गरिबसँग विश्वेश्वर

तस्बिरः बिएल

'गरिबसँग विश्वेवर' एक नयाँ नारा अथवा एक नयाँ उद्घोष। यो पदावलिको अर्थ र अनर्थ अहिलेको परिवेशमा कहाँसम्म तान्न सकिन्छ, अन्दाज गर्न सकिन्छ, निश्चिन्त भएर भन्न सकिन्न।

यी शब्दहरु 'गरिबसँग विश्वेश्वर' भावनात्मक ऐतिहासिकता अथवा ऐतिहासिक भावुकताले लादिएका शब्दहरू हुन्, अथवा एक समूह हो।

नेपाली कांग्रेसले आविष्कार गरेको देशको भीषण गरिबी कम गर्ने या निर्मूल गर्ने रणनीति हो। पदावलीको चयन फगत मथिंगल चिलाईबाट हो या विश्वेश्वरको आर्थिक दर्शन अनुसार गरिबको अवस्थामा साँच्ची नै सुधार ल्याउने ध्येयले भएको हो त्यो अहिले नै थाहा पाउने कुनै ज्योतिषीय उपाय छैन।

केहि समय लाग्नेछ त्यो शब्दावलीभित्र लुकेको रहस्यबारे थाहा पाउन। अहिले नै संशयात्मक टिप्पणी गर्नुलाई स्वस्थ्य अभ्यास भन्न मिल्दैन। तर गरिबसँग विश्वेश्वरभित्र चुनौतीहरू भने असाधारण रुपले अन्तर्निहित छन्।

कर्णप्रिय र हृदयप्रिय शब्दावलीहरूको निर्माण गर्नु त्यति गाह्रो काम हाईन, तर त्यस्ता प्रिय शब्द चयनहरुलाई कर्ममा अनुवाद गरेर देखाउन सक्नु भने हाम्रो स्थापित सांस्कृतिक सामाजिक र राजनैतिक परिवेशमा अति नै गाह्रो काम हो।

विश्वेश्वरप्रसाद कोइरालाको जीवन प्रारम्भदेखि अन्तसम्म गरिबीमा बित्यो। तर, त्यो गरिबी सामान्यतः पाइने गरिबी थिएन। त्यो गरिबी भित्र कुलिनता, अभिजात्यपन साहस र खतरासित खेल्ने नैसर्गिक आनन्द लुकेको थियो। त्यो असाधारण गरिबी थियो।

विश्वेश्वर त्यो गरिबीमा पनि एक सम्राट थिए। हाम्रा पञ्चातयतकालीन र त्यसपछिका प्रजातान्त्रिक पुनर्स्थापनापछिका घुस्याहा, चाकरीवाज, नैतिकपतनको चरम बिन्दुमा पुगेका करोडपति, अर्बपति दयनीय भिखारीहरूभन्दा लाखौं गुणा सम्पन्न थिए, विपी कोइराला।

किनकि विपी कुरूप परिग्रहमाथि विश्वास गर्दैनथे। उनको मुख्य लक्ष्य नेपालका सबै विपन्नलाई खान, लाउन र बस्ने व्यवस्था गर्नु थियो। त्यही व्यवस्थाका लागि विश्वेश्वरले भौतिक सम्पन्नतालाई नरोजेर भौतिक विपन्नतालाई रोजे ।

त्यो रोजाई उनको बाध्यता थिएन, उनको चुनाव थियो। विपीले आफ्नो अन्तःकरण र सिद्धान्तसित सम्झौता गरेको भए उनि पनि भौतिक रुपले नेपालमा तीन, चार जना सम्पन्नतम् व्यक्तिहरु मध्ये एक हुन्थे। तर, उनीजस्तै निष्ठावान र जीवन र जगतलाई बुझेका राजनेताका लागि कुनै प्रकारको गलत, अवसरवादी संकीर्ण स्वार्थोन्मुख सझौता अल्पकालिन थियो।

वीपीको व्यक्तित्वको गुरूत्व र महिमाको प्रमुख कारण त्यही साहस, त्यही निष्ठा र त्यही लोककल्याणकारी विश्वास थियो। महान् लेखक र सन्त टाल्सटायले भनेका छन्- संसारको सभ्यता र विकास दुःख दिनेहरुले गरेका हाईनन् दुःख र कष्ट पाउनेहरुले, स्वेच्छाले कष्ट र गरिबी वरण गर्नेहरुले गरेका हुन्।

बीपी यस्तै कष्ट भोग्नेहरुको प्रथम श्रेणीभित्र पर्छन्। उनलाई आर्थिक रुपले गरिबीको जीवन व्यतित गरिरहेकाको पीडा थाहा थियो। गरिबसित विपीको सहानुभूति मात्र होईन, समानुभूति पनि थियो। उनले नेपालका गरिबहरूसँग एक आन्तरिक तादात्म्य स्थापित गरिसकेका थिए। त्यसैले उनी द्रवित थिए नेपालको आर्थिक दारिद्रयको दृश्यबाट।

त्यसैले योजना आयोगको सभाकक्षमा एक जोतिरहेको गरिबको चित्र राखेर त्यसै आधारमा योजना निर्माण गर्ने सल्लाह बीपीले दिएका हुन्। बाइस– तेइस वर्ष पहिले युनानका महान् इतिहासकार थुसीडाइडस्रले लेखे– युनानी सेनापतिहरु आफ्नो मातृभूमिको माटो छोएर गएका थिए–फारससित युद्वमा प्रवेश गर्नुभन्दा पहिले।

मैले सुनेको छु सुभाषचन्द्र बोस स्वदेशभन्दा बाहिर जाने बेलामा आफ्नो मातृभूमिको माटो छुन्थे र सानो परिमाण बोकेर पनि लग्थे। माटो हाम्रो जीवनको प्रारम्भ र आधार हो। त्यही मातृभूमिको माटोबाट हामी विकसित भएको हुनाले माटोसित हाम्रो सम्बन्ध जैविक हुनुको साथसाथै मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक सम्बन्ध पनि हुन्छ।

माटोको त्यही महत्वलाई बुझेर बीपीले सल्लाह दिए- कुनै राम्रो निर्णय गर्दा शंका पैदा हुन्छ भने देशको माटो छोएर निर्णय गर्नू। र गरिबहरू अमिरहरुभन्दा धेरै बढी माटोको सानिध्यमा हुन्छन्।

अमिरहरू माटोबाट टाढा हुँदै जान्छन्, गरिबहरू माटोको निकट हुँदै जान्छन्। यस्तो द्वान्द्वात्मक दुरीलाई कम गर्न अथवा निर्मूल गर्ने बीपीको जीवनको ठूलो लक्ष्य थियो। अतः 'गरिबसँग विश्वेश्वर' भन्ने शव्द चयन अत्यान्त दायित्वपूर्ण चयन बन्न गएको छ।

नेपाली राजनीति र अरू क्षेत्रहरूको नैतिक मानचित्रबारे मनन गर्दा 'गरिबसँग विश्वेश्वर' कति अर्थपूर्ण र संगतिपूर्ण हुनेछ भनेर अहिले न ढुक्क हुन सकिन्छ, न त भविश्षवाणीनै गर्न सकिन्छ। जब सम्पूर्ण देशको मानसिकता नैतिक रूपले अति गरिब छ भने 'गरिबसँग विश्वेश्वरको ध्वन्यात्मक र अर्थात्मक मिठास समयको कुन बिन्दुसम्मम रहिरहने हो भन्ने प्रश्नबारे मनन गर्न सकिन्छ, तर ठोकुवा गरेर केही पनि भन्न सकिन्न।

तथापी आशा गर्न सकिन्छ, शुभेच्छा व्यक्त गर्न सकिन्छ,नेपाली कांग्रेसको सरकारले गरिवसँग विश्वेश्वर भित्र प्रत्याभूत भएको उद्धेश्य धेरै ठूलो व्यवधानबिना, सफलतासित सम्पादन गर्न सकोस्। यदि राम्रोसित कार्यान्वयन हुन सकेन भने एकातिर बीपीको आत्मा दुखित हुनेछ, अर्कोतिर गरिबहरूको आत्मा पीडित हुनेछ।

Comments

इन्द्रसरा खड्का
सविता शर्मा/गोरखापत्र