रबर्ट मुगाबेः राष्ट्रवादको मखुण्डो र अधिनायकवाद

मुगावे : नायकदेखि खलनायकसम्म । एक प्रतिकात्मक तस्बिर : एसेन्सी /लेखकको तस्बिर : विमल नेपाल

अफ्रिकी महाद्विपको माझतिर पर्ने भूपरिवेष्ठित सानो गणराज्य जिम्बाब्बेका पूर्वराष्ट्रपति रबर्ट ग्याब्रियल मुगाबेको सिङ्गापुरको ग्लेनइगल्स् प्राइभेट अस्पतालमा यसै सेप्टेम्बर महिनाको ६ तारेखका दिन बुढ्यौलीमा लाग्ने प्राकृतिक रोगका कारण निधन भयो । अफ्रिका महाद्विपका समसामयिक राजनीतिकर्मीमध्ये उमेर र अनुभवले वरिष्ठतम् राष्ट्रपति मुगाबेले यस वर्षको फेब्रुअरी महिनामा ९५ वर्षको जस्केलो टेकेका थिए । शुरूमा उपनिवेशवाद विरोधी लोकतान्त्रिक आन्दोलनका अगुवाका रूपमा ठूलो प्रतिष्ठा आर्जन गरेको भए तापनि सत्ता प्राप्तिपछि अख्तियार गरेको अलोकतान्त्रिक सोच र शैलीका कारण जीवनको गोधूली बेलासम्म आइपुग्दा नवस्वतन्त्र मुलुक जिम्बाब्बेका एक समयका ती महान् नेता लोकप्रिय राष्ट्रनायकबाट खतरनाक खलनायकमा परिणत भएका थिए । तिनले देखाएको अतिशय पदलोलुपता र विरोधीप्रतिको चरम् असहिष्णु व्यबहारका कारण तिनलाई तिनकै पार्टीका नेता कार्यकर्ताहरू मिलेर सन् २०१७ मा राष्ट्रपतिको पदबाट राजिनामा गर्न बाध्य पार्नु परेको थियो । सर्वसत्तावादी सोच र शैलीमा अभ्यस्त हुँदै गएका तिनी वैचारिक रूपले त पहिलेदेखि नै देशका आमजनताबाट पूरै एक्लिएका थिए ।

रबर्ट ग्याब्रियल मुगाबेको राजनीतिक जीवन अनेक विरोधाभाषले भरिएको थियो । अफ्रिकाको धमिलो राजनीतिक क्षितिजमा तिनको अभ्युदय जिम्बाब्बियन राष्ट्रवादको प्रतीकपुरुष र अफ्रिकी कालाजातिको प्रतिष्ठाको उन्नायक नेताका रूपमा भएको थियो । सारा तेस्रो विश्वले तिनलाई तिनको आफ्नो देशको मात्र नभएर सम्पूर्ण अफ्रिका महाद्विपमा उदाएको एकजना भरोसा गर्नलायक नेताको रूपमा हेरेको थियो । तर दुर्भाग्यको कुरो, रबर्ट मुगाबेले इतिहासको कसौटीमा आफूलाई खरो साबित गर्न सकेनन् । तिनले सत्ता हातमा पर्नेबित्तिकैदेखि नै आफ्नो वास्तविक रङ्ग देखाउँन शुरू गरे । तिनी जिम्बाब्बेका दीनहीन सर्वसाधारण जनताका असल अगुवा र मित्रका रूपमा टिकिरहन सकेनन् । शुरूमा अलि नरम र जनमुखी देखिएका तिनले सन् १९८७ सम्म आइपुग्दा जिम्बाब्बेको राज्यसत्तामाथिको आफ्नो पकड बलियो बनाएपछि आफ्नो सम्पूर्ण ध्यान सत्ता र सम्पत्ति आफू र आफ्नो परिवारको एकलौटी नियन्त्रणमा पार्नतिर केन्द्रित गरे । त्यस सिलसिलामा तिनमा कठोरता र निर्दयीपना पनि त्यही अनुपातमा बढ्दै गयो । तिनको इशारामा राजनीतिक प्रतिस्पर्धी र अन्य विरोधी जातीय समूहका हजारौँ निर्दोष नागरिकहरूको निर्मम ढङ्गले हत्या गरियो ।

जिम्बाब्बेको राजकाजलाई झण्डै चार दशकसम्म स्वेच्छाचारी ढङ्गमा चलाएका रबर्ट मुगाबेको विदेशको एउटा अस्पतालको कोठामा भएको देहावसानलाई उनको निरंकुश शासन हरप्रकारले असफल रहेको तथ्यसँग जोडेर हेर्न सकिन्छ । मुगाबेको पतनको यस घटनाले कसरी एकजना स्थापित नेता आफ्ना गलत नीति र कार्यशैलीका कारण असफल हुन्छ भन्ने कुराको प्रत्यक्ष दृष्टान्तलाई पनि संसारसामु प्रस्तुत गर्दछ ।

शक्तिशाली रबर्ट मुगाबेको शासन तिनको पार्टी जिम्बाब्बियन अफ्रिका नेसनलिस्ट युनियन (पेट्रियोटिक फ्रन्ट) को लागि शक्तिको दुरुपयोग गरेर अकूत धन संचय गर्ने एउटा सजिलो माध्यम बन्न पुग्यो । मुगाबेद्वारा सञ्चालित त्यो निर्दयी सत्ता आफ्ना मुखर विरोधीहरू मात्र होइन, आफ्नो कार्यशैलीप्रति मौन असहमति जनाउँने सामान्य नागरिकका लागि समेत डर र आतंकको पर्याय बन्यो । मुगाबेका हातमा जति बढी शक्ति संचित हुँदै गयो उनी आफूलाई त्यति नै बढी असुरक्षित ठान्न थाले । त्यस प्रकारको असुरक्षाको भावनाले गर्दा विपक्षीमाथि मुगाबेको सत्ताले प्रत्यक्ष परोक्ष दुवै किसिमले प्रहार गर्न शुरू गर्यो । मुगाबेको पार्टी र सरकार दुबैले लगातार देशको काल्पनिक शत्रुका रूपमा अत्यन्त सानो संख्यामा रहेका शक्तिहीन गोरा जातिका मानिसलाई देखाउँने प्रयत्न गरिरहे । आफूलाई माक्र्सवादी समाजवादी भन्न रुचाउँने मुगाबेले जहिले पनि आफ्ना असफलताका लागि अरू कसैलाई दोषी ठहर्याउँने प्रोपागण्डा गरिरहे ।

रबर्ट मुगाबे ब्रिटेनको उपनिवेश रहेको तत्कालीन रोडेसियाबाट जिम्बाब्बेमा परिणत भएको त्यस अश्वेत बहुल गणराज्यका निर्मातामध्ये सबैभन्दा अग्रणी र सम्मानित नेता थिए । उनकै नेतृत्वमा छापामार युद्ध शैलीमा लडिएको करीब १ दशक लामो स्वतन्त्रता संग्रामले जिम्बाब्बियन जनतालाई अल्पमतमा रहेका अंग्रेजको औपनिवेशिक दाशताबाट मुक्ति दिलाएको थियो । शुरूका केही वर्ष उनको छवि जिम्बाब्बेका जनताको उद्धार गर्न अवतार लिएको एउटा मसिहाको जस्तो थियो । सन् १९८० मा स्वतन्त्र भएको त्यस गणराज्यमा मुगाबेले सन् २०१७ मा चौतर्फी दबाबका कारण पदत्याग गर्नु भन्दा अघि शुरूका केही वर्ष प्रधानमन्त्री र पछि राष्ट्रपतिका रूपमा ३७ वर्षसम्म निरंकुश अधिनायकका रूपमा कठोर तानाशाही शासन चलाएका थिए ।

इश्वी सन् १९८० मा छापामार लडाइँबाट तत्कालीन रोडेसियालाई अल्पसंख्यक गोराहरूको औपनिवेशिक शासनबाट मुक्त गराएपछि स्वतन्त्रता संग्रामका नेता र नवनियुक्त प्रधानमन्त्री रबर्ट मुगाबेले नवस्वतन्त्र राष्ट्र जसलाई रोडेसियाको सट्टा जिम्बाब्बे भन्ने नाम दिइएको थियो, त्यसलाई मेलमिलापमा आधारित सबै पक्षको साझा मुलुक बनाउँने प्रतिबद्धता व्यक्त गरेका थिए । औपनिवेशिक कालमा त्यस मुलुकका अधिकांश कृषियोग्य जमिन गोराको स्वामित्वमा रहेको अवस्थामा त्यस्तो जमिन जवर्जस्ती नलिइने, अधिग्रहण गर्नु परेमा उचित मुआब्जा दिएर मात्र गरिने आश्वासन पनि मुगाबेले अल्पसंख्यक गोरा समुदायलाई दिएका थिए । तर सत्तामा पुगेको केही समयपछि नै मुगाबे र उनको पार्टी गोराको स्वामित्वमा रहेको जमिन बलात् कब्जा गर्न उद्यत् भए । मुगाबे प्रशासनले अल्पसंख्यक गोरा समुदायको धनजनको सुरक्षा गर्नुको साटो काला जातिका गुण्डा समूहलाई गोराको जग्गा कब्जा गर्न हरेक प्रकारले प्रोत्साहन गर्न शुरू गर्यो । मुगाबेले खुलेआम घोषणा गरेः जिम्बाब्बेको जमिन हामी कालाको हो । हामी यसलाई कब्जा गरेरै छाड्छौँ । यसरी प्रष्टतः सरकारी प्रोत्साहन पाएका गुण्डा समूहले अल्पसंख्यक गोराको घरजग्गा जवर्जस्ती कब्जा मात्र गरेनन् , त्यस क्रममा गोरामाथि चरम् हिंसा पनि भयो । गोराका कृषि फार्ममा व्यापक आगजनी गरियो । त्यस्ता हिंसाका घटनामा परेर धेरै मानिसको अकालमै मृत्यु भयो ।

मुगाबे वाक्पटु थिए । सुन्ने मानिसलाई खुत्रुक्कै पार्ने गरी चोटिलो कुरा गर्नमा अद्वितीय थिए ती अफ्रिकी नेता । उनले भनेका भनेर अनेक किस्सा प्रचलित छन् । ती मध्ये एउटा किस्सा हो-‘तपाईं बिबाहित मानिस हो र कुनै स्कुल जाने केटीप्रति आकर्षित हुनुहुन्छ भने पत्नीका लागि स्कूलको युनिफर्म किनिदिनु होस्, तपाईंको तृष्णा मेटिन्छ ।’

अल्पसंख्यक जनतामाथिको त्यस प्रकारको राज्य नियोजित हिंसाले नवस्वतन्त्र राष्ट्र जिम्बाब्बेको छवि मात्र धूमिल भएन, त्यसका लागि अत्यावश्यक भएको अन्तर्राष्ट्रिय सहयोग पनि आउँन नसक्ने अवस्था पैदा भयो । पश्चिमा लबीका मुलुकले जिम्बाब्बेलाई प्रदान गर्दै आएको सहयोगबाट बिस्तारै हात झिक्न थाले । कालाले बलात् कब्जा गरेका अधिकांश कृषि फर्म आवश्यक प्राविधिक ज्ञान, संचालन पूँजी र व्यवस्थापन कौशलको अभावमा बन्द भए । त्यसमाथि मुलुकका नाफा गर्नसक्ने खालका उद्योग व्यवसायमाथि रबर्ट मुगाबेको सत्ताशीन दलका नेता कार्यकर्ताले कब्जा जमाएकाले तिनको उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न थाल्यो । राष्ट्रिय उत्पादनको इन्डेक्स् धराशायी भयो । मुद्रास्फीति १ हजार प्रतिशतभन्दा बढी भएको देखियो । मूल्यबृद्धिको दर बेहिसाब भयो । दैनिक उपभोग्य सामानको हाहाकार सामान्य हुन थाल्यो । देख्दादेख्दै जिम्बाब्बे पूरापूर असफल राष्ट्र बन्न पुग्यो ।  

जिम्बाब्बेको राजकाजलाई झण्डै चार दशकसम्म स्वेच्छाचारी ढङ्गमा चलाएका रबर्ट मुगाबेको विदेशको एउटा अस्पतालको कोठामा भएको देहावसानलाई उनको निरंकुश शासन हरप्रकारले असफल रहेको तथ्यसँग जोडेर हेर्न सकिन्छ । मुगाबेको पतनको यस घटनाले कसरी एकजना स्थापित नेता आफ्ना गलत नीति र कार्यशैलीका कारण असफल हुन्छ भन्ने कुराको प्रत्यक्ष दृष्टान्तलाई पनि संसारसामु प्रस्तुत गर्दछ । देशको शक्तिशाली राष्ट्रप्रमुखका रूपमा लामो समयसम्म सत्तामा हालिमुहाली गर्दा मुगाबे स्वयंले अख्तियार गरेका गलत नीतिहरूका कारण उत्पन्न आर्थिक तथा व्यस्थापकीय समस्याहरूले जिम्बाब्बेको मुलुकी प्रशासनलाई लगभग धराशायी बनाइदिएका थिए । आर्थिक मन्दी र मुद्रास्फीतिले गर्दा जनजीवनमा जुन हाहाकार मच्चिएको थियो त्यो अहिले पनि लगभग उस्तै छ । राज्यको जिम्मेवारीभित्र पर्ने शिक्षा र स्वास्थ्य जस्ता सेवाका क्षेत्रहरू ठप्प नै भएका थिए । स्कूल कलेज बन्द गरिएका थिए भने राजधानी हरारेका सरकारी हुन् वा निजी दुवै प्रकारका अस्पतालमा लामो समयदेखि बिरामीको उपचार हुन छोडेको थियो । समयमा तलब नपाउँने भएपछि अस्पतालका डाक्टर, नर्स र अन्य प्राविधिकले ढङ्गसँग ड्युटी गर्न छोडिसकेका थिए । यही कारणले हो बुढ्यौलीमा लाग्ने सामान्य किसिमको रोगको उपचार गराउँन पनि देशभित्र सम्भव नभएपछि रबर्ट मुगाबे सिङ्गापुरको अस्पतालसम्म आउँन बाध्य भएका थिए ।

रबर्ट मुगाबे आफ्नो समयका सबैभन्दा बढी शैक्षिक उपाधि लिएका नेता थिए । उनले दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयमा भर्ना भई नियमित पढाइ गरेर एउटा शैक्षिक उपाधि लिएका थिए भने बेलायत लगायत युरोपका केही विश्वविद्यालयबाट पत्राचार कोर्स गरी थप ६ विषयमा मास्टर्स डिग्री हासिल गरेका थिए । मुगाबे वाक्पटु थिए । सुन्ने मानिसलाई खुत्रुक्कै पार्ने गरी चोटिलो कुरा गर्नमा अद्वितीय थिए ती अफ्रिकी नेता । उनले भनेका भनेर अनेक किस्सा प्रचलित छन् । ती मध्ये केही तल दिएको छु-

‘मलाई भगवानले यस पदमा नियुक्त गरेकाले उनैले मात्र हटाउँन सक्दछन् । अरू कसैले रिस गरेर केही हुँदैन ।’

‘म समलैङ्गिकताको घोर विरोध गर्दछु । म स्वास्नीमानिसको कोखबाट जन्मिएको हुँ । सबै मानिसहरूको मामिला पनि त्यही हो । मैले सुङ्गुर पालेको छु । तिनीहरू पनि समागमका लागि भालेपोथी नै खोज्दछन् ।’

‘म जीवनमा धेरै पटक मरेको छु । यस मामिलामा मैले जिजस क्राइस्टको रेकर्ड तोडेको छु । उनी त जम्मा एक पटक मरेर बिउँतेका नहुन् ।’

‘अमेरिकी राष्ट्रपति बाराक ओबामाले समलैङ्गिक बिबाहलाई कानूनी मान्यता दिएका छन् क्या रे । मैले छिट्टै नै वाशिङ्टन गएर उनीसँग बिबाहको प्रस्ताव राख्ने विचार गरेको छु ।’

‘तिमी नराम्री छ्यौ भने नराम्री भएको कुरा स्वीकार गर । आन्तरिक सौन्दर्य जस्तो फाल्तु कुरा नगर । तिम्रो आन्तरिक सौन्दर्य देख्न मेरो आँखामा एक्सरे छ र?’

‘तपाईं बाँदरलाई केराको सट्टा मह दिएर भुलाउँन सक्नुहुन्छ भने कुनै पादरीलाई कन्डम बेच्न पनि सक्नुहुन्छ ।’

‘जब तपाइँको जिन्दगी एउटा लिकमा हिँड्न शुरू गर्दछ भगवानले गर्लफ्रेण्ड पठाइदिएर गडबडी पैदा गरिदिन्छन् ।’

‘यौनक्रीडामा सामेल भएको प्रमाण बोकेर बाहिर निस्कनु ठूलो साहसको काम हो ।’

‘तपाईं बिबाहित मानिस हो र कुनै स्कुल जाने केटीप्रति आकर्षित हुनुहुन्छ भने पत्नीका लागि स्कूलको युनिफर्म किनिदिनु होस्, तपाईंको तृष्णा मेटिन्छ ।’

‘चुरोट कागजमा बेरिएको सुर्तिको त्यो खिल्ली हो जसको एक छेउमा आगो झोसिएको हुन्छ भने अर्को छेउमा हुन्छ एउटा मूर्खको ओठ ।’

‘गोरो छाला भएको मानिसमा म मरिसकेकोलाई मात्र विश्वास गर्न सक्छु ।’

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज