पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन्।
पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याए। प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरे। उनले संविधानले नेपाली जनसंख्याको सयौं थुङ्गालाई एउटै मालामा जोडेर विविधतामा रहेको एकताको सन्देश प्रवाह गरेको पनि बताए। संविधान गतिशील दस्तावेज भएको भन्दै उनले संविधानमा रहेका धारा वा दफाहरु जुन बेला अग्रगतिका लागि जहाँ तगारो बन्छ त्यतिबेला त्यसलाई विधिसम्मत ढंगले मिलाउँदै अघि बढ्न तयार रहेको पनि बताए। ओलीले अतिवादी सोच राख्ने शक्तिहरूलाई पनि मूलधारमा आउन आग्रह समेत गरे। उनले टिमुरेमा सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा रहेको, एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र अर्को वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्ने, धौवादी फलाम खानी निर्माणसँगै सुरुङ मार्ग, रेल मार्ग हुँदै पानीजहाजको सपना साकार पार्ने दिशामा अघि बढेको पनि बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो। संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो। यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो। समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज