बीएल

जीवन भन्नु नै अनुभव र अनुभूतिको सङ्गालो रहेछ।

विशेष अवसरमा यस्ता अनुभूतीले कहिले असाध्यै खुसी दिन्छ।

यस्तै खुसीको प्रसंग आउँदा हाम्रो घर आँगनमा भित्रिसकेको दशैंले असिमित सम्झनाहरु पनि सँगै बोकी लिएर औने गर्छ।

आहा दशै।

दशै भन्ने शब्दसँग अनेकौं खुसी आनन्द र रमाइला प्रसंगहरु जोडिएर आउने गर्छन्। खुसी उल्लास भन्ने कुरा मान्छे उमेर र अवस्था अनुसार फरक पर्ने कुरा हो। उमेरसँगै मान्छेका इच्छा चाहना र आबश्यकतामा फरक पर्ने हुनाले बाल्यकाल किशोरावस्थामा जति दशैको रमाइलो व्यग्रता हिजोआज हराउँदै गएको छ।

हरेक व्यक्तिको सबैभन्दा उत्तमपल वालापन नै होला। दशै भन्ने बित्तिकै बाल्यकालको स्मृतिमा हराउन मन लाग्छ।तीजको रौनकता सकिएर १६ श्राद्ध सुरु भए सँगै सबका घरघरमा दशै भित्र्याउने चटारो सुरु हुन्थ्यो। 

दशै मीठो खाने राम्रो लगाउने अनि रमाइलो गर्ने विशेष गरि यिनै कुराहरु जोडिएर आउने गर्दछन्। समय परिवेश र आबश्यकता अनुसार पहिला र अहिलेको दशैमा केही भिन्नता भएता पनि हिजोआज पनि दशैको रौनकता उस्तै छ। अहिले हरेक वस्तु बजारबाट सजिलै किन्न सकिन्छ। दशैकै लागि भनेर विशेष तयारी गर्नुपर्ने अवस्था हराउँदै गएको छ। १५-२० वर्ष अगाडिको अबस्था भने केही फरक नै थियो।

नयाँ र राम्रो लुगा लगाउन दशै नै कुर्नु पर्ने अबस्था थियो। एक महिना अगाडिबाट आफ्नै खेतबारीमा फलेको बर्खे धानको चिउरा कुट्न ढिकिमा पालो कुर्नु पर्नै हुन्थ्यो। घरको सरसफाइ रङ्ग रोगन देखि लिएर टीका थाप्न आउने पाहुनाका लागि खुवाउने परिकार घर मै बन्थ्यो। हिजोआज हामी परनिर्भर भएका छौं।

हरेक कुरा रेडिमेड खोज्छौं र बजारमा सहजै पाइने हुनाले चाडपर्व पनि रेडिमेड बनेका छन। मलाई जति दशै कहिले आउला भन्ने व्यग्र प्रतीक्षा हुने गर्थ्यो त्यसको १०५ उत्साह पनि मैले मेरी छोरीमा पाउँदिनँ। अवसरको खोज भनौं या आधुनिकता र तिव्र सहरीकरणले गाउँबाट सहर र विदेश पस्ने क्रम बढ्दो छ। यसले गर्दा पनि हामी आफ्ना आफन्तहरुबाट टाढा हुँदै छौं। 

हाम्रा पछिल्लो पुस्ताले २(४ जना घरका सदस्य बाहेक अरुलाई नचिन्ने अबस्था आइसकेको छ। यो अबस्थालाई केही हदसम्म कम गर्ने माध्यम दशै पनि हो। यति बेला केटाकेटीदेखि लिएर बुढाबुढी सबैलाई सहरबाट गाउँ जाने र आफूले छाडेका आ फन्त र आफ्नो थलोमा रमाउने हतारो छ।

परदेशमा हुने घरदेश फिर्ता हुदैछन। केटाकेटीहरुको स्कुलको लामो बिदा हुने चाड दशैं। सबैका आ आ फ्नै योजना घुम्ने फिर्ने रमाइलो गर्ने तर म लगायत कतिपय पेशा व्यावसाय गर्नेहरुलाई योअबसरमा खुलेर रमाइलो गर्न विरलै समय मिल्ने गर्छ। जन्मथलो सर्लाही छाडेर पोखरालाई कर्म थलो बनाएको पनि १५ बर्ष भईसक्यो।

यतिबेला पोखराका चोक बजारमा समान खरिदबिक्री गर्नेको भीड ह्वात्यै बढेको छ। कहिँ कतै खुट्टा राख्ने ठाउँ छैन। समय परिवर्तन भए पनि राम्रो लाउने र मीठो खाने सधैं गरेतापनि दशैमा विशेष राम्रो लाउनै पर्ने खानै पर्ने मानसिकता र परम्परालाई बजारको भिडले प्रष्ट पारेको छ। बिन्दबासिनी, तालबाराही,भद्रकाली , अकाला माई जस्ता शक्ति पीठहरुमा बिहान ४ बजेदेखि नै भिडभाड हुने गरेको छ अन्य ठाउँको भन्दा पोखराको दशैको अर्को विशेषता भनेको मनाङ, मुस्ताङबाट आउने च्याङ्ग्रा पनि हो। मासुका पारखीहरुका लागि अन्य बेला खासै नपाइने र दशैका लागि नै भनेर व्यापारीहरुले हिमाली भेगमा जडिबुटी खाएर बढेका च्याङ्ग्रालाई पोखरा भित्र्याउने गर्दछन। च्याङ्ग्राको मासु स्वादिलोका साथै स्वस्थकर हुने हुनाले पनि बढी मात्रा खपत हुने गर्छ। 

बगरको टुँडिखेल, हेम्जामा त च्याङ्ग्रा खरिदबिक्रीको मेला नै लाग्ने गर्छ। पोखरालाई पर्यटनको राजधानी पनि मानिन्छ। दशै सरद ऋतुमा पर्ने भएकोले पनि हिलो मैलो तुवाँलो हटेर आकाश धर्ती दुबै प्रफुल्ल हुने समय हो। पोखराको अर्को बिशेषता भनेका माछापुच्छ्रेको छाँया फेवातालमा देखिनु पनि हो। सहर भित्रै बसेर यस्तो दृश्य अन्त बिरलै देख्न सकिन्छ।

दशैको बेला आकाशले आफ्नो घुम्टो उघारी छर्लङ्ग परेका हिमालहरु र माछापुच्छ्रेको छाँयालाई फेवातालमा देख्न सकिन्छ। घुम्नका लागि खानपिन रमाइलो गर्ने न जाडो न गर्मी आहा१ कति रमाइलो समय आहा१ दशै। अन्य व्यवसायभन्दा पर्यटन व्यवसाय केही फरक छ। नेपालीहरुको अलि लामो बिदा हुने चाड, विदेशीहरुका लागि हिमाल खुलेर स्वच्छ वातावरण ट्रेकिङ्गको लागि उत्तम समय। 

जब चाडपर्व आउछ आफ्नो भने व्यस्तता बढ्ने। बिशेषतः महिलाहरुलाई बढी मार पर्ने गर्छ अर्कोतिर दशै जस्तो महान चाड सबैले मनाउनु पर्‍यो। स्टाफलाई छुट्टि दिएर आफूले पर्यटकलाई सेवा दिनु पर्ने सधै। त्यहि भएर पनि पोखराको दशै कहिल्यै खास भएन मेरालागि। त्यसमाथि पनि हामी प्रवासी पोखरेली।आफ्ना आफन्त सबै सर्लाहीमा आफन्त विनाको के दशैं।

कहिलेकाही त आफ्नै देशभित्र हुदाहुदै पनि परदेशको झै अनुभव हुने रहेछ। तिज सकिए लगत्तै सुरु भएको बजारको चहलपहल अष्ठमीका दिनबाट सुनसान हुन्छ। बाटोमा गाडीको चहलपहल मान्छेको चहलपहल न्यून हुन्छ। यतिबेला भने मन कुडिँएर अमिलो हुन्छ। कस्तो पेशा व्यवसायमा लागिएछ दशै समेत मनाउन नपाउने भनेर। 

१५ बर्षको अबधिमा २०७२ को दशैमा भने जन्म थलो जाने मौका जुरेको थियो। भुइचालोले थिल्थिलो पारेको नेपाली अर्थतन्त्र त्यसमा भारतले लगाएको अघोषित नाकाबन्दी। व्यापार व्यवसाय पुरै ठप्प। विदेशी पर्यटक आउने कुरै थिएन्। नेपालीहरुका लागि ग्यास डिजेल पेट्रोलका साथै दशैका लागि सहज रुपमा खाद्य सामग्री जुटाउनै गाह्रो। कसरी होस त दशै रमाइलो रु कसरी आउन पर्यटकरु पर्यटक नआए पछि पोखरामा बस्नु पर्ने बाध्यता रहेन सबै स्टाफहरुलाई बिदा दिएर गाउँ जाने विचार त गरियो तर जाने। दशैको मुखमा छ न बसमा सिट छ न बाईकमा पेट्रोल।

अजिङ्गरको आहारा दैवले पुर्याउछन भने झै विरगङ्जको एक जना जिनजानका ड्राइभर भाइ आईपुगे भारती पर्यटकलाई लिएर। तिनले आफ्ना लागि एउटा १० लिटरको भाँडोमा पेट्रोल बोकेर आएका रहेछन।

कुरामा कुरा हुँदा तपाईंहरूलाई चाहिन्छ भने ३-४ लिटर दिन्छु भने हामीलाई ढुङ्गा खोज्दा देवता मिले झै भयो। छोरी र बहिनीलाई घटस्थापना कै दिन बसमा पठाएकाले सजिलो भयो। अनि त हामी २ अष्ठमीको दिन लागियो सर्लाहीतिर। मध्य दशै सुनसान बाटा तर घरघरमा मान्छेका झुन्ड झुन्ड। घरका आँगनमा कहिँ खसी बोका काट्ने तयारी कहिँ काटीसकेका, कहि पाकेको बास्ना।

बाटोमा पर्ने लम्तन्न सुतेको पृथ्वी राजमार्ग छेउछाउका खोला नदि र हरियाली हेर्दै ४ बजे चन्द्रनिगाहपुर त पुगियो तर बाइकको तेल सकियो। पेट्रोल पम्पमा पाउने कुरा थिएन। पसलहरु लगभग बन्द नै थिए। १-२ कतैकतै खुल्ला। तिनै खुलेका पसल पसल सोध्दै हिड्दा १ ठाउँमा भने पहिला तिरेको मुल्यभन्दा ५ गुना बढी मुल्य तिरेर २ लिटर पेट्रोल पाइयो। त्यसमा बढी पैसा तिर्नुको गुनासो भन्दा पनि यहि भनेपनि पाइयो घर पुगिने भयो भन्ने खुसी बढी थियो।यसरी साँझ ७ बजे घर पुगियो। यो क्षण यो दशै जीवनमा भुल्न नसक्ने बन्यो।

हामी जस्तै आप्रबासी पोखरेलीहरु जब पोखराबाट दशै मनाउनका लागि बाहिरिन्छन। सुनसान पसल गाडी विहिन सुनसान बाटा त्यतिबेला भने मन अमिलो हुन्छ तर पनि तर बानी पर्दै जाने रहेछ।
लामो समय बसेपछि अरु पनि आफन्त नै। अन्य पेशा व्यवसायभन्दा केही फरक छ पर्यटन व्यवसाय। विभिन्न मुलुकका विविध प्रकृति र प्रवृत्ति भएका मान्छेहरु सँग भेट्ने बोल्ने थलो पनि हो।
हरेक कुराका राम्रा नराम्रा पक्ष यो भने राम्रो पक्ष लाग्छ मलाई।

यसपालि बर्षा नसकिनाले हिले दशै हुने भएता पनि पोखराको भुवनोटले जति नै पानी परेतापनि एकै छिनमा बाटोओभानो हुन्छ। विस्तारै हिमाल खुल्दैछन। सफा वातावरण हरियालीले पनि पोखरा घुम्नका लागि उपयुक्त समय यहि नै हो।

प्रत्येक बर्ष दशैको १ महिने लामो बिदामा छोरीलाई गाउँमा पठाउने गर्थें। सहरमा एक घर एक कोठामा केटाकेटीलाई राखेर १ महिना सास्ती दिए जस्तो लाग्छ।एक त छुट्टीको समय आफु होटलमा व्यस्त हुनु पर्ने छोरी लाई कतै घुमाउन लान नपाउने अर्कोतिर अबसर भएसम्म घरमा बुबा आमा हुनेले नातिनातिनाहरु केही समयका लागि भनेपनि उहाँहरू का साथमा छोडि दिँदा केटाकेटीले पनि रमाउने खुल्ला वातावरण गाउँको रहनसहन संस्कृति बुझ्ने मौका पाउँछन। बुबा आमाले पनि नातिनातिनासँग समय बिताउने अबसर मिल्छ भनेर छोरीलाई गाउँमै पठाउँथिए र आफू पनि १ दिन कै लागि भए पनि पुर्णिमासम्म पुग्ने गर्थें।

यस पटकको दशैमा भने त्यो अबसर समेत मिल्ला जस्तो छैन। यसपालिको दशै २ छोरी श्रीमान र होटलमा आएका पर्यटकसँग मनाउने योजना छ। समय परिस्थिति सधैं एकैनासको हुँदैन। म त आफ्नो देश भित्रै छु।

कति दाजुभाइ दिदीबहिनी जो परदेशमा हुनुहुन्छ। उहाँहरुको मन झन कति दुख्दो होला।

जो जहाँ हुनुहुन्छ जसरी मिल्छ त्यसरी नै दशैं मनाऔ। सम्पूर्णमा बडा दशैको हार्दिक मंगलमय शुभकामना

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज