पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको ४ गोल

तस्बिरः एजेन्सी

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित चार गोल गरेपछि  पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ। लिथुआनियामा मंगलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो।

घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौं मिनेटमा अग्रता लियो। रोनाल्डोको पेनाल्टी गोलबाट सुरूवाती अग्रता बनाएको थियो।

मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका थिए।

खेलको २८ औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आक्रमक बनेको पोर्चुगलले चार गोल थप्यो।

खेलको ६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ ले अघि बढ्यो। त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले ह्याट्रिक पुरा गर्दा पोर्चुगल खेलमा ३–१ ले अघि बढ्यो।

रोनाल्डोले खेलको ७६औं मिनेटमा बर्नाडोकै पासमा व्यक्तिगत चौथो गोल गर्दै अग्रता बढाए। अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए ।

पोर्चुगलका लागि ९३ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको युरोपियन प्रतियोगितामा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक हो।

उनले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोड्दै युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने। मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले २५ गोल पुरा गरेका हुन् ।

प्रभावशाली जितसँगै पोर्चुगलले समूह ‘बी’ मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लिथुआनिया १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्को खेलमा सर्वियाले लक्जेमवर्गलाई ३–१ ले हरायो । सर्विया ७ अंकसहित तेस्रो तथा लक्जेमवर्ग ४ अंक जोडेर चौथो स्थानमा छ। ५ खेलमा ४ जित र एक बराबरी खेलेको युक्रेन  १३ अंकसहित शीर्ष स्थानमा छ।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली