‘विद्यार्थीलाई वैज्ञानिक बनाउने जिम्मा हाम्रो हो’

‘मेरा पाख (प्वाँख) लागिग्या, मो त अब उड्न मात्रै बाँकी छ भाउअ (बाबू)!, मेरो छाति धक्क फुल्याको छ।’ आमा झापुले बिहान फोन गर्दै खुसी व्यक्त गरिन्। अरू दिन भन्दा निकै चंगा भएको आमाको स्वरले यति आनन्द दियो, शब्दमा वर्णन गर्नै सकिदैन। सारा तनावबाट मुक्त भएझैं भयो। साँच्चै आमाको हृदय कति विशाल! त्यो विशाल हृदयले सिंजा रनुखानाबाट प्रवाह गरेका माया जुम्ला सदरमुकामसम्म पुग्दा २७ वर्ष पछि जेलबाट मुक्त भएका नेल्सन मण्डेलाको मन भन्दा पनि हल्का भएको थियो। 

जुम्ला सदरमुकामको साँघुरो कोठाभित्रबाट यो विशाल दृश्यको वर्णन गर्दा उनी फराकिला र फरासिला थिए। मुहार उज्यालो थियो।

आमासँगै बुबा नवराज शर्माले पनि फोनमा कुरा गरेका थिए। उनले आमाको झैं खुसी व्यक्त गरेनन्। शुभकामना दिए। प्रगति र इज्जत ख्याल गर्न सुझाउँदै थप जिम्मेवारी बोध गराए। 

कर्णाली मावी अनामनगरका हेडमास्टर मीनराज शर्मा यसपाली कर्णाली प्रदेशकै उत्कृष्ट विज्ञान शिक्षकको रूपमा सम्मानित भए। सोझो शिक्षकको परिचय बनाएका मिनराज सरले सम्मान पाउँदा उनलाई चिन्ने सबै खुसी भए। एउटा कर्तव्यनिष्ट शिक्षकलाई राज्यले उचित समयमा सम्मान गर्न सकेको भनि मिनराज सरसँगै राज्यको समेत प्रशंसा भयो। उनको स्कुलका विद्यार्थी, शिक्षक, अभिभावक मिलेर फूलमाला, अबिर, बाजागाजासहित बजार परिक्रमा गराए।

जुम्ला सदरमुकामको चन्दननाथ बसपार्क नजिकै आनैजस्तो नाम गरेका घरबेटीकोमा मिनराज सरको  डेरा छ। एउटा साँघुरो कोठामा उनी श्रीमती र छोरीछोरासँगै बसिरहेका छन्। 

साँझको साढे ६ बजे अँध्यारो बढिरहेको थियो। कोठामा उनकी श्रीमती जैना खाना पकाउने सुरसरमा थिइन्। तरकारी काट्दाकाट्दै छोडेर मिनराज सर जे छन्, त्यसलाई शब्दमा उतारिन्, ‘धेरै राम्रो हुनुहुन्छ। देउतै हुनुहुन्छ। मलाई कहिले गाली गर्नु भएको छैन। तँ पढेकी छैनस् म अर्की ल्याउँछु पनि भन्नु भएको छैन। उहाँलाई मैले सकेको सहयोग गरेकी छु, नपढेकी भए पनि। मेरो चाहना एउटै छ, त्यो हो मेरो श्रीमान र केटाकेटी राम्रा हुन् भन्ने।  मैले गरेका यी चाहना सबैका श्रीमतीहरुमा हुन्छन् भन्ने लाग्छ।’

श्रीमतीको त्याग, घरव्यवहार समालिदिने सीप, मिलनसार व्यवहारले मिनराज सर बिहानदेखि फुर्सदिला हुन्छन्। अनि त  विद्यालय र त्यससँग सरोकार राख्ने  सबैलाई समय दिन सकेका  छन्। परिणाम उनलाई विद्यार्थी, अभिभावकलगायत सबैले असल शिक्षकको रुपमा लिन्छन्।  मिनराज सर भन्छन्, ‘घरको वातावरण राम्रो भएकैले बाहिर राम्रो हुन सकिएको छ।’

मिनराज सर सिंजाको रनुखनामा जन्मिएका हुन्। रनुखानाको बस्तीको कथा ऐतिहासिक सिंजा साम्राज्यको इतिहाससँग जोडिएको छ। उतिबेला सिंजा राज्यको सिमाना भारतको कुमाउ, गडुवालसम्म विस्तारित थियो। उनको पुस्ता त्यहीँबाट बसाई सरेर अछामको तोसी-धमाली, त्यहाँबाट दैलेखको रनुखाना हुँदै सिंजामा आएर बस्तीको विकास गरेका हुन्। दैलेखको रनुखानाबाट आएका  हुनाले उनीहरु बसिरहेको ठाउँलाई पनि रनुखाना नै भनियो। 

उनको अघिल्लो पुस्ताले रूनुखनामै बस्नुको कारण उनको पुस्ताका अग्रजहरुले लोक कथाका जस्तै कथा सुनाउँछन्। 

कथामा मुसु पाद्य नाम गरेका एक जना राजाका भान्से बाहुन हुन्छन्। दुल्लुबाट शिकार खेल्न हिँडेका राजा जुम्लाको सिंजामा पुग्छन्। राजा जंगलमा शिकार खेल्न गएको बेला उनी राजाको लागि खाना बनाउँदै हुन्छन्।

मुसु पाद्यले भान्सा तयार गर्दै गर्दा दुई जना सुन्दर युवतीहरु आउँछन्। भोक लागेको छ भन्दै भात माग्छन्। पाद्यले राजाको लागि तयार भएको भोजन अरुलाई दिन नमिल्ने भन्छन्। तर, उनीहरुले निकै अनुनय विनय गरेपछि उनको मन पग्लिन्छ। भात दिन्छन्। उनीहरु खाएर जान्छन्। एकछिन पछि राजाको लागि फेरि भान्सा तयार गरौं भन्दा उनीहरुले खाएर रित्याएको भाँडो जस्ताको तस्तै हुन्छ। उनी अचम्म मान्दै त्यो दृश्य राजालाई वर्णन गर्छन्। राजाले पनि अनौठो मान्दै आज एक रात यतै बास बसौं भन्छन्। राति पाद्यको सपनामा भात मागेर खाने ती सुन्दर युवातीहरु आउँछन् र उनलाई अर्ति दिन्छन्, ‘तिमी अब यतै बस, धान खेती गर, धान खेतीको लागि यो उपयुक्त ठाउँ छ। तिमीलाई धानको खेती गर्ने तरिका हामी सिकाउँछौं।’

बिहान पाद्यले राजालाई सपनाको कुरा सुनाउँदै आफू अब यतै बस्न पाउँ भनेर बिन्ती बिसाउदा राजाले सुनुवाइ गर्दै त्यहीँ बस्न अनुमति दिन्छन्। उनका सहयोगीको रुपमा एक जना सार्की छोडिदिन्छन्। आज त्यहाँ सार्की र शर्मा (हिजोका पाद्यहरु) बाहुनहरुको मात्र बसोबास छ।

जिल्ला भरिको भन्दा त्यहाँको बीउ उमार्ने तरिका फरक छ। अरु ठाउँमा बीउ उमारेर छर्ने गरिन्छ भने त्यहाँ धान छरेर बीउ उमार्ने गरिन्छ। जुन कुरा सपनामा आएका सुन्दरीहरुले सिकाएका थिए। यो फरक तरिकालाई रोप्नी माइको बरदान भन्ने गरिन्छ। ती सुन्दरीहरुलाई त्यसबेलाका पाद्य र सार्कीले रोप्नी माइ भनेर पूजा गर्न थाले। 

यसरी फरक तरिकाले धान खेती गर्ने मिनराज सरको पुस्ता जुम्लामा शिक्षाको विस्तार भएसँगै अध्ययनतिर लाग्यो। उनका बुबा नवराज  पढेर  शिक्षक भए। बुबा शिक्षक भएपछि घरमा शिक्षा आर्जनको राम्रो वातावरणले मिनराज सरमा त्यसको प्रभाव  पर्‍यो। उनी पढाइमा अब्बल थिए। जसले गर्दा हरेक कक्षामा सँधैको प्रथम हुन्थे।   

सिंजाको भैरव मा.वि नराकोटमा पढ्दै गर्दा उनमा त्यसबेला मधेशतिरबाट आएका बिएसी सरले विज्ञानको भोग जगाइदिए। उसबेला विज्ञान पढाउने शिक्षकहरु जम्मै मधेशतिरबाट आउँथे। हिमाल र पहाडको विज्ञान शिक्षा अगाडि बढ्नमा मधेशको ठूलो योगदान छ। अहिले जुन मधेशी पहाडी भनेर विभेदको क्षेत्रीय राजनीति छेडिएको छ, यसले मधेश पहाड बीचको द्वन्द्व बढाएको छ। साम्प्रदायिक दंगा भड्किने सम्भावना बढाएको छ। पहाडीया अगाडि बढ्नुमा मधेशीहरुको कम्ती योगदान छैन। 

सत्तामा हुने पहाडियाले पनि यी विषमा गम्भीर भएर सोच्यो र विभेद गरेन भने हिजोको पहाड र मधेशको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग मिल्नेछ। त्यतिकै गाइएको थिएन ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराइमा आँधि आए पहाडले छेक्नुपर्छ’ भनेर।

मिनराज सरलाई पनि मधेशबाट पढाउन आउने शिक्षकहरुले ठुलो गुन लगाए। विज्ञानका अप्ठ्यारा सूत्रहरुलाई सरल भाषामा बताए। सुर्काउने विनाको गाँठो जस्तो जटिल मानिएको विज्ञान र जीवनको सम्बन्धलाई प्रष्ट पारिदिए। परिणाम मिनराज सरले विज्ञान पढ्ने सोच बनाए।

एस.एल.सी पछि काठमाडौं विज्ञान पढ्ने भनेर गएका उनीलाई राजधानी जुम्लादेखि धेरै टाढा भएको लाग्यो। यातायात, संचार, बैक तथा वित्तीय संस्थाहरुको विकास नभएको समयमा जुम्लाको लागि राजधानी साँच्चै नै टाढा थियो। जुम्लाको सिंजाबाट राजधानीमा खर्च पठाउन मुस्किल पर्‍यो। यी जटिलतालाई पन्छाउने एक मात्र उपाय भनेको राजधानी नबस्नु नै हुन्थ्यो। त्यसैले उनी पढ्नलाई नेपालगन्ज फर्किए। जहाँ घरबाट खर्च पठाउनलाई गाह्रो नहुने। सिंजालीहरु व्यापार गर्न तराई झर्दा वा कामको शिलशिलामा इन्डिया जाँदा नेपालगन्ज मध्यबिन्दु पर्ने। उनीहरुलाई नसोडी (नासो लिइदिने मान्छे) बनाउन सकिने। अनि सुरु भयो नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा आइ.एस्सीको यात्रा। 

आइ.एस्सी पढ्दा डाक्टर पढ्नुपर्छ भन्ने थियो। तर नाम निकाल्नलाई  फलामको चिउरा चपाउनु सरह थियो। उनले तीन, चार वर्षसम्म लगातार प्रयास गर्दा पनि सफल नभएका धेरै अग्रजहरु देखेपछि प्रवेश परिक्षामा दौडमा सामेल हुने सोचै बनाएनन्। 

आई एस्सी पढी सकेर जिन्दगीको खास लक्ष्य नबनाएका उनी यही गर्ने भन्ने कुनै योजनामा थिएनन्। यत्तिकै बसिरहेको बेला दुर्गा मा.वि लाम्रामा शिक्षक आवश्यक परेकोले त्यहाँ पढाउने अवसर मिल्यो। योग्यताले ८ कक्षासम्म मात्र पढाउन मिल्ने भए पनि उनले मा.वि तहसम्मको  विज्ञान पढाए।

भनिन्छ, सबै विद्यार्थीको लागि सबै शिक्षक उत्तिकै प्रिय हुँदैनन् भनेर। तर लाम्राका विद्यार्थीले उनलाई औधि रुचाए प्रमाणित गरिदिए। अभिभावक उनि प्रति नतमस्तक हुन थाले। त्यसपछि उनको जीवनको लक्ष्य बदलियो र शिक्षण पेसामै रमाउने सोच बनाए। उनी भन्छन्, ‘शिक्षक हुनु संसारको उत्कृष्ट पेसामा रहनु हो। राम्रो पढाएर विद्यार्थी र अविभावको मन जित्न सक्यो भने जीवन सम्मानपूर्वक बित्छ। जसबाट सन्तुष्टि प्राप्त हुन्छ। आफूले पढाएका विद्यार्थी असल अनि, ज्ञानी हुँदा  गर्वले छाति फूल्छ। यो भन्दा ठूलो जीवनमा अरु के नै छ र ?’ 

लाम्रा पछि उनी सिंजाको कैलाश मा.वि फुंग्रका शिक्षक भए। त्यहाँ पनि लाम्राको कथा दोहोरियो। सबैतिरबाट आएको सकारात्मक प्रतिक्रियाले उनलाई पनि आमाको जस्तै उड्न मात्र बाँकी रहेको महशुस हुन्थ्यो। अब उनलाई शिक्षण पेसाको लागि थप योग्यता बनाउनुपर्छ भन्ने लाग्यो र  जागिर छोडेर काठमाडौं बिएस्सी पढ्न हानिए। त्यसबेला उनले ठूलो सपना देखेका थिए, नाम कहलिएको विज्ञान शिक्षक बन्ने, मधेशतिरका शिक्षक जस्तै।  बि.एस्सी पछि एक वर्षे बिएड पनि गरे। लाइसेन्स लिन बाँकी नै थियो आफूले पढेको विद्यालय भैरव मा.वि नराकोटमै शिक्षकको प्रस्ताव आयो। शिक्षक भए। 

२०७० सालमा शिक्षक सेवा आयोगको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका उनी सदरमुकाम नजिकैको विद्यालय कर्णाली मा.वि अनामनगरमा पोस्टिङ भए। त्यो दिन उनी औधि खुसी भए। घरका सबै खुसी भए। श्रीमती पनि उस्तै खुसी।  आफन्तहरु पिठा (शुभकामना दिन) लाउन आए। घरको वातावरणमा बसन्तको बाहार छाएको थियो। 

समयले उनलाई हेडमास्टरको जिम्मेवारी दियो र साहसका साथ जिम्मेवारी सम्हाले पनि। एक कुशल प्रज्ञा र व्यवस्थापकको गुण भएका उनले एक पछि अर्का गर्दै विद्यालयको लागि आवश्क भौतिक र शैक्षिक पुर्वाधार बनाउँदै गए। फलस्वरुप  विद्यालय यसै वर्ष नमुना  घोषित भयो।

पदीय हिसाबले हेडमास्टर भए तर उनीमा शासकको आभास छैन। सबैसँग समान व्यवहार गर्छन्। पक्षपात गर्दैनन्। सबैलाई उत्तिकै सम्मान गर्न लायक सोच्छन् र गर्छन् पनि। नियमित रुपमा प्रशासनिक काममा सक्रिय उनी  दैनिक ३ घण्टी पढाउँछन्। कहिलेकाँही कोही शिक्षक अनुउपस्थितमा  उनी ६,७ घण्टीसम्म पढाउँछन्। आफ्नो जिम्मेवारीबाट पन्छिन उनलाई कहिले पनि बाहाना बनाउन आएन। त्यसैले मिनराज सर सँधै सबैका प्रिय, अनि विद्यार्थीका  आदरणीय छन्। 

उनको  विषयमा नियमित रुपमा तीन वर्षसम्म ७० प्रतिशत भन्दा माथि विद्यार्थी उतिर्ण भए। कार्यसम्पादन अब्बल बन्यो र तोकिएका  मापदण्ड पुरा गरे। उनी उत्कृष्ट हुने आधार यीनै थिए। बलियो आधारमा उभिएका मिनराज सर कर्णाली प्रदेशको सयौं शिक्षकमा एक दरिए र  उत्कृष्ट विज्ञान शिक्षकको पुरस्कार पाए। सँधै प्रथम भएका मिनराज सर फेरि प्रथम भए।

उनी भन्छन्, ‘अबको विज्ञान विद्यार्थीले सहजै पचाउने बनाउन पर्छ।  जसलाई सरल रुपमा सबैले बुझुन्। जीवन र जगतसँग विज्ञानको अटुट साइनो गाँस्ने, खोज, अनुसन्धानका कार्यलाई तिब्र बनाउने र समग्रमा देशको सेवा गर्ने वैज्ञानिक बनाउने जिम्मा अब हाम्रै काँधमा छ।’

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज