बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

फोनको घण्टी बज्यो।

‘के छ शंकरजी।’

आवाज सुन्नेवित्तिकै मैले खुट्टयाइहालेँ।

‘ओहो बीपीबाबु, मलाई त बेस छ, अनि तपाईँलाई?’

‘उस्तै त हो नि।’

उहाँको आवाज गलेको थियो। मलिन। म यो कुरा गर्दैछु, २०३५ सालतिरको।

त्यति बेला जावलाखेल डिस्टिलरीका मालिक विजयबाबु शाहको निमन्त्रणामा भारतका सिद्धबाबा स्वामी रामा काठमाडौं आएका थिए। उहाँले पनि थाहा पाउनुभएछ। अनि तिनै बाबासँग भेटाइदिनुपर्‍यो भनेर फोन गर्नुभएको रहेछ।

म जावलाखेल डिस्टिलरीमै काम गर्थे। विजयबाबुले स्वमीजीलाई घुमाउने जिम्मा मैलाई दिनुभएको थियो। स्वामीजी सोल्टीमा बस्थे। अरु स्वामीभन्दा भिन्न। लवाइखवाइ, सबथोकमा। सुट पाइन्टमा ठाँट्टिएर हिँड्ने। चुरोट पनि तान्ने।

त्यति बेलासम्म ती स्वामी, मेरा लागि मालिकको पाहुनाभन्दा बढी केही थिएनन्। बीपीले फोन गर्नुभएपछि उनमा केही न केही पक्कै छ भन्ने लाग्यो।

मैले त्यसै दिन स्वामीजी कहाँ खबर पुर्याएँ।

‘बीपीबाबु भेट्न चाहिरनुभएको छ।’

तर, कुनै प्रतिक्रिया आएन।

बीपीले फेरि फोन गर्नुभयो।

‘स्वामीजीले अनिच्छा देखाजस्तो लाग्यो’, मैले कुरा नचपाई जे हो त्यही भनिदिएँ।

तैपनि बीपीले उनलाई भेट्ने इच्छा छोड्नुभएन।

‘कोसिस गर्दै गर्नू’ उहाँले भन्नुभयो।

यता बीपी तारन्तार फोन गरिरहनुहुन्थ्यो, उता स्वामीजी भने चासै देखाउनुहुन्थेन। तीन–चार पल्टै फोन गर्नुभयो होला बीपीले। प्रत्येकचोटि म स्वामीजीकहाँ खबर पुर्याउँथेँ। उनी भेट्न अस्वीकार गर्थे।

मेरो थुप्रै आग्रहपछि स्वामीजीले भने, ‘इट्स टु लेट। (अब धेरै ढिलो भइसक्यो)।’

मैले त्यतिखेर यसको अर्थ बुझिनँ।

त्यसको चार वर्षमै बीपीको निधन भएपछि पो झल्याँस्स भएँ। उनले भन्न खोजेका रहेछन्, ‘बीपी जिन्दगीको उत्तर्राद्र्धमा छन्। उनलाई भेटेर कुनै काम छैन।’

***

बीपीले भेट्न खोजेपछि ती स्वामी सामान्य होइनन् भन्ने त मैले अनुमान लगाइसकेको थिएँ। तर, उहाँसँगै सोधन सकिनँ।

पछि किसुनजी (कृष्णप्रसाद भट्टराई) र उहाँका दाजु गोपालप्रसादबाट स्वामीजीको महिमा थाहा पाएँ।

उनको त्यही नेपाल बसाइका क्रममा एउटा प्रवचन कार्यक्रम राखिएको थियो। म निम्तो बोकेर किसुनजीकहाँ पुगेँ। किसुनजीका दाजु गोपालप्रसाद पनि सँगै हुनुहुन्थ्यो।

निमन्त्रणा कार्ड पढेपछि गोपालप्रसादले पुलुक्क किसुनजीतिर हेर्नुभयो।

‘कृष्ण, रामनारायण (मिश्र) ले सुन्दरीजलमा कुरा गर्ने स्वामी यही होइन?’

किसुनजी खै के काम गरिरहनुभएको थियो। स्वामीको नाउँ सुनेपछि उहााको ध्यान पनि तानियो। अघि बढेर कार्ड हातमा लिनुभयो। एकछिन गम्नुभयो।

‘ए हो त नी!’

किसुनजीले पनि यतिविधि रुचि लिएको देखेर त मेरो कौतुहल झनै बढ्यो। आखिर को हुन् यी बाबा?

उहाँहरूबाटै थाहा पाएँ, २०१५ सालको चुनावमा बहुमतप्राप्त नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न ढिलाई भएपछि बीपीले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मुड बुझ्न रामनारायण मिश्रलाई हरिद्धार पठाउनुभएको रहेछ। रामनारायणका आफन्त ललितनारायण मिश्र नेहरूको क्याबिनेटमा मन्त्री थिए। उनीबाटै केही गोप्य कुरा बाहिर आउँछ कि भनेर बीपीले रामनारायणलाई भारत पठाउनुभएको थियो।

रामनारायण हरिद्धारको एउटा ठूलो होटलमा बसिरहेका बेला, एकजना व्यक्रि महंगो गाडीबाट उत्रियो। उसले मगमग बासना आउने अत्तर छर्किएको थियो। सुटबुटमा सजिएको थियो। हातमा चुरोट थियो, त्यो पनि पाइपमा घुसारेको।

होटलमा आएका ती व्यक्तिबाट रामनारायण प्रभावित भएछन्। उनले होटलकै कर्मचारीलाई सोधेछन्, ‘को हुन यिनी?’

‘सिद्धबाबा हुन्। स्वामी रामा।’

जवाफ सुनेर रामनारायण चकित