संघर्षका घुम्तीहरू

तस्बिरः बिएल

एकोहोरो आफ्नो गतिमा निरन्तर दौडिरहन्छ समय। समयसँगै विगत बन्दै जान्छन् जीवन जगतमा घटित घटनाहरू पनि। तर छेड्दैन मनले सम्झिन।

यादका त्यान्द्राहरू सल्बलाएकै हुन्छन् आफन्तहरूका स्मृतिपटलमा। डा. जयराज पन्तकी बृद्ध दिदी पशुपती ओझा बेलाबखत उनलाई सम्झेर

रोइरहन्छिन अहिले पनि। कोही अपरिचित हुन् वा परिचित काठमाडौंबाट गएका व्यक्तिलाई देख्दा अझै पनि सोध्न मन लाग्छ उनलाई भाइको खवर।

सजिलो कहाँ हुन्थ्यो र मन थाम्न। आइरहन्छ भक्कानो छातीमा। रसाइ दिन्छन् आँखा उसै गरी। उसो त बेलाबखत सम्झिरहेकै छन् अधिकांश सुदूरपश्चिमेलीहरूले पनि उनलाई।

वर्षदिन अघि डोटीको तिजाली गाउँ पुगेको बेला डोटेली लोकसाहित्यको कुराकानीका क्रममा लक्ष्मीले भनिन्– जयराज सरकी दिदीले सोधिराख्नु हुन्छ।

भेट्ने मन गरिराख्नु हुन्छ। आएको बेला भेट गरिहाले हुन्थ्यो। म केही नबोली चुपचाप सुनिरहेँ। मलाई भेट्न मन नलागेको हैन तर उहाँको अगाडि पर्न निकै गाह्रो महसुश भैरहन्थ्यो।

एक पवित्र निश्चल श्रद्धालु मन रुन थाल्दा के भनेर सम्झाउनु। जोसुकैले पनि रुन थाल्दा मसँग सम्झाउने वा कुरा गर्ने शब्द नै हुँदैनन्। बरु आफु पनि सँगसँगै रोइदिन बेर लाग्दैन। यो बढी भावुकताको उपज हो। मलाई थाहा छ आफ्नो कमजोरी। मेरो यही कमजोरीका कारण म त्यहाँ पुग्दा नभेटी फर्केको थिएँ तीन चार पल्ट। कैयौंपल्ट उहाँलाई देख्दा अन्यत्र बाटो मोडेर हिँडेको थिएँ।

त्यो खबर पाए पछि बाध्य भएँ भेट्नलाई। भेटमा अश्रुपूर्ण बन्नु भयो। भाइसँग भेट हुन्थ्यो कि हुँदैनथ्यो ? के कुरा हुन्थे लगायतका प्रश्नहरू मतिर तेस्र्याउँदै परेली पुछ्न थाल्नु भयो। भावपूर्ण मुद्रामा छोटो उत्तर दिइरहे मैले पनि। केही क्षणको भेटघाट पछि बिदा मागेर छुट्टिएँ। बाटोमा सम्झिएँ दिदी भाइ बीचको प्रेम। त्यो दुखद क्षण। विगतका ति दिनहरू।

औंला भाच्दै वर्ष गनेँ। डा. जयराज पन्तले यो धर्तीबाट बिदा लिएको पनि तीन वर्ष नाघिसकेछ। कतै अज्ञात लोकमा गए उनी पनि अरुझैं कहिल्यै नफर्किने गरेर। भनिन्छ मान्छे मृत्यु बोकेरै आउँछ। जन्मे पछि मृत्यु निश्चित छ। मात्र समय थाहा हुँदैन, स्थान थाहा हुँदैन र हुँदैन थाहा कसरी मर्छु भन्ने कुरा पनि। प्रायजसो अन्तिम घडीमा केही न केही भएर पूर्वसंकेत पाएर बिदा हुन्छन्। कोही मान्छे एकाएक पत्याउनै नसकिने गरी जान्छन्। त्यसरी पत्याउनै नसकिने गरी एकाएक पृथ्वीबाट क्षितीज पारिको यात्रामा निस्कने मध्यका थिए डा. जयराज पन्त र उनकी श्रीमती गुड्डी पन्त पनि।

गाउँको सिरानीमा कुल देवताको मन्दिरमा पन्त परिवारले सप्ताह लगाइएका थिए। त्यसै कार्यमा सहभागी हुन काठमाडौदेखि हिँडेका थिए सबैजना। बनेडुग्रीसैनबाट उकालो चढेपछि घर पुग्न नपाउँदै पल्टिन पुग्छ जिप। जसभित्र रहेका डा. पन्त दम्पतिसँगै पूर्वपशुसेवा निर्देशक डा. गणेशराज पन्त र सावित्रा पन्तले पनि बिदा लिए धर्तीबाट सदाका लागि।

सावित्रा पन्त एक समाजसेवी महिला थिइन। पद्मकन्या क्यामपसमा प्राध्यापन गर्थिन। साथै बिभिन्न संघसंस्थामा आवद्ध एक कुशल लेखिका पनि थिइन। करिव नौ दस वर्ष अगाडि साबित्रा मेडमसँग बानेश्वरको एउटा कलेजमा सँगै काम गर्ने अवसर मिलेको थियो।

ततपश्चात डोटेली समाज काठमाडौको कार्य समितिमा संगै काम गरेका ती पलहरू हिजो मात्रै हो कि जस्तो लाग्छ। हेरम्बराज पन्त र उनको जोडी एक नमुना जोडी थियो। धर्मपुत्र पालेर बसेका थिए दुई जना। उनी जस्तो सालिन भद्र र सिर्जनशिल महिला मैले मेरो जीवनमा निकै नै कम देखेको छु। अन्तेष्टिका बेला उनका श्रीमान हेरम्बराज पन्तले साबित्रा अब ढोका कसले खोल्छ ? भन्दै डाको छोडेका थिए भन्ने खवर सुन्दा मन थाम्न निकै गाह्रो भएको थियो मलाई।

२०७२ चैत्र मसान्तकै दिन जे नहुनु थियो त्यो भैदियो। डा. पन्त लगायत उनका परिवारका अन्य सदस्यहरू चढेको भ्यान पल्टिन पुग्यो पहाडको डरलाग्दो घुम्तीमा। बल गुडेझैं गुड्दै गएको गाडी रोकियो निकै नै तल गएर।

भोलिपल्ट नयाँ वर्षको आगमन थियो। नयाँ वर्षमा आफ्नो गाउँठाउँमा बनाइने विसुँ पर्वको रौनक हेरेर विगतका दिनहरूको यादमा चुर्लुम्म डुब्ने उनको उत्कट इच्छा अधुरै रह्यो। नयाँ वर्षको आगमन भयो उनको पार्थीव शरीर धर्तीबाट बर्हिगमन भयो।

एकाबिहानै मलाई त्यो दुखद घटना सुनाउने फणिन्द्र साउँदको आवाजको ध्वनी निकै गम्भीर र अश्रुपूर्ण थियो। जब मानिस भावना र संवेदनाले ओतप्रोत हुन्छ तब आँसु झर्छन्। सानो बच्चालाई वा सम्वेदनशील नरनारीहरूलाई कुनै किसिमको चोट लाग्दा, भावनाले चिमोट्दा ,त्यो चोटले भन्दा चोट खानु परेको अथवा दुःख भोग्नु परेको परिस्थिति र परिवेशले सम्झी सम्झी रोइरहने बनाइरहेको हुन्छ।

त्यसैले संवेदनशील प्राणीमा जब सम्झना र भावनाका धर्साहरू दिमागमा फनफन्ती घुम्न थाल्छन् तब आँखा रसाउन थाल्छन्। डोटीको जिजोडामाडौंमा घटेको त्यो अकल्पनीय घटनाले कैयौको मन छिया छिया भएको थियो। त्यतिबेला ओभाना थिएनन् कयौं शुभेच्छुक र आफन्तहरूका आँखा।

डा. तुलसी भटट्राईले रेडियो नेपालमा डा. नवराज लम्सालसँग भनी रहेका थिए सुदूरपश्चिमले मात्र हैन राष्ट्रले नै लोक साहित्य र संस्कृतिका क्षेत्रमा ठूलो निधि गुमाएको छ।

सामान्य खेती किसानी गर्ने र स्पष्टसँग बोल्न नसक्ने दयानिधी पन्त र राधा पन्तका तीन छोरी र एक छोरा थिए। ती छोरा तिनै डा. जयराज पन्त हुन्।

२०१० सालमा डोटीको जैनोली गाउँमा जन्मेका पन्तको परिवारिक अवस्था सामान्य थियो। सोझा इमानदार र स्वाभिमानी आमा बुवाले जेनतेन गरेर धानेकै थिए परिवार। छोरा छोरीलाई बिद्यालयमा पढाएकै थिए। कक्षा चारसम्म गाउँकै गणेश पूर्वप्राथमिक विद्यालयमा अध्ययन गरेका पन्त पाँच कक्षादेखि उच्चाकोटको सीताराम हाइस्कुलमा अध्ययन गर्नेक्रममा ११ वर्षको उमेरमै आमा गुमाउन पुगे।

हैजाले थला परेकी आमाले पानी पानी भनिरहदा एक घुट्को पानीसम्म पिलाउन नसकेको पीडा थियो उनीसँग। जुनकुरा कैयौ पल्ट उनको मुखारबिन्दुबाट सुनिन्थ्यो । दुई जना दिदीहरूको बिहे भैसकेको थियो। २ वर्षकी बहिनी र बुवालाई एक्लै छोड्न त्यति सजिलो कर्म थिएन उनका लागि। इच्छा नहुँदा नहुँदै पनि वाध्यात्मक परिस्थितिका कारण जमुना पनेरुसँग विबाह बन्धनमा बाधिन पुगे उनी। चौधवर्षको उमेरमा बुवाले पनि साथ छोडे । सानै उमेरमा काँधमा घरपरिवारको जिम्मेबारी आइपुग्यो।

एस.एल.सी. पास भएपछि उनको यात्रा तय भयो हरिद्वारतिर। घरमा जमुनाले छोरो जन्माइन। त्यो छोराले पनि उनलाई साथ दिएन। १० महिनामै बिदा भयो सदाका लागि। हरिद्वारबाट शास्त्री उत्तीर्ण गरेर घर फर्के उनी। केही महिना घर बसेर पुनः अध्ययनका निम्ति हिँडे काठमाडौंतिर। उनी काठमाडौं गएको केही समय पश्चात घरमा पुत्रीको आगमन भयो।

केही दिनमै पुनः श्रीमतीको मृत्युको दुखद खवर सुन्नु परेपछि, दुखीको घरमा मात्रै तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे भनेझैं भयो। काठमाडौबाट तुरुन्तै घर फर्के। श्रीमतीको काजक्रिया उनका काकाले गरेका थिए। उनलाई सम्झेर अझै रोइरहेकी तिनै दिदी पशुपती ओझाले ती अवोध पुत्रीलाई जिम्मा लिइन।

घरको दैलोमा ताल्चा झुण्डियो। आँखाबाट बलिन्द्र धारा बग्न थाले। रुँदै दिदी भाई आआफ्नो मार्ग तिर लागे। कुनै फिलिमको पटकथा भन्दा कम थिएन त्यो दृश्य। छरछिमेकी धर्ती आकाश सबै टोलाएझै देखिए। उनी हिँडिरहे नितान्त एक्लो बनेर। विरहले भरिएको जिन्दगीको एक्लो यात्री बनिरहे।

मनमा धैर्यता र शाहसको कुटुरो बानेर निस्किएका हुन डा. पन्त काठमाडौको यात्रा गर्न। आमा बुवा श्रीमती छोरा छोरी सबै गुमाएर एक्लो जोगी जस्तो जिन्दगी घकेलिरहे । यतिले मात्र पुगेन भनेझैं भगवान्ले पुन थपे दुःखको गाग्री। खवर आयो दिदीको जिम्मा लगाएकी छोरी पनि बिदा भइ भन्ने। नियतिको उपहार ठाने उनले हरेक पल्ट जिन्दगीको घुम्तीमा देखापरेका दुखका घडालाई।

दुःखका तिनै घडालाई पिए सजिलैसँग। ज्ञानका भोका बनेका पन्तले आफुलाई सम्हालेर पाइला चालिरहे शैक्षिक गोरेटोमा। २०३६ सालमा त्रि.वि. बाट नेपाली विषयमा प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भए लगत्तै त्रिचन्द्र कलेजमा अध्यापन गर्ने अवसर पाए। सोही समयमा गुड्डी उप्रेतीसँग वैवाहिक जीवनमा बाधिए।

२०३८ सालमा आफ्नै क्षेत्रमा सेवा गर्ने उद्देश्यले उनी कैलाली बहुमुखी क्याम्पसमा अध्यापन गर्न पुगे। त्यहाँ बस्दा आफ्नै सम्पादनमा सेतीको सुसेली नामक पत्रिका समेत चलाए।

केही समय उक्त क्याम्पसमा अध्यापन गरेका पन्तले पछि त्रि.बि. सेवा आयोगमा नाम निकालेर उपप्राध्यापकको नियुक्ति बुझे। बिस्तारै हाडीगाउँमा घर बनाए। दुबैजना अध्यापन कार्यमा तल्लिन रहन थाले। घरमा दुईटा पुत्रको आगमन भइसकेको थियो।

कुमाउँ गडवालदेखि मध्य तथा सुदूर पश्चिमको लोक साहित्य र संस्कृतिमा लामो समयसम्म खोज अनुसन्धान गरिरहे ।

२०२६ सालतिरै फ्रेन्च नागरिक मार्ग गवेरियोले डोटी आएको बेला भाट, दमाइ र गन्धर्वका गीतहरू संकलन गरेर लगेका रहेछन्। र हाम्रा पुर्खा आर्य हुन यो संस्कृति पनि हाम्रा पुर्खाकै हो भनी फ्रान्सको संस्कृति मन्त्रालयलाई जिम्मा लगाएछन् तर उनीहरूलाई ती गीतको अर्थ थाहा थिएन।

पछि तिनै डा. पन्तले ती गीतहरूलाई नेपाली भाषामा अनुवाद गरिदिए र नेपाली भाषाबाट फ्रेन्च र अँग्रेजी भाषामा अनुवाद गर्न सजिलो हुन गयो। हाल ती गीतहरू फ्रेन्च र अँग्रेजी भाषामा अनुवाद भएर धधध।मयअत।कतयअप नामको वेबसाइटमा राखिएको कुरा विजया श्रेष्ठ केसीले सुदूरपश्चिमका केही प्रेरणदायी व्यक्तित्वहरू नामक पुस्तकमा उल्लेख गरेकी छन्।

भारतको पटना विश्वविद्यालयबाट कर्णाली र डोटी क्षेत्रका संस्कार, कुमाउँनी एवं डोटेली लोकगीत विषयमा विद्यावारिधि गरेका पन्तले पछि त्रिभुवन विश्वविद्यालयबाट डोटेली पार्विक फागहरूको सङ्कलन र अध्ययन विषयमा दोस्रो विद्यावारिधि गरे।

प्राध्यापक पदबाट उमेरका हिसावले अवकाश पाएका पन्त सक्रिय थिए लेखन कार्यमा। उनकै प्रेरणाले धर्तीबाट बिदा हुनुभन्दा पाच सात महिना अघि मात्रै श्रीमति गुड्डी पन्तले विद्यावारिधिका लागि सुदूरपश्चिमको देउकी प्रथाका बिषयमा तयार पारिएको थेसिसको फाइनल कपी त्रि.विमा पेस गरेकी थिइन। दुईजनाको प्रेमिल सम्बन्ध र अध्ययन अनुसन्धानमा लागिरहने बानी थियो।

सुदूरपश्चिमको लोक साहित्य र संस्कृतिका बारेमा कलम चलाउने पहिलो व्यक्ति हुन स्व. देबकान्त पन्त। बिभिन्न ताम्रपत्रको अध्ययनदेखि अन्य खोजमूलक कार्य गरी नेपाली लोकसाहित्यको क्षेत्रमा ठुलो योगदान पुर्‍याएर गए देवकान्त पन्तले।

देबकान्त पन्तकै गोरेटो पछ्याइरहेका छन अन्य लोकसाहित्य र सस्कृतिका अन्वेषकहरूले पनि। डा. जयराज पन्त पनि देवकान्त पन्तबाटै प्रेरित देखिन्छन्।

पछिल्लो समय हाम्रा आफ्ना मूल्य मान्यता भाषा संस्कृति र लोकसाहित्यप्रति निकै गम्भीर ढंगले सोच्नुका साथै निरन्तर खोजनीतिमा लागि परेका थिए उनी।

बाल्यकालदेखि संघर्षमय जीवन बिताउदै आएका डा. पन्तले कैयौ पत्रपत्रिकाको सम्पादक भएर काम गरेको देखिन्छ। नेपाली भाषा साहित्य र लोकसाहित्यको अध्ययन अध्यापनमै जिन्दगी समर्पण गरे।

अँजुलीभरी सगुन पोल्टाभरि फाग, डोटेली धमारी गीत, मष्टा परम्परा र त्यसका गीतहरू, डोटेली गोरा पर्वका गीत र गाथाहरू, डोटेली भो पर्वका गीत र गाथाहरू जस्ता कृतिहरू नेपाली लोकसाहित्यको क्षेत्रमा सुम्पेर गए।

सेवा निवृत्ति पछाडि जुनढंगले उनले लोक साहित्यको क्षेत्रमा काम गर्ने सोच बनाएर यात्रारत थिए त्यो सोच दैवले पुरा हुन दिएन।

तथापि हालसम्म उनका प्रकाशित लेख रचना र कृतिहरू थुप्रै छन। सुदूर पश्चिमको लोकसाहित्यमा ठुलो योदान रहेको छ उनको। माटोको सुवास र सौन्दर्य अनि आफ्ना जराहरूको बारेमा स्नेहील अनि भावपूर्ण ढंगले कलम चलाउने श्रष्टा हुन् उनी।

जीवनमा संघर्षका अनगिन्ती घुम्तीहरू पारगर्दै हिँडेका पन्तले अन्तमा पुर्खाकै जमिनको त्यो घुम्तीमा जिन्दगीको अन्तिम सास फेरे। त्यो अकल्पनीय घटना जुन ठाउँमा घट्यो त्यो जमिन पन्तहरूकै पुर्खाको थियो। जयराज पन्तकै संकलनको एउटा गीत सम्झिन मनलाग्छ यतिखेर। 

अँगालो कसिन लाग्यो काली तरनतिक
एकै ठौर एकै शिरान भइजाउ मरनतिक

गीतले भने जस्तो पन्त दम्पतीको अन्तिम अवस्थामा एउटै शिरानी भयो या भएन। छट्पटिदै गर्दा एकले अर्कालाई सम्बोधन गर्न आवाज निकाल्न पाए या पाएनन्। कैयौं मनलाई रुवाएर दुबैले एकै दिन सँगसँगै यो धर्तीबाट बिदा लिए।

मृत्यु वास्तविकता हो। एक दिन त सबैले जानु नै छ। ढीलो चाडो मात्र न हो। आउन त सबै खाली हात आए र खाली हात नै जाने हुन्, प्रश्न हो लोकले कसको मृत्युमा कति अफसोस प्रकट गर्‍यो। कति आँसु बगायो। त्यसैले बेलाबखत गुनगुनाउन मन लाग्छ महमूद रामपुरीका यी शब्दहरूः

मौत उसकी है करे जिसका जमाना अफसोस
यूँ तो दनिया मे सभी आये है मरने के लिए

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली