एचआइभी संक्रमित बच्चाका लागि के ल्याइदिउँ भनेर सोध्नुहुन्छ प्रधानमन्त्री पत्नी राधिका (भिडियोसहित)

आमा र बाबा कसरी चिन्ने? कोही छैनन् शहरमा....

नौ महिनामा आए ,फ्याँकिएछु नहरमा...

कसरी बाँचे, कसरी हुर्केँ? थाहा छैन मलाई। पीडाको रातमा बाचिँरहेकी छु। यो मुटु जलाई....

धनगढीकी ८ वर्षिया सोनी विकको आवाज सुन्दा आँखा नरसाउने सायदै कोही होला।

सोनीको भाइ र उनी ‘बेबी लाइफ होम’मा बस्छन्। सोनीलाई गीत गाउन खुव मन पर्छ। गायिका बन्ने उनको ठूलो सपना छ।

उनलाई आफ्नो घर धनगढी कहाँनेर हो भन्नेसमेत थाहा छैन। एड्सले आमाबुवाको मृत्यु भएको भन्ने मात्र उनलाई थाहा छ। धनगढी बस्दा सबैले उनलाई छिःछिः र दूरदूर गरेको अहिले पनि ताजै रहेको बताउँछिन्।

मञ्जु चन्दका बुवालाई एड्स लाग्यो। स्थानीय भाषामा उनका बुवालाई बम्बैया रोग लागेको थियो। बुबालाई एड्स लागेको मञ्जुकी आमालाई थाहा थिएन। यही बिचमा मञ्जुको जन्म भयो। मञ्जुको जन्मपछि बुबा र आमा दुवै जनाको मृत्यु भयो।

मञ्जुलाई त आफ्नो आमाबुवाको अनुहारसमेत सम्झना छैन। मञ्जु गर्भमै हुँदा एचआइभीको संक्रमणमा परेकी थिइन्।

मञ्जुलाई ५ वर्षसम्म उनकी फुपुले हुर्काइन्। केही समय पछि मञ्जु जन्मजात नै एचआइभी संक्रमीत भएको थाहा भयो। त्यसपछि सानी मञ्जुलाई साथीहरूलेसमेत ढुङ्गाले हिर्काउन थाले। नजिक आउन दिएनन्।

रोगको बारेमा थाहा पाएपछि फुपुले पनि यो रोग सर्छ भनेर उनलाई राख्न मानिनन्। त्यसपछि उनी आफन्तमार्फत राजकुमार पुन र उमा पुनको संस्थाको शरणमा पुगिन्।

दाङका प्रकाश र पुष्पा ८ वर्षअघि बेबी लाइफ होममा पुगेका हुन्। प्रकाश ५ वर्षका छँदा बुबाको मृत्यु भयो। ६ वर्षकै उमेरमा उनले आमाको काख पनि गुमाए।

प्रकाशकी आमालाई आफू मृत्यु शैय्यामा पुग्दा पनि आफूलाई लागेको रोगबारे केही थाहा थिएन।

आमाको मृत्युपछि अभिभावकबिहिन दाजुबहिनी मामा घर सल्यान आए। मामाघर आएको बेला प्रकाशको खुट्टामा चोट लाग्यो। उपचारका क्रममा रगत जचाउँदा उनलाई एचआइभी भएको थाहा भयो।

बहिनी पुष्पामा पनि संक्रमण देखियो। त्यसपछि मामाघरका सबैले उनीहरूलाई हेप्न थाले। उनीहरूको बारेमा पत्रिकामा खबर छापिए पछि राजकुमार उनीहरूलाई लिन भनेर त्यहीँ पुगे।

बेबी लाइफ होममा प्रकाशका दाजुबहिनीसहित ६ वर्ष देखि १६ वर्षसम्मका बालबालिका बस्दै आएका छन्।

आफूले नगरेको गल्तीको सजाय यी अबोध बालबालिकाहरूले भोगिरहेका छन्।

‘एक दिन मृत्यु त सबैको हुन्छ। हामी भन्दा पनि अरू अगाडि मर्न सक्लान्, तर हामीलाई किन हेप्छन्?’, प्रकाशले  प्रश्न गरे।

संस्थामा सुदूरपश्चिमदेखि मध्यपश्चिमका एचआइभी संक्रमित बालबालिकाहरू बढी छन्। बैतडीकी मञ्जु, धनगढीकी सोनी होस् वा दाङका प्रकाशका आमाहरूले पनि थाहा नपाइ एड्सबाट आफ्नो ज्यान गुमाउनु पर्‍यो।

बुवाले गरेको गल्ती आमाले भोग्नु पर्‍यो। आमाबाट सन्तानहरूले। बेबी लाइफ होममा धेरै जसो अभिभावकबिहिन नै छन्।

३० वर्षिय राजकुमार पुन र उमा पुनले विगत १० वर्षदेखि एचआइभी पीडित बालबालिकाका लागि भनेर  बेबी लाइफ होम सञ्चालन गरिरहेका छन्।

राजकुमारले पत्रकारिता पढे। सिएमए अध्ययन गरे। रूकुम स्थायी घर भएका एक्लो छोरा राजकुमार आफूले कमाएको पैसा समाज सेवामै खर्च गर्थे।

पत्रिकामा बिचल्लीमा परेका कोही बच्चाहरूको बारेमा थाहा पायो कि, राहत लिएर जान्थ्ये। यस्तै गर्दैजाँदा एक दिन दाङका एचआइभी संक्रमित बालबालिकाको अवस्था देखेर उनलाई केही गरौ भन्ने लाग्यो। तर संस्था बिना उद्धार गर्न नसकिने भएपछि  ‘बेबी लाइफ होम’को जन्म भएको उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भने।

संस्था जन्मिए पनि बालबालिका कहाँ राख्ने समस्या थपियो। केही वर्ष उमाले आफ्नै घर बसुन्धारामा लगेर राखिन्। बच्चाहरूको संख्या बढ्दै गयो।

राजकुमार रूकुमेली भए पनि उनले किर्तिपुरको भत्केपाटीमा आमाबुवाका लागि घर बनाएका थिए।

त्यसपछि राजकुमारले उनीहरूलाई ५ वर्ष आफ्नो घरमा राखे।

एचआइभी संक्रमित बालबालिकालाई विद्यालयले संक्रमीत बालबालिका भनेर थाहा पाएपछि भर्ना लिन छोड्यो।

छिमेकीमा सबैले गाली गर्न थाले। बालबालिकालाई हेप्न थाले। भाँडामा लिन खोज्दा पनि राजकुमारले उपर्युक्त घर पाएनन्।

जीवनभर अरूको गाली, हेपाइ खानुभन्दा उनीहरुले जग्गा किनेरै घर बनाउने निर्णय गरे। त्यसपछि उमाले आफ्नो सञ्चालन रहेको व्युटी पार्लर बेचिन्। राजकुमारले घर बेचे।

केही रकमको जोहो भएपछि यताउता गरेर बालबालिकाको लागि भवन बनाए।

त्यही भवनमा २७ जनाका लागि कक्षा १० सम्मको स्कुल बनाए। त्यसमै आवास गृह बनाए।

राजकुमार भन्छन्,‘अब यी बालबालिकाहरू आफ्नै संसारमा रमाएका छन्। कसैको गाली र छिःछिःदूरदूर सहनु पर्दैन। पटक पटक मरेर बाच्नुपर्दैन।’

राजकुमार र उमाले सन् २०११ मा सफलता एचआइभी शिक्षा सदन विद्यालय स्थापना गरेका हुन्। यसले अरू विद्यालय झै सरकारबाट अनुमति लिएर अध्यापन गराइरहेको छ।

राजकुमारले कहिले पनि सोचेका थिएनन्। उनको विद्यालय विश्वकै पहिलो एचआइभी संक्रमितको पहिचानसहितको विद्यालय भनेर सन् २०१९ मा विश्व रेकर्डद्वारा पुरस्कृतसमेत भयो।

राजकुमार र उमालाई सरकारले जनसेवाश्रीबाट विभुषित गर्‍यो। यसले उनीहरुको काममा थप ऊर्जा थपिएको छ।

तर कहिले काँही उनीहरूले खिचाएका तस्विरले दुःख दिएको पनि राजकुमारले बताए। राजकुमार भन्छन्,‘यहाँ सबै राजनीतिक आस्था, धर्म, समुदाय भएका मान्छेहरु सहयोग गर्न आँउछन्। तस्वीर खिचाइन्छ। ती तस्वीहरू देखेपछि विपरित व्यक्तिले सहयोग गर्न छोड्छन।’

यसले गर्दा यस्ता एचआइभी संक्रमित बालबालिकालाई समस्या पर्ने उनले बताए।

पछिल्लो समय यही कारणले हो कि के हो, उनको सहयोग घट्दै गएको छ।

कहिलेकाही प्रधानमन्त्री केपी ओलीले पनि उनलाई बालबालिकासहित बोलाउँछन्। ‘उहाँले बालबालिकाहरूलाई धेरै नै माया गर्नुहुन्छ,’राजकुमार भन्छन्,‘प्रधानमन्त्रीज्यूको श्रीमती राधिका म्यामले हामीलाई फोन गरेर सञ्चो विसञ्चो सोध्नुहुन्छ। आफू बाहिर जाँदा बालबालिकालाई के कमि छ? केही ल्याउनुपर्छ भनेर फोन गर्नुहुन्छ।’

उनले विद्यालयमा पढाउने शिक्षकले पनि धेरै पारिश्रमिक माग्ने गरेको गुनासो गरे। ‘हामीले विभिन्न ठाउँबाट पुरस्कार पाएर होला, धेरैले यसलाई आईएनजिओ ठान्नुहुन्छ क्यार, तर यो संस्था आएनजिओ होइन’, उनले भने,‘सायद यही भ्रमले गर्दा विद्यालयका लागि शिक्षकहरु खोज्दा धेरै पारिश्रमिक माग्छन्। हामी उनीहरूले मागेको दिन सक्दैनौ।’

अहिले सफलता एचआइभी शिक्षा सदनमा सात जना शिक्षक छन्। तीन जना आवास गृहका लागि छन् भने चार जनाले २७ जनाका लागि कक्षा १० सम्मको कक्षा हेर्छन्।

धेरै पटक शिक्षकहरू यहाँ एचआइभी संक्रमीत बालबालिकाका लागि पढाउनुपर्ने रहेछ भनेर थाहा पाएपछि अर्को पटक फर्केर नआउने गरेको राजकुमारले गुनासो गरे।

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की