गोसाईकुण्डका मन्सुनी रङ

तस्बिरः बिएल

पदयात्रा अनुभव

१५ वर्षअघि स्कुल पढ्दा ताका गोसाईकुण्ड गएको थिएँ। यसपाली मेरो दोस्रो पटकको यात्रा हो।

काठमाडौंको कोलाहालदेखि केही टाढा रसुवाको जिपजिपे फार्म हाउसको शान्त वातावरण र अर्गानिक खानपिनमा रमाउँदा ३ दिन बितेको पत्तै भएन।

अझै मनसुनको बेला भएकाले वरिपरीको सुन्दर हरियाली डाँडाकाँडाले मनै आनन्दित भयो।

आगामी नोभेम्बरमा अस्ट्रेलिया, अमेरिका, युके र हङकङबाट आउने १४ जनाको टोलीका लागि ट्रेकिङ रूट रेकी गर्ने योजना अचानक बन्यो।

सोही अनुसार असोजको पहिलो साता चन्द्र तामाङ र प्रविन तामाङलाई साथमा लिएर गोसाईकुण्ड - हेलम्बुको यात्रामा निस्कियौं।

झम झम पानी परिरहेको थियो। बिहानै ८ बजे राम्चेको भीर छिचोल्दै गाडीबाट हाम्रो यात्रा अगाडि बढ्यो। केही अगाडि ग्राञ्चे नपुग्दै गाडी जाममा फस्यो। पहिरोले बाटो बगाएपछि आवत जावत ठप्प भयो।

गाडी फिर्ता पठाएर एक घण्टा पैदल हिँडेपछि एउटा गाडीमा लिफ्ट मागेर धुञ्चे पुग्दा साढे दश बजिसकेको थियो।

दिउँसोको खानापछि हाम्रो यात्रा अगाडि बढ्यो। धुञ्चे छोडेर करिब २० मिनेट तेर्सो पैदल मार्गहुँदै घट्टेखोलास्थित मिनी गोसाईकुण्डको दर्शन गर्‍यौ।

त्यसपछि ठाडै उकालो यात्रा सुरू भयो। उकालो सकिनेबित्तिकै देउराली (२६२५मि) पुग्दा अफसिजन भएकाले होला भएको एउटा मात्र लज पनि बन्द थियो।

त्यसपछि करिब ३ घण्टाको निरन्तर उकालो यात्रा पछि पहिलो विश्रामस्थल पुग्यौं।

त्यहाँ पनि होटल बन्द रहेछ। धाराको पानि पिउँदै केही बेर थकाई मारियो।

त्यसपछि सुरू भयो नाकै ठोकिने धिम्साको उकालो। ३००७ मिटर उचाईको धिम्सा पुग्दा दिउँसोको ४ बजिसकेको थियो।

पहिले सैनिक ब्यारेक रहेको ठाउँमा अहिले एउटा लज बनेको रहेछ। त्यहाँ चै भाग्यले भन्नुपर्छ गाउँकै घले दाइ लजको सरसफाईमा लागेका रहेछन्। पहिले म सँगै काम गरेका दाइलाई भेट्दा धेरै खुसी लाग्यो।

त्यहाँ एक माना तातो चिया खाएर केहीबेर उकालोको थकाई मारियो। विगतका कुरा निकाल्दै केही बेर गफियौं। दुःख सुखको कुरा गरियो अनि फेरि भेट्ने भन्दै यात्रा अगाडि बढायौं।

धिम्साबाट एक घन्टा तेर्सो हिँडेपछि सिङगुम्पा(३३३० मि) पुगियो। यो पुरानो लामा बस्ती हो। यहाँ चिज फ्याक्ट्री, छोर्तेन, सात धारेको लश्करले थप रमाइलो भयो। यहाँबाट सदरमुकान धुन्चेको रमणीय दृश्य देखिन्छ।

यहाँ ५-७ वटा होटल छन्। पर्यटकका लागि राम्रो खाना र बासको व्यवस्था रहेछ।

त्यहाँबाट पनि हामी बिस्तारै उकालो लाग्दै चोलाङपाती तिर गयौं। साँझ साढे ६ बजे चोलाङपातीमा बास बस्यौं।

पुग्ने बेला ठूलो पानी पर्‍यो। अगेनोको छेउमा ज्यान सेकाउँदै, भुटेको मकै र आरक टुच्च लाइयो। पछि अर्गानिक दाल भात तरकारी खाएर सुत्न गईयो।

वर्षातको मौसम भएर होला कुहिरोले धपपकै ढाकेको थियो। झिस्मिसेमा हिमाल हेर्ने रहरले उठ्दा हिमाल कुहिरो भित्रबाट हामीले लजालु नजरले चियाईरहेको थियो।

त्यहाँबाट एक घण्टामा लौरीबिना (३९०० मि) पुगियो। चिया, आलु चना र एकछिनको कुहिरोको दृश्य हेरेर लठ्ठ परियो।

यो गणेश हिमाल, पाल्ढोर, लाङटाङ र साञ्जेनको मनोरम दृश्य देखिने भ्यूप्वाईन्ट पनि हो। तर, कुहिरोले केही देखिएन।

बिहानै लौरीबिनाबाट बुद्ध मन्दिरको उकालो सकेर अन्तिम तेर्सो लागियो। एक घण्टाको पैदल मार्गपछि गोसाईकुण्ड पुगियो।

आहा! गोसाईकुण्ड जस्तो सफा थियो। मौसम पनि खुलेको थियो। तर, आकासमा बादलले लुकामारी खेलिरहेको थियो।

यो पवित्र कुण्ड हो। हिन्दु र वौद्धमार्गीको आस्थाको केन्द्र रहेको गोसाईकुण्डमा जनै पूर्णिमा र जेठको दशहरामा ठूलो मेला लाग्छ। हजारौं तिर्थालु दर्शन गर्न आउँछन्।

यहाँ स्नान गर्दा पापबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ। किम्बदन्ती अनुसार भगवान शिवलाई प्यास लाग्दा त्रिशूलले भित्तामा हानेर पानी उमारेपछि ताल बनेको कथन छ।

त्यहाँ कुण्डसँगै मन्दिरको दर्शन गरियो। आफ्नो परिवार र देशको रक्षाका लागि भगवान शिवसँग प्रार्थना टक्र्याईयो।
त्रिशूल धारा (गोसाईकुण्डको मुहान) को दर्शन गरेर पवित्र जल लिएर हाम्रो यात्रा उकालो लाग्यो।

सूर्यकुण्डबाट आधा घण्टा उकालो हिँडेपछि मौसम बिग्रियो। असिना पर्‍यो। हावा हुरी साथ हिउँ पर्न थाल्यो। सुनसान त्यो ठाउँमा ओत लाग्ने केही थिएन। त्यसैले रूझ्दै हिड्नुको विकल्प थिएन।

४६१० मिटर उचाईको गोसाईकुण्ड पास कटेर ओरालो बाटो भएर हाई क्याम्प पुग्दा दिनको साढे १२ बजेको थियो।

चिया पसलसमेत बन्द थियो। त्यसपछि हामी फेदी तिरै अगाडि बढ्यौं। पानीमा भिज्दै यात्रा अगाडि बढिरह्यो। फेदिमा पुगेर एक कप कालो चिया पिउन पाउँदा मज्जा लाग्यो।
ओरालो, तेर्सो यात्रा हुँदै काठे पुल तरेर घोप्टे पुगियो।

घोप्टेमा २-३ वटा होटल रहेछन्। त्यहाँबाट २ घण्टाको उकालो उक्लिएपछि थारेपाती भ्यूप्वाईन्ट (३७००मि) पुगियो।

साँझको ६ बजिसकेको थियो। थकानले लखतरान भइयो। त्यो दिन १२ घण्टाको निरन्तर यात्राले ज्यान भुतुक्कै गलेको थियो।

उसिनेको आलु, नुन खोर्सानीसँग खाइयो। स्पेशल सिकुटीसहितको झ्वाईखट्टे खाएर घुप्लुक्कै सुतियो। अहो! क्या मिठो निद्रा परेछ। थाहै नपाई मस्त निदाईएछ।
हिमाल हेर्न भन्दै भोलिपल्ट बिहान साढे ५ बजे उठियो।

दोर्जे लाक्पा, ग्याङ स्याम्पो, रोल्वालिङ रेञ्ज र गौरीशंकर र अलि अलि एभरेष्ट रेञ्ज देखियो।

त्यसपछि चिया पिएर यात्रा अगाडि बढ्यो। मांगेन गोठ (ग्रेट हिमालयन ट्रेलको बाटो) थारे पाटी, लामा होटल हुँदै लाङटाङ निस्किन्छ।

थारेपाटीमा सु चिया (तिबेतियन चिया, चिनी, याकको दुध, घिउ र नुन हालेको चिया) पिएर अगाडि बढ्यौं।

बाक्लो जंगलको बाटो ओरालो हिँडेर माङगेन गोठ पुग्यौं। त्यहाँ आलु र रोटी खाएर कुटुम्साङतर्फ लागियो।

बाटोमा डाँफे र मुनालसँग जम्काभेट भयो। मोबाइलले कैद गरेको थिएँ, त्यति सन्तोषजनक फोटो आएन।

त्यसपछि गाडी पुग्ने ठाउँ सिन्धुपाल्चोकको गोलभञ्ज्याङ पुग्दा बर्खाले बाटो बन्द भएको रहेछ। त्यसपछि हाम्रो पैदल यात्रा थप लम्बियो।

हामी आफ्नै गतिमा अगाडि बढ्दै गयौं। बाटोमा लोकल काक्रा र आरक खायौं।

मेलम्चीको सुरूङ पुग्दा साँझको साढे ५ बजिसकेको थियो। त्यतिखेर न कुनै गाडी पायौं, न त त्यहाँ बास बस्ने कुनै ठाउँ नै थियो।

त्यसपछि थप साढे १ घण्टा हिँडेर ग्याल्थुङ पुग्यौं। अनि त्यही मेलम्चीमा साँझको बास बस्ने निधो गरियो।

विदेसी पदयात्रीको लागि ६ दिनको ट्रेक भए पनि  हामीले उक्त दुरी साढे दुई दिनमै पुरा गर्‍यौं।

गोसाईकुण्डदेखि अगाडि गोरेटो बाटोको पुनर्निर्माण गर्न जरूरी छ। बास बस्ने ठाउँ त्यति छैन। त्यसलाई पनि हेर्नुपर्‍यो।

यो पदयात्रा छोटो र रोमाञ्चक छ। थरी थरीका जंगली फूलहरू, ताल, हिमाली दृश्य (सगरमाथा, लाङटाङ, गणेश हिमाल) सहित, हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, शेर्पा र ह्योल्मो जातिको संस्कृति र जिवनशैलीको अनुभव लिन सकिन्छ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज