गायिका खीमा रोकामगरलाई विकृतिको चिन्ता!

तस्बिरः बिएल

समय बलवानसँगै परिवर्तनशील छ। संसारमा केही पनि स्थिर छैन। यो अस्थिर संसारमा आफू स्थिर हुँला कि नहुँला भन्ने पिरलो सँधै हुन्छ। यसैले बेलाबेलामा झस्काइरहन्छ।

हरेक क्षेत्रका सकारात्मक नकारात्मक पाटाहरु छन्। केही साह्रै राम्रा र केही विकृति लोक गीतमा पनि भित्रिएका छन्। आज हामी पश्चिमा संस्कृति भनेर जसलाई आलोचना गरिरहेका छौं, ती पश्चिममा पनि छाडा मानिएका छन्।

नेपालमा हरेक क्षेत्रमा छाडापनको कुनै न कुनै अंश पसेको छ। पसाइको छ। हरेक सचेत नागरिकको लागि यो चित्त दुखाइको विषय बनिरहेको छ।

लोकगायिका खीमा रोका मगरलाई पनि यिनै कुराको पिरलो छ। उनी आफैंलाई प्रश्न गर्छिन्, ‘कतै मलाई पनि यी विकृतिले छुने त होइन ? म पनि एकएक पाइला गरेर यसको हिस्सेदार पो हुने हुँ की ?’

संगीतलाई इंगित गर्दै भन्छिन्, ‘हुन त हरेक पेशाभित्र विकृति छ। अझ गायन क्षेत्रमा त जस्ता पनि मान्छे हुन्छन्। यो पेशा महिलाका लागि अझै  चुनौतिपूर्ण छ । छोरी मान्छे भएकाले अलि डर लाग्छ। यस्तो लाग्छ छोरी भएपछि जन्मदैको एउटा हिस्सा डर पनि हो।’

उनी यति बेला गायनकै क्रममा बेलायत पुगेकी छिन्। जहाजमा उडेर बेलायत बस्ने सम्पूर्ण नेपाली भेट्न पाउँदा खुसी लागेको बताउँछिन्।

गायन क्षेत्रमा स्थापित हुन सजिलो छैन। सोकका लागि गीत, संगीतमा लाग्नेहरुका लागि गीत चलोस् वा नचलोस् ठुलो विषय होइन। तर जीवनको लक्ष्य बनाउनेहरुका लागि निकै ठूलो कुरा हो। हुन त भविष्यको रेखा कोर्न त्यति सजिलो पनि छैन। जिन्दगीको गोरेटो फूलको बिछ्यौना जस्तो पनि छैन। खुकुरीको धारमा हिड्नु नै जिन्दगी मान्न तयार भैएन भने संघर्षदेखि एक कदम पछाडि हटेको जस्तो हुन्छ।

तर, खीमाका लागि यी सबैलाई पचाउन सक्नु नै जिन्दगी हो। उनी भविष्यलाई रङ्गिन बनाउन अहोरात्र खटिरहेकि छिन्। चार महिनाको लागि बेलायत उडेकी उनी विदेशमा रहँदा आफ्नो कर्म थलो काठमाडौं र जन्मथलो बाग्लुङलाई सम्झिरहेको बताउँछिन्। सबैभन्दा बढी प्यारो देश नेपाललाई सम्झिरहने उनी भन्छिन् ‘कार्यक्रमको बेला सबैसँग रमाइन्छ तर एक्लै कोठामा बसिरहँदा न्यास्रो लाग्दो रहेछ।’

उनको जन्म सामान्य परिवारमा भयो। आमा–बुवा दुबैले सोलुखुम्बुमा २०६५ साल तिर सानो तिनो व्यवसायमा काम गर्थे। त्यति बेला उनी सानै थिइन्। लोकदोहोरी उनलाई सानैदेखि गाउन मन परे पनि लजालु स्वभाव भएका कारणले खुलेर गीत गाउन सक्दिन थिइन्।

तर इन्द्रेनीको कार्यक्रम हेरिरहेकी हुन्थिन्। इन्द्रेणीको त उनी फ्यान नै थिइन्। २०७० सालमा एस.एल.सी दिएकी उनी आफ्नो भाग्य चम्काउने वर्षको रुपमा लिन्छिन्। भयो पनि उस्तै। त्यो वर्ष इन्द्रेणी टिम उनको गाउँमा गएको थियो। गीत गाउन मौका पाइन्। इन्द्रेणी टिमका संस्थापक कृष्ण कँडेलले उनको सुरिलो स्वरलाई मन पराए। अनि सुरु भयो उनको गायन यात्रा। उनी इन्द्रेणी टिमकी सदस्य हुन कँडेलसँगै जानुपर्ने भयो।

सँगै बसेका छोरा–छोरी घरबाट टाँढा जान लाग्दा आमा–बुवाको अनुहार निन्याउँरो हुनु स्वभाविकै थियो। झोला भिरेर छोरीले यात्रा तय गर्दा, आमाका आँखा रसाइरहेका थिए। उनको मनमा उमंग भरिएको भए पनि अनुहार उज्याले हुन सकेको थिएन। घरमा भएकी प्राणभन्दा प्यारी आमाको आँसुको मोललाई जिन्दगीको सपना मानेर उनी काठमाडौं लागिन्।

हुन त संघर्ष फूलदानीका राखिएको गुलावको फूलस्तो हुने कुरा पनि थिएन। आमाका आँसु पुछ्दै घरमा बसेर हुनेवाला पनि केही थिएन। त्यसैले छोड्न नै थियो घर अनि छोडिन्, आमा रुँदारुँदै।

२०७३ सालमा मनमा धेरै रहर अनि थोरै पीर लिएर भविष्यको बाटो पहिलाउन सपनाको शहर पसिन्।

यो व्यस्त सहरमा केही दिन आफन्तको घरमा बसिन्। सँधै आफन्तलाई असजिलो बनाउने मनसाय नभएपछि उनी कोठा भाँडामा बस्न थालिन्।

दोहोरीमा काम गर्दा, पुराना गीतहरुमा दोहोरी गाउन नआउँदा र जति नै मिहिनेत गरेर गाए पनि अग्रजहरुले मिलेन भन्दा नरमाइलो लाथ्यो। बिएल नेपालीसँग कुरा गर्दै भनिन्, ‘म त फुल्न चाहने सानो कोपिला हुँ, जम्मा तीन वर्ष मात्र भयो संगीतमा टेकेको। अझै सिकिरहेकै छु। सिक्न अझै धेरै बाँकी छ। संगीत भित्र बिक्न भन्दा पनि टिक्न चाहन्छु।’

उनले पढाइलाई नि निरन्तरता दिने सोच बनाएकी छन्। तर समय मिलाउन निकै गाह्रो भैसकेको छ। भन्छिन्, ‘बिए पढ्नका लागि भर्ना गरेकी छु। यताउताको कार्यक्रमले पढाइलाई निरन्तरता दिन सकेकी छैन।’

दोहोरी खेल्नमा खप्पिस उनको पहिलो गीत ‘आँखै गाजलु’ हो। यो गीत खासै चलेन। पछि गाएको ‘आलु मिठो तारा खोलाको.....’ नामक गीतले उनलाई धेरै चर्चाको शिखरमा पुर्‍यायो।

पाँच वटा एल्बम निकालिसकेकी उनले एक दर्जन गीतमा आवाज दिएकि छिन्। ओमानलगायत तीन वटा देश घुमिसकेकी उनी नेपालका विभिन्न जिल्लाहरुमा गायनकै सिलसिलामा पुगेकी छिन्।

दर्शकहरुसँग अपिल गर्दै भन्छिन्, ‘म संगीत क्षेत्रकी यात्री हुँ। तपाइँहरुको साथ बिना मेरो जीवन अधुरो रहने छ।’ उनी भर्खरै मात्र गायन क्षेत्रमा पाइला टेकेकी गाइका हुन्। सांगीतिक बजारमा प्रवेश गरेको तीन वर्ष भयो। तर उनको चर्चा भने दशौं वर्ष गायन क्षेत्रमै रहेर खारिएकी गायीका भन्दा कम छैन।

खीमाको घरमा बुवा–आमा, एक दिदी र एक दाइ छन्। उनी घरकी माहिली छोरी हुन्। २०७३ सालमा काठमाडौं आएकी उनले दुई वर्ष दोहोरी साँझमा काम गरिसकेकि छिन्।

कक्षा ११, १२ पढ्दा उनी सोलुखुम्बुको एफएममा कार्यक्रम सञ्चालन गर्थिन्। त्यसबेला उनको कार्यक्रम दोहोरी गाउने थियो। त्यति बेलादेखि नै उनले फ्यान बटुल्न थालेकी थिइन्।

हाल उनी गायन क्षेत्रभित्र पनि विकृति भएको बताउँछिन्। ‘यो क्षेत्रमा पनि विभिन्न गलत मानसिकता बोकेका केही मानिसहरु छन्,’ उनी विकृति बिरुद्धको अवाजलाई यसरी पोख्न खोज्छिन् ‘यहाँ हाइ लेबलमा पुर्‍याइदिन्छु भनी फूर्तिफार्ति लगाउनेहरुको कमी छैन।’

त्यसैले पाइलापाइलामा होस पुर्‍याएर हिँड्नु परिरहेको छ, उनी जस्तै कैयौं गायिकाहरुले। शहरले कतिलाई विश्वासमा बाँच्न सिकाउछ त कतै विश्वासघात नगर्ला भन्न पनि सकिदैन।

कतै आशा, कतै निराशा, कतै विश्वास, कतै शंका। यी सबैको संयोग नै जिन्दगीको गोरेटो हो। उनको सुरीलो स्वर सुनेकाहरु जिन्दगीको गोरेटो सधै अब्बल हुँदै गरेकी उनलाई शुभकामना नदिनु अन्यथा जस्तै हुन्छ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज