जुनेली रातमा एक्लै नाँच्ने केटो (भिडियोसहित)

आकाशमा बिजुली चम्के जस्तो, एकाएक आँधिबेहरी आउला जस्तो मडारिन थाल्छन् भावनाका तरङ्गहरू। उकुसमुकस भैदिन्छ मन। क्षणभरमै साटिन पुग्छन् मनका तारहरू र बज्न थाल्छ मीठो धुन। दुबैले सुनिरहन्छन् आ-आफ्नै दिलको धुन। अत्तोपत्तो केही थिएन कसैलाई। निकै रमाइलो क्षण थियो त्यो। त्यो दिन सम्झिदै उनी भन्छन् – विगत जत्तिको प्यारो बन्दो रहेन छ कि क्या हो मान्छेको वर्तमान। सम्झिदा पनि कस्तो अर्कै हुन्छ मनमा।

साथमा संवेदनशील त्यही एउटा मन थियो र त झिनो आशाका त्यान्द्राहरु बोकेर चालिरहे पाइलाहरु एक्लो यात्री बनेर। अनि नृत्य र अभिनयका माध्यमबाट कतिलाई रुवाए कतिलाई हँसाए अत्तो पत्तो केही भएन। जानी नजानी छुट्दै गए विगतका केही घुम्तीहरू जसरी छुट्दै जान्छन् दैवी प्रकोपले उठीवास लागेर मुग्लान भासिनेहरूका बाटाहररू। सानोमा घरीघरी उब्जने प्रश्नले पनि छोडिदिए मनमा राज गर्न। त्यही प्रश्नरहित जिन्दगीमा थपिदै गए संघर्षका नयाँ अध्यायहरू। जहाँ सजिलैसँग लेखिदिए काठमाडौंकी जमुना तिवारीको नाम । जोसँग सुरुकै भेटमा जुधेका थिए नयन र मौनतामै साटिएको थियो मन। यो कथा हो नृत्य निर्देशक देवु वोराको।

श्रीमती जमुनासँग

२०५७ देखि २०५९ सम्म यदाकदा नाटक खेल्ने क्रममा भैरह्यो भेटघाट। जमुना नाटकमा राम्रै अभिनय गर्नेमा चिनिन्थिन। देवु नाटक र नृत्य दुवैमा नमुना नै थिए। २०५९ पछाडि भने २०६३ सम्म हुन सकेको थिएन जमुनासँग देवुको भेट। सजिलो थिएन उनको काठमाडौंको बसाइ। उनी ठूलो भर्‍याङतिर ग्रीन कान्तिपुर बोर्डिङ स्कुलमा नृत्य शिक्षक बनेर चलाइरहे गुजारा । त्यही नजिकै थियो जमुनाकी बैनीको घर पनि। एक दिन ती बहिनीले झ्यालबाट बाहिर हेर्दा देखिछन् देवुलाई र बोलाइछन् घरमा।

संयोगले त्यो दिन छोरीकोमा आइपुगेकी रहिछन् आमा पनि। एकै छिनको गफगाफ पछि जाने बेला देवुले जमुनालाई फोन गर्न भनिदिनु होला भनेर जमुनाकै आमाको हातमा थमाइदिएछन् फोन नम्बर लेखिएको कागजको टुक्रा। त्यति बेलै देवुलाई घरबाट बोलाउन थालिसकेका थिए बिहे गर्न। जमुनासँगको पुनः भेट भएपछि निधो गरे उनैसँग वैवाहिक जीवनमा बाधिन। हतारिदै घरमा खवर पठाइदिएछन् बिहे गरिसके भनेर। घरमा खवर पठाएको दुईचार दिनपछि जमुनालाई लिएर पुगेछन् गुहेश्वरी मन्दिरमा र रङ्गाइदिएछन् जमुनाको सिउँदो। त्यतिबेला साथमा ताली बजाउने एकजोर हात थिए जमुनाकी साइली बहिनीका। जेठी छोरीको कन्यादान गर्न नपाएकोमा बेलुकी घरमा खुब रोएछन् होम बहादुर तिवारीका बुढाबुढी। आमाबुवाको मन न हो तेस्रो दिन बोलाएर भित्र्याएछन् छोरी जुवाइलाई।

