तथा गोपनीय रहेको छ। दुर्गा पाठको पूर्वाङ्ग तथा उपाङ्ग पछि नवार्ण मन्त्रको एकसय आठ वटा जप पछि दुर्गा भगवतीको त्रिगुणत्मक तीनवटा चरित्रको कथा शुरू हुन्छ–प्रथम चरित्र (प्रथम अध्याय), मध्यम चरित्र (द्वितीय, तृतिय तथा चतुर्थ अध्याय) तथा उत्तर चरित्र (पञ्चम देखि त्रयोदश अध्यायसम्म)।

प्रथम चरित्रकी देवी हुन–महाकाली, मध्यम चरित्रकी देवी हुन, महालक्ष्मी तथा उत्तर चरित्रकी देवी हुन, महा सरस्वती। प्रथम चरित्रमा मधु–कैटभ राक्षसको वधको कथा, मध्यम चरित्रमा सेनापतिसहित महिषासुर राक्षसको वधको कथा तथा उत्तर चरित्रमा धूम्रलोचन, चण्ड–मुण्ड, रक्तबीज तथा शुम्भ–निशुम्भ राक्षसको कथा वर्णित छ। त्रिगुणत्मक यी महास्त्री शक्तिहरुको पूजा, अर्चन र अराधना गर्नको लागि मदेशी समुदायमा अति पवित्रता, शूचीता तथा तपस्चर्या गर्ने गरेको परम्परा रहिआएको छ।

सो सूत्र अनुसार भोजपुरी भाषाको कथन छ–उदासी भेष, वल्कल वसन, भूमि शयन, पूर्ण ब्रह्मचर्य, फलाहार तथा दुर्गा सप्तशतीको सम्पूर्ण पाठ। उदासी भेष भनेको न काटिएर बढ़ेको कपाल–रौं–नङ्ग, सौन्दर्य–प्रसाधन प्रयोग गरि नुहाएर पवित्र भएको, झुत्रो–झाम्रो लुगा लगाएको, भूमिमा ओछ्याएर सुतेको, पूर्ण फलाहारी र लोग्ने स्वास्नीबीच पूर्ण ब्रह्मचर्यको पालन तथा दुर्गा सप्तशतीको विधिपूर्वक पूर्ण पाठ गरेकोमा मात्र दुर्गा सप्तशतीको पाठ सफल हुन्छ तथा माता भगवतीले इच्छाइएको कामना सिद्ध पार्दछिन्। तर दुर्गामाताको अराधनाको क्रममा भक्तजनहरु अत्यन्त विनम्र, आस्थावान तथा भक्तिभावनाले युक्त हुनु अत्यावश्यक हुन्छ–मत्समः पातकी नास्ति, पातघ्नी त्वत्समानही। एवं ज्ञात्वा महादेवी यथायोग्यं तथा कुरू।। दुर्गा सप्तशतीको पाठ पछि देव्यपराध क्षमापन स्त्रोतम्को पाठ गर्न पनि अत्यावश्यक हुन्छ।

यस प्रकार हाम्रो प्यारो देशमा दशैको दिशा दुुइतर्फ गइरहेको पाउँदछौं। एकातिर दशैको रमझम, उमङ्ग, उत्साह तथा तड़क–भड़क देखा पर्दछ भने अर्को तर्फ आस्था, विश्वास, तपश्चर्या तथा दैन्यताको पराकाष्ठा देखा पर्दछ।

नमो देव्यै महादेव्यै शिवायै सततं नमः। नमः प्रकृत्यै भद्रायै नियताः प्रणताः स्म ताम्। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः।।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज