बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

बीपीकाे १०५ ओै जन्मजयन्ती

मलाई बिपीसँग भेटाएको शैलेजा दिदी (आचार्य) ले हो। शैलेजा दिदीले कोठामा लैजाँदा, सान्दाजु (बिपी) ओंठमा सिगार च्यापेर मुखै ढाक्नेगरी अखबार पढ्दै थिए।

‘चन्द्रिका बाबुका जेठा छोरा कुमुद आएका छन्।’

उनले अखबार अलिकति तल झारेर करिब डेढ मिनेट मलाई हेरे। अनि भने, ‘आउँ भित्र।’

म यो कुरा गर्दैछु, २०२९ सालको। उनी त्यतिखेर बनारसमा थिए।

त्यसअघि सानोमा बिपीसँग भेटेको मलाई हेक्का छैन। बनारसमा भेट्दा पनि उनी सारनाथमा बस्थे। उनले नै भेट्ने इच्छा देखाएपछि म बनारस गएको थिएँ। त्यति बेला महेन्द्र मोरङ क्याम्पसमा पढ्दै थिएँ। २०२९ सालतिर क्याम्पसमा भएको एउटा घटनाबाट प्रभावित भएर मलाई बोलाइएको रहेछ।

त्यस बेला कम्युनिस्ट र मण्डलेबाट कांग्रेसी विधार्थीले जहिल्यै कुटाइ खाने। यो सिलसिला १० वर्षदेखि चलिरहेको थियो। हाम्रो समूहमा मदन केसी, मेरो दाजु महेन्द्र लोहनी र म खुब मिल्थ्यौं। कांग्रेसी भन्दै एकपल्ट मेरो दाजुलाई कुट्न केही कम्युनिस्ट आए।

हामीले उल्टै उनीहरूलाई साफ चुटेर पठायौं। मैले पहिलोपल्ट क्याम्पसमै खुकुरी हानेँ। झगडाले क्याम्पसै खाली भयो। यो घटनाले तीन दिन विराटनगर बजार बन्द भयो। त्यति बेला अञ्चलाधीस लव राजा (वीरेन्द्रबहादुर शाह) लाई घटनाबारे सोध्नुपरेको थियो।

आफ्नो इमेज ध्वस्त हुने डरले कम्युनिस्टहरू कुटाइको बदला लिने तयारी गर्दै थिए। उनीहरूले धरान, दमक र केराबारीबाट ट्रकका ट्रक मान्छे ओसारे। १० वर्षदेखि कुटाइ खाँदै आएका कांग्रेसीमा यो घटनाले उत्साह थपियो।

घटनाको जानकारी फारबिसगञ्ज हुँदै बनारस पुगेछ। गिरिजाबाबु त्यति बेला फारबिसगञ्जमा पूर्वाञ्चल हेर्ने क्याम्पका नेता थिए। उनी निकै खुसी भए। कम्युनिस्टसँग लड्न उनले मलाई ९ एमएमको बुलेट, ३२ र ३८ बोरको रिभल्भर पठाए। ३२

एमएमको ग्रिनेट पनि।

कम्युनिस्टहरूले हामीलाई कुट्न पुरानो हवाई फिल्डमा करिब ५ हजार मान्छे उतारे। हामी पनि त्यतिनै जम्मा भएका थियौं। हामीसँग प्रहरीको भन्दा अत्याधुनिक हतियार थियो। त्यो दिन संयोगले ट्रकका ट्रक पुलिस घटनाअघि नै हस्तक्षेप गर्न पुरानो हवाई फिल्ड आइपुगे।

झगडा भएको भए रगतको खोलो बग्थ्यो। हवाई फिल्डमा मात्र ‘खरानी’ र ‘गोबर’ दल (कांग्रेसी र कम्युनिस्टलाई पहिले यही नामले बोलाइन्थ्यो) का गरी १० हजार मान्छे जम्मा भएका थिए।

यो घटनाले अखबारका प्राथमिकता पायो। मेरो नाम पनि छापिएको रहेछ। बिपीले गिरिजाबाबुलाई सोधेछन्, ‘यो कुमुद भनेको को हो?’

गिरिजाबाबुले भनेछन्, ‘चन्द्रिकाको जेठा छोरा।’

मेरो पिताजीको नाम सुनेपछि बिपीलाई खुल्दुली लागेछ। बिपी र मेरो पिताजीसँगै बनारसमा पढ्न बसेका थिए। फेरि कोइराला परिवारसँग हाम्रो हजुरबुबादेखिकै सम्बन्ध। २००७ सालअघि कांग्रेसको मुक्तिसेना हाम्रै घरमा बसेको थियो।

कांग्रेसको पहिलो चारतारे झन्डा खिचापोखरीको हाम्रै घर ‘मिरा होम’ मा फहराइएको थियो। त्यही भएर कृष्णप्रसाद भट्टराई कहिले काँही ठट्टा गर्दै भन्नु हुन्थ्यो, ‘हामी त के कांग्रेसी, तपाईँ हामीभन्दा ठूलो कांग्रेसी।’

त्यस बेला हमीले कम्युनिस्टलाई कुट्यौं भनेर उत्साहित हुँदै बिपीले हामीजस्ता युवालाई बक्सिङ सिकाउन दोस्रो विश्वयुद्ध लडेका एकजना बुढा कर्नेल डिबी राईलाई फारबिसगञ्ज पठाएका थिए।

***

बिपीले बोलाएको खबर पाएपछि म निकै हौसिएको थिएँ। बिपीजस्तो महान नेतालाई कसरी प्रभावमा पार्ने? म यसैमा केन्द्रित भएँ। म जसरी भए पनि बिपीसँग नजिकिन चाहन्थेँ। पहिलो भेटमै बिपीसँग अढाई घण्टा कुराकानी भयो। मलाई लाग्यो, म उनलाई प्रभाव पार्न सफल भएँ।

भोलिपल्ट राजघाटमा भेट्नेगरी हामी छुट्टियौं। राजघाटमा हाम्रो तीन घण्टा कुरा भयो। त्यहाँ मैले उनलाई राजतन्त्रबारे सोधेँ। उनले भने, ‘नेपालमा राजा चाहिन्छ। राजा विभिन्न जातजातिको प्रतिकका रूपमा रहेका छन्। तर, राजा निरंकुश हुनु भएन। प्रजातान्त्रिक हुनुपर्यो। राजा र प्रजातान्त्रिक शक्ति मिलेर जानुपर्छ। अनिमात्र देशको कल्याण हुन्छ। मैले राजालाई आफ्नो भेटमा धेरै सम्झाउन खोजेँ। बम्बई एयरपोर्टमा महेन्द्रलाई भेट्दा पनि सम्झान खोजेँ। समय मागेँ। महेन्द्रले विदेशी भूमिमा तपाईँलाई भेट्न उचिन हुँदैन भने।’

बिपीले नेपालमा पनि महेन्द्रलाई भेट्ने अनेकौं प्रयास गरे। मेरो पिताजीमार्फत् कीर्तिबाबुलाई भनेर पनि भेट्न खोजेका थिए। तर, महेन्द्रले भेट्नन्।

***

एकचोटी बिपीले मलाई भने, ‘तिमी त्यो गिरिजासँग नबस। मसँग बस। म तिम्रो बुबालाई चिठी लेखिदिन्छु।’ 

सान्दाजुले किन यस्तो कुरा गरे। म अचम्म परेँ। पछि थाहा भयो, ‘गिरिजाबाबु फारबिसगञ्जमा बसेर पूर्वाञ्चलको कमाण्डर हुँदा विभिन्न मिसनमा विधार्थी प्रयोग गर्न खोज्थे।’ बिपीलाई यो मन परेको रहेनछ। उनी भन्थे, ‘यसका लागि हामीले पूर्वआर्मी पालेका छौं। विधार्थीले राम्रो अध्ययन गर्ने हो। प्रजातन्त्र आएपछि देशलाई डाक्टर, इन्जिनियर र प्रशासकको खाँचो पर्छ।’

तर, सान्दाजुसँग म बस्न सकिनँ। म घरको जेठो छोरा थिएँ। मेरो आफ्नै खालको बाध्यता थियो। फेरि मेरो दुवै दाजुभाई (बिपी र गिरिजाबाबु) सँग उस्तै सम्बन्ध। गिरिजाबाबुलाई पैसाको आवश्यकता पर्ने। खबर पठाइहाल्ने। त्यति बेला विराटनगरमा सानोतिनो व्यापार गर्थे। त्यसैले मसँग पैसा हुन्थ्यो।

बिपीको जस्तो तगडा स्मरणशक्ति भएको मान्छे मैले आजसम्म भेटेको छैन। पुस्तकको कुरा गर्दा, फलाने पुस्तकको फलानो च्याप्टरमा यस्तो लेखिएको छ भन्ने। भेटेको मान्छे कहिल्यै नर्बिसिने। हामी युवासँग बस्दा युवाजस्तै कुरा गर्ने। उनीसँग एउटा गजबको खुबी थियो, ‘कुरा गर्ने मान्छेको स्तर नापेर, त्यो भन्दा हल्का माथि रहेर सम्झाउने कला।’

अर्को खुबी, सानो मान्छेलाई पनि सम्मान दिने। कोही भेट्न आए आफैं उठेर लिन जाने। र, गेटसम्म छोड्न आउने। फेरि छलकपट केही थिएन। राजालाई भेटेर आएको कुरा सबैको अगाडि बताइदिने। खुला किताबजस्तै।

त्यसैले भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरू भन्ने गर्थे रे, ‘राजनीति सिखना हे तो बिपीके पास जाओ। कूटनीति सिखना हे तो महेन्द्रके पास।’

***

बनारसबाट फर्किएको केही समयपछि काठमाडौं जेलमा तीनजना कांग्रेसी कार्यकर्ता मारिए। गिरिजाबाबुलाई सूचना आएछ–‘राम–लक्ष्मण (दाजुभाइ) को पनि विराटनगर जेलमा हत्या हुँदैछ।’

यो खबरले गिरिजाबाबु निकै बिचलित भए। राम–लक्ष्मण कांग्रेसका होनहार कार्यकर्ता थिए। गिरिजाबाबुले सन्देश पठाए, ‘ल कुमुद, जसरी भए पनि यी दुईलाई १५ दिनभित्र जेलबाट निकाल। जे–जति हतियार चाहिन्छ, लैजाऊ।’

यसमा मेरो मतभिन्नता थियो। मैले सम्झाएँ, ‘मलाई डेढ महिनाजति समय दिनु, म काम गर्छु। हतियार प्रयोग गर्दा ‘क्याजुल्टी’ बढी हुन्छ। धेरै मर्छन।’

गिरिजाबाबु ‘कन्भिन्स’ भए।

मैले मुनु अर्यालको सयोग लिएँ। राम–लक्ष्मणलाई छुटाउन जेलर र पुलिसलाई रक्सी खुवाउने योजना बन्यो। म जेलमा पैसा पुर्याउँथे। ५–७ दिनपछि यी दुवैलाई पेट दुखेको बहाना बनाउँदै पूर्वाञ्चल अस्पताल ल्याउने योजना बन्यो। उपचार गरेर फर्किदा अस्पताल चोकनजिकैको एउटा रक्सी भट्टीमा सुरक्षाका लागि आएका प्रहरीलाई टिल्ल हुनेगरी रक्सी खुवायौंं।

त्यही मौकामा आफ्नो ३८ नम्बरको ल्यान्डरोभर गाडीमा राम–लक्ष्मणलाई भगाएँ।

तर, फारविसगञ्जमा कसले बद्री बस्नेत र उमेर गिरीलाई लगाइदिएछ–राम र लक्ष्मण पुलिसका जासुस हुन्। त्यति बेला बद्री र उमेर फारबिसगञ्जकै क्याम्पमा थिए। खबर बिपीसम्म पुग्यो। दुवैलाई छुट्टाछुट्टै राख्ने निर्देशन आयो–रामलाई बनारस, लक्ष्मणलाई पटना।

यो निर्णयप्रति सबैभन्दा ठूलो अफसोच मलाई भयो। दुवैसँग मेरो गहिरो दोस्ती थियो। गिरिजाबाबुलाई सम्झाएँ। बिपीले बुझन फेरि बोलाए। उनलाई लागेको रहेछ, कुनै रक्तपातबिना भाग्न कसरी सफल भए? उनले सोधे, ‘बम नपड्की, मान्छे नमरी कसरी आए?’

तर, त्यति बेलासम्म दाजुभाइमा ठूलो बिचलन आइसकेको थियो। उनीहरू मलाई भन्थे, ‘हामी आफूलाई निर्दोष प्रमाणित गर्न ठूलो मिसनमा जान्छौं।’

विराटनगर फर्किएको केही महिनापछि म काठमाडौं उड्न लागेको थिएँ। गाडीमा लगेज राख्दै थिएँ। एकजना बंगालीले फारबिसगञ्जबाट गिरिजाबाबुको चिठी लिएर आयो–‘२९–३० दिन भयो राम–लक्ष्मणको कुनै खबर आएको छैन।

उनीहरूलाई ओखलढुंगा मिसनमा पठाएको थिएँ। मलाई दुर्घटनाको ठूलो आशंका छ। ती पार्टीका होनहार युवा हुन्। तिमीले कुनै पनि हालतमा दुवैलाई सुरक्षित ल्याऊ।’

बिपीलाई सम्झाएर फर्केको डेढ–दुई महिनापछि नै उनीहरूलाई ओखलढुंगा मिसनमा पठाइएको रहेछ। मिसन गोप्य थियो, त्यही भएर मलाई थाहा भएन।

म गिरिजाबाबुको चिटी गोजीमा हालेर विराटनगर एयरपोर्ट पुगेकोमात्र के थिएँ, मलाई चिन्ने बलराम हवल्दारले भन्यो, ‘हजुरले थाहा पाउनुभयो। राम–लक्ष्मणले जिब्रो टोके नि।’

सुरुमा बुझिनँ। ग्रिनेड हान्दा मुखले रस्सी निकाल्नुपथ्र्यो। ओखलढुंगा मिसनमा बम हानेछन् कि भन्ने लाग्यो। तर, होइन रहेछ। उनीहरू त मारिएछन्। खबर सुनेर मेरो ज्यान चिसो भएर आयो। रुँदैरुँदै काठमाडौं आएँ।

काठमाडौंमा खबर पक्का भयो। मेरो विचारमा कांग्रेसको ‘डाउन फल’ यही घटनाबाट सुरु भयो। यो मिसनमा ३०–३१ जना कांग्रेसका होनाहार युवा मारिए। ३–४ जना भागेर आए। बिपी र गिरिजाबाबुले भागेर आएकालाई कहिल्यै शंकाको घेरामा राखेनन्। उनीहरूविरूद्ध जाँचबुझ पनि भएन।

यति ठूलो मिसन कसरी असफल भयो?

***

नगेन्द्र ढुंगेलले एउटा अन्तर्वार्तामा २०३२ सालमा कांग्रेसले जहाज अपहरण गरेको घटनाका योजनाकार कुमुद लोहनी भनेका छन्। यसको पनि रमाइलो किस्सा छ। यसपले बिपीलाई राजनीतिक रूपले कति ‘ड्यामेज’ पार्यो, त्यसको विश्लेषण गर्नु जरुरी छ। 

गिरिजाबाबु एकपल्ट राजनीतिक मिसनमा अन्यत्र गएका थिए। फारबिसगञ्जका इन्चार्ज थिए, सरोज कोइराला। त्यति बेला म, नगेन्द्र र मदन केसी फारबिसगञ्जमै थियौं। सरोज भारतको चर्चित पत्रिका ‘एलेस्टर विक्ली’ पढ्दै थिए। त्यो पत्रिकामा एउटा समाचार छापिाएको थियो, ‘भियतनामकी एक महिलाले विमान अपहरण गरिन्।’

समाचार पढेपछि सरोजले भने, ‘हेर संसारमा यस्तो भइसक्यो। हाम्रो युवाले केही गर्न सकेका छैनन्।’

हामी सबैले त्यो समाचार पढ्यौं। हाम्रो दिमाग हल्लियो। त्यहीँ योजना बनायौं, ‘हामीले पनि हवाइजहाज अपहरण गर्ने। राजनीतिक बन्दीलाई मुक्त गर्नुपर्ने सर्तसहित।’

तर, बिपीको आदेशबिना यो काम नबढाउने निर्णय भयो। योजना बनारस पुर्याइयो। त्यहाँबाट कुनै खबर आएन। गिरिजाबाबु फारबिसगञ्ज फर्किए। फेरि यही योजना बनेछ। तर, यतिबेला हाम्रोजस्तो राजनीतिक बन्दी रिहा गर्ने उद्देश्य होइन, पार्टी चलाउन र हतियार किन्न राष्ट्र बैकबाट जाने पैसा लुट्ने उद्देश्य लिइएछ।

अपहरणको बेला म काठमाडौंमा थिएँ। अपहरणकारीसँग जहाजको टिकट किन्ने पैसाधरी थिएन। सुरुमा पैसा माग्न मेरो घर पुगेछन्। त्यसपछि नारायण कोइरालाबाट दुई हजार रुपैयाँ लिएछन्। अपहरण गर्दा जहाजमा दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुंगेल थिए। पछि दुर्गा सुवेदीले पैसाको पारदर्शिताको कुरा उठाए। यही घटनापछि कांग्रेसमा विवादको विजारोपण भयो।

***

पछि बिपीसँग जहाज अपहरणबारे मेरो लामो कुरा भयो। मैले आफ्नो असहमति पोखेँ, ‘सान्दाजु, तपाईहरूले गल्ती गर्नुभयो। अपहरणको सर्त राजनीतिक बन्दी रिहाई भएको भए आज कांग्रेसको पक्षमा सारा संसार लाग्थ्यो। तपाईहरूले पैसाका लागि गर्नुभयो।’

बिपी पनि अपहरणको योजनाप्रति खुसी रहेनछन्। भने, ‘हामी बाध्य भयौं। हवाइजहाज अपहरण हाम्रो हितमा भएन।’

यही मुद्धा टेकेर तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बिपीलाई दिनुसम्म दुःख दिइन्। बिपीको डेरामै छापा मारियो। अपहरणमा संलग्न मान्छेलाई बिरालोले बच्चा सारेजस्तो कहिले यता, कहिले उता लुकाउनुपर्यो। बिपीका हरेक गतिविधि निगरानीमा राख्न थालियो। कांग्रेसका थुप्रै हतियार समातिए। त्यति खेर इन्दिराले भनेकी थिइन्, ‘नेपालको वैदेशिक नीति र सुरक्षा नीति हामी(भारत)लाई सुम्प। तिमीलाई सत्तामा पुर्याइदिन्छु।’

तर, बिपी मानेनन्। उनी राष्ट्रवादी नेता थिए। त्यसैले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै नेपाल फर्किए।

***

बिपी नेपाल आएपछि मेरो सामिप्य झन् बढ्यो। पहिलो भेटमै मैले बिपीलाई भनेँ, ‘सान्दाजु, तपाई नेपाल त फर्किनुभयो। तर, आउन ढिला गर्नुभयो। २०२८ सालमा राजा महेन्द्रको शवयात्रामा भाग लिन आएको भए कुरै अर्को हुन्थ्यो।’

मेरो तर्क थियो– महेन्द्रको अकस्मात निधनपछि वीरेन्द्र बेलायतजस्तो प्रजातन्त्रकमो ठूलो अभ्यास भएको देशबाट पढेर फर्किएका थिए, उनी पञ्चहरूको चंगुलमा फसिसकेका थिएनन्। त्यति खेर वीरेन्द्र भाषण गर्दा पनि ‘म र मेरो श्रीमती’ भन्थे। अरू राजाजस्तै ‘हामी र हाम्रो बडामहारानी’ भन्थेनन्।

दरबारमा मिटिङ राख्दा सबैको कुरा सुनिसकेपछि मात्र बोल्थे। मेरो कुरा सुनिसकेपछि बिपीले भने, ‘तिमीले भनेको ठिक हो। तर, हामीलाई पनि भारतले ‘मिसगाइड’ गर्यो। हामीलाई ‘एस्योर्ड’ गरेर पनि मद्दत गरेन।’

जनमत संग्रह घोषणा भएको भोलिपल्ट म चाबहिलमा बिपी बसेको घर पुगेँ। त्यहाँ ठूलो भीड थियो। गेटमा मलाई देख्नेबित्तिकै बिपी खुसी भए। मलाई एक्लै माथि कोठामा लगे। र, भने, ‘म हिजो राति कीर्तिबाबु (कीर्तिनिधि बिष्ट) कहाँ खाना खान गएको थिएँ। महेन्द्रले कीर्तिबाबुजस्तो राम्रो मान्छे पनि बनाएका रहेछन्।’

उनले ‘अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषण गर्न सक्ने मान्छे’ भन्दै कीर्तिबाबुको तारिफ गरे। पछि मैले कीर्तिबाबुलाई जिस्क्याएँ पनि, ‘मलाई ‘अत’ (अराष्ट्रिय तत्त्व) भन्नुहुन्छ। मेरै नेतालाई घर बोलाएर खाना खुवानुहुन्छ।’

कीर्तिबाबु चकित परे। जनमत संग्रह घोषाा भएकै रात दुईजनाबीचको गोप्य कुरा मैले कसरी थाहा पाएँ? कीर्तिबाबु मेरो मामा पर्नुहुन्छ।

बिपीले कीर्तिबाबुको कुरा टुंग्याएपछि मलाई सोध्नुभयो, ‘तिम्रो धारणा के छ? जनमत संग्रहमा हामी कस्तो नतिजा ल्याउँछौं।’
मैले भने, ‘इन्दिरासँग विवाद गरेर आउनुभयो। तपाईं राष्ट्रवादी नेता। तपाईंले भारतको आवश्यकता पुरा गर्न सक्नुभएन।

भारतमा बस्दा इन्दिरा हटाऊ अभियानको नायक बन्नुभयो। त्यसैले, तपाईंलाई राजासँग मिल्न दिइँदैन। यहाँ भारतीय प्रभाव बढी छ। निर्वाचनमा कीर्तिबाबु बस्दैनन्। सूर्यबहादुर थापा आउँछन्। उनले ‘मेनिपुलेसन’ गर्छन्। मेलमिलापको नीति लिएर देश फर्किएपछि तपाईंर्ला फाँसी दिनुपर्छ भन्ने मान्छे उनै हुन्।’

बिपीले फेरि जिज्ञासा राखे, ‘त्यसो हो भने चुनावको नतिजा के हुन्छ?’

मेरो खरो उत्तर थियो, ‘६० निर्दल। ४० तपाईंको।’

बिपी हाँसे।
भने, ‘तिमीले उल्टो सुनेछौं, ६० हाम्रो (कांग्रेस), ४० उनीहरू (निर्दल) को।
...
जनमत संग्रहपछि म फेरि बिपीलाई भेट्न गएँ, चाबहिलमै। मलाई देखेपछि उनी मुस्कुराए। मैले भनेँ, ‘सान्दाजु आखिर मैले भनेको परिणाम नै सही भयो नि! तपाईंले हार पनि स्वीकार्नुभयो।’

मैले जिज्ञासा राखेँ, ‘तपाईंले हार किन स्वीकार्नुभयो?’

त्यति बेला बिपीको कुरा सुनेर म चकित परेँ। उनले भने, ‘म यो जान्दथेँ। कांग्रेसको संगठन ध्वस्त भएको अवस्था छ। शारीरिक रूपले म स्वस्थ छुइन्। १८ सालयता हाम्रा थुप्रै साथी मारिए। होनाहार युवा मारिए।’

त्यसपछि उनले मलाई अन्तर्राष्ट्रिय राजनीति र ‘मोडल डेमोक्रेसी’ को अर्थ प्रस्ट्याए, ‘अहिले विश्वमा दुई शक्तिराष्ट्र छन्–अमेरिका र सोभियत संघ(हालको रुस)। भारतको ‘डिफेन्स’ सोभियत संघसँग ‘प्याक’ छ। भारतमा रुसी प्रभाव बढ्दो छ। नेपाललाई हेर्ने भारतको दुष्टिकोण उनीहरूकै स्वार्थबाट प्रेरित छ, जुन कुरा हामी स्वतन्त्र राष्ट्रको एउटा नेताले कहिल्यै पुरा गर्न सक्दैनौं। यस्तो अवस्थामा राजा महेन्द्रबाट विश्वमै नभएको पञ्चायती व्यवस्था चलाउन र प्रजातन्त्रिक शक्तिलाई कमजोर पानृ पञ्चको आभूषण पहनाई केही स्वार्थी तत्त्व र कम्युनिस्टहरूलाई सत्ताको वरिपरि राखिएको छ। उनीहरूको अन्तिम अस्त्र राजतन्त्रको अन्त्य हो। तसर्थ मैले हार स्वीकारेर राजालाई सहयोग पुर्याउन वा राजतन्त्रलाई सहयोग पुर्याउन खाजेको हुँ।’

‘मेरो राष्ट्रिय मेलमिलाप नीति पनि हामी र राजाको शक्ति मिलेर जानुपर्छ भन्ने हो। त्यसैले मैले ‘मोडल डेमोक्रेसी’ को कुरा गरेँ। यहाँ कसैले बुझ्ने कोसिसै गरेनन्। तिनै राजालाई वरिपरि घेरेर बसेको विदेशी इसारामा चल्ने तत्त्वबाट वास्तविकता नबुझी मेरो खिल्ली उडाउने काम भयो।

‘मोडल डेमोक्रेसी’ को अर्थ नेपालमा अहिले पनि राजाको अति नै महत्त्व छ भन्ने हो। अरू देश र नेपालको राजाको इतिहास फरक छ। नेपाली राजाले युद्धभूमिमा होमिएर जनताको साथ लिइकन राष्ट्र एकीकरण गरेको उदाहरण छ। तसर्थ नेपाली जनताको मनमा श्रद्धा र भक्ति बढ्नु स्वभाविक हो। यस्तो योगदान पुर्याउने राजपरिवारलाई निस्क्रिय बनाएर देश चल्दैन।

त्यसैले, यस्तो प्रजातान्त्रिक पद्दति विकास गरौं, जसमा जननिर्वाचित प्रधानमन्त्रीले उचित स्थान पाउनुका साथै राजाको पनि केही भूमिका रहोस्।’

‘अर्थात फेरि पावरका कारण १७ साल नदोहरियोस्। अब राजाले यो कुरा बुझिदिएनन भने देश कम्युनिस्टको हातमा जान्छ। र, नेपाल विदेशी शक्तिको अखाडा बन्छ।’

२०३६ सालमा बिपीले भनेको त्यो कुरा अहिले प्रमाणित भएको देख्दा म अचम्म पर्छु। त्यसैले हिजोआज कसैले बिपीको बारेमा सोध्यो भने भन्ने गरेको छु, ‘बिपी राजनीतिक ज्योतिषी हुन्।’

...

जनमत संग्रहपछि राजा वीरेन्द्र र बिपीको भेट भयो। राजाले भने, ‘जनमत संग्रहमा तपाईहरू हार्नुभयो। तर, राम्रै मत ल्याउनुभयो, ४५ प्रतिशत। प्रजातन्त्रमा बहुमतको कदर हुन्छ। त्यसैले, राम्रो काम गर्नुुुस्, पछि बहुमतमा पुगिहाल्नुहुन्छ। अब मलाई सहयोग गर्नुपर्यो। राष्ट्र तपाईंहरूको पनि हो।’

वीरेन्द्रसँगको त्यो भेटमा बिपीले ‘दुइटा कुरा पुरा गर्ने भए आफू सहयोग गर्न तयार रहेको’ बताएका थिए। उनले भने, ‘तपाईंले भनेको ठिकै हो। तर, हामी भोली बहुमतमा पुग्छौं भन्ने कुरा थाहा पाउने आधार के त? त्यसैले पहिलो कुरा, सरकारले हामीलाई चुनाव चिह्न दिनुपर्यो। दोस्रो, वर्गीय संगठनको सदस्यताको पुरानो प्रावधान हटाउनुपर्यो। ती दुई कुरा दिनुभयो भने, हामीलाई पञ्चायत भन्ने नामसँग कुनै आपत्ति छैन।’

बिपीको कुरा सुनेपछि वीरेन्द्रले जवाफ दिए, ‘म विचार गर्छु।’

तर, भारतीय दबाबमा राजाले बिपीको माग पुरा गर्न सकेनन्। त्यसपछि बिपी २०३७ सालको निर्वाचनमा भाग नलिने निर्णयमा पुगे।

***

बिपीसँग मेरो अन्तिम कुराकानी उपचारमा जानुपूर्व भएको थियो। त्यो भेटमा उनले आफूप्रति दरबारको फोस्रो सहानभूतिलाई लिएर निकै दुखमनाउ थियो। 

२०१७ सालमा महेन्द्रले ‘कू’ गर्दा बिपीलाई घुस खाएको ‘चार्ज’ लगाएका रहेछन्। त्यति बेला बिपीको घर र अरुतिरबाट १ लाख रुपैयाँ ‘सिज’ गरिएछ। उनीमाथि लागेको त्यो आरोप प्रमाणित हुन सकेन।

२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बिपीलाई आममाफी दिइसकेका कारण उनको भनाई थियो, ‘मलाई उपचार गर्न ‘सिज’ गरिएको त्यही १ लाख रुपैयाँ दिए हुन्थ्यो।’

तर, वीरेन्द्र सारा जनतामाझ आफूलाई उदार राजाको छवि देखाउन चाहन्थे। बिपीको ‘सिज’ गरिएको त्यो पैसा कहिल्यै फिर्ता भएन। बिपीले सरकारी खर्चमै अमेरिकामा उपचार गराए।

उनले मसँग दुखेसो पोख्दै भनेका थिए, ‘मैले सबैतिरबाट क्लियरेन्स पाएपछि त्यो एक लाख रुपैयाँ उपचारका लागि फिर्ता मागेको हुँ। तर, राजाले मेरो भाषा बुझेनन्। मेरो भावना बुझेनन्। उपचार गर्न पठाएर अपुरो उदारता देखाए। मेरो त्यो पैसा रिलिज गरिदिएको भए हुन्थ्यो।’

(नवीन अर्यालसँग कुराकानीमा आधारित)

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की