श्रीमती जमुना र देबु

दुई छोरा र श्रीमानका साथमा रमाइरहेकी जमुना भन्छिन् – बिहे गरेको घर नै आफ्नो हुने हुँदा बिस्तार बिस्तारै त्यही मन पर्दो रहेछ। उतै गएर संगीत नाट्यकै क्षेत्रमा केही गर्न पाए हुन्थ्यो, भन्ने जस्तो लाग्छ तर आठ दश वर्ष बाबुहरूको पढाइको कारण पनि यतै बस्नु पर्ने बाध्यता छ। पछि त धनगढीमै बस्ने सोच बनाएका छौ। देवुले हुड्केली नाचेको निकै मन पराउने उनलाई हरेक कार्यक्रममा सँगै गएर आफैले मेकअप गरिदिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ मनमा तर के गर्नु छोराहरूको हेरचाह गर्नु पर्ने हुँदा पाउदिनन् बाहिर कतै निस्किन।

पुख्र्यौली थलो बैतडीबाट कैलाली धनगढीमा बसाइँ सारेका बहादुरसिं वोराका पाँच छोरा र एक छोरी मध्यका सबैभन्दा कान्छा हुन् देवु। २०३४ सालमा उनी पाँच महिनाको छदै छोडेका हुन् उनका बाले यो धर्ती। थाहा छैन बा कस्ता थिए तर पनि बेलाबखत बा भन्ने शब्द सुन्दा पनि भक्कानो उठ्छ उनको मनमा।

३ वर्षका हुँदा नै गाउँघरतिर जब उनले अरुका बुवा देखे तब खोजि गर्न थाले आफ्ना बावाको। “सबैका त बा छन् मेरा वा खै ?”–घरमा बारम्बार प्रश्न गर्न थाले। त्यो अवोध बालकलाई सत्यता बताउन सकेनन् कसैले। उनले प्रश्न गर्दा हरेक पटक बाल मस्तिष्कलाई मध्यनजर गरेर त्यो भावुक वातावरणलाई चिरेर दिदी रीताले बजाउन थालिन् मादल। देबु मादल बज्नासाथ बिर्सिन्थे आफ्नो प्रश्नको उत्तर खोज्न। निकै नै रमाउँथे त्यही मादलको तालमा। त्यही मादलको घिन्ताङघिन्ताङले डेरा जमाए छ क्यार उनको बाल मस्तिष्कमा। दिदीले बजाएको त्यही मादलको तालसँग रमाउँदै बनेको हुँ यत्तिका“ –निकै नै भावुक मुद्रामा सुनाए त्यो कथा । थुप्रै छन् उनको जीवनका कथा व्यथाहरू।

छलिया नृत्य

उनी सम्झिन्छन्– घरभन्दा अलि टाढा छिमेकमा बिहेका बाजा बजिरहेका थिए। जुनेली रातमा एक्लै नाचिरहेको थिएँ आँगनमा। कुन्नि के भुत चढेछ ममा छुट्टै आनन्द लिइरहेको थिएँ। आमाले दखेर भन्नु भयो – ‘मान्सले धेकेपछि फलाना चेलो बौलायो भन्ने हुन। यो के गद्द लागि तँ ? हिट भितर।‘ उनी अटेरी बन्न खोज्दा पाखुरो तानेर भित्र लगिछन् आमा रत्ना देवीले। जीउ हल्लाउने र हातखुट्टाको चाल मिलाउने उनको नित्य कर्म नै बनिसकेको थियो ८/९ वर्षकै उमेरदेखि। जसले जीवनमा न कुनै गुरु पाए न त कसैको सल्लाह र सुझाव नै। भगवान्ले कसै कसैलाई कुन बाटो देखाइ दिन्छन् थाहा हुँदैन।

उनी चार कक्षामा पढ्नेताका काकापट्टीको भाइको पास्नीमा छलिया नाँच्न पाँच सात जनाको एउटा समुह बोलाइएको रहेछ पाहाडबाट। तिनका खुट्टामा लाउने कल्ली घाटीमा लाउने गलाबन्दी जस्ता गहना र पोशाक निकै बेर घोरिएर हेरेछन् उनले। भुँइतिर ढल्केर घुम्ने र भुँइतिर लच्केर नाच्ने गरेको तरिका हेरेछन् खुव गहिरिएर। कुराकानीकै सिलसिलामा उनी भन्छन् – ‘पूर्वमा उताको जस्तो छैन् सीधा ढल्केर नाच्छन्।

उक्त नृत्य देखेको दुई तीन महिना पछि दसैको अवसरमा विद्यालयमा गरिएको सांस्कृतिक कार्यक्रममा भाग लिए उनले पनि। दर्शकहरूले उनको नृत्यको प्रसंसा गरे। भोलिपल्टदेखि उनलाई केही विद्यालयबाट निम्तो नै आउन थाल्यो यहाँका विद्यार्थीहरूलाई पनि सिकाइ देऊ भनेर। उनी निर्धक्कले सिकाउन हिडेछन् ऐश्वर्य बिद्या निकेतन लगाएतका केही विद्यालयमा। बजारमा उनको निकै नै चर्चा हुन थालेछ। सुदूर पश्चिमाञ्चल सांस्कृतिक समूहभित्र पनि आवद्ध भएछन। टिकट काटेर नृत्य हेर्ने चलन सुरु गरिएछ धनगढीमा। जहाँ देबुले पनि आफ्नो नृत्य प्रस्तुत गरेर स्यावासी बटुले छन्।

२०५७ सालमा डोटीमा नाटक महोत्सव चलिरहेको थियो। नाटक निर्देशक प्रेम बि.क.को निम्तो पाएर नाटकमा अभिनय गर्न डोटी पुगेका देबुको संयोगले भेट हुन्छ डा. तुलसी भट्टराई र नीर शाहसँग। देबुले राम्रो नृत्य गर्छन् भन्ने कुराको गाइगुइ सुनिसकेका नीर शाहले इच्छा जाहेर गरेछन् उनको नृत्य हेर्न। देवुले नृत्यबाट प्रभावित भएर नीर शाहले उनलाई काठमाडौं बोलाएका हुन्। काठमाडौंमा तिनै नीर शाहले उनलाई प्रज्ञाप्रतिष्ठानमा जागिर पनि मिलाइ दिए। जहाँ उनले पाँच वर्षसम्म जागिर गरे। त्यही जागिरको दौरानमा मालती मंगले, सहनशीला सुशीला, अमरसिंह जस्ता नाटकमा अभिनय गर्ने अवसर पाए। जिन्दगीको बिस्कुनमा बिस्तारै घामका किरणहरू छाउन थाले। मनमा केही गर्ने ऊर्जा थपिदै गयो।

एक दिन जीउभरि टाँसेका ५१ वटा मैनबत्ती जलाएर नृत्य प्रस्तुत गर्दा दर्शकहरू चकित परे। आगलागि हुन सक्छ भनेर आजका दिनसम्म अधिकांश हलहरूमा उनको उक्त नृत्य देखाउन प्रतिबन्ध लगाइएको छ। त्यही नृत्यकै कारण नेपाल टुरिज्मबोर्डबाट उनलाई सिङ्गापुरमा नृत्य गर्न जान प्रस्ताव आयो। लगतै कोरियाको लागि प्रस्ताव आयो। बिस्तारै उनको बाटो खुल्दै गयो। उनी भन्छन् – 'कैयौ मान्छे सामुन्ने आएर हात मिलाउँथे। आफ्नै भाषामा खै के के भन्थे। सायद बधाई दिएका होलान्। नृत्यको प्रसंसा गरे होलान। भाषाको ज्ञान नभएकोले केही बुझ्दिनथे। मात्र मुस्कुराइ दिन्थे।'

दिल्लीको अशोका होटलका मालिक राजनिगमले उनको मैमबत्ती नृत्य देखेर भनेछन् –तपाईं यतै बस्नोस् म तपाईको लागि केही गर्छु।' मैलै मेरो आफ्नो संस्कृतिमा धेरै काम गर्न बाँकी नै छ भन्दै उक्त प्रस्ताव अस्वीकार गरेनछन् उनले।

हाल आएर उनी कालो पुल नजिकै प्रसिद्धि कला समूह खोलेर आधुनिक र साँस्कृतिक दुबै नृत्य सिकाइरहेका छन्। तर कार्यक्रमा टिपिकल साँस्कृतिक नृत्य देखाउँछन। करिब चार पाँच सय शिष्य तयार गरिसकेका देवु पहिरन र गहनामा सम्झौता गर्दैनन्। उनको नृत्य देखेर आमा र दिदीले कैयौ पटक खुसीका आँसु झारिन्। तर विगतमा रातारात चर्चाको शिखरमा पुर्‍याएको त्यही क्यान्डिल नृत्य देख्न पाएकी छैनन् आमा र दिदीले। ती दिदी जसले देबुलाई पहिलो पटक मादलको तालमा रम्न सिकाइन् तिनलाई भाइको क्यान्डिल नृत्य हेर्ने ठूलो धोको छ। विडम्बना यो सहरमा उनी उक्त नृत्य देखाउन हल पाइरहेका छैनन्।

मैले दुई तीन पटक हेर्ने मौका पाएको थिएँ देवुको नृत्य। थाहा थिएन उनको विगतको पाटो। एक दिन पर्यटनकर्मी अमरबहादुर शाहीले सल्लाह दिए देवुको बारेमा लेख्नलाई। त्यसपछि खोतल्न थाले उनका विगत र वर्तमानका संघर्षका पाटाहरू। पछिल्लो समय हिमाल डेन्टल हस्पिटलका मालिक डा. राजेन्द्र भट्टसँगको भेटमा देवुको एकल साँझको प्रस्ताव राख्ने वित्तिक्कै उनले सहर्ष स्विकार गरे। गीतसंगीतको क्षेत्रमा स्वयम् लागिपरेका डा. भट्टले देखाएको उदारताले गर्दा नै आश्विन ८ गते हिमाल डेन्टल हस्पिटल, धुम्बाराहीको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको छ देवुको एकल नृत्य साँझको कार्यक्रम।

कार्यक्रम सफल तुल्याउन अहोरात्र खटिरहेका छन् गायक डबल बोहरा। उक्त कार्यक्रममा उनलाई उनकै शिष्यहरू पार्वती श्रेष्ठ, मेरी राई, लक्ष्मी तिवारी, समीर राई, लक्कीराजलगायतले साथ दिने भएका छन्।

निःशुल्क हेर्न पाइने उक्त कार्यक्रमको लागि रियर्सल चलिरहेको छ हरेक दिन। त्यो त्यही प्रतिष्ठान हो जहाँ विगतमा लजालु पारामा जमुना र देवु दुबैले लुकीचोरी हेरेका थिए एकअर्काको मुहार। १९ वर्ष पछि देवुको त्यही मुहारमा मेकअफ गर्ने जिम्मा लिएकी छिन् उनकी जहान उनै जमुनाले। यस पटक उनी निर्धक्क ढंगले हेर्नेछिन। देवुका आँखामा र गाजल लगाइदिदै मनमनै भन्नेछिन् नजर नलागोस् कसैको। हृदयदेखि नै शुभकामना देवुका बुढाबुढीलाई।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज