पशुपतिनाथमा राष्ट्रिय गीत बजाउन लगाएर पर्यटन विकास हुँदैन

बिएल

सुन्दरता र जलस्रोतको हिसाबले नेपाल विश्वमै दोस्रो मानिन्छ। यसबाहेक नेपाल कयौं कुरामा पहिलो छ। विश्वकै अग्लो हिमाल सगरमाथादेखि धेरै हिमशृंखला र गहिरो गल्छी पनि नेपालमै पर्छ।

विदेशी पर्यटकलाई घुम्न, बस्न र खान नेपाल धेरै सस्तो पर्छ। अझ, प्रकृतिसँग पौठेजोरी गर्ने र साहसिक खेलमा रमाउने पर्यटकको कुरा गर्ने हो भने नेपालमा कायाक, हाईकिङ, ट्रेकिङ, क्यानोइङ, बञ्जी, प्याराग्लाइडिङलगायत विभिन्न सुविधा छ।

यस्तै, संसारका दूर्लभ वन्यजन्तु तथा वनस्पतीको अध्ययन अवलोकन पनि नेपालमा गर्न सकिन्छ। त्यसैले नेपाल घुम्नै पर्ने विश्वको १० उत्कृष्ट देशहरूको सूचीमा पर्छ।

फूल बेच्ने १२ वर्षीय बालकको कथा, जो परिवार पाल्न बिहान ४ बजेदेखि नै सक्रिय हुन्छन् (भिडियोसहित)

प्रकृतिको अपार भण्डार हुँदा पनि विडम्वना हामी यसको प्रचारप्रसार गर्न चुकिरहेका छौं।

म यसको सबैभन्दा ठूलो दोष सरकार, सरकारी ओहदामा बस्ने ‘बाबु’ हरु र पर्यटन प्रवर्धनको ठेक्का लिनेहरूलाई दिन चाहन्छु।

फितलो नीति, राजनीतिक खिचातानी र केही उपल्ला पर्यटन व्यवसायीका वदमासीले गर्दा नेपालमा पर्यटन प्रवर्धनमा ठूलो बाधा पुगेको छ।

देशमा पर्यटनको विषयलाई लिएर थुप्रै गोष्ठी र सेमिनार हुने गरेको छ। तर, ती गोष्ठी र सेमिनारबाट निस्किएका निस्कर्षहरू न पर्यटनसँग सम्बन्धित व्यवसायीसम्म पुग्छ, न पर्यटकसम्म नै।

वास्तवमा पर्यटन प्रवर्धनको प्रभावकारी काम विदेशमा हुनुपर्ने हो। तर, काठमाडौंको पाँच तारे होटलमा पैसा रित्याउने काम भइरहेको छ।

नेपालले आगामी साल ‘पर्यटन वर्ष–२०२०’ को आयोजना गर्दैछ। यसलाई भब्य रुपमा सफल पार्न सरकारले केही आकर्षक नारा पनि अघि सारेको छ। सरकारको २०२० मा २० लाख पर्यटक देश भित्राउने लक्ष्य छ।

तर, पर्यटन वर्षका लागि गरिएको तयारी हेर्दा हरिविजोग देखिन्छ।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

१२ वर्षे द्धन्द्धकाल र महाभूकम्पबाट थिलिएको पर्यटन व्यवसाय यति बेला धराशायी अवस्थामा छ। पछिल्लो समय नेपालमा संविधान जारी भएलगत्तै देशले पर्यटनलाई माया गर्ने र राम्रोसँग बुझेको मन्त्री पाएको थियो। तर, पर्यटन मन्त्रीको प्लेन दुर्घटनामा भएको असमायीक निधनले सबैलाई स्तब्ध तुल्यायो।

दिवंगत मन्त्री रविन्द्र अधिकारीको निधनपछि देशले केही समय अगाडि तपाईं जस्तो जुधारू नेता पाएको छ।

तपाईं मन्त्री नियुक्त भएको केही सातासम्म मलाई लागेको थियो, ‘छोटो समयमै केही न केही राम्रो गरेर देखाउनु होला?’ तर, तपाईको कार्यशैली हेर्दा पोखराबाट काठमाडौं हिडेको बसको गन्तब्य मुग्लिनबाट मोडेर चितवनतर्फ लागे जस्तै भान हुन थालेको छ।

माननीय पर्यटन मन्त्री योगेश भट्टराईज्यू!

विदेशी पर्यटकसँग दोभाषे र पोर्टरको रुपमा काम गरेको लामो अनुभवको आधारमा म आफूले भोगेको केही कुरा भन्न चाहन्छु।

नेपालमा पर्यटकले पाउने सास्ती र पर्यटकलाई कसरी लुटिन्छ? शेर्पा पोर्टरको श्रम कसरी शोषण गरिन्छ? ‘फेक रेस्क्यू’ का नाममा कसरी लुट मच्चाइन्छ? यो धेरै हदसम्म मलाई थाहा छ।

गायक मिलन लामा भन्छन्- गीत संगीतको बजार सँधै उस्तै हुँदैन

जेरो भूमे : प्रदेश ५, भूमेका सांस्कृतिक झलकहरू (भिडियोमा)

अन्य ठाउँमा सामान्य २ हजारमा पाउने च्यादरलाई काश्मिरको हो भन्दै, कसरी २० हजारमा बेचिन्छ? यस्ता कालाबजारी कति संख्यामा ठमेलमा छन्? यसको पनि थोरबहुत जानकारी मसँग छ।

तर, सरकारको आँखा कहिल्यै यतातिर परेन्। कयौं पर्यटक विभिन्न समस्या र लुटको शिकार भएर घर फर्किदा उनीहरूले आफ्नो देशमा नेपालको कस्तो इमेज प्रस्तुत गर्लान्? यसको हेक्का तपाईलाई हुनु जरुरी छ।

केही दिनअघि तपाईले ७० वर्ष पुरा गरेका बृद्धबृद्धालाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो। यो एउटा खोक्रो र प्रचारमुखी योजना मात्र हो। किनभने नेपालका ९० प्रतिशत जनता जहाज चढ्न सक्ने हैसियतमा छैनन्। बाँकी १० प्रतिशत मात्र जहाज चढ्छन्।

पर्यटन मन्त्री ज्यू!

तपाईले केही समयअघि नेपालीहरूको आस्थाको धरोहर पशुपतिनाथमा राष्ट्रिय गीत अनिवार्य गर्ने नियम लागू गर्नुभयो। यसबाट झन् तपाईंको कार्यकुशलता, तपाईंप्रतिको आशा क्रमशः निरासामा परिणत हुन थालेको छ। के आराध्यदेव पशुपतिमा राष्ट्रिय गीत गाउन लगाएर गणतन्त्र मजवुत हुन्छ?

के पशुपतिनाथमा राष्ट्रिय गीत गाउन लगाएर २० लाख पर्यटक आउने हुन्? सायद तपाईंलाई नागरीक उड्यन तथा पर्यटन मन्त्रीको काम, कर्तव्य र अधिकार नै थाहा नभए जस्तो लाग्यो।

जो दाईजोको निहुँमा सासु ससुरा र श्रीमानबाट मरणासन्न हुने गरी कुटपिटको सिकार भइन् (भिडियोसहित)

पोखरा पुगेर तपाईले दैनिक पर्यटक नआए पनि भिजिट–२०२० चल्छ। २० लाख पर्यटक नआए घाटा व्यवसायीलाई नै हुने हो भन्दै कुर्लिनु भयो। सायद सल्लाहकारको गलत सल्लाहमा पर्दै हुनुहुन्छ होला! देश या विदेशमा सानोतिनो पर्यटन व्यवसाय गरेर बस्ने भएको कारण म केही सुझाव दिन चाहन्छु।

(१) वायुसेवा र उड्यन

नेपाली पाईलट र विदेशी पाईलटको तलबको खाडल सयौं गुणा फरक छ। विदेशी पाईलटलाई एजेन्सीमार्फत यति धेरै तलव दिइन्छ, ती पाईलटले कति पाउँछन् यसको जानकारी नै कहिल्यै बाहिर आउँदैन। आंकलनको आधारमा समाचारको आधारमा भन्नुपर्दा नेपाली पाईलटको तलब ४ लाख हुँदा विदेशी पाईलटले तेब्बर पाउँछन्।

यो पक्कै पनि कमिसनको चक्कर हो। यसको छानबिन हुनु जरूरी छ। नेपाली पाईलटलाई प्रोत्साहन गर्दै विदेशी पाईलटको संख्या घटाउन योजना अगाडि सार्नुहोस्।

नेपाल वायुसेवा निगमको जहाज खाली उड़्दा विदेशी एअरलाइन्स भरि जाने र आउने सवैले देखेकै हो। यो पक्कै पनि निगम डुबाउने खेल हो। निगम भित्रकै भ्रष्ट कर्मचारीको साटगाढमा यस्तो काम भइरहेको छ। सक्नुहुन्छ भने यस्ता कर्मचारीलाई कारबाही गर्ने दिशामा अगाडि बढ्नुहोस्।

यस्ता कर्मचारीको कुरा सुनेर अगाडि बढ्नुभयो भने यति लामो र संघर्षपछि बनेको तपाईंको इमेज भोलि ध्वस्त नहोला भन्न सकिने आधार छैन। नेपाल वायुसेवा निगमको टिकट बढीभन्दा वढी बिक्री गर्ने ट्राभल एजेन्सीलाई पुरस्कृत गर्नुहोस्।

(२) पर्यटन प्रवर्द्धन

काठमाडौंको तारे होटलमा आयोजना हुने सभा–गोष्ठी तथा पर्यटन बोर्डले २–४ हजार थान पम्प्लेट छापेर प्रचारप्रसारको नाममा करोडौं भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदो छ।

त्यो हटाएर विभिन्न देशका नागरिक, जो उनीहरूको देश र समाजमा सम्मानित छन्, तिनीहरूलाई ‘फ्री’ मा प्याकेज बनाएर नेपाल घुमाउन ल्याउन सक्यौं भने विदेशको प्रतिष्ठित र लोकप्रिय व्यक्तिको आगमनले दिने सकरात्मक संदेशले ठूलो अर्थ राख्छ।

मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

युरोपेली देशमा प्रायः गाजा ‘फ्री’ छ। डेनमार्कको क्रिस्चियन हेभनमा गाजा–चरेसको छुट्टै बिक्रि वितरण गर्ने स्थान छ। ‘रस्कील्ड फेस्टिभल’ मा सहभागी हुन १० आ‌ै लाख पर्यटक भित्रिने गरेका छन्। प्रत्येक वर्षको ‘समर’ मा आयोजना हुने यो उत्सवमा भाग लिन आउने विदेशी पर्यटकहरू आयोजना स्थलमै टेन्ट हालेर बसोबास गर्छन्।

यस्तै, पोर्चुगलको एउटा सानो गाउँमा पनि प्रत्येक अगष्टको अन्तिम बिहीबार र शुक्रबार सांगीतिक महोत्सव हुन्छ। ३ दिन चल्ने यो उत्सवमा करोडौको व्यापार हुन्छ। यस मेलाबाट स्थानीयले राम्रो आम्दानी गर्छन्।

नेपालको बाग्लुङ्ग–म्याग्दी र रुकुम–रोल्पामा पनि गाँजाको उत्पादन राम्रो हुन्छ। त्यहाँ पर्यटकलाई लक्षित गर्दै शिवरात्रीको अवसर पारेर ५–१० दिनको पर्यटन लक्षित ग्रामीण महोत्सव गर्ने, विदेशी पर्यटकलाई मात्र सम्मिलित हुन दिने गरी कडा अनुगमनका साथ महोत्सवको आयोजना गरिएको खण्डमा १० औं हजार विदेशी पर्यटक उतार्न सकिने अवस्था छ। यसले स्थानीय खाद्यान्न र स्थानीय उत्पादन बिक्रि वितरणमा पनि टेवा पुर्‍याउँछ।

(३) अनुगमन र कडाई

पर्यटन बोर्डले जसले चाकडी गर्छ, आईफोनलगायत महंगा कोशेली पठाउँछ, विदेशमा त्यस्ता व्यक्तिलाई पर्यटन दुत नियुक्त गर्ने चलन छ। नवनियुक्त पर्यटन मन्त्रीले यो प्रथाको अन्त्य अविलम्ब गर्नु जरुरी छ। यस्ता व्यक्तिबाट नेपालको पर्यटन प्रवर्धनमा एक इन्च पनि टेवा पुगेको इतिहास छैन।

काठमाडौं–भक्तपुर, चितवन र पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक मैत्री एउटा पनि पार्क छैन। मन्त्रीज्यूले पर्यटक बसेर आराम गर्ने पार्क बनाउनेतर्फ ध्यान दिने हो कि?

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

पर्यटकलाई लक्षित गरेर खोलिएका सबै होटल रेस्टुरेन्टमा कम्तीमा ३–३ महिनामा मूल्य र सरसफाईको अनुगमन गर्ने हो कि? अझै पनि पोखरा लेकसाईडका धेरै रेस्टुरेन्टमा फेवातालको पानीले नै खाना पकाउदै आएको जानकारी मन्त्रीज्यू कहाँ नपुगेको हुनसक्छ। पर्यटकसँग चर्को शुल्क असुलेर होटल बुक गर्ने तर गाईड–पोर्टरलाई न्युनतम तलब दिने ट्राभल एजेन्सीलाई कारबाहीको दायरामा ल्याउनु जरूरी छ।

पर्यटन सम्बन्धी खोलिएका संघ–सस्था जो भाषण मात्र गर्छन् र मन्त्रीसँग सेल्फी खिच्न लालायित हुन्छन्, उनीहरूको कार्य क्षेत्र तोकिदिने हो कि?

भिसा शुल्क उठाएपछि प्रत्येक टोल र चोकमा पस्दा पर्यटकले चर्को शुल्क तिर्न बाध्य पारिन्छ।भक्तपुरमा चर्को शुल्क छ। ट्रेकिङमा जानेलाई ठाउँ ठाउँमा विभिन्न कर तिराइन्छ। यसरी बाटोघाटोमा जथाभावी रसिद काट्ने प्रवृत्ति अन्त्य गरिनुपर्दछ।

भीआईपी अवतरणको नाममा ३०–४५ मिनेट आकासमा जहाज होल्ड गराएर पर्यटकलाई ‘पहिलो गासमै ढुङ्गा’ भन्ने उखानझैं अवतरण नगर्दै भय र त्रासको स्थिति श्रृजना नगर्ने अवस्था बनाउन मन्त्रीज्यूले पहलकदमी गर्नु जरुरी छ।

संख्यात्मक भन्दा गुणस्तरीय पर्यटकको लागि जोड दिईयोस्। जसरी भुटानले दैनिक पर्यटकको बजेट तोके जस्तै नेपालमा पनि कमसेकम दिनमा ५० डलरसम्म खर्च गर्न सक्ने पर्यटन आउन् भन्ने तर्फ चनाखो हुनु जरूरी छ।

नेपालमा आउने पर्यटकले भन्दा नेपालबाट बाहिर जाने नेपाली पर्यटकले धेरै खर्च गरेको र नेपालमा रहेको वैदेशीक मुद्रा बाहिर नै गएको परिप्रेक्षमा आन्तरिक पर्यटकको लक्ष्यसहितको कार्यक्रम सार्वजनिक होस् भन्ने मेरो आग्रह छ। जस्तो कि, काठमाडौंमा बसेर असल कार्य गर्ने कर्मचारीलाई ७ दिने रारा (पुरस्कार स्वरूप) भ्रमण गराइयोस्। अनि मुस्ताङमा बसेर राम्रो कार्यसम्पादन गर्नेलाई हौसलास्वरुप जनकपुर, लुम्बिनी भ्रमण गराइयोस्।

नेपालको लोकल रक्सी संसारकै उत्कृष्ट पेयमा पर्छ। हामी कोरियाबाट छ्याङ्ग ल्याएर काठमाडा‌ैमा बेच्छौ। यस्तो कुराको अन्त्य गरि नेपालको कोदो फल्ने गाउँठाउँमा नेपाल कै मौलिक कोदोको रक्सी र छ्याङ्ग उत्पादन गरि नेपाली पेय पदार्थको प्रचारप्रसार गर्न सकियो भने दूर्गममा उत्पादन हुने कोदोले पनि बजार भाउ पाउने थियो।

अन्त्यमा,

आशा छ पर्यटन मन्त्रीज्यूले पर्यटन विकासको लागि सही निर्णय गर्नु हुनेछ। पशुपतिमा राष्ट्रिय गान गाउने जस्ता ग्ल्यामरस निर्णयले पर्यटन कदापी उठ्न सक्दैन। जुन ठाउँको जे मौलिकता हो, त्यसको जगेर्ना गर्नु मन्त्रीज्यूको पनि परम कर्तब्य हो।

पशुपतिनाथमा अनावश्यक हस्तक्षेप होईन, सुधार गर्नेतर्फ लाग्नुहोस्। प्रचारमूखी होईन, कार्यमूखी निर्णय गर्नुहोस्। बरू पशुपति विकास कोषले विश्व सम्पदा सूचीमा परेको ठाउँको विकास र विस्तारमा के–के काम गर्‍यो? त्यो खोज्नुहोस्। पशुपतिमा भेटी स्वरुप हुने आम्दानीलाई देश हितमा कसरी प्रयोग गर्न सकिन्छ? यसतर्फ ध्यान दिनुहोस्।

नत्र जुन जोगी आए पनि कानै चिरेको जस्तो नहोस्।

(यो लेखकको निजी विचार हो । यसमा बीएल नेपालीको सम्पादकीय नीति निरपेक्ष छ । -सम्पादक )

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज