यो जात्रा, अनि त्यो जात्रा

तस्बिरः बिएल

म बस्ती बाहिर बस्थेँ। तर केही समय भो, बसाईँ सरेको। अहिले म शहर भित्रको पुरानो बस्तीमा बस्न आएको छु। इन्द्रचोकबाट आकाश भैरव मन्दिरलाई देब्रे पारेर उत्तरतिर लागे भेडासिङ पुगिन्छ। त्यहाँबाट देब्रे मोडेर पश्चिमतिर किलागलतर्फ लागेपछि दाहिनेपट्टि 'किसिद्यो:' आउँछ, हात्ती द्यौता। त्यसको ठीक अगाडिको घरतिर कतै मेरो बासस्थान हो।

इन्द्रजात्राका बखत यिनै किसिद्यो:को प्रतिमूर्तिका रुपमा 'पुलु किसि' निकाल्छन्। मलाई यो बनाएको हेर्न खुब मन लाग्छ। सुटुक्क कतै छेलिएर हेर्न बस्थेँ। बाँसका कप्टेराका ढाँचामा पुलु (मान्द्रो) को खोल खप्टाएर त्यसमाथि फूलबुट्टे सेतो खोल ओढाईवरी बन्ने फुच्चे त्रिपाल जस्तो आकृतिको एकापट्टि हात्तीको बडेमाको सेतो मुकुण्डो अड्काएपछि इन्द्रको वाहन ऐरावत हात्ती बन्दो रैछ। दुईजना तन्नेरीहरू यही खोलभित्र छिर्छन्। चिराग बोक्दै यिनलाई डोर्याउने एक जना हुन्छन्। पुलु किसिको मुकुण्डो पछाडि पट्टिको कप्टेरो समाएर तान्दै, अनि आफै पनि हुत्तिँदै बत्तिँदै बाटो देखाउने काम यिनले गर्छन्। गम्लङ ओढिएर भित्र बसेका दुई जनाले बाहिरको केही देख्ने कुरै भएन। त्यही भएर जता जता तानिए, उतै उतै तानिन्थे। बाजा खलकले काँसको गोलो पातामा ठोकेर निस्केको टङ् टङ् आवाजको सुरमा धल्पलिंदै भिडभिडमा धुन्मुनिन गएपछि दर्शकको आत्तिएको आवाज र हाँसोको बीच जात्रा जोडतोडले चल्छ।

आफू भने माथि कतैबाट हेर्छु। हेर्छु नै त के भन्नु ? देख्छु। किनकि कुनै पनि चीज रहरले हेर्ने गरिन्छ, बिना रहरले भने देख्ने गरिन्छ। भनुँ भने मलाई यस्ता जात्राको भिडभाड मनै पर्दैन। भिडमा मिसिनु मेरा लागि असम्भव त छँदैछ, कहिलेकाहीँ अत्यासलाग्दो कोलाहलले सातो लिन्छ। फेरि पनि यतै कतै कोप्चोबाट ती मानिसका भीडको पागलपन देख्छु। उफ्री उफ्री रमाएर बाजागाजाको तालमा मदमस्त नाचेको देख्छु। यी सबै मेरा लागि बाध्यतै भन्दा पनि भो, र देख्दादेख्दै हेर्ने बानी भने पर्यो। नहेरी सुखै पनि त छैन। किनभने म यतै बस्छु। मेरो बासै यतै।

मेरो ईलाका यताको मूल सडक देखि पछाडि पट्टिको चोकसम्मै हो। म उतै चोकतिरै पनि हुन्छु। चोक उराठलाग्दो हुँदा हुँदै शान्त भने छ। न बाजा बज्छ। न कुनै भीड लाग्छ। चारैतिर घरहरुले घेरेको खाल्डो परेको ठाउँमा मध्यान्न तिर केही छिन कनीकुथी आईपुग्ने घाममा लुगा सुकाउन तँछाड मछाड भने हुन्छ। अनि कहिलेकाहीँ आफ्नो घर पस्ने ढोकाको आडैमा फोहोर फालेको निहुँमा वल्लो घर पल्लो घर बीच जुहारी पनि चल्छ। यसबाहेक सन्नाटा छाउँछ, प्राय: जसो।

यो चोकको विशेषता नै भन्दा पनि हुन्छ, यो ठाउँबाट निस्किने एकतमासको दुर्गन्ध। एकातिर पाइखानाको दुर्गन्ध त छँदैछ। अर्का तिर फोहोर फाल्ने ठाउँको रुपमा 'सा:गा:' बनाईएको चोकको आधा हिस्साबाट निस्किने तिक्खर दुर्गन्ध। पल्लो घरमा बस्नेहरुलाई हिंँड्ने बाटो यही चोक भएपछि यो सा:गा: नछिचोलि सुखै छैन। पल्लो घर बस्ने सान्चा अबेर राति रक्सी धोकेर धल्पलिंदै फर्किंदा यही सा:गा:को फोहोरको डङ्गुरमा लडिवरि यतै रात बिताएको धेरै पटक देखेको छु। अनि भोलिपल्ट बिहान नौनिचाले आफ्ना खसमको हरिबिजोग देखेर कुच्चोले ठट्टाउँदै घर भित्र लग्दै गर्दा अर्का तिर घरको झ्यालमा बसेका मनमाया आफ्नो दाँत झरेको थोते मुख छोप्दै खित्खिताएको देखेर नौनिचाले धारे हात लगाएर 'सी:मा' भनेको पनि सुनेको छु। 'मरिजाओस्' रे!

मनमायाको घरसँगै जोडिएको घर पूरै डेराभाडामा लागेको छ। 'मातँ' तलाको कोठाको झ्याल भने प्राय: खुल्लै हुन्छ। के जाडो, के गर्मी। धेरै जसो खुल्लै देख्छु। त्यो साँघुरो कोठामा त्यही एउटै झ्याल भएर पो हो कि हावाकै लागि पनि खुल्ला राख्दा होलान्। म जुन ठाउँमा बस्ने गर्छु, यहाँबाट ठ्याक्कै देखिन्छ, कोठाको भित्रैसम्म। एकजना बूढीआमा बस्छिन् र उनका साथमा एक जना युवती। उनकी छोरी होली। यिनी पनि एक महिना जति मात्र भो यता देख्न थालेकी। यस अघि देखेको थिईनँ। कहाँ थिई ? कता थिई ? किन आई ?

किन आई भन्ने कुरो त आठ महिना पछि पो बल्ल थाहा भयो। जब ती छोरी चैंले भुक्कुले छोरो जन्माई। बूढी औधि खुशी देखिई। उनकी छोरी, मैंचा, आमा बनी। अनि आफू बज्यै। बज्यै बनेपछि बूढीलाई मानौं खुशियालीको बहारै आए जस्तो भो। खुब बेफुर्सदिली बनी। छोरीले भन्दा बढी स्याहार तिनैले गर्थी। दिउँसो मध्यान्ह तिर एकै छिन आउने चोकको घाममा छोरी र नातिलाई पालै पालो तेल घस्दिन्थी। चोकको दुर्गन्ध भगाउन बूढी बाटेको धूप बाल्थी, जसको सुगन्धले थोरै भए पनि त्राण मिल्थ्यो, यी तीन प्राणीहरुलाई !

रहँदा बस्दा चाल पाएँ कि मैंचा लठेब्री पो रैछे। राम्री त औधि । तर भएर के गर्नु ! भाग्यले ठगिएकी रहिछे। मेरा बृद्ध छिमेकीबाट धेरै कुरा थाहा पाएँ।

* * *

बूढी 'ग्वारामरी' बेचेर आएको पैसाले घरखर्च चलाउने गर्थिन्। छोरी लठेब्री, दिमाग पनि थोरै सुस्त। रिस उठ्दा बूढी आफ्नी छोरीलाई 'आली बागनी' भनेर बोलाउँथी। मतलब आधा लाटी। छोरीबाट उनलाई भरथेगको खासै आस त थिएन। त्यही भएर मेहनत गर्ने जिम्मा बूढीले आफ्नै काँधमा लिई। तर मैंचाले भने आफ्नी आमाको दुखजेलो बुझ्थी। आमालाई हात बँटाउथी। दुबै हरेक दिन बिहान झिसमिसेमै उठ्थे। बूढीले डेक्चीमा पातलो पारेर पीठो मुछ्थिन्। पीठोमा थोरै नून मिसाउँथिन्। अनि मैंचा भने स्टोभ, तेल र 'ग्वारामरी' पोको पार्न केही थान गोरखापत्र काखी च्यापेर बाहिर बाटो छेउ सामान ओसार्थिन्। त्यतिबेला दूकानहरु खोल्ने समय भैनसक्दा 'सलख्वा:चा' को पसल अगाडि आफ्नो 'पसल' फिँजार्थी।

तातो तेलमा डल्लो डल्लो पारेर खसालेको पीठाका डल्ला च्वाईंय्य गर्दै पाकेर 'ग्वारामरी' बन्न भ्याउँदा नभ्याउँदै किन्न आउनेहरुको लर्को लागिसकेको हुन्थ्यो। इन्द्रचोकको आकाश भैरव दर्शन गरेर फर्किने देखि नरदेवी, रक्तकाली दर्शन गरेर फर्किनेहरु बिहानको नास्ताका लागि यही 'ग्वारामरी' घर लिएर जान्थे। बिहान सात बजेभित्र सबै व्यापार सकाएर 'पसल' उठाईसक्नु पर्थ्यो। नत्र 'सलख्वा:चा' को गाली खानु पर्ने हुन्थ्यो। किनकि सात बजे उनको दूकान खोल्ने समय जो थियो।

पन्ध्र वर्ष अगाडि बूढीका खसम परलोक भएका थिए। महाँकाल मन्दिर अगाडि बाटो काट्दै गर्दा गाडीको ठक्करले घाइते भएका बूढाले त्यसको पाँचौँ दिन वीर अस्पतालको एउटा कुनोमा प्राण त्याग गरे। बोलिदिने कोही नभएकाहरुका लागि न्याय पाउनु पनि असम्भव नै हुने रहेछ। मार्ने पत्ता लागेन, मर्ने बित्थामा मरेर गए। त्यतिबेला मैंचा दस वर्षकी थिइन्। छोरी हुर्काउने सम्पूर्ण जिम्मेदारी बूढीको काँधमा आईलाग्यो। दु:ख दरिद्रीले डेरा जमायो। अनि शुरु भयो 'ग्वारामरी' को व्यापार। र, यही 'ग्वारामरी' व्यापारसँगै मैंचाको खोटो भाग्य पनि शुरू भयो।

'ग्वारामरी' किन्न आउनेहरु मध्ये पल्मान्चा पनि एक थिए। हुन त यिनको नाम पवनमान हो। तर पहलमानको जस्तो खाईलाग्दो जिउ भएको हुँदा यिनको नामै पल्मान हुन पुग्यो। यिनी 'ग्वारामरी' का सौकिन त होईनन्। तर 'ग्वारामरी' बेच्न बसेकी मैंचाका भने सौकिन थिए। निहुँ एउटा, नियत अर्को। हुँदाहुँदै जवानीका दिनबाट गुज्रिरहेका मैंचालाई हरेक दिन जसो आईरहने पल्मान्चाको आकर्षक जिउडाल, मीठो बोलीले हुरुक्कै पारिछाड्यो। जवानीको प्रेम अन्धो हुन्छ। पल्मान्चालाई मैंचाको लठेब्रो बोली अनि सुस्त चालमै पनि औधि आकर्षण देख्यो। उसै बिछ्ट्टकी राम्री त छँदैथिई।

त्यसको तीन महिनामै बूढी एक्लै परी। मैंचा पोईल गई, पल्मान्चासँग। तर बलियो जग नभएको घर र प्रेम ढल्न बेर लाग्दैन। जवानीको रस पिउनु पिएर पल्मान्चाले मैंचालाई धोखा दियो। पेट बोकाएर फरार भयो। कहाँ गए, कता गए, केही अत्तोपत्तो लागेन। डेरामा भित्र्याएका थिए, डेरामै अलपत्र छाडेर भागे। रुवावासी बीच मैंचा फेरि आमाकै घर फर्किइन् र त्यसको आठ महिनामा भुक्कुले छोरोकी आमा बनिन्।

* * *

ठ्याक्कै बाउको अनुहार। डल्लो डल्लो नाक, चिम्से आँखा। हाँस्दा आँखाका कुना कुनामा मुजा पर्ने। काटिकुटी बाउको अनुहार। सानोमा भुक्कुले हिस्सी पर्या बच्चो, छ वर्ष उमेर पुग्दासम्म डल्लो डल्लो, थेप्चो थेप्चो बन्न पुग्यो। त्यही भएर सबैले यिनलाई 'ग्वार्चा' भन्न थाले। ग्वार्चा याने डल्ले। मैंचा भने आफ्ना डल्ले छोरोमा धोखेबाज लोग्नेको अनुहार देख्थे कि कुन्नि, छिनमा रुन्थे, छिनमा रिसले आँखा राताराता पारेर गाला चड्काउँथे। विचरो बच्चो दौडी दौडी आफ्ना बज्यैका पछाडि लुक्न पुग्थे। आमाको आवेगको कारण यिनले के बुझोस् !

खाने मुख तीन। डेराभाडा तिर्न नसकेको छ महिना भैसकेको थियो। धन्न घरधनी भलादमी थिए। 'ग्वारामरी' व्यापारले परिवार धान्न ठ्याम्मै छोड्यो। त्यही भएर बूढीले तरकारी बेच्ने, फूल बेच्ने काम पनि शुरु गरी। अब उनको चटारो झन् बढ्यो। मैंचा भने झन् झन् गुमसुम पर्न थाली। झर्किने, लाटो रीस देखाउने, ठस्स परेर बिछौनामा दिन दिन भर गुँडुल्किएर बस्ने। कामको बोझले बूढी भने पचास कट्दा नकट्दै सत्तरीकी देखिन थाली। नातिले बरु बज्यैको दु:ख बुझेर सघाउन थाले। समस्याले मान्छेलाई परिपक्व बनाउँछ भनेको हो रहेछ। विचरा ग्वार्चा ! खेल्ने, लाडे पल्टिने कलिलो उमेरमा घरव्यवहारमा होमिनुपर्ने अवस्था आयो। एकाध वर्ष पछि मासँगल्ली भित्रको ममचा पसलमा भाँडा माझ्ने काम शुरु गर्यो। परिवारलाई थोरै भए पनि राहत महसुस भयो।

* * *
आज लक्ष्मी पूजा। झिसमिसे उज्यालो भएको थियो। म पनि आङ तन्काउँदै उठेँ। सदा झैं बूढीको कोठाको झ्याल खुल्ला थियो। भित्र हेर्दा कोठाको भित्तामा दुई भारी डोको अड्याईएको थियो। बूढीले हिजै दुई डोको सयपत्री फूलको माला उनिसिध्याएकी थिइन्। र, तीसवटा मखमलीका माला पनि। बिहानै इन्द्रचोक पुर्याएर एकै खेपमा बेचिसकाउने बूढीको बिचार थियो। मैँचा उठेकै थिएन। हिजो राति पनि झगडा गरेर खानै नखाई सुतेकी। आमाको माया। छोरीलाई उठाउन मन लागेन। बरु ग्वार्चाले बज्यैलाई सघाउन तम्तयार भए। फूलको भारी तल छिँडी ओसार्न एका पट्टि बज्यैले समाएर साँघुरो काठे भरेङ ओर्लन थाली। अर्को पट्टि ग्वार्चाले समाए। दुई खुड्किलो के झरेकी थिईन्, बूढीलाई रिङायो। डोको हातबाट छुट्ट्यो। ग्वार्चाको कलिलो पाखुरामा त्यति शक्ति पनि थिएन कि टन्नै फूलमालाले भरिएको भारी डोको थाम्न सकोस्। उनको हातबाट पनि छुट्ट्यो। डोको र बूढी सँगसँगै धुन्मुनिंदै भरेङबाट खस्यो। भाग्य पनि कस्तो ! बूढीले टाउकैले टेकी। भरेङको फेद रक्ताम्य भो।

कोकोहोलो मच्चियो। छरछिमेक जम्मा भए। सान्चाले जुरुक्कै उचालेर बूढीलाई काँधमा हाल्यो र इन्द्रचोकसम्म बेतोडले कुद्यो। सँगसँगै आमाछोरा पनि कुदे। बिहानको खुल्ला समयमा ट्याक्सीले पाँच मिनेटमा वीर अस्पताल पुर्याईदियो।

दस दिनपछि टाउकोमा 'फेटा' बाँधिएकी बूढी डेरा फर्क्यो।खर्चले धान्नै नसकेपछि आधाउधी उपचार गराएर। तरै पनि यो दस दिनको खर्चले यिनीहरुको दस वर्षको कमाई हरेको थियो। बूढीका पुराना धेरथोर गरगहना, मैंचाको लागि भनेर साँचेर राखेको डेढ तोलाको चुरा सबै खर्चिए। भन्ने नै हो भने टाट पल्टिए।

पैसो पनि गुम्यो, बूढीको सुद्धि पनि गुम्यो। दिमाग भित्रको गहिरो चोटले यिनलाई निकम्मा बनायो। उपचार पनि त आधामा छोड्नुपरेको थियो। अनि त हरेक दिन बूढीलाई कोठाको झ्यालनिर झोक्राउँदै बसेको देख्न थालेँ। न खानको सुद्धि, न लाउनको।

तर 'जब पर्छ, तब टर्छ' भने झैं मैंचाले आफ्नी आमाको बागडोर सम्हाल्न थाली। आमाले गर्ने सबै काम आफ्नो काँधमा बोकी। ग्वार्चा उसै मेहनती, अब त आमालाई झनै सघाउने भए। घरि 'ग्वारामरी' पसल, घरि ममचा पसल, घरि वँग: (इन्द्रचोक) को स्वाँमा: (माला) पसल। ऊ जत्रा भुराभुरीहरु बसमा स्कुल जाँदै गर्दा ग्वार्चाको स्कुल भने यिनै 'पसल'हरु थिए। तर गुनासो केही थिएन। भविष्यमा आफ्नै ममचा पसल खोल्ने योजना थियो ग्वार्चाको। त्यसका लागि पढाई किन चाहियो र ? बज्यै र आमालाई यही भनेर सम्झाउँथ्यो र तिनीहरुलाई आफ्ना सन्तानलाई पढाउन नसकेको ग्लानिबाट मुक्त गराउन खोज्थ्यो।

भगवानको कृपा गरीव, दिन, दु:खी माथि नपर्दो हो त यिनीहरु दु:खका सागरमा हमेशा पौडिरहने थिए। त्यसैले होला बूढी माथि पनि एक दिन भगवानको कृपादृष्टि परिछाड्यो। चमत्कारै भो। बिना उपचार पनि बूढी बिस्तारै तङ्गृन पो थालिन्।

र आज, सँधै झोक्राएर बस्ने बूढीलाई धेरै दिनपछि झ्यालमा उभिएकी देखेँ - चोकमा लुगा सुकाउँदै गरेका छोरी र नातिलाई हेरेर मन्द मुस्काउँदै। सायद अब बूढीका दु:खका दिन सकिँदै पो हो कि ?

* * *

कहिलेकाहीँ सोच्छु, मान्छेका जिन्दगीमा दुई खाले जात्रा हुने रहेछ। एउटा त्यो जात्रा जसमा सबै रमाउँछन्, खुशियाली मनाउँछन्। बाजा बज्छ, नाचगान हुन्छ। सबैतिर हर्ष नै हर्ष। र, अर्कोतिर यो जात्रा जसमा जिन्दगी नरक बन्छ, दु:ख र दुर्दशाका अनगिन्ती पहाडहरु बाटोभरि लमतन्न परेर पसारिदिन्छ। एउटा दु:स्वप्न झैं यो जिन्दगीको जात्रा अन्त्यहीन लाग्दछ। तर एक दिन यसको अन्त्य हुने बिश्वास बोकेर मानिसहरु हिँडिरहन्छन्, पहाडहरु छिचोलिरहन्छन्। हिम्मतिलोहरु छिचोलि भ्याउँछन्। कमजोरहरु बीचैमा हतास भै प्रयास गर्न छोड्छन्। तर मैले आजसम्म हिम्मत गर्नेले ती पहाड छिचोल्न नसकेको भने देखेको छैन।

यस्तै यस्तै कैयौँ कथाहरु मैले देखेको छु। म आफू बस्ने घरका कापकापबाट यस्ता अनेक कथा देख्ने गर्छु। कहिले मन्दिरको छानो माथिबाट देख्छु। कहिले हनुमानढोका अगाडि कसैले छरेका धान, गहुँ टिप्दै गर्दा देख्छु। कहिले उड्दै उड्दै तलेजु मन्दिर चक्कर लाउन जाँदा मखन गल्लीको वरिपरि नै पनि देख्छु।

तर अब भने धेरै टाढासम्म उड्न सक्दिनँ। धेरै बेर पनि उड्न सक्दिनँ। उमेर पनि त भयो। दस वर्षको भैसकेँ। त्यही भएर आजकल पखेटा कमजोर भएको महसुस गर्छु। छिट्टै थाक्छु। उड्नु भन्दा यतै किलागलको आफू बस्ने घरको बार्दली मुनिको टुँडालमा टुसुक्क बसेर तल सडकतिर हेरिबस्छु।

आज पनि इन्द्रजात्रै रहेछ। मजिपा: लाखे उफ्री उफ्री नाच्दैछ। झ्यालिँचा लाखेलाई जिस्काउँदैछ। पुलु किसि टङ् टङ् आवाजको तालमा भिडभिडमा धुन्मुनिंदैछ। देख्छु, भिडमा ग्वार्चा आफ्ना बज्यै र आमालाई हात समाएर जात्रा देखाउन लग्दैछ। कुनै बेला यिनलाई डोर्याउने हातहरुलाई आज यिनका हातहरुले डोर्याउँदैछ। मन हर्षित भयो। किनकि एउटा 'जात्रा'को अन्त्य हुँदैछ।

*समाप्त*

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज