क्यानडाका दश नेपालीको दसैं

क्यानडामा दशैं । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ।

नेपालीको प्रमुख चाड– दसैं । संसारभर छरिएका नेपालीलाई जोड्ने दरिलो पर्व– दसैं । नेपालीको राष्ट्रिय चाड– दसैं । र, असत्यमाथि सत्यको विजय भएको मानिने सांस्कृतिक पर्व पनि– दसैं ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी मनाइन्छ दसैं । त्यो दशौं दिन अर्थात् दशमीको दिन– टीका । आफूभन्दा ठुला मान्यजनबाट टीका जमरा ग्रहण गरी आर्शिवाद लिने दिन ।

दसैंमा टीका लगाउने नलगाउने समुदायपिच्छे फरक मान्यता छन् । टीका लगाउनेलाई त यसको रौनकले छुने भइहाल्यो, नलगाउनेलाई पनि यसको सुवासिलो हावाले छुने नै भयो ।

चाहे नेपालमै बस्ने नेपाली हुन् चाहे विदेशमा, दसैंले उनीहरुलाई प्रत्यक्ष छोएकै हुन्छ । धर्म र समुदायपिच्छे दसैं मनाउने शैली फरक होलान् तर यसको हर्षोल्लास भने सबैलाई उस्तै उस्तै हुन्छ ।

यसपल्टको दसैं असोज २१ अर्थात् अक्टोवर ८ मंगलबार । टीकाको साइत बिहान १०ः३५ बजे । क्यानडामा यही साइत अर्थात् मंगलबार टीका लगाउने नेपालीको तयारी छ ।

क्यानडामा ४० देखि ५० हजार नेपाली छन् । यो एनआरएनएले बताउँदै आएको तथ्यांक हो । त्यसबाहेक नेपाली बोल्ने भुटानीको संख्या सात हजार ५ सयभन्दा धेरै छ ।

नागरिककै रुपमा, स्थायी आवासीय सुविधामा, वर्क पर्मिट लिएर, विद्यार्थी भिसामा क्यानडा बसिरहेका नेपालीहरुको संख्या हो यो । १० प्रोभिन्स र तीन टेरिटोरिजमा छरिएका नेपालीले क्यानडामा कसरी दसैं मनाउँदैछन् त ? क्यानडा बस्ने १० नेपालीभाषीको दसैं तयारी यस्तो छ।


‘टिकाबिनै धूमधाम रमाइलो’

मिङ्मारनोर्गे शेर्पा, मिसिसागा (अन्टारियो)
मिङ्मारनोर्गे शेर्पा, मिसिसागा (अन्टारियो)

क्यानडा बसेको २७ बर्ष भयो । तैपनि, दसैं मनाउने कुरामा फेरबदल छैन । हामी बौद्धमार्गी हौं ।  दसैंमा निधार ढाक्ने गरी टीका लगाउँदैनौं । टीकाबिनै धूमधाम रमाइलो गर्छौं । दसैं आउँदा नेपालमा एउटा उल्लास, एउटा उत्सव आए झैं लाग्थ्यो । यता ठ्याक्कै त्यस्तै त नभनौं, खुसीयाली र हर्षोल्लास चाहिँ पक्कै आउँछ ।

सोलुखुम्बुमा जन्मेहुर्केको हुँ । त्यहाँ हाम्रो ठूलो परिवार थियो । दसैंका बेला आफन्त र छरछिमेकको बाक्लो आउजाउ हुन्थ्यो । अहिले मिसिसागामा व्यवसाय गरेर बस्छु । दिदी भिनाजुसहित केही आफन्तजन यतै हुनुहुन्छ । दसैंका बेला सकेसम्म भेट्छौं । दसैंमा रातो टिका जमरा लगाउने साथीभाइ धेरै छन् । उनीहरुसँगै बसेर खानपिन र रमाइलो गर्छौं । धर्म जेसुकै होस्, दसैं नेपाली संस्कृति हो ।


‘फुर्सदको समय नै साइत’

तिलचन खरेल, विण्डसर (अन्टारियो)
तिलचन खरेल, विण्डसर (अन्टारियो)

क्यानडा आएको आठ बर्ष भयो । त्यसअघि झापाको गोलधापमा थियौं । बुवा आमा भुटानी शरणार्थी हो । क्युवेकमा सात बर्ष बस्यौं । त्यहाँ फ्रेन्च भाषाको अलि कठिनाई । दुई बर्षअघि विण्डसर सर्यौं । चाहे गोलधापको शिविर होस्, चाहे क्युवेकको डेरा– दसैं मनाउनेक्रम भने सधैं रहिरह्यो । अहिले त आफ्नै घर छ, परिवारजन सबै यतै । झन् राम्ररी मनाउँछौं ।

बुवाआमासहित ६ जनाको परिवार छ । नेपाल र भुटानमा झैं सबै विधि पुर्याएर पूजाअर्चना गर्न सजिलो छैन । तर, टिकाको दिन भरसक निधार खाली राख्दैनौं । क्यानडामा साइतको सन्दर्भ चाहिँ फरक छ । अर्थात्, टिकाको दिन जुनबेला फुर्सद मिल्यो त्यही समय साइत । विण्डसरमा मात्रै झण्डै दुई सय परिवार नेपालीमूलका भुटानी छौं । दसैं तिहारबीचको सप्ताहन्तमा सामूहिक उत्सव मनाउँछौं ।


‘दाजुभाइलाई सिंगै खसी’

अर्जुन रसाइली, एडमण्टन (अल्बर्टा)
अर्जुन रसाइली, एडमण्टन (अल्बर्टा)

दसैं प्रमुख चाडका रुपमा मनाउँछौं । दुई छोरासहित परिवारमा चार जना छौं । भाइको परिवार पनि चारैजनाको छ । हामी एडमण्टनमा नजिकै छौं । यसपल्टको दसैंलाई दाजुभाइ मिलेर एउटा खसी ल्याइसक्यौं । दसैंमा जसरी टीका जमरा जोडिन्छ, मांसहारीका लागि खसी बोका पनि उसैगरी । मासु त बाह्रैमास खान सकिन्छ तर दसैंमा ल्याइने खसीको मासुमा स्वाद, संस्कृति, परम्परा थुप्रै थोक हुन्छ ।

खोटाङको पाथेकामा जन्मेहुर्केको हुँ । त्यहाँ छँदाका दसैं स्मृतिमा ताजै छन् । डाँडाकाँडामा पिङ खेलेको भुल्दिनँ । पछि काठमाडौंमा सरियो । त्यहाँ मठ मन्दिर दर्शन गर्दै दसैं मनाइन्थ्यो । एडमण्टन आएको ६ बर्ष भयो । यसपल्ट दसैं लक्षित गरेर थाली, कलश, दियोजस्ता सामग्री ल्याएको थिएँ । बिक्री भइसक्यो । ‘स्पाइस गृल’ भन्ने रेष्टुरेन्ट चलाउँछु । यसपल्ट रेष्टुरेन्ट बन्दै गरेर टीकाको दिन रमाइलो गर्नेछु ।


‘पहिलोपल्ट विदेशमा दसैं’

एन्जिल ढकाल, स्कार्ब्रो (अन्टारियो)
एन्जिल ढकाल, स्कार्ब्रो (अन्टारियो)

चितवन भरतपुरको घर छोडेको दुई महिना मात्रै भयो । तर, न्यास्रो लागे झैं भइरहेछ । एउटै कारण हो, दसैं । बुवा आमाको एक्लो छोरो । दिदी विवाहपछि घरबाहिर । टोरन्टोको नर्थयोर्कस्थित ‘ल्याम्ब्टन कलेज’मा ‘कन्सट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट’ पढ्न थालेको छु । यसपल्ट टीकाकै दिन पहिलो परीक्षा छ । त्यति मात्रै कहाँ, परीक्षा सकेपछि काम पनि भ्याउनु छ ।

काठमाडौं इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेको हुँ । त्यसपछि पुननिर्माण प्राधिकरणमा जोडिएँ । भुकम्पले क्षतिग्रस्त संरचना बनाउने काम गरें । नेपालभित्रै काम गर्दा भरतपुर पुग्न मुस्किल थिएन । तर, जब पढ्न क्यानडा आएँ, अनि परिवार, साथीभाइ, आफन्त र चाडपर्वको महत्व बुझ्दैछु । हेरौं, पूर्णिमासम्म भए पनि नेपाली साथीभाइसँग टीका लगाएर विदेशको दसैं अनुभव गर्छु होला ।


‘६५ किमी टाढादेखि खसी’

चुडामणि गोतामे, मन्ट्रियल (क्युवेक)
चुडामणि गोतामे, मन्ट्रियल (क्युवेक)

बाग्लुङको बुर्तिवाङबाट क्यानडा आएको २२ बर्ष भो । आएदेखि नै विधिपूर्वक दसैं मनाइरहेको छु । शोक नपरेका बेला हरेक दसैंमा राता अक्षता र पहेंला जमराले शिर रङ्गीन बन्छ । कोशेली बोकेर आउने आफन्त र साथीभाइ धेरै हुन्छन् । उनीहरुलाई आर्शिवाद दिँदै टीका लगाएर दक्षिणा गर्छु । मन्ट्रियलमा लामो समयदेखि बसेकाले धेरैले अभिभावक मान्छन् ।

अटोवामा पनि घर छ । तर, मन्ट्रियलकै घरमा दसैं मनाउँछौं । परिवारमा ७ जना छौं । यसपल्ट ६५ किमी टाढाको फार्मबाट २४ किलोको खसी ल्याएका छौं । श्रीमतिले पूजाकोठामा जमरा राखेकी छन् । नवदुर्गाको पूजा गर्दैछौं । आफैंले खोलेको ‘नेपाली एसोसिएसन अफ् क्युवेक’ नामक संस्था छ । जसले हरेक बर्ष यहाँका नेपालीलाई ‘घरपरिवार र जन्मथलो मिस नगरुन्’ भनेर सामूहिक दसैं मनाउने गर्छ ।


‘धर्म होइन, संस्कृति पछ्याएको’

चन्द्र राई, ब्राम्प्टन (अन्टारियो)
चन्द्र राई, ब्राम्प्टन (अन्टारियो)

खाँट्टी राईको छोरा हुँ । तर, हरेक दसैंमा रातो टीका लगाउँछु । मभन्दा श्रीमति तुलसी राई झन् धेरै दसैंप्रेमी छन् । उनी घरमा जमरै राखेर टीका लगाउन रुचाउँछिन् । यदाकदा जमरा नराखे फूललाई कानमा सिउरिएर पनि निधारभरी टीका लगाउँछौं । २२ बर्ष भयो क्यानडा आएको । छ जनाको परिवार छ । प्रगतिशिल विचार राख्छु तर दसैंलाई नेपाली संस्कृति मानेर पछ्याउन कहिल्यै कन्जुस्याईं गर्दिनँ ।

क्यानडामा खसीको मासु खासै चल्तीमा छैन । तर, हरेक दसैंमा घरमा खसीकै मासु चाहिन्छ । धनकुटाको खोकुमा जन्मेर धरानको किराँतबहुल परिवेशमा हुर्किए पनि दसैंप्रतिको मोह हाम्रो परिवारमा सधैं उत्तिकै छ । बुवाआमाले ठूला टपरीमा जमरा उमारेर ठुलै थालीमा अक्षता मुछेर गाउँका आफन्त तथा छरछिमेकीलाई लगाई दिनुहुन्थ्यो । त्यसैको प्रभाव क्यानडामा तेस्रो पुस्तासम्म विस्तार भएको हो ।


‘दक्षिणा खुब मिस गर्छु’

ममता घिमिरे, एडमण्टन (अल्वर्टा)
ममता घिमिरे, एडमण्टन (अल्वर्टा)

यसपल्ट क्यानडामा तेस्रो दसैं मनाउँदैछु । आफ्नो परिवार यहीं छ । तर, माइतीको दसैंजस्तो रमाइलो कतै हुँदैन । इलाम बिव्ल्याँटेको घरमा बुवा आमा मात्रै । भाइ बेंग्लौरमा । आ–आफ्नो ठाउँमा सबै खुसी छौं । तर, जब दसैं आउँछ म इलाम सम्झिन्छु । बिव्ल्याँटेको घरमा टीका थाप्न आउनेको भीड हुन्थ्यो । आमा बुवाबाट टीका लगाइसकेपछि अरु आफन्तकोमा टीका लगाउन गइन्थ्यो । परिवार धेरै ठूलो ।

२५/३० घर हुन्थ्यो होला सबैतिर डुल्दा । सबै घरमा छोरीलाई टीका जमरासँगै दक्षिणा । त्यत्तिका घरमा दक्षिणा दिँदा गोजी त टनाटन् । दही चिउरा र अनेकथरी मिठाई । बाटैभरी पाहुना जानेहरुको लर्को । वारीपारी पिङको चचहुई । गाडीहरुमा अटेसमटेस यात्रु । त्यताको जस्तो दसैं अन्त सायदै होला । अहिले सानो छोरा छ, छुट्टीमा छु । घरमा त दसैं खुलेरै मनाइन्छ, यसपल्ट नातेदार र साथीसंगीको निम्तो पनि मान्नु छ ।


‘आमाको काखझैं हुँदैन’

रामचन्द्र सिग्देल, विण्डसर (अन्टारियो)
रामचन्द्र सिग्देल, विण्डसर (अन्टारियो)

क्यानडामा यो नवौं दसैं हो मेरो । त्यसअघि झापाको टिमाईमा १७/१८ वटा दसैं मनाइयो । भुटानको ललाईबाट लखेटिएर सन् १९९२ मा झापा पुर्याइयो । नेपालीमूलकै भए पनि भुटानी थियौं । त्यो भुटानी राष्ट्रियता पनि खोसिएको । शिविरमा बस्दा सधैं आर्थिक संकट । सानो घेराभित्र बाँच्नुपर्ने समस्यै समस्याको जीवन । तर, दसैंजस्ता चाडपर्व आउँदा रौनकै अर्को । किनकी, त्यो मातृभूमि अर्थात् आमाको काख थियो ।

अहिले विण्डसरमा १० जनाको परिवार छ । दुईवटा घरमा बस्छौं । नातिनातिना छन् । तीन छोरी हुन्, तीनै जना अमेरिका छन् । खान लाउनलाई कुनै समस्या छैन । जिन्दगी राम्रै चलिरहेको छ । तर, जब यसरी दसैं तिहार जस्ता चाडपर्व आउँछन्, मन कटक्क खान्छ । मनाउनलाई यता पनि राम्रै गरी विधिपूर्वकै मनाइन्छ दसैं । तर, नेपाल र भुटानमा जस्तो धूमधामपूर्वक हुँदैन । किनकी, उताजस्तो हिन्दु संस्कृति पछ्याउने यहाँ थोरै छौं । निधारभरी रातो टीका लगाएर बाहिरफेर निस्कँदा नि अनौठो मानेर हेर्छन् ।


‘घटस्थापना भन्दा झस्किएँ’

मनिष सुवेदी, स्कार्ब्रो (टोरन्टो)
मनिष सुवेदी, स्कार्ब्रो (टोरन्टो)

उच्च शिक्षा अध्ययनलाई क्यानडा आएपछिको यो दोस्रो दसैं हो । दसैंमा घरबाहिर भएको पनि दोस्रोपल्ट नै । सुनसरीको इटहरी हो मेरो घर । टोरन्टोको ‘योर्क युनिभर्सिटी’मा ‘डिजिटल मार्केटिङ र कन्टेन्ट राइटिङ’ पढ्दैछु । अर्को बर्ष अप्रिलमा सकिन्छ । तर, पढाई सकिए पनि अर्को दसैं यतै मनाइन्छ वा घर गइन्छ, टुंगो छैन । यसपल्ट फेसबुकमा ‘आज घटस्थापना’ भन्ने टाइपका न्युज हेडिङ देख्दा पो ‘दसैं आएछ’ भनेर झसङ्ग भएँ ।

पोहोर आफन्तको मा बस्थें । उहाँहरुसँगै दसैं मनाइयो । अहिले अलग्गै बस्छु । टीकाको दिन क्लास छ, काम पनि छ । पुर्णिमासम्ममा जहिले फुर्सद मिल्छ, तब आफन्तकोमा टीका थाप्ने सोचेको छु । संस्कृति निरन्तरता दिन टीका जमरा लगाए पनि विदेशको दसैं स्वदेशको जस्तो नहुँदोरहेछ । बर्षभर लुगाको खाँचो नभए पनि दसैंमा किन्ने लुगाको बास्ना, साथीभाइसँग हुने जमघट, घरमा बुवाआमाबाट टीका लगाएको क्षण धेरै मिस गर्छु । यता, पनि खाना र लुगा सबै पाइन्छन् तर त्यो दसैं मगमगाउने वास्नादार केही हुँदैनन् ।


‘विदेशमा दसैं तिहार एकैपल्ट’

चुडामणि बजगाईं, लिस्टोल (अन्टारियो)
चुडामणि बजगाईं, लिस्टोल (अन्टारियो)

भुटानबाट निकालिएपछि झापामा २० बर्ष बिताइयो । भुटानको डागनास्थित डाग्पाला बस्तीमा थियो घर । उताको दसैं मलाई सम्झना छैन । बुवा आमा दुबै गोलधाप शिविरमा बित्नुभयो । शिविरमा हुँदा आर्थिक हैसियत राम्रो थिएन, तर दसैं उल्लासमय हुन्थ्यो । तीन दाजुभाइमध्ये म कान्छो । दुई दाजुहरु पनि क्यानडा नै हुनुहुन्छ । एक जना मसँगै, अर्कोजना चाहिँ अटोवामा । मेरो परिवारमा दाजु, दिदी, दुई छोरीसहित छ जना छौं । सन् २०११ देखि क्यानडा बस्दैछौं । यता आएपछि दसैं तिहार नियमित मनाउँछौं ।

व्यक्तिगतरुपमा घरमा त मनाइन्छ नै, सामूहिकतामा जोड दिएर पनि मनाउने गरेका छौं । भ्यान्कुभर, अल्वर्टा, क्युवेक, विण्डसर, गुएल्फ जहाँ जहाँ नेपालीमूलका भुटानी छौं, त्यहाँ हामी संस्थागतरुपमा जोडिएका छौं । दसैं र तिहार एकैपल्ट मनाउने गरी ती ठाउँमा हाम्रा संस्थाले कार्यक्रम गर्छन् । नेपाली कलाकार पनि ल्याउँछौं । दोस्रो पुस्ता अर्थात् यता हुर्केका र जन्मेकालाई हाम्रा चाडपर्वको महत्व बुझाउन सामूहिक टीका जमरा लगाउने र देउसी भैलो खेल्ने गर्छौं । यसपल्टलाई अक्टोवर २७ मा कार्यक्रम राखेका छौं ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज