काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन्।
नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे। सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए।

अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए।
धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उहाँलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराएका थिए।

धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले सुनाए।
हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ। पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ।

धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ। विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ। चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ। यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन्।

आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ। नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो।

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज