डेंगु नियन्त्रणका लागि महानगरपालिका सरसफाईमा जुट्यो, रातारात फोहोर उठाउने अभियान शुरु

वीरगन्जको मुर्ली चौक, त्रिमूर्ति चौक, तेजारथटोलमा रहेको फोहोर तथा कचरा सफा गरिदै। तस्बिरः बिमला

डेंगुको प्रकोपले नगरवासी प्रभावित भई रहेको बेला वीरगन्ज महानगरपालिकाले सरसफाईलाई उच्च प्राथमिकतामा राखेको छ ।

विगत लामो समयदेखि निस्कृय रहेको महानगरपालिकाको चौतर्फी आलोचना हनु थालेपछि अहिले सम्पूर्ण सरसफाईको टिमले विशेष चासो देखाएपछि नगरवासी समेत उत्साहित भएका छन्।

महानगरपालिकाले डेंगुको प्रकोप फैलिन सक्ने क्षेत्रको पहिचान गरी सफा पानी जमेको स्थान, टायर तथा ग्यारेजहरुमा राखिएको पानीमा डेंगुले फुल पार्ने लार्भा हुर्काउने सम्भावना बढी भएको हुँदा त्यस्ता स्थानहरुको पहिचान गरी नष्ट गर्ने अभियानसँगै अहिले नगर क्षेत्र भित्र वृहत सरसफाई गर्ने कार्यलाई अगाडि बढाएको छ ।

वीरगन्ज महानगरपालिकाले रातिको १० बजे देखि बिहान ३ बजे सम्म फोहोर जम्मा भएको स्थानको फोहोर उठाउने काम गरि रहेको छ ।

मंगलबार राति वीरगन्जको मुर्ली चौक, त्रिमूर्ति चौक, तेजारथटोलमा रहेको फोहोर तथा कचरा महानगरपालिकाले सफा गरेपछि अहिले सो क्षेत्र फोहोरमुक्त भएको छ ।

नगरवासी तथा विभिन्न राजनीतिक दलले चर्को दवाब दिएसँगै महानगरपालिका लामखुट्टे नियन्त्रण तथा सरसफाईमा जुटेको स्थानीयबासीले बताएका छन्। अहिले सरसफाईमा ध्यान दिएको विषय सकरात्मक भएको हुँदा महानगरपालिकाका प्रमुख विजय सरावगी सहितको टिमले आगामी दिनमा सरसफाईलाई निरन्तरता दिने अपेक्षा नगरवासीले गरेका छन् ।

क्षणिक फोहोर उठाउने कार्य नगरी यसलाई व्यवस्थित रुपमा नियमित कार्य योजना भित्र राखेर वीरगन्जलाई फोहोर मुक्त बनाउन नेतृत्व सदैव लाग्नु पर्ने कुरामा नगरवासीले जोड दिएका छन्।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली