साँखु–बज्रयोगिनी : जेसुम यात्रा

तस्बिरः बिएल

‘समयको पाइडल हेर कति खिइयो, कति फेरियो

पाइडलसँगै फेरिएका टायरहरूले

हेर कति हाँक्यो हाँक्यो सडक आन्दोलन

कति धान्यो धान्यो सत्ताको आसन

कति मेट्यो मेट्यो मनका अभिप्सा

तर थोत्रो नै सही, खस्रो, फुस्रो नै सही

खस्रो सडकबाट चिल्लो सत्ता फेरिए जस्तो

विकास फेरेको बदलामा फेरिनु हुन्न सभ्यता

समयले टायर जलाए जस्तो जल्नु हुन्न संस्कृति!’

कवि अनिता लामाले करिब तीन हजार तीन सय वर्ष पुरानो सहर साँखुको सभ्यता, संस्कृतिमाथि बज्रयोगिनीको डीलमा बसेर लेखेका हरफ हुन् यी। सडक व्यवस्थित हुने हो भने काठमाडौबाट मात्रै ३५ मिनेटमा पुग्न सकिन्छ साँखु बजार। त्यहाँबाट थोरै उकालो लागेपछि बज्रयोगिनी। कला, साहित्य, रंगमञ्चको माध्यमबाट स्थानीय कला, संस्कृति, सम्पदाको अवलोकन तथा सोहीमाथि लक्षित गरी गरिने कला तथा साहित्यीक सृजनाको अभियान ‘जेसुम यात्रा’ साँखु–बज्रयोगिनीस्थित दशौं श्रृङ्खला आयोजना गरिएको थियो।

प्रत्येक वर्षको माघ महिनामा लाग्ने माधव नारायण मेलाको मुख्य थलो सालिनदीबाट हाइकिङ शुरु गरी साँखु बजार हुँदै बज्रयोगिनीमा पुगेर कलाकारले साहित्य सृजना गरे। कलाकार दिपेन्द्र बनेपालीले बज्रयोगिनी मन्दिरकै परिसरमा एक आपसमा जेलिएर झुण्डिरहेका कलात्मक ठूला घण्टहरुलाई दुरुस्त उतारे भने कलाकार कृष्णगोपाल श्रेष्ठले बज्रयोगिनीको हाइटमा रहेको सुन्दर परम्परागत ‘हिटी’ लाई क्यान्भासको आकर्षण बनाए।  अमूल्य डंगोल, शंकरसन श्रेष्ठ, स्वयल श्रेष्ठ लगायतले बज्रयोगिनीको बुद्ध मुहार चित्र, मन्दिरका टुँडाल, गजुरहरुलाई कलामा उतारे।

स्थानीय जानिफकार प्रकाशमान सकोका अनुसार साँखुको परम्परागत नाम सको हो। नेवार भाषामा यसको अर्थ तिब्बतमुनिको देश भन्ने बुझिन्छ। त्यसैले पनि यहाँ मानव वस्ती बस्दा मञ्जुश्रीले काठमाडौको चोभारको डाँडो खारेको थिएन भन्ने किंवदन्ती छ। बज्रयोगिनीलाई रथमा राखेर जात्रा गरिन्छ र मन्दिरबाट तल बजार एरियामा रथलाई बोक्ने, घुमाउने, खटनपटन यहाँका स्थानीय नेवारहरूले नेतृत्व, प्रतिनिधित्व गर्छन् भने बज्रयोगिनीबाट माथिल्लो एरियामा बज्रयोगिनीको सोही खट सहितको जात्राको नेतृत्व, प्रतिनिधित्व त्यहाँका स्थानीय तामाङ्गहरूले गर्छन्।

बौद्ध र हिन्दु आस्थाका उत्तिकै पूज्य र शक्तिशाली मानिने बज्रयोगिनीको यो जात्रा एउटै भूगोलभित्र पनि फरक–फरक ढङ्गबाट उत्साहका साथ सञ्चालन हुने यहाँको वर्षौं पुरानो परम्परागत चलन रहेको शंखरापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङ्गले बताए। यात्राको क्रममा बज्रयोगिनीमा मन्दिरभित्र बौद्ध चैत्य र देवीदेवता भएको एक मात्रै स्थान बज्रयोगिनी हो। स्थानीय मुकुन्द पौडेलले बताउनुभयो। ‘ने’ मुनिले बास बसेको स्थान पनि भनिन्छ, त्यसैले यहाँ ‘ने’ मुनिको पनि मन्दिर छ, जो नेपाल राज्यमा कतै छैन, स्थानीय प्रकाशमान सकोले बताउनुभयो।

यहाँ हजार घरको एउटै नियम छ, यो मुर्दा बाहिर लैजाने ढोका हो, यहाँ चार ढोका छन्, बुहारी भित्र्याउने, दुलही अन्माइ पठाउने, देवीदेवता तथा पाहुनालाई स्वागत गर्ने आदि बेग्लाबेग्लै ढोका छन्, जानिफकार प्रकास सकोले बताउनुभयो।

कलात्मक परम्परागत बुट्टाहरू कुँदिएका ढोका पार गर्दै बज्रबाराहीको सिँढीमा भेटिएका तिब्बत हिँड्न लम्किएको हात्तिको प्रतीक, वर्षौंदेखि बज्रबाराही मन्दिरको सिँढीमा झुकेर शीतलता दिइरहेको बडेमानको ‘आमा रुख’, र हिन्दु तथा बौद्ध धर्म मिश्रीत मिथकहरू अनुसारका मूर्तिकला हेर्दै यात्रा गरेका जेसुम यात्रीहरूले केही क्षणको बसाइमा उतारेका सृजनाहरु नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी समेतको उपस्थितिमा प्रस्तुती गरेपछि स्थानीय संस्कृति, सम्पदा लक्षित गरी गरिएको जेसुम यात्रा एक गहकिलो अभियान लागेको र यो अभियानले आफूले बिर्सीरहेका पाटो सम्झाइदिएको र आगामी दिनमा साहित्य कलाको माध्यमबाट यो अभियानसँग जोडिइरहने भनाइ सहित साँखु, बज्रयोगिनीलाई अभियानले समेटेकोमा धन्यवाद व्यक्त गरेका थिए।

सृजना लेखनमा कवि फूलमान बलले मानव सभ्यताको सुरुवातदेखि सभ्यतामाथि हुँदैआएको बेथितिलाई समेटेर कविता सुनाए। कवि अनिता लामाले साँखु–बज्रबाराहीको विविध विम्बहरुमा खेल्दै विकासको नाममा महत्वपूर्ण पुराना धरोहर, मूल्यमान्यता र संस्कृतिमाथि भएको अतिक्रमणलाई समेटेर सभ्यताको ट्राजेडी शीर्षकमा कविता सुनाए। कवि छविरमण सिलवालले आफ्नो कविता ‘अदृश्य ईश्वरको नाममा’ साँखु क्षेत्रको सबिस्तार बयान गर्न भ्याए, कवि गणेश बुढाले साँखु र बज्रयोगिनी क्षेत्रको सम्पदा, मान्यताहरुलाई शिल्प दिन भ्याए ‘नयाँ युगको नयाँ चित्र’ शीर्षकका कवितामा।

पर्वतारोही तथा रङ्गकर्मी रोजिता बुद्धाचार्यले विद्यमान अराजकता र उद्दण्डताले सृजित अवस्थाबाट नयाँ निर्माणको चेत निर्माण हुननसक्ने हुँदा उचाई र गहिराइको विषयमा आफ्नो रचना सुनाए। लेखक रामेश्वर श्रेष्ठले बज्रयोगिनीको इतिहासँग जोडिएको गजल सुनाउन भ्याए। कवि शैलेन्द्र श्रेष्ठले छोटो मीठो हाइकु सुनाए।  कवि धर्मानन्द भट्टकोे छन्दोवद्ध कविता र कवि मंगल वादेको जेसुम यात्रा लक्षित कविता, कवि सरोज भण्डारीको हँसिलो र घतलाग्दो छोकले जेसुम यात्रालाई मीठासपूर्ण बनाएको थियो। 

‘जेसुम यात्रा’ देशभित्रै घुमौं, देशलाई चिनौं। स्थानीय कला, संस्कृति, सम्पदा हाम्रो पुस्तौं पुस्ताले पछिसम्म थाहा पाइराख्नुपर्ने, देख्न पाउनुपर्ने सम्पत्तिका स्वरूप हुन्, चिनारीका प्रतीक हुन्। यिनको उचित जानकारी, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनमा सर्जकहरूको भावना मार्फत केन्द्रित गरी सन्देशमूलक ढङ्गको सृजनात्मक र यथार्थपरक यो यात्रा अभियान थालिएको एक वर्ष भयो। यो अभियान एक अर्कासँग जोडिने, सकरात्मक उर्जा लिने र सृजनात्मक हुने एउटा स्वतन्त्र अभियान हो। अभियानकी संयोजक अनिता लामाले भनिन्।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज