मलाई मेरो बाइलाइन 'सुसाइड नोट' बनाउनु छैन

दशैं सांस्कृतिक कि शाश्त्रीय ? स्वस्थ वहस गरौं । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालमा तिथि आउँछ, यता अमेरिकामामा मिति । त्यही मितिले यहाँ दशै ल्याउँछ । यसपटक अरू तिथिले ल्याउने मितिले अरू दिनलाई फरक नपारे पनि टीकाको दिनलाई असर पार्यो भन्ने एकथरि भेटिएका छन् । यही पृष्ठभूमिमा उनीहरू नेपाल अगाडि नै दशैको टीका लगाउने कुरा गरिरहेका छन् । उनीहरू किन ग्लोबलाइजेसनको यस जमानामा मिति छोडेर तिथितिर गइरहेका छन्, त्यो उनीहरू नै जानुन् । तर, यस्ता मानिसहरू केही सिमीत ठाउँमा छन्, थोरै छन् । 

रूपमा जे भनिए पनि यो मूलत: दशैलाई नेपालीको सांस्कृतिक चाडका रूपमा लिने कि हिन्दूको शाश्त्रीय चाडका रूपमा लिने भन्ने विषय हो । यी मानिसका कारण त्यसमा वहस पनि सुरू भएको छ । वहस स्वस्थ भयो भने त्यसले एउटा तार्किक निष्कर्षमा पुर्याउँछ । तर, यो वा त्यो वहानाले बनाइएको माइन्डसेटको आधारमा कुरा गर्ने हो बहस विषयबाट भड्केर व्यक्तिमा पुग्छ । 

म दशैलाई नेपालीको सांस्कृतिक चाडका रूपमा मान्ने एक अकिञ्चन नेपाली हुँ । मेरो कुनै संस्थागत पद वा दायित्व छैन, मेरो कुनै राजनीतिक आग्रह/पूर्वाग्रह छैन, मेरो देब्रे/दाहिने केही छैन । एक व्यक्तिका रूपमा म स्वतन्त्रताको उच्चतम अभ्यास गरिरहेको छु । केही नहुनुको सबैभन्दा सुन्दर पक्ष नै यही हो । 

यो पनि पढ्नुहोस् 
यसपालिको 'आयुद्रोण सूते ....' अक्टोबर ८ मा

म पत्रकारिताको विद्यार्थी हुँ, शिक्षक हुँ । म यही अभ्यास गर्छु, पूजा गर्छु । विगत ३५ वर्षदेखि मैले गरेको यही हो । मिडियाका स्वरूप परिवर्तन भएका छन्, मिडियाका मास्टहेड फेरिएका छन् । विश्वविद्यालयका कोठा फेरिएका छन् ।  म अमेरिका पनि यसैको एक्स्ट्रा अर्डिनरी स्टाटसमा आएको हुँ- यो अभिमानको विषय हैन, गौरवको विषय हो । जे कारणले म आएँ, मैले त्यही अभ्यास गर्नुपर्छ भन्ने मान्यताले म त्यही प्राध्यापन गरिरहेको छु, अभ्यास गरिरहेको छु । 

५० नाघिसकें तैपनि म भन्छु अझै पनि मैले केही जानेकै छैन । केही जानेको छु, बुझेको छु भने त्यो भनेको आमसञ्चार तथा पत्रकारिता मात्र हो । म सिकिरहेकै छु र यो क्रम जीवनपर्यन्त रहिरहनेछ । 

यस विषयका ज्ञाताले जे जस्ता सिद्धान्त बनाएँ, म त्यही अभ्यास गर्छु । म आफैं बाटो बनाउने हैसियत राख्दिन, म इमान्दार भएर पछ्याउने कोशिस गर्छु । म आमसञ्चार नै अभ्यास र प्राध्यापन गर्ने भएकाले अपडेटेड र अपग्रेडेड भर्सन हुँ । मलाई माफ गर्नुहोला, अमेरिकामा भएका अरू पत्रकारहरू के गर्छन्, त्यो उनीहरूको कुरा हो-  म सम्मान गर्छु सबैको । तर, म जे गरिरहेको छु- पत्रकारिताको अमेरिकी भर्सन अभ्यास गरिरहेको छु । म अरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न चाहन्न । अमेरिकामा भएका नेपाली मूलका मानिसले मलाई अरू सबै सिकाउनुहोस्, म सिक्न तयार छु । तर, विन्ति छ मलाई पत्रकारिता नसिकाउनुहोस् । किनकि, तपाईसँग कम्तीमा मलाई सिकाउने तहको आमसञ्चार तथा पत्रकारिताको ज्ञान छैन । लेखक हुनु र पत्रकार हुनु आनका तान फरक छ । शिवप्रकाश, राजव, निहारिका, हरि अधिकारी, सीता पाण्डे अमेरिकामा रहेका उम्दा नेपाली लेखक हुन् , लेखकका रूपमा उहाँहरूप्रति मेरो सम्मान छ । तर, उनीहरू पत्रकार हैनन् ।मैले सम्मानपूर्वक उहाँहरूको नाम लिएको हुँ । सञ्चारकर्मी हुनु र सामाजिक सञ्जालकर्मी हुनु पनि फरक कुरा हो, यहाँ केही उम्दा सामाजिक सञ्जालकर्मी छन् तर उनीहरू कतिका सञ्चारकर्मी हुन्- त्यो पनि अध्ययनकै विषय हुन सक्छ ।

मेरो पत्रकारिताले कुनै पद नभएका, संस्था नभएका र सामाजिक जीवन नभएका मानिसका बारेमा समाचार लेख्दैन, जबसम्म उनीहरू मानिसले कुकुरलाई टोक्ने स्थितिमा पुग्दैनन् । बाँकि पद भएका, संस्था भएका, सामाजिक जीवन भएका व्यक्तिहरू समाचारका, लेखनका स्रोत हुन्छन् । म ती मानिसहरूको दोहोरो चरित्र, आडम्बर, बदख्याइँका बारेमा निर्मम रहदै आएको छु र हुन्छु नै । किनकि, मेरो पत्रकारिताले ट्रेजरी बेन्चमा हैन, अपोजिसन बेञ्चमा बसेर यसै गर्न सिकाउँछ । त्यो मेरो धर्म हो । 

यो पनि पढ्नुहोस् 
दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा !

दशैकै सन्दर्भमा पनि मैले केही पदसँग, संस्थासँग सम्बन्धित व्यक्तिसँग फरक मत राखें । फेरि पनि भन्दैछु, मैले पद, संस्था र सामाजिक उत्तरदायित्व नभएका मानिससँग कुनै कुरै गरिन् । मैले मेरा प्रिय भाइ रामचन्द्र भट्टसँग असहमति राखें । उनी भाइ भएर हैन, नेजा भन्ने संस्थाका पदाधिकारी भएकाले राखेको हुँ । मेरो पत्रकारिताले भन्छ- पत्रकारका संस्थाले दशैं कहिले मनाउने भनेर छिनोफानो गर्ने मञ्च बनाउने हैन । नेजाले डल्लासमा तत्कालिन राजाका नायव बडागुरूज्यू माधव भट्टराईलाइ ल्याएर अमेरिकामा दशैंको तिथिमितिको छिनोफानो गर्ने जुन काम गर्यो, त्यो नै सही हैन । पत्रकारको संस्था अरू कुनै संस्थाजस्तो एकांकी संस्था हैन, यसले विवादित विषयमा एउटा पक्षको पक्षपोषण गर्नु हुदैन । संस्था तत्कालका लागि त्यसका पदाधिकारीले बोक्ने भएकाले मैले यही कुरामा रामचन्द्रसँग मत फरक गरेको थिएँ । उनी व्यक्तिका रूपमा त्यसो गर्न सक्छन् तर उनीसँग संस्थागत उत्तरदायित्व पनि छ । त्यो विर्सनु हुदैन । व्यक्तिका रूपमा उनी एक असल मानिस हुन् र अमेरिकामा भएका धेरै नेपालका पत्रकारभन्दा लेखन, अभ्यास र प्रोटोकलका हिसाबले उनी अग्ला छन् ।

यही क्रममा मैले नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC) का अध्यक्ष सुरेश चन्द्र पोखरेलसँग फरक मत राखें । व्यक्ति मात्र भएका भए उनी मेरो लेखनका विषय नै हैनन् । तर, जब कुनै व्यक्ति संस्थाको अध्यक्ष हुन्छ भने उसको सामाजिक उत्तरदायित्व हुन्छ र मेरो लेखनको विषय पनि । उनी अध्यक्ष भएको संस्थाका मूलपुरोहित दशैंको टीका अक्टोबर ८ मा निकाल्छन्, अनि पुरोहित अक्टोबर ७मा निकाल्छन् अनि उनी अक्टोबर ७को पक्षमा विज्ञप्ती जारी गर्छन् । धर्म र आस्थासँग जोडिएको विषयमा यस्तो अराजकतालाई के भन्ने ? यसले के सन्देश दिन्छ ? यसले हिन्दू धर्मको छवि कस्तो बनाउँछ ? मैले यसलाई कहीँ नभएको जात्रा डल्लासमा भनकै हो । यो उहाँको घरको मामला भएको भए मेरो लेखनको विषय हुने थिएन, कुनै संस्थाको अध्यक्ष भएर सार्वजनिक मत राखेपछि त्यसमा प्रतिक्रिया हुनु अस्वभाविक हैन । संस्थाले दुई विपरित ध्रुवका पूजारी राखेर दशैका बारेमा विवाद सिर्जना गर्ने अनि त्यसलाई समाधान गर्नेभन्दा पनि एउटा पक्षमा लागेर विज्ञप्ती जारी गर्ने - यो नेतृत्वको नैतिकताको प्रश्न नै हैन । 

दशैलाई तपाईहरू शाश्त्रीय रूपमा व्याख्या गरिरहनु भएको छ, म सांस्कृतिक रूपमा मान्नुपर्छ भनिरहेको छु । मत फरक छ । म तपाईहरूको मतसँग असहमत छु तर सम्मान गर्छु । मलाई थाहा छ- वादे वादे जायते तत्व वोध । 

यही क्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष प्राडा माधव भट्टराई र नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC) का पुरोहित मेघराज निरौला पनि मेरो लेखनको विषय बनेका हुन् । व्यक्तिका रूपमा हैन, संस्थाका र एउटा धर्मको प्रतिनिधिका रूपमा उनीहरू प्रस्तुत भएपछि पत्रकारिताको धर्मअनुसार मैले उहाँहरूका बारेमा केही लेखेकै हो । मैले जे लेखेको छु, तथ्यका आधारमा लेखेको छु । र, त्यो लेखनको अन्त्य पनि हैन सुरूवात हो । म सधैं भन्ने गर्छु- मेरा बाइलाइन आफैंमा सुसाइड नोट पनि हुन सक्छन् । यदि मैले गलत लेखे भने कसले पढ्छ मलाई ? यही क्रम बढ्दै जाँदा मलाई सबैले पढ्न छोड्छन् र मेरो पत्रकारिताकै निधन हुन्छ । कम्तीमा म यो जुनीमा त्यो गर्न सक्दिन । यही कुरा उहाँहरू (मूलपुरोहित र पुरोहित) मा पनि लागु हुन्छ । यसरी दशैजस्तो सांस्कृतिक चाडलाई शाश्त्रीय रूपमा व्याख्या गरेर पश्चगमन सोच राख्ने हो भने उहाँहरूको यो कार्य पनि आफ्नो जजमानी पेशाकै सुसाइड नोट हो । उदाहरणका लागि उहाँहरू अक्टोबर ७मा दशैं मनाउने पक्षमा उर्दी जारी गरिरहनु भएको छ, यसले अक्टोबर ८ मा दशै मनाउनेको उहाँहरूप्रति जुन सम्मान थियो, त्यो सम्मान रहदैन । त्यसले गर्दा उहाँहरूले ती जजमान पनि गुमाउनु हुन्छ ।

यो पनि पढ्नुहोस् 
विदेशमा बस्ने हामीले नेपालकै पात्रोमा मनाऔं दशैं

जहाँसम्म माधव भट्टराईको प्रसंग हो, व्यक्तिगत रूपमा भन्नुहुन्छ भने उहाँ मेरो बन्धु हो । वैचारिक कुरा गर्ने हो भने तर, उहाँसँग मेरो हिजोदेखि नै मतान्तर छ । उहाँ राजतन्त्र कसरी जोागाउने भनेर तत्कालिन राजाका नायव वडागुरूका हैसियतमा श्वस्तिशान्ति गरिरहेको बेला म गणतन्त्रका लागि आन्दोलनमा थिएँ । मैले पञ्चायतलाई जागीर बुझाएर आन्दोलनमा लागदा उहाँ दरबारमा वडागुरू हुनु विन्तिपत्र हालिरहनु भएको थियो । मैले प्रहरी रेकर्डका आधारमा कोलम्बो प्लानको इन्जिनियरिङ गुमाइरहदा उहाँ आफ्नो छोरालाई पाकिस्तानमा एमबीबीएस पढ्न पठाउन लागिरहनु भएको थियो । म कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पुनरूत्थानवादी भनिरहेको बेला उहाँ आफ्नी श्रीमती कान्ता भट्टराईलाई त्यही पार्टीबाट सांसद र राज्यमन्त्री बनाउन लागिरहनु भएको थियो । 

तर, पनि व्यक्तिका रूपमा उहाँप्रति मेरो सम्मान छ । तर, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्षका रूपमा दशैलाई विवादमा ल्याउने सूत्रधारका रूपमा जुन काम गर्नुभएको छ, त्यो मेरो लेखनको विषय हो र रहिरहनेछ । मैले यी माथिका कुरा किन गरिरहेको हो भने उहाँ कमल थापाको पश्चगमन सोच बोक्ने दरवारको दीर्घायूको लागि शान्तिस्वस्ति गर्ने मानिस हो र उहाँले दशैंका बारेमा पनि पश्चगमन सोच बोकेर भाँडभैलो मच्चाउन खोज्नु त्यसैको एक हिस्सा हो भन्ने प्रमाणित गर्ने मेरो कसरत हो । म यो कसरतमा तबसम्म लागिरहन्छु, जबसम्म उहाँ संस्थामा रहेर यस्तो भाँडभैलोको नेतृत्व गरिरहनु हुन्छ । म यो सामाजिक सञ्जालमा हैन, मूलधारको सञ्चार माध्यममा लेखिरहेको छु ।

नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC) का पुरोहित मेघराज निरौला एक आज्ञाकारी शिष्यका रूपमा आफ्ना 'माधवगुरू' को आरति उतारी रहनुभयो । म यसलाई त्यति धेरै अन्यथा पनि ठान्दिन । किन, यसका बारेमा आवश्यक परे समयक्रममा चर्चा गरौला नै । 

यही विषयमा नेपालभन्दा अगाडि नै अक्टोबर ७ मा अमेरिकामा टीका लगाउने अभियान चलाइरहनु भएका उहाँहरूले मेरो नाम त्यो पनि ठाडो भाषामा लेखेर केही व्यक्तिगत लाञ्छना लगाउने काम गर्नुभएको छ । मेरो ज्ञानको सिमा र योग्यतामाथि प्रश्न उठाउनु भएको छ ।यसमा मेरो एउटै विनमर आग्रह छ- मलाई चाहिने ज्ञान मसँग छ, नपुगेको म लिदै जान्छु । तर, एउटा सत्य हो- तपाईहरूसँग मलाई चाहिने ज्ञान पनि छैन र लिनु पनि छैन । तपाईहरूको ज्ञान, विज्ञता तपाईहरूसँगै राख्नुहोस् ।  मेरो तपाईरूलाई फेरि पनि यही भनाइ छ- मेरो प्रश्न/ असहमति व्यक्तिगत रूपमा तपाईहरूसँग हैन । तपाईहरूको संस्था र पदसँग सम्बन्धित विषयमा हो । त्यसैले पदमा बसेको व्यक्तिले क्रिया प्रतिक्रिया दिदा व्यक्तिका रूपमा गर्नु वुद्धिमानी हुदैन, संस्थागत रूपमा निर्णय गरेर मात्र गर्नु श्रेयस्कर हुन्छ । 

उदाहरण हेर्न टाढा जानै पर्दैन, कृष्णबहादुर महराका कारणले सिंगो संसद र व्यवस्था नै कलंकित भयो । तपाईहरूले लिने व्यकतिगत निर्णयका कारण सिंगो संस्था, दशैं र नेपाली संस्कृति विवादित हुनु हुदैन । संस्था स्थायी हो, तपाईहरू त आउनु हुन्छ/ जानु हुन्छ । तर, तपाईहरूले लिने निर्णय र गर्ने व्यवहारले त्यो सस्थालाई हिरो पनि बनाउन सक्छ, जीरो बनाउन पनि सक्छ ।

यो पनि पढ्नुहोस् 
अमेरिकामा दशैंको टीका कहिले लगाउने हो त ?

मलाई लागेको कुरा, दशैको विषयलाई लिएर नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र(NCSC) का अध्यक्ष सुरेश चन्द्र पोखरेलले अक्टोबर ७ को पक्ष लिदा त्यसले संस्थालाई कति हानी गर्यो ? त्यसको हिसाव किताव गर्नु भएको छ ? दशैंलाई सांस्कृतिक चाडका रूपमा लिएर अक्टोबर ८ मा टीका लगाउने मान्छेले अब त्यो संस्थालाई कसरी हेर्छन् ? अक्टोबर ८ मा दशैंको टीका  थाप्नेहरूले युलेसको मेगा प्रोजेक्टमा किन सहयोग गर्ने तपाइलाई ? तपाई त सर्वसम्मत हुन सक्नु भएन । तपाईले एकपक्षीय भएर निर्णय गर्दा त्यसले संस्थालाई कति हानी पुर्यायो ? त्यसको नैतिक जिम्मेवारी कसफे लिने ? 

महोदयहरू, प्रश्न प्रश्नका लागि हैन । दशैको टीका त एकै दिन बनाउन नसक्ने र फरक फरक दिन मा मनाउनुपर्छ भन्ने मूलपुरोहित र पुरोहित राखेको संस्थाले कसरी नेपाली संस्कृति र अध्यात्मको संरक्षण गर्छ ? यसै पनि हिन्दू धर्म यस्तै 'अल्पज्ञानी भयंकर सोच'ले गर्दा पछाडि पर्ने क्रम जारी छ । वैज्ञानिकता अस्वीकार गर्ने, फरक विचार र तर्कलाई किनारा लगाउने यस्तै क्रियाकलापले गर्दा हाम्रै अर्को पुस्ताले यसबारेमा प्रश्न उठाइरहेकै छ । हामीले कुन मुखले उनीहरूलाई सम्झाउने? 

म त 'पत्रकारिताको जोगी' हुँ । मेरो लागि आमसञ्चार तथा पत्रकारिताका महागुरू म्याकवेलले भनेको पाराडाइम सिफ्ट र एन्टिथेसिसमाथि कोही छैन । यो मेरो विनम्र अनुरोध हो- संस्थामा बसिसकेपछि संस्थाको पदीय मर्यादा र उत्तरादयित्व निर्वाह गर्नुहोला । सडकमा कलम लिएर हिडिरहेको एउटा 'जोगी पत्रकार' लाई शिसाको घरमा बसेर तरवार देखाउने वा ढुंगा हानेर जिस्क्याउने काम नगर्नु होला ।

दशैलाई तपाईहरू शाश्त्रीय रूपमा व्याख्या गरिरहनु भएको छ, म सांस्कृतिक रूपमा मान्नुपर्छ भनिरहेको छु । मत फरक छ । म तपाईहरूको मतसँग असहमत छु तर सम्मान गर्छु । मलाई थाहा छ- वादे वादे जायते तत्व वोध । 

म दशैंको टीका अक्टोबर ८ मंगलबार विहान १०:३५ को साइतमा नेपालमा टीका लगाउन थाल्दा पालो अनुसार भर्चुअल टीका र आशीर्वाद ग्रहण गर्छु । यता अमेरिकामा भने नेपालको तिथिले ल्याएको मितिअनुसार अर्थात् अक्टोबर ८ मंगलबार नै लगाउँछु । व्यक्तिगत रूपमा अरूलाई पनि यसै गर्न अनुरोध गर्छु । 

तपाईं के गर्नुहुन्छ रोजाइ तपाईको ? त्यसमा मेरो केही भन्नु छैन - यति लेख्नलाई कुनै आयतबार पर्खिनँ । बाँकि समयले माग्यो भने नाइँ भन्ने कुरा भएन । समयलाई विन्ति छ, नमाग भनेर ।

 

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज