अर्को वर्ष तपाईको हातको टिका लगाउन पक्कै आउँछु आमा

बिएल

बिहान उठने वित्तिकै फेसबुक खोलेर नयाँ ‘अप्डेट’ लिनैपर्छ। नभए के–के बिर्से जस्तो। सायद मलाई मात्र होईन। सबैलाई हुन्छ होला?

सधैं ७ बजे अफिस जान तयार हुने म आज आइतबार भएकाले ११ बजे सम्म सुते छु।

रातभरी ‘अफलाईन’ हुँदाको ‘अप्डेट’ लिन मन लागि हाल्यो।

सबैको प्रोफाइलमा बडादशैंको यादहरू, शुभकामनाका

अडिओ तथा भिडियो सन्देश टनाटन।

घरको सम्झना बेस्सरी आयो। उसो त, मलाई चाँडबाड नजिकिदै गर्दा अरुबेला भन्दा अलिक धेरै आमालाई फोन गर्न मन लाग्छ। तर यसपालि एक साता भयो, आमालाई फोन नगरेको।

नेपालबाट मलाई फोन गर्न नसके पनि यताबाट मैले गरेको फोनमा मज्जाले गफिन सक्छिन्, ८५ वर्षीय मेरी आमा। ९० बर्षका मेरा बाले फोनमा कुरा गर्दा अलि राम्रोसँग सुन्दैनन्।

तर मेरो आवाज सुन्ने बित्तिकै उनको गला अबरुद्ध हुन्छ। बोल्न खोज्छन् तर आफूलाई सम्हाल्न नसकेपछि सुने पनि नसुने झैं गर्छन्।

घर फर्क छोरा ‘आई मिस यू’ भन्न जान्दैनन्। तर न्यास्रो लाग्यो फर्क भन्न पनि सक्दैनन्। त्यसैले मेरो आवाज सुनेर भक्कानिन्छन्।

सायद मनमनै भनेका होलान्! घर फर्के मात्र बोल्छु। नत्र बोल्दिन्। फेसबुकमा म आफ्नै घरको आँगनमा पुगे जस्तै टोलाएछु–घरको दैलोभन्दा पल्तिरको ठूलो रुखमा गाँउका दाजुभाई सबै मिलेर पिङ्गहाल्न गएको सम्झिएर।

आमाको हातको टिका थापेर यति दक्षिणाले पुग्छ नि? भन्दै २० रुपैयाँ देखाएर आमालाई जिस्काएको सम्झेर आफैं हास्न पुगेछु।

‘फेसबुक’ को म्यासेन्जरमा ‘टवाङ्ग’ गर्दै दशैको शुभकामना म्यासेज आएपछि झस्किए। हतार–हतार आमालाई फोन लगाए।

फोन उठाउने वित्तिकै आमाले सोध्नु होला? सञ्चै त छस् बाबु भनेर भन्ने लागेको थियो।

तर, सोध्नुुभयो–‘दशैंमा सँगै नभएको पनि ७ बर्ष बितेछ। यसपालि पनि आउँदैनस्?’

थरथराएको आमाको स्वर सुन्दा म भक्कानिएछु। एकछिन फोनमै आमा छोराको संवाद भएन। दुबै चुप।

मेरी आमालाई थाहा छ, परदेशमा काम गर्न गएको छोरा यसपालि पनि घर फर्किदैन्। ७ वर्षदेखि हरेक दशैंमा आमा छोराको संवाद यस्तै भइरहेको छ।

तरपनि परदेशी छोराको मायाले अन्यासै उनी सोध्ने गर्छिन्, कहिले आउँछेस्?

म नसुनिएको झैं गरी फोनमा एकहोरो बोल्छु... हेलो.. हेलो! आमाको सन्चो बिसन्तो सोधेपछि दुबैको संवाद टुँगिन्छ, दशैंमा आउन नसकेपनि छिट्टै आउँछु भनेर।

आमा न हुन्। विदेशमा छोरालाई गाह्रो पर्ला भनेर कामिरहेको आफ्नो स्वरलाई ठिकठाक पार्दै भन्छिन्– ल ठिकै छ बाबु। दशैंमा भ्याइनस् भने तिहारमा आइज न त। बुढो भए तलाई हेर्न नपाउँदा अत्यास लाग्छ।

आमासँग संवाद भइरहेकै बेला अर्को ठेगानाबाट फोन आइरहेको थियो। मैले आमासँग बिदा मागे र अर्को फोनको ‘डिटेल’ हेरेको, झापा घर भएका लोकेन्द्र रिजालले फोन गरेका रहेछन्।

उनी दशैं–तिहार मनाउन नेपाल फर्किन खोजेकारहेछन्। तर कोरियाली साहुको अगाडी उनको केही चलेन। त्यसैले नोभेम्बरको अन्त्यमा नेपाल गएर अर्को वर्ष जनवरीको पहिलो साता कोरिया फर्किने बिदा मिलाए छन्।

दशैंमा नेपाल जान नपाएपनि परिवारसँग पुनर्मिलन हुने दिन गनेर बसेका रहेछन्। उनको भनाईले मलाई झनै भावुक बनायो।

उनले भावनाको मात्र होइन, व्यवहारिक कुरा गरे। आफूले मुटुमा राखेको देश र प्रियजनलाई छोडेर परदेशिनु परेको पीडा सुनाउँदै भने– देशको राजनीति राम्रो भएको भए र नेताहरु भ्रष्ट नभएको भए, हामी यहाँ आउनु पथ्र्यो?

लाउन–खान पुग्ने राम्रै परिवार भएपनि देशको बिग्रदो अवस्थाका कारण रोजगारी नपाउँदा विदेशीनु पर्यो।

उनले पीडा सुनाए– राम्रो लाउने र मिठो खाने चाँड दशैंको मुखमा बिदा माग्दा साहुले तेरो देशमा राम्रो लगाउन कपडा र मीठो खान पाइन्छ? भनेर सोध्दा मन छियाँछियाँ भयो।

गफैगफमा उनले थपे–हामी जस्ता पचासौं लाख युवा बिदेश लखेटेर भ्रष्ट नेताले हरेक दिन दशैं मनाए तर हामी जस्तालाई बर्षमा एकदिन आउने दशैं मनाउन पनि बर्षौं कुर्नुपर्छ।

भोगाइ आ–आफ्नै, बध्यता आ–आफ्नै भनेझैं पाँचथर घर भएका ओमकाजी श्रेष्ठ पनि नेपालमा परिवारसँग बसेर मनाएको दशैंलाई खुबै सम्झिरहेका छन् यतिबेला कोरियामा। जहाँ जसरी बसेपनि आफ्नो चाँडपर्ब तथा रीतिरिवाज संरक्षण गर्नुपर्छ भन्छन् उनी। छोटो कुराकानीमा उनले संसार भरी छरिएर रहेका नेपालीलाई शुभकामना मात्र दिएनन् आफूसँगै काम गर्ने साथीभाइ मिलेर दशैं मनाउने योजना रहेको पनि सुनाउन भ्याए।

बिहान उठ्ने बित्तिकै दशैको शुभकामनाले भरिएको ‘फेसबुक’ वालले बेचैन बनाएको मेरो मन उनीहरुको कुराले अलि सम्हालियो।

सोचे– आखिर विदेशमा भएका अरु साथीले पनि त आमाको हातको टिका नलगाएको वर्षौ भईसक्यो नि।

अर्को वर्ष म लगायत लोकेन्द्र, ओमकाजीजस्ता लाखौं युवाहरुको आफ्नै देशमा सपरिवार दशैं तिहार, छठ, माघी, उभौली, ईद जस्ता आ–आफ्नै संस्कृति र आस्थाका पर्वहरू मनाउने सपना पुरा होस्।

यहि नै बडा दशैं २०७६ सालको हार्दिक शुभकामना!

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज