दशैंमा जोडिएका तिम्रा यादहरू

oursansar.worldpress.com

कथा

३ वर्ष अगाडि दशैको समय। काठमाडौमा डेराको जिन्दगी। किन–किन त्यो दशैंमा कतै जान मन लागेन। त्यसो त दशैंमा रातो टिका लगाउने मेरो भाग्य दैवले खोसिदिएको छ। त्यसैले दशैंमा घरभित्रै थुनिएर बस्न मन लाग्छ। एक्लै बस्दा बस्दै एक्लोपनको दास भएकी छु म।

घरबेटी गाउँ गए म उनीहरूको घर कुरुवा भएर बसेकी थिए। काठमाडौं यसै पनि दशैंको समयमा ‘मसान घाट’ जस्तै सुनसान हुन्छ। त्यसमा पनि ३ तले घरमा एक्लै बस्दा एक्लोपनाले आफैलाई गिज्याए जस्तो लाग्ने। कथा लेख्ने मेरो सानै देखिको बानी। एक्लै घरमा बसेर कथा लेख्थे। 

कथामा पनि कता–कता आफ्नै जिन्दगीलाई मिसाउन मन लाग्थ्यो।

सानोमा गाउँमा काकाले दशैं आएपछि सवै केटाकेटी जम्मा पारेर बजार लानुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो– मन लागेको रोज। म मन फुकाएर २–३ जोर लुगा एकैपटक किन्थे। टिकाको दिन ४ बजे बिहानै उठेर नुहाउन धारामा लाईन बस्थे पनि। सानी थिए, नुहाउन अल्छि गर्थे। हजुरवुवा भन्नुहुन्थ्यो– ननुहाई त टिका लाउनै हुन्न। आहा, छुट्टै रौनक थियो वाल्यकालमा मनाएको दशैंको।

वर्षदिनमा गाउँजादा काठमाडौबाट आएका आफन्त भेट्दा ठूलै मान्छे भेटे जस्तो लाग्थ्यो। अनि शहरबाट आएकालाई दक्षिणा धेरै दिन्छन् भनेर दक्षिणा दिने वेलामा आँखा ठूलै पारेर हेर्थे।

बिहान टिकाको साईत हेरेर घरमा टिका थापेपछि घर फर्कदा रातिको ११ बज्थ्यो। एकदिन मात्र टिका लगाउने चलनले गर्दा एकैदिनमा सबै आफन्तकोमा टिका थाप्न जानै पर्ने। रातिको १२ बजे घर फर्किएर दक्षिणा गन्नुको मज्जा पनि वेग्लै थियो। बाल्यकाल सम्झदैं कथा लेख्दैँ गर्दा एकछिन आफूलाई यसो वहलाउन फेसबुक चलाउँदै गर्दा भेटिएको मान्छे तिमी।

तिमीलाई थाहा छ–समाजिक सञ्जालले तिमीसँग भेट गराउँदा कसम बच्चाबेलामा दशैंमा जम्मा पारेको दक्षिणा गन्दाखेरिको कौतुहलताभन्दा पनि बढी ढुकढुक भा थियो, मेरो मुटुमा।

अनि काकाले लिच्चिको बोटमा हालदिनुभएको पिङ्गमा मच्चिदा आउने आनन्दभन्दा पनि मस्त भएकी थिए, तिम्रो मायामा।
५ वर्ष अगाडि श्रीमानको मृत्यु भएपछि एक्लि भएकी म। तिम्रो आगमनले खुव फुर्किएकी थिए। काकाले किन्दिनुभा फ्रक लगाउँदा फुर्किए जस्तै।

तिमीसँग घण्टाैं गफिदा समय बितेको चालै पाउँथिन। आफ्ना सारा दुःख तिमीमै विसाउँथे। रत्तिभर झुट बोलिन मैले तिमीलाई। सबैले भन्थे फेसबुकमा भेटिएको मान्छे झुठा हुन्छन् रे। तर मैले तिमीलाई कहिल्यै अविश्वास गरिन।

म एक विधुवा महिला। अनि तिमी अविवाहित पुरुष। मलाई सधै डर लाग्थ्यो। कतै तिमीले मेरो यहि कमजोरीको फाईदा लुट्ने पो हो कि?

आखिर तिमी पनि नेपाली समाजमा हुर्किएको पुरुष न हो, जो यसै पनि महिलालाई बस्तु सम्झेर प्रयोग गर्छ।

त्यसमा पनि म विधुवा महिला। हरेक शुभकार्यमा अशुभ हुन्छु। तर तिम्रो जिन्दगीमा कसरी शुभ हुन पुगे? म यस्तै प्रश्न गर्थे तिमीलाई।

तिमी मलाई ढाडस दिँदै भन्थ्यौं। सानु म अरुभन्दा फरक छु। त्यो त सबैले भन्छन् नि? मेरो कुरा नसकिदैं तिमी भन्थ्यौं– हेर्दै जाउ
अर्को दशैंमा म नेपाल आउछु। अनि दशैंकै दिन तिमीलाई भित्र्याउँछु।

तिमीले त्यो भन्दा संसारको सबैभन्दा भाग्यमानी ठान्न थाले मैले आफूलाई।

तिमीलाई भन्न नसके पनि मनमनै भन्थे–विधुवा हुँ एक्लो छु। तर हेर्दै जाउँ सधैभरी मलाई अपनाएकोमा गर्व गर्न लायक बनेर देखाउछु। बच्चाबेलामा पनि माया नपाएर हुर्किएको मान्छे। म सानै उमेरमा विधुवा भए। त्यसैले होला यस्तो लाग्थ्यो मायाले संसार जित्न सकिन्छ। हो म तिमीसँगै भएर संसार जित्न चाहान्थे। तिम्रो र मेरो मायाको टुसा विस्तारै झागिदैं गयो।

तिमीलाई याद छ– तिमी नेपाल आउनुभन्दा १ महिना अगाडि एकदिन तिम्ले भन्यौ। लामो विदा हुन्न मेरो। बिहेको लागि अलिअलि किनमेल गर्दै गर हैं।

मैले जिस्किदैं भने तिमी आएनाैं भने?

तिम्ले हाँस्दैं भन्यौ– तिमी कथा लेख्ने मान्छे। सायद म त्यही कथाको पात्र हुनेछु।

एक्लोपनले खाइरहेको मेरो जिन्दगीमा तिम्रो आगमन कसम बाल्यकालको दशै‌को रौनकभन्दा कम थिएन।

तिमीलाई थाहा छ? रातो सारी, रातै ब्याग अनि रातो चुरा किनेर बसेकी थिए म।

तिम्रो लागि पनि एकजोर सुट किनेर तिम्र्रै नापमा सिलाएर राखेकी थिए, मैले।

सोचे सिन्दुर र पोते त तिमी आफैं आएर किन्छौ। एक वर्षको मेरो प्रतिक्षाको घडी सकिदैं थियो।

दशैं आयो।

तिमीले नेपाल आउछु भनेको दिन पनि आयो।

आकाशमा उडेको प्लेन देख्दा लाग्थ्यो मेरो माया यसैमा आउदैं होला। बच्चामा नयाँ लुगा र दक्षिणाको भन्दा बढी हुटहुटी भएको थियो मेरो मनमा। यत्तिकै अत्तालिएको झैं हुने। के नपुगे जस्तो के विराए जस्तो ।

आकाशमा धेरै प्लेनहरु आउने जाने गरें। तर अँह साझ पर्दासम्म मेरो माया आएको कुनै संकेत पाइन।

हतार हतार फेसबुक खोले। बाह्र घण्टा पहिलादेखि तिमी अफलाईन थियाैं। टिकाको दिनसम्म तिम्रो केही खवर पाइएन।

रातो सारी अनि चुरा समातेर म निकै रोए। अनि आफूलाई निकै धिक्कारे। पन्ध्र दिनपछि कसैले तिम्रो प्रोफाईलमा ट्याग गरेको फोटो देखें। जहाँ तिम्रो साईडमा कोही महिला रातो टिका, रातो सारी,रातै चुरा–पोते अनि सिन्दूरमा सजिएकी थिइन। फोटो अपलोड भएको ५ मिनेटमै म तिम्रो फेसबुकबाट ‘ब्लक’ भए।

हरेक वर्षको दशै‌मा जव म एक्लै बसेर कथा लेख्न थाल्छु। अनि भन्न मन लाग्छ, तिमी त मेरो कथाको पात्र बन्न पनि लायक रहेनछौं।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज