साहित्यिक पर्यटनको अचुक हतियार ‘अक्षर यात्रा’

साहित्यिक पर्यटन प्रवर्धनमा अगुवाई गर्दैछ पोखरा

साहित्यिक पर्यटन प्रवर्धनमा अगुवाई गर्दैछ पोखरा

शनिबार, बिहान पाँचै बजे आँखा खुले। अरू बेला पनि उठ्ने समय त्यही हो। तर, २१ भदौका दिन ब्युँझिँदा मन ज्यादै हर्षित् थियो। आकाशमा घाम स्पष्ट नदेखिए पनि मनमा उमंग छाएको छ।

तीन दिनदेखि स्वास्थ्य राम्रो थिएन। तैपनि हतारहतार नित्यकर्म सकेँ। अनि खाजा खाए। भान्छाको काम सकेर उत्सुकताको पोको झोलामा कोचेँ। घरबाट अक्षर यात्रामा निस्कँदा बिहानको ७ बजिसकेको थियो। निस्कनु अघि प्रकट पगेनी ‘शिव’ दाइले मोबाइलमा भन्नु भयो, ‘गन्तव्य टाढा छ छिटो निस्कनु है!’

मेरो बसाई पोखरा महानगरपालिका–३० पावरहाउसमा छ। जब म घर नजिक बाटोमा निस्केँ, सार्वजनिक यातायात कुरेँ। ढिलो भयो भन्दै मोबाइलमा साथीहरूको फोन बज्न थाल्यो। 

त्यसै बखत एकजना दाइ औद्योगिक क्षेत्र (पोखरा) सम्म जान लागेका रहेछन्। उनले लिफ्ट दिए। औधोगिक क्षेत्रमा चर्चित गजलकार वसन्त विनोद मोटरबाइक लिएर लिन आउनु भयो।

उहाँले भीमसेनटोल बाइक रोक्नु भयो। त्यहाँको जेरी पसलमा जेरी किन्ने कुरा भयो। सुजि र घिउ प्रयोग गरेर बनाइने जेरी खुब मिठो रहेछ। ३५ रुपैयाँ प्रति गोटाको जेरी चालीस वटा किन्यौ। अनि त्यहाँबाट हरिचोकतिर गुड्यौं। 

हरिचोकमा भर्खर जमघट हुँदै रहेछ। बिस्तारै साथीहरू जम्मा भए। अनि तातो जेरीसँगै मुख मिठो गरेर बसमा चढ्यौं। ९ बजे हामो यात्रा सुरु भयो। मिलन चोकमा ओर्लेर हामी जीपमा चढ्यौं। घन्चमन्च जीपमा बस्यौं। हाम्रो जीपमा प्रकट दाइ, प्रकाश ज्ञवाली, भुवन, सत्यम अनिता र म थियौं।

बाटोमा साहित्य सम्बन्धि कुरा गर्दै घलेलतिर लाग्यौं। मर्दी खोलाको किनारैकिनार अगाडि बढ्यौं। हरियाली खेत, हरिया थुम्का, उन्युघारी, बनमासा झार, ढुँगाले बनेका ग्रामीण घर। अहा ! ग्रामीण सौन्दर्यले तानिरह्यो हामीलाई।

लाहाचोक र घाचोकका वस्ती हेर्दै अघि बढ्यौं। भेडाबारी हुँदै मर्दी खोलाको पारी घलेल गाँउ देखियो। त्यहाँ भन्दा पर्तिर ल्बाङ गाउँ देखियो। जब लुम्रे हुँदै हामी माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ एण्ड वाटर फल रिट्रिटमा पुग्यौं तब संतोषको श्वास फे¥यौं।

पोखरावाट १६ किमि टाढाको घलेल गाउँ शान्त छ। गुरुङ समुदायको वस्तीमा आनन्द मिल्छ। आत्मीय सत्कार पाइन्छ। रातभरको पानीले कच्चि बाटोमा समस्या भए पनि हामी समयमै त्यहाँ पुग्यौं।

यात्रा जतिसुकै अप्ठ्यारो किन नहोस् कठिनाइले नछेक्ने रहेछ गन्तव्यलाई। भनिन्छ नि यात्रीको पहिलो पाइला नै सफल यात्राको सुचक हो। कास्कीको माछापुच्छ्रे गाउँपालिका मेरा लागि नयाँ गन्तव्य हो। पोखरा नजिकै भएर पनि यहाँ आइपुग्न सकेको थिइन।

‘अक्षर यात्रा’ले त्यो साइत जुराइदियो। साहित्यकारहरू प्रकट पगेनी ‘शिव’, लक्ष्मण थापा, दिपक समिप र कृष्ण उदासीको अबधारणामा साहित्यिक पर्यटन प्रवद्र्धन गर्ने एउटा अभियान हो अक्षर यात्रा। यसले ग्रामीण पर्यटन विकासमा योगदान पुर्‍याउँदै आएको छ।

जब हामी अक्षर यात्राको ब्यानर सहित क्यानोनिङमा पुग्यौं तब पर्यटन अभियन्ता राम गुरुङ दाइका आँखा खुसीले धपक्कै बल्यो। उहाँले हाम्रो स्वागत गर्नु भयो।

उहाँले मिठो खाना खुवाउनु मात्र भएन, अक्षर यात्रीलाई पोखरादेखि गाडीको व्यवस्था समेत गरिदिनु भयो। केही समय हामीले घलेल गाउँको क्यानोनिङ, होमस्टे र गुरुङ जीवनशैलीको कुरा गर्‍यौं।

उहाँले वर्ष दिनभित्र हेम्जा उपत्यकाको मिलन चोकदेखि घलेलसम्म सडक कालोपत्रे गर्ने कुरा सुनाउँदा खुसी लाग्यो। ‘वर्ष दिनपछि तपाइँहरू स्कुटरमा आउन सक्नु हुन्छ’, राम दाइले उत्साहित बनाउनु भयो।

हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने अक्षर यात्राको १६९ औं सृङ्खलामा थियौं हामी।

राम दाईले क्यानोनिङ मार्फत् घलेल गाउँको पर्यटनलाई चम्काउनु भएको छ। पहिलो पहिलो त्यो झरनालाई भुते छहरा भनिन्थ्यो रे। त्यहाँसम्म पुग्न मान्छे डराउँथे रे। त्यो छहराको उचाई ४५ मिटर छ। झरनाको शिरानमा बाँधिएको डोरीमा तुर्लुङ झुण्डेर तल झर्ने खेल नै क्यानोनिङ हो।

मैले क्यानोनिङ (छाँगावरोहण) नगरेता पनि त्यसका विषयमा जानकारी लियौं। साँच्चै हो विश्व एउटा खुला किताब हो जो यात्रामा निस्कन्छ उस्ले मात्र प्रत्येक पृष्ठ पढ्न सक्छ। साथीहरूले क्यानोनिङ गरेको देख्दा ममा पनि आँट बढ्यो।

झरनाबाट ओर्लेपछि जिन्दगी जितेको थुप्रै सहास बटुलेको अनुभव गर्छन् क्यानोनरहरू। डोरी समातेर हाम्फाल्नु भनेको डरलाई जित्नु हो।

समय र संभावना न पोखरी जसरी जम्न सक्छ न कुनै समुन्द्र सरि उर्लिन। यात्रामा भोगिएका अनुभव, अनुभूति तँछाडमछाड गर्न थालेपछि मनका अन्तरकुन्तरमा ठोक्किँदै पोखिन पुग्छन अक्षरअक्षरमा शब्द बनेर।

‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मुल मन्त्रका साथ हरेक महिनाको तेस्रो शनिबार गजल सन्ध्या पोखरा र नवनीत साहित्य परिवारले संयुक्त रुपमा अक्षर यात्रा गर्दै आएका छन्। साहित्यलाई प्रकृति र पर्यावरणसँग अझ ग्रामीण  पर्यटनसँग जोड्ने उद्देश्यका साथ यसको परिकल्पना गरिएको थियो।

अक्षर यात्राको मुख्य विशेषता भनेको नै साहित्यकार जुन ठाउँमा जान्छन त्यही ठाउँलाई आधार बनाएर सिर्जना गर्छन र साथीहरूलाई सुनाउँछन्। आखिर प्रकृति नै यस्तो चिज रहेछ जसले सबैमा समान दृष्टि राख्छ। सबैलाई मोहित पार्छ। त्यो अदभूत कला जहाँ मान्छेले थुप्रै बिम्ब प्रतीक देख्छ। प्राकृतिक छटाले सुसज्जित घलेल गाउँ पुग्दा प्रकृतिको अँगालोमा बेरिएको अनुभूति भयो।

जता हे¥यो उतै हरियाली। शितल हावाको स्पर्श। आफैंमा सुन्दर कविता जस्तो झरना। त्यहाँ पुग्ने गैर कविका मनमा पनि काव्यात्मक भावना फुर्छन्।

पोखरा क्यानोनिङका प्रमुख राम गुरुङ , गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भन्डारी र नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापालाई मैले मनमनै धन्यवाद दिइरहें। त्यहाँ कसैले प्रेमका, कसैले जवानीका, कसैले ग्र्रामीण परिवशेका कविता सनुाए। मैले पनि सुनाएँ-      

छङ्छङ छङ्छङ लहरामा समाउ क्यानोनिङ्मा

हल्का नजर इशाराले रमाउ क्यानोनिङ्मा

तिमीसँग  म पनि छु आज दिनै भरि यहीँ

आजको दिन यतै कतै जमाउ क्यानोनिङ्मा।

 

 गगनगौंडा तालचोक हुँदै आए क्यानोनिङ्मा

 मनभरी न्यानो माया पाए क्यानोनिङ्मा

 मर्दी खोला लुम्रे हुदै घलेल आइपुग्दा

 नजाने नि एक दुई अक्षर गाए क्यानोनिङ्मा

 

एउटा खुसीको खबर सुनाउनु भयो राम दाईले–‘हामी यहाँ वाचन गरिएका सबै रचना समेटेर एउटा किताब प्रकाशन गर्नेछौं। हाम्रा पाहुना कोठामा तिनलाई सजाउने छौं।’ 

दाईको प्रस्ताव स्वागतयोग्य छ। हामी रचना सुनाएर साँझपख पोखरा फर्किइौं।  भेटेपछि छुट्टिनु पर्ने रहेछ। क्यानोनिङ छाड्न मन थिएन तर छाड्नु पर्‍यो। आँखा टोलाइरहे। आफ्नै मनलाई शान्त्वना दिएँ, ‘म फेरि आउने छु छहरामा लहरिन।’

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज