हामीले भन्यौं– यो त इन्सल्ट हो

फाइल फाेटाे। बिएल।

सन्दर्भ: गणेशमान सिंहको पुण्यतिथि 

बिपी कोइरालासितको त्यत्रो लामो सहवासमा मैले उहाँलाई ज्यादै नजिकैबाट, गढेर हेर्ने सौभाग्य पाएँ। उहाँको बहुआयामिक व्यक्तित्व थियो। उहाँसितको सहवासबाट मैले जे जति प्रेरणा र शिक्षा पाएँ, त्यसलाई एउटा लेखमा लेखेर साध्य छैन।

उहाँ अत्यन्त साहसी, निडर, सही निर्णय लिनसक्ने दूरदर्शी, ज्यादै लगनशील र एक महान् देशभक्त हुनुहुन्थ्यो। प्रजातन्त्र र समाजवादप्रति उहाँको दृढ आस्था थियो।

नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले अथक प्रयास गर्नुभयो र ठूलो जोखिम उठाउनुभयो। प्रजातन्त्रको अगाडि अरू साना कुराहरू र विवादहरूलाई उहाँले जहिले पनि तिलाञ्जली दिनुभयो।

बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

जब हामी भारतमै पार्टी खडा गरेर त्यसैको माध्यमद्धारा नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने भन्ने निर्णयमा पुग्यौं, त्यसपछि पार्टीको नाउँ के राख्ने भन्ने कुरामा विवाद हुन थाल्यो। हामी काठमाडौंबाट गएकाहरूले पार्टीको नाउँ ‘प्रजापरिषद्’ नै राख्नुपर्छ भनेर जिद्दी गर्यौं। अरु साथीहरूको त्यसमा सहमति भइसकेको थिएन।

कोइरालाजीले भन्नुभयो– नाम जे राखे पनि हुन्छ, त्यो विवादमा नपरौं। यो त्यत्रो विवादको विषय होइन। जे नाउँ राखे पनि ठीक छ। केवल राणाशाहीलाई हटाएर हामीले नेपालमा प्रजातन्त्र स्थापना गर्नुछ।

पछि त्यसको तय भयो। नाउँ ‘राष्ट्रिय कांग्रेस’ राखियो। पार्टी सञ्चालनको निमित्त हामीलाई पैसाको ठूलो अभाव थियो। त्यसको निमित्त सुवर्णशमशेर र महावीरशमशेरसित किन सम्बन्ध नराख्ने भनेर त्यसको सिलसिलामा महावीरशमशेरका साला सीबी सिंहसित सम्पर्क राख्यौं।

भोलिपल्ट कलकत्ताको अलिपुर गयौं। हामी केही टाढैं बसेर कोइरालाजीलाई महावीरशमशेरको घर देखाइदियौं। उहाँ भित्र जानुभयो।

कोइरालाजीले महावीरलाई भेटन आफू आएको खबर पठाउनुभएछ। तर, घन्टौंसम्म पर्खिंदासमेत केही खबर नआए पनि उहाँ पर्खेरैं बस्नुभएछ। त्यसपछि बल्ल सीबी सिंहले कोइरालाजीलाई भनेछन्– भिनाजु त बाहिर सवारी हुँदैछ, त्यति बेलै भेट्नु पर्यो। अनि मोटरमा बस्न लागेको महावीरजीसित सीबी सिंहले कोइरालाजीको परिचय गराएछन्।

ओ, कोइरालाजी तपाईं नै....। ल भैगो पछि म आफैं तपाईंलाई खबर गरेर भेटौंला। यति भनेर महावीर मोटर चढेर गएछन्।

बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

हामी बाहिर पर्खिरहेका थियौं। कोइरालाजी आउनुभयो। के कुरा भयो? हामीले उहाँसित सोध्यौं। धेरै बेर पर्खेर पनि राम्रोसित भेटघाट र कुरा नभएको इत्यादि सबै कुरा उहाँले भन्नुभयो। हामीले भन्यौं– यो त इन्सल्ट हो। तैपनि त्यति बेरसम्म...तपाईं पर्खेर बसेको त?

कोइरालाजीले भन्नुभयो–हामी एउटा ठूलो लक्ष्य लिएर अगाडि बढ्न लागेका छौं। त्यसैको सिलसिलामा कसैले एकडेढ घन्टा पर्खायो भन्दैमा स्वाभिमानमा चोट पुग्यो भनेर फर्कने? स्वाभिमानमा चोट त त्यस बेला पुग्छ, जब तपाईंले आफ्नो व्यक्तिगत स्वार्थको निमित्त पर्खन परेको होस्।

हामीले अहिले कसैको अपमान गर्यो, हेला गर्यो भन्ने भावना राख्न थाल्यौं भने कसरी काम गर्ने?

किन मधु लियमेले भारतीय संसदभित्र भने, ‘ईन्दिरापछि भारतमा कुनै ठूलो नेता छ भने बिपी हुन्’

तपाईं व्यक्तिगत फाइदाका निमित्त कसैसित खुसामद गर्नु हुँदैन, कसैसित नेहोरा गर्नु हुँदैन, कसैसित झुक्नु पनि हुँदैन। तर, देशको निमित्त, प्रजातन्त्रको निमित्त तपाईंले कसैसित झुक्नु पनि पर्छ। कति अपमानलाई सहँदै, पचाउँदै जानुपर्छ। आफ्नो सिद्धान्त र आदर्शका प्रति दृढ भएर रहन सकेनौं भने मात्रै स्वाभिमानमा चोट पुग्छ। हाम्रो स्वाभिमान, हाम्रो सिद्धान्त र आदर्शप्रतिको अडान हो।

‘महावीरशमशेरकहाँ म व्यक्तिगत कारणले होइन, ठूलो उद्देश्यको निमित्त भेटन गएको थिएँ, त्यसैले मलाई पर्खनु परेकोमा केही लागेन।’

(साभारः यौवन मासिकबाट)

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज