‘मेरो छोरीले मैले झै शरीर बेच्न नपरोस्’ (भिडियो सहित)

१२ वर्षको उमेरमा विवाह भएकी झुमा (नाम परिवर्तन) का श्रीमान मजदुरी गर्न आएका बेला २०६० सालमा काठमाडौंमै बिते। ५० को दशक काटिसकेकी उनी अहिले राजधानीमा छोरीसँगै जीउनका लागि संघर्ष गर्दैछन्।

अवसरहरूको सहर काठमाडौं बाहिरबाट देखे जस्तो झिलीमिली र मिलेको रहेनछ। आफ्नो काठमाडौं बसाइका क्रममा उनले झिलीमिली भित्रको अध्यारो पाटो र मिलेको शहर भित्रको भताभूङ्ग जीवन फेला पारिन्। काठमाडौंमा उनले दुई छाक टार्न र आङ ढाक्न ठूलै संघर्ष गर्नुपर्‍यो।

झुमा राजधानीमा कुनै ठूलो सपना बोकेर पनि आएकी होइनन्। आफ्ना मरेका श्रीमानको मृत्यु प्रमाणपत्र लिन राजधानी छिरेकी उनी कहिले घर फर्किएर जान सकिनन्।

१२ वर्षकै उमेरमा विवाह भएकी झुमाको घर पश्चिम नेपालमा पर्छ। उनले गाँउमा घर व्यवहार भन्दा बाहिरको संसार कहिल्यै देखिनन्। दुई छोरा जन्मिए। श्रीमान भारतमा मजदुरी गर्थे। भारतको जागिरबाट रिटायर्ड भएपछि श्रीमान राजधानीमा बिजुली वाइरिङ्को काम गर्न गए।

उनको कामकै क्रममा मृत्यु भयो। राजधानीमा बुवासँगै रहेका दुई छोरा ठूला भइसकेका थिए। दुबै आ–आफ्नो लयमा हिडिँसकेका थिए।

श्रीमानको मृत्यु भए पनि उनले मृत्यु दर्ता गर्न पाइनन्। मृत्यु दर्ता गराउन मृत्युको प्रमाण आवश्यक थियो। शिक्षण अस्पतालमा मृत्युको प्रमाणपत्र लिनका राजधानी आइन्।

एउटा आस यति थियो, श्रीमानको मृत्यु भएको प्रमाणपत्रले गाँउमा गएर एकल महिलाको भत्ता लिनु र बुढेसकाल राम्ररी बिताउनु। तर, भयो त्यसको ठीक विपरित। झुमालाई मृत्यु प्रमाणपत्र मिलेन।

अस्पतालको प्रांगढमा कुरिरहेको बेला एक जना महिला आइन्। एउटा झोला छेउमा राख्दै उनले त्यो झोला हेदिन भनिन्। तर, ती महिला फर्केर आइनन्। झुमा त्यो झोला कुरेर बसिरहेको बेला कालो कपडामा बेरिएको झोला हल्लियो। त्यसपछि अस्पताल परिसरमा हल्ला मच्चियो। बच्चालाई उपचारका लगियो, उपचार गरिसके पछि पनि त्यो बच्चा लिन कोही आएनन्। ‘सबैले छोरा भए लान्थेँ छोरी रहेछ लाँदैनौँ, भन्दै नाक खुम्चाए' झुमा सम्झिन्छन्।

‘बच्चा कसैले नलगेपछि छोराको कोठामा लगेर गएँ, उनीहरुले पनि कस्को छोरी बोकेर ल्याइस्? बिना बाउको छोरी भनेर घरबाट निकाले’, उनले रुँदै भनिन्, ‘आफूले नौ महिना गर्भमा राखेको छोराहरुले चरित्रमा औला ठड्याए।’

घरमा आँखा नदेख्ने सासु, ससुरा थिए। आर्थिक अवस्था एकदमै कमजोर थियो। घर जान सकिनन्। माइती गइन्। माइतीमा आमा, बुवा र दाइ थिए। ‘दाइलाई घटनाको विवरण सबै सुनाएँ तर फिल्मको कथा जस्तो मेरो कुरा पत्याएनन्’, उनले थपिन्, ‘फिल्मको कथा सुनाउछेस्, कसैले बच्चा बाटोमा पाउँछ? बिना बाउको छोरी जन्माएर आइस भनेर दाइले पिटेर मइतीबाट निकाले।’

नवजात शिशु बोकेर फेरि उनी फर्केर राजधानी आइन्। उनका लागि राजधानी बिरानो सहर थियो।

उनले बाटोमा हिँड्दा चिनेकी मकै पोल्ने दिदीलाई भेटेर आफ्नो कथा सबै सुनाइन्। उनको घरमा ४–५ दिन बसिन्। ती दिदीले उनलाई एउटा माडेको घरमा सरसफाई गर्ने काममा लगाइदिइन्।

उनी त्यहाँ घर सरसफाइ गर्नुका साथै भाडा माझ्ने काम गरिन्। एक दिन त्यो व्यक्तिले उनीसँग जर्बजस्ती गर्न खोजेपछि राति नै छोरी च्यापेर भागिन्।

झुमाले रूदैँ भनिन् ‘मैले परिश्रम गर्न खोजेँ। तर, सबैले मेरो शरीरमा रजाइ गर्न खोजे।’ त्यसपछि तिनै दिदीले झुमालाई पैसा आँउछ भनेर एउटा होटलमा पुर्‍याइन्। ‘नचाहँदा नचाहँदै पनि म यो काम गर्दै छु हजूर’, भक्कानिँदै उनले भनिन्।

‘मैले श्रम बेच्न खोजेँ, तर अरूले मेरो शरीर किन्न खोजे,’ उनले बिएल नेपाली सेवासँग आफ्नो वास्तविकता सविस्तार बताउने क्रममा धेरै पटक भक्कानिइन्। उनका आँखा रसाइरहेका थिए। तर पनि उनले आफूलाई बलियो देखाउँदै थिइन्।

आँशु र आक्रोश उनको एकपछि अर्को देखिइरहेको थियो। आफ्नो जीवनको ६ दशक पार गर्दै गरेकी झुमा किन शरीरको मोलमोलाई गर्न सडक र होटलमा जान्छिन्?

यी चाउरिएका गालामा अप्राकृतिक मुस्कानको लाली लगाएर अझै पनि यौवनको लिलामीमा रमाउने को हुन्छन्? मेरो कौतुहलता बढ्दै गयो। उनी सबैभन्दा फरक पात्र थिइन्। उनी जस्ता पात्र अरू नदेखेको पनि होइन। तर, उनको फरक उमेर, फरक लवज थियो।

कथा सुन्दा र हेर्दा चलचित्रकी काल्पनिक पात्र झै लाग्छ। सपनाको शहर राजधानीमा जीवनकी एउटा पात्र झुमा दैनिक आफ्नो पाँच दशक पार गरेको बुढ्यौली शरीर बेच्न धाउँछिन्।

उनको शरीरले कहिले मूल्य पाँउछ। कहिले त शरीर बेचेर कमाएको पैसा पनि सडकमै लुटिन्छ।

उनलाई हेर्दा र उनको बारेमा सुन्दा कसैलाई पनि लाग्दैन होला उनी शरीर बेचेर छोरी पाल्छिन् भनेर। उनीसँग कुरा गर्दैजाँदा शरीर बेच्नु उनको रहर होइन बाध्यता भएको सुनाइन्।

झुमासँग बीर अस्पतालका डाक्टर आँउछन्। उनी अचम्म पनि मान्छिन्। कसैको विश्वास छैन यो संसारमा। यो जमानामा कसको भर परौं?, कसको विश्वास गरौं?

उनी यो संवाददातासँग भन्दै थिइन्, 'तिम्रो व्याइफ्रेण्ड छ? छ भने विश्वास नगर्नु है, के थाहा ऊ पनि अरूसँग सुत्न जान्छ कि?'

प्रहरीले पनि आफूसँग जर्वरजस्ती गरेको उनी सम्झन्छिन्। 'तैले मानिनस् भने भित्र हालिदिन्छु भनेपछि के गर्ने त? उनले बाध्यता सुनाइन्, ‘कहिले प्रहरीले ड्रेसमै बन्दुक देखाएर बाटोमै जबरजस्ती गरे भने कहिले 'वेश्या' भनेर थुनेँ। तर, थुनाबाट निकालेर ट्वाइलेटमा लगेरसमेत मेरो शरीरमाथि खेले।’

उनकी छोरी अहिले १५ वर्षकी भइन् । बुढ्यौली शरीर, हुर्कर्दै गरेकी छोरीको जिम्मेवारीले उनी दिनप्रतिदिन थला पर्दैछिन्। आफूले जे गर्नुपरे पनि छोरीलाई असल मान्छे बनाउने उनको सपना छ।

छोरीको स्कुल खर्च जोहो गर्नकै लागि झुमा दैनिक सडकका गल्लीमा आफ्नो शरीर बेच्न जान्छिन्। कोठाको भाँडा, दैनिक खाद्य सामाग्री जुटाउन र छोरीको विद्यालयको खर्च जोहो गर्न नसक्दा कहिले काँही मर्न मन लाग्छ रे उनलाई। तर, छोरीको मुहार हेरेर आफैंलाई रोक्छिन्।

झुमाले सडकको छेउमा तरकारी बेच्ने काम पनि गरिन्। तर, महानगरपालिका आउने फ्याँकिदिने गर्‍यो। फेरि किनेर ल्याउने ल्याकत थिएन।

उनकी छोरीलाई आमाले के काम गरेर घर व्यवहार चलाउँदै आएकी छन् अहिलेसम्म थाहा छैन।

शालनालसहित अस्पताल परिसरमा झोलामा राखेर भाग्ने आमाको बारेमा छोरीलाई केही भनेकी पनि छैनन्। झुमालाई नै आमा भन्छिन्। ‘रहरले होइन शरीर बेचेको, कहिँ केही नलागे पछि मात्रै मैले शरीर बेचेको हुँ, पढेको छैन, मजदुरी गर्न जाँदा पनि शरीर नै ताके’, उनले भनिन्, ‘माग्न बसौं भने सद्दे हात खुट्टा लिएर कसरी म बसौं?, मेरो छोरीको पढाई खर्च र छोरीको स्याहारसुसार गर्न पुग्ने व्यवस्था कसैले गरी दिए म ढुक्कले मर्थेँ।’

झुमालाई एउटा चिन्ता सँधै सताउँछ। भन्छिन्, ‘मेरो छोरीले मैलेझै शरीर बेच्न नपरोस्।’

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज