त्यो शनिबार कहिल्यै आएन

तस्बिरः बिएल

निर्जन  किनारासँग सोधिरहन्छु म

मेरा ओठबाट उनको नाम

खोसेर लियो कसले, खोसेर लियो कसले

जब चल्छ गीतसङ्गीतको चर्चा, आँखाभरि छाउछ उही अनुहार। जब निस्कन्छु एकान्त ठाउँतिर कानमा गुञ्जायमान भैदिन्छ एउटा स्वर। संगीत संयोजनका छाल बनेर मुटुमा सलबलाउन खोज्छन् ती आंैलाहरु। अनि दाजु कृष्णसिंह पेलाका यी शब्दहरु गुनगुनाउन मन लाग्छ। त्यो पलको याद आउछ। कमजोर मुट भएको म भक्कानिन्छु। गला अवरुद्ध भएर आउछ। पीडादायी हुन्छ प्रिय मान्छेबाट टाढा हुँदाको पल। ग्लोमी सन्डे कविता सुनेको थिएँ कतै। आइतबारको दिन प्रेमीकाले छोडेर गएपछि, सम्बन्ध सदाका लागि विच्छेद भएपछि बिछोडको पीडा सहन नसकी हरेक आइतबारले आफुलाई निराश तुल्याउने कुरा व्यक्त गरेझैं कुनै कविले, पीडा थपेकै हुन्छन् आउने जाने शनिबारहरुले। प्राय जसो शनिबारले मलाई पनि याद दिलाउछ गायक एवं संगीतकार मधुबाबु थापा दाइको।

हिउँद यामको त्यो शनिबार । अनामनगरस्थित ओपल रेकर्डिङ स्टुडियोमा मैले सिरानीका पंक्तिमा स्वर रेकर्ड गर्नु थियो। त्यो दिन स्वर अब्जर्वेशनका निम्ति अनुरोध गरेको थिएँ उनै मेरा अभिवावक गुरु मधु दाईलाई। उहाँलाई अनामनगरस्थित उहाँको डेराबाट स्टुडियोसम्म लिएर आएँ। स्टुडियोमा मलाई आशीर्वाद दिएर रेकर्डिङ कक्षतिर पठाउनु भयो। आफु शान्त मुद्रामा स्वर अब्जर्वेशनका लागि बस्नु भयो। एक दुई राउन्ड पूरै गीत गाउन लगाउनु भयो। स्वर सुनिसके पछि भन्नु भयो –बाबु आज तिम्रो गलामा अलिकति खसखस आएको छ। कताकता घाटी बसेको जस्तो पनि सुनिन्छ। यसलाई आज रेकर्ड नगरौं। अर्को शनिबार गरौंला म आइदिन्छु।

अर्को शनिबार आउन नपाउँदै हजारौं ताराहरु बीचको एक तारा झ¥यो कहिल्यै नदेखिने गरेर। त्यो सांगीतिक दुनियाको ध्रुव तारा अलप भएको खवरले छाँगाबाट खसे जस्तो बनायो। मेरो हृदयले कामना गरिरह्यो त्यो खवर साँचो नभैदेओस् भनेर। धेरै मित्रहरुसँग फोनमा बुझ्दा पत्यार लागिरहेको थिएन। परन्तु जुनकुरा कानले सुन्न चाहँदैनथ्यो त्यही सुन्नु प¥यो। जुन अवस्था मेरो आँखाले देख्न सक्दैनथ्यो नियतिले त्यही देख्न वाध्य बानायो। सरिक हुनु प¥यो दाईको अन्तिम बिदाईमा।

मधुबावु दाईसँग बिताएका केही रमाइला पलहरु छन् सम्झनामा। ती कैयौं यादगार पलहरु नआउने हैनन् स्मृतिपटलमा। तर शनिबारको दिन विशेष दिन बनिदिन्छ सम्झिनको लागि। उसो त २०५३ सालमा पहिलो पटक सुदूरपश्चिमको बैतडीबाट आधुनिक गीत रेकर्डिङ गर्ने अद्देश्यका साथ काठमाडौं आएको थिएँ। त्यतिबेलै गायिका दिदी चन्द्रकला शाहले उहाँसँग चिनाजानी गराइदिनु भएको थियो। पछि मेरो आँसु एल्बमका दुईटा लुकाउन खोज्दा पनि आँसु त नखसेको हैन र के गर्नु र निधारमा हाँसो त लेखेकै छैन, फेरि पनि आफ्नो व्यथा कसैलाई भनेको छैन ....... कुल्चेर मेरो फूल अर्को नै रोज्यौ कि ? बोलका गीतमा दाइले नै एरेन्ज गरिदिनु भएको थियो। जुन गीतले मेरो पहिचान बनायो, तिलकसिंह पेला भनेर चिनायो।

दाइ भनेर विगतको जसरी फोनमा कुरा अब हुन सक्दैन। भेट्न जान आतुर हुने पाइला रोकिन्छन दोबाटोमै। दाइलाई बाइकको पछाडि राखेर यो व्यस्त सहरको गल्लीमा दौडिने अवसर पनि पाइने छैन अब। शिरानीका गीतका पंक्तिले भनेझैं मात्र एकान्तमा निर्जन किनारसँग, आकाशका जूनतारासँग सोध्न मन लाग्छ – खै कसले खोस्यौ मेरो दाइसँग, मेरो गुरुसँग वार्तालापका ती पलहरु। उहाँको नाम उच्चारण गर्न खोजिरहन्छन् मेरा ओठहरु। झसङ्ग हुन्छु। भावुक बनिदिन्छु, आउँदैन बाहिर आवाज। एक्लै एक्लै सोचिरहन्छु। सम्झिरहन्छु। उहाँको मुहार टल्किरहेकै हुन्छ मेरा आँखा अगाडी। उहाँको नाम सम्झिन्छु। त्यही नामको अर्थ लगाउन खोज्छु। संस्कृतमा मधुको अर्थ हुन्छ मह। जो स्वादिलो, पवित्र र पोषक तत्वले भरिपूर्ण छ औषधीय गुणले युक्त छ। वास्तवमा मधुबाबु दाइको स्वभाव पनि निकै सरल, निष्कपट अनि वेदाग थियो। सामान्य तर साधकीपूर्ण जीवन बाँचिरहनु भएको थियो दाइ। नेपाली संगीतिक क्षेत्रमा उहाँको योगदानको बारेमा मैले भनिरहनु पर्दैन। जगजाहेर नै छ। मध्य र सुदूरपश्चिमका प्राय सबै कलाकारहरुले मधुबाबु थापा र चन्द्रकला शाहबाट सांगीतिक जीवनको विशाल मार्ग पहिल्याउने एवम् आफ्नो गन्तव्यमा पुगेर जीवनलाई आनन्दित तुल्याउने गुरुमन्त्र नै प्राप्त गरेका छन्। म पनि ती दर्जनौं सिकारु साधकहरु मध्येको एक उदाहरण हुँ।

दाइ अत्यन्त सरल र स्वाभिमानी हुनुहुन्थ्यो। नेपाली संगीतकर्मीहरुले उहाँको खुविलाई चिनेर बुझेर पनि उहाँलाई नचिनेझैं व्यबहार गरिरहे किनकी उहाँले कहिल्यै कसैसँग हात फैलाउनु भएन। दाइ इमानदारीता र स्वाभिमानका क्षेत्रमा पनि एक दरिलो खम्बा नै हुनुहुन्थ्यो। एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो सीप र खुवीप्रति पूर्ण विश्वास बोक्नु भएका उहाँ गम्भीर धौर्यताले भरिपूर्ण, विशाल सागर जस्तो छाती भएका व्यक्तित्व हुनुहुन्थ्यो। अझैं भन्नु पर्दा मधुबाबु दाइमा हजारौ.चुनौती, अभाव र समस्याका खोलानाला, झरना र नदीहरुको बेग सम्हाल्नसक्ने विशाल क्षमता थियो।

मैले मेरो जीवनकालमा मधुबाबु दाइ र चन्द्रकला दिदीसँग भेट्ने मौका नपाएको भए संगीत साधनाको महत्व बुझ्न सक्ने थिइनँ। एक श्रध्देय गुरु जसले गीत गाएर मात्रै केही हुनेवाला छैन, संगीत सिक्नु पर्छ र साधना नै जीवनको सबैभन्दा ठूलो प्राप्ति हो भन्ने गुरुमन्त्र दिएर जानु भयो। उहाँसँगको बसाईमा अझ भनौ उहाँले बोल्नु भएका शब्दशब्दले शिक्षा दिइरहेका हुन्थे। गीत गाउदा होस् वा सुर लगाउदा अलिकति पनि यताउता हुने बित्तिकै चित्त बुझ्दैनथ्यो र रोकेर भनिहाल्नु हुन्थ्यो – तिम्रो यहाँनेर यस्तो हुनुपर्नेमा यस्तो भैरहेको छ।‘ खोट देखाइहाल्नु हुन्थ्यो।  त्यसैले पनि होला गायन क्षेत्रका कतिपय हस्तीहरुले आफ्नो गीत रेकर्डको बेला दाइलाई अब्जर्वेशनका लागि अनुरोध गर्दथे। यसै क्रममा गायक रविन शर्माले मुक्तकण्ठले उहाँप्रति आभार प्रकट गर्नु भएको कुनै पल अहिले पनि आँखा अगाडी आइरहन्छ।  यस्ता सम्झिनयोग्य तमाम उदाहरणहरु छदाछदै मात्र धक्का दिन्छ हरेक शनिबारले दिमागमा। दाइले धर्तीबाट बिदालिनु भएको वर्ष दिन पुग्नै लाग्यो। मेरो एल्बमको काम सकिएको छैन। फुर्सद हुने उही शनिबार। गीत गाउनु, बाजा हाल्नु, मिक्सिङ गर्नु जस्ता कतिपय  कामका तालिका बन्छन् शनिबार नै। अनि त बिहानै सम्झिन बाध्य तुल्याइरहेका हुन्छन् प्रत्येक शनिबारले। हरेक शनिबारका दिन मेरा श्रध्देय गुरु मधुबाबु दाइको  आत्मालाई कोटीकोटी प्रणाम गर्नुका साथै मनमनै आफैसँग प्रश्न गरिरहेको हुन्छु ः ऋतु महिना वर्ष सबै फर्किन्छन्। धर्तीबाट अलप भएकाहरु किन फर्किदैनन् ? थाहा छ जाने गइरहेकै छन्। आउने आइरहेकै छन्। आउने र जानेक्रम चलेकै छ सृष्टिकालदेखि नै। एक दिन छोड्नु नै पर्छ यो धर्ती। पालो कहिले आउछ कुरो त्यति मात्रै न हो। यति बुझ्दाबुझ्दै पनि भावनाको खेति गरिरहने यो मन उब्जाइरहन्छ अनेक थरि प्रश्न।

हरेक शनिबारले दुखाइरहन्छ। दाइलाई सम्झाइरहन्छ। दाइलाई फोन गर्न मनलाग्छ। तर मेरो ओठबाट प्र्रस्फुटित हुन सक्दैनन् कुनै शब्दहरु। दाइको नाम उच्चारण गरेर डाको छोडी भन्न मन लाग्छ – तमाम शनिबारहरुको बीचमा त्यो शनिबार कहिल्यै आएन दाइ। मैले जति नै भावनामा बहकिए पनि, जति नै जोरले चिच्यउन खोजे पनि, जति नै दाइको मोबाइल नम्बर डाइल गर्न खोजे पनि प्रतिक्रिया दिने दाइ कहाँ हुनु। त्यसैले बुझाउनु छ यो चुलबुले मन अनि भन्नु छ-आत्माको वैकुण्ठ बास होस। हार्दिक श्रद्धाञ्जली दाइ।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज