दसैंको बाडुली

बीएल

कुन्नि के छ त्यहाँ जहाँ दिनहुँ एक न एकपल्ट पुगिरहन्छ मन ।

पर्खिरहेझैं लाग्छ ती उकाली ओराली र चौतारीहरुले ।

उतै छन् जस्तो लाग्छ जीवनका बान्की मिलेका सुन्दर अक्षरहरु पनि । गाउँ, गाउँ मात्रै कहाँ थियो र । धेरै चिजको खानी थियो । जहाँ भेटिन्थे प्रश्न, उत्तर, माया, जीवन,वैभव जस्ता सारा कुराहरु । के भेटिदैनथ्यो र त्यहाँ ?

यतिखेर त्यही विगतको जिन्दगीका छाल सम्झेर बाँचिरहेको छ मन र समय ।

विगत त इतिहास बनिसकेकै थियो ।

गाउँ समेत एक इतिहास भैगएछ मेरा लागि ।

साक्षी छैनन् मसामु त्यो पलका कुनै मनहरु ।

सबै आआफ्नो व्यस्ततामा ।

सबै आआफ्नो कामको खोजिमा बसाइँ सारेर हिडिसके । को कता छन् को कता । नजिकमा छैन त्यो धर्ती न त छ त्यो आकाश नै चियाइरहन्थ्यो जो बादलको घुम्टो आढेर मेरो बस्तीभरि । रचिरहन्थ्यो प्रेमको इतिहास । जुनेली रातमा निर्धक्कसँग पैतली मार्ने मनहरु पनि छैनन् यहाँ ।

माैलिक छ, वीरगञ्जमा दशै‌मा लाग्ने गहवा माई मन्दिरकाे मेला

यो व्यस्त सहरमा बज्दैन जिन्दगीको मंगल धुन पनि । भेटिदैन निश्चल निश्कपट मायाको बिनेटो । यहाँ त वैभवका सपना उमार्छ मान्छे । फुर्तीफार्तीका मञ्च सजाउछ मान्छे । अनि सानोमा गाउँघरतिर बालबालिकाले कतै प्वालबाट, झयलबाट, जंगलमा रुखको बीचबाट चियाएझैं चियाइरहन्छ राज्यको भडारमा । मौका खोजीरहन्छ घुस खाने उपायको । आफु मात्रै बन्दैन बेइमान बनाइदिन्छ समयलाई पनि बेइमानी ।

जिन्दगीको, दसैंको, रमाइलोको सबैको आआफ्नै अर्थ होला तर मलाई कुनै अर्थको खोजी गर्नु छैन । खोजी गर्नु थियो गाउँबाट आउने बाडुलीको । मेरी आमाले पोत्ने त्यही सुन्दर घरको । म घर पुग्दा पहिले चाख्न दिइने न्वागीको । तर ती केही पनि छैनन् अब । बाडुलीको लय बिलायो आमासँगै । न्वागी बनाउने हात पनि बिलाए धुँवासँगै । धान फलाउने गराहरु सबै बाझै रहे । घर बिक्री गरिदिएपछि भत्किदै, एक्ला बने र गए अन्तै कतै ती निदाल पलेटा र धुरीबासा पनि । जसरी मेरा पाइला सरे पराइ सहरतिर उस्तै गरी सरे छन् ती पनि अर्कै गाउँतिर । यतिखेर सबै कुरा सम्झाउने याद छ अलिकति । अनि छ यो सम्झिने मन । आखिर मन छ र त बाँच्नुको पनि सार छ । रुनुको पनि अर्थ छ । जीन्दगी भन्नु जीउन अपनाइने सोचहरुको भ¥याङ न रहेछ । समग्रमा त्यो बाटो भविष्य निर्माणको बाटो हो जुन बाटोमा भेटिन्छन् जिन्दगीरुपि सोचका सिडीहरु, भर्याङहरु ।

मलाई मेरो बाइलाइन 'सुसाइड नोट' बनाउनु छैन


शुक्ल पक्षको समय होस् पूर्ण चन्द्रको आवागमन होस्, एउटा फकिरले झै मस्ती गर्न पाइयोस् त्यो मस्ती अवोध बालकको जस्तै होस् निश्चल निस्कपट र निस्वार्थ होस् । त्यो प्रकृति त्यो सुन्दरता त्यो आफ्नोपन सबैलाई हृदयमा बोकेर हिँड्न पाइयोस् । कसैसँग हात थाप्नु नपरोस् । स्वाभिमानी अनि कर्मठ बनेर प्रेमिल जिन्दगी बाँच्ने क्रममा नदुखोस् कहीं कतै मनको पाटो । त्यही नदुख्ने मन बोकेर हिँड्न पाए कति आनन्दको हुन्थ्यो जिन्दगी । सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी । म जस्ताको मन पनि संवेदनाका छालहरु, भावनाका तरंगहरु, कल्पनाका लयहरु र विगतका सम्झनाहरुले तयार पारेको सोचाइले पोतिएको क्यानभास जस्तै त रहेछ ।

निकै शान्त शालिन र सम्य हुन्छन गाउँघरतिर यो समयमा हरेक साँझहरु । गर्मी कम हुँदै गइरहेको र जाडोले विस्तारै आफ्नो आगमनको तयारी गरिरहेको आभास पनि दिलाउछ दसैंले । लाहुरेको आगमनको संकेत पनि दिलाउँछ र बिछ्याउन लगाउछ मनभरि आत्मीयता र प्रतीक्षाको कम्बल । केटाकटीहरुले नयाँ कुरा पाउने मिठो खान पाउने धेरै दिनसम्म मनाइने चाड हो दसैं । श्राध्द पक्षमा पितृहरुको सम्झना, केटाकेटीले खान पाउने श्राध्दको भातको रौनक सकिएपछि सुरु भइहाल्छन् नवरात्रीका दिनहरु । एकाएक बदलिदिन्छ मौसम । शब्दमा व्यक्त गर्न निकै कठिन छ शरदीय यामको शोभा र सुन्दरतालाई । जसरी डोलीबाट ओर्लेर विस्तार बिस्तारै सिडी टेक्छन् नव दुलहीका पाइलाहरु उस्तै गरी भैरहेको हुन्छ शरदीय यामको पनि आगमन ।

हट्हट् जुम्ली-घाेडा : जसको चाबुकमा दम, उसकै घोडा 'शिकन्दर' !

टन्टलापुर घाम लागिरहदा खोलामा एकाएक बाढी उर्ले जस्तो । एक्कासी बादलुले धेरेर दिउँसै अँध्यारो भए जस्तो । गड्याङ गुडिङ गरेर मेघ गर्जिदा एक्लै ढोका थुनेर घरभित्र काँपिरहेको बालक जस्तो । कोठा उज्यालो पारिरहेको बिजुलीको चिम फ्यूज हुँदा रात आफैमा रोए जस्तो । बाँच्छीले आई गरेर बोलाउँदा बोलाउँदै कसैले बाहिरैबाट गाईलाई अन्तै लगिदिएजस्तो । कान्लाबाट तल घाँसको भारी बोकेर पाइला चाल्ने गोरेटोतिर दृष्टि पु¥याउँदै गर्दा पछाडीबाट कसैले धकेलेर लडाइदिए जस्तो । ३३ वर्ष पछि पुनः उम्रिएको छ छातीभरि पीडाको बन्सो । सोचिरहन्छु निधारसम्म पुगेर अक्षता लगाइदिने बाआमाका औलाहरु । आमाले निकै मेहनत गरेर पकाएको भोजन । सरदीय याम सुरु नहुँदै आमाले पठाउने गरेको बाडुलीको लय । परालमा लपेटेर खाडलमा राखी तलबाट धानको भुस्सा जलाएर धुवाको सहायताले पाक्ने गरेको केरा । गाउँभरि कमेरो र राता माटाले छिपेर टलक्क टल्किरहेका घरहरु । उकालोको टुप्पामा धानको भारी बिसाएर तमाखु सल्काइरहेका मनहरु ।

बाटाभरी चियाइरहन्थे लाखौ ताराहरू । टिल्पिलाइरहेका हुन्थे एदाकदा जुनकीरीहरू । नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्षामा सधैभर दृष्टि बिछाइरहने बरपीपलका पातहरू । बिस्तारै छोएर जान्थ्यो सिरसिरे बतासले पनि । अतित जति प्रिय कहाँ हुन्थ्यो र वर्तमान । अतितको सम्झना नगरिकन मान्दैन मन पनि । त्यो त्यही अतित हो जसले चाहिने भन्दा बढी संवेदनशील बनायो । कतै रुवायो, कतै बीचबाटोमा जङ्गलको रुखझैं चुपचाप अडिन सिकायो । सरद ऋतुको आगमनसँगै पलाउन थाले यादका मुनाहरु । उब्जाइदिए तिनले छातीमा भक्कानो । बढाइरहे सम्झनाको जरो । यतिबेलासम्म आमाले पठाइसक्नु हुन्थ्यो बाडुली । बिज्ञानले छुट्टै ढंगले अथ्र्याउला बाडुलीलाई । धेरैले सजिलैसँग भनिदिन्छन् ति रुढीवादी कुराहरु । कहिलेकाही केही कुराहरु यसरी आइदिन्छन् जसको तर्क गर्न मन लाग्दैन । सधै तर्कले मात्रै पनि चल्दो रहेनछ जिन्दगी ।

वर्षौ अघि आइपुग्थ्यो यति बेला बाडुली । काटिसकेको हुन्थे घरजानलाई गाडीको टिकट पनि । पूर्णभावमा रमाइरहन्थ्यो यो मन । आमा बा हुनुहुन्थ्यो र दसैंको महत्व थियो । खोजिदैन थियो बाडुलीको वैज्ञानिक कारण । मात्र ठान्थ्यो मनले आमाले सम्झिन । विगतको यादले, संवेदनाका धर्साले र पुराना मूल्यमान्यताले सिकाउदा रहेछन् धेरै कुराहरु । पढाउदा रहेछन् जिन्दगीको पाठ । दर्साउदा रहेछन् बेलाको महत्व । आज यो विरानो सहरमा अँध्यारो रात आढेर सम्झिरहेको छु – आमा अनि दसैं नआउँदै आमाले पठाउने गरेको बाडुलीको लय । दसैंको भोलिपल्ट पारि डाँडामा सुनिएका ढोलक दमाहा र जुनेली रातमा चालिएको पैतलीको चाल, जो जिन्दगीका प्रतीक थिए । 

बाडुली हाम्रो मानसिक परम्पराको इन्द्रेणी हो ।

स्नेह ममता र आफ्नोपनको रैवार पनि हो । मनमा संवेदना र भावुकता पैदा गराउने तरङ्ग पनि हो । आज विगत सम्झिदै एकान्तमा सोचिरहेको छु – जिन्दगी त उतै छोडेर आइएछ, जहाँ ठेस लागेर नङ नै उछिट्टिएको नाङ्गो खुट्टाले गृष्मको धुलौटे गोरेटोमा निशानी छोडेको थिएँ । वर्षातमा जंगलमा बर्सादी ओढेर कानमा औंला घुसार्दै ठाडी भाका सुसेलेको थिएँ ।
अनि हिउँदमा बटन हराएको कमिजका दुबै पाटालाई दुई हातले च्याप्दै मूर्तिझैं उभिएर निलो आकाश हेरेको थिएँ । यो सम्राटहरुको सहरमा त मैले केवल जिज्ञाशु पाइला मात्र बिछाएको छु ।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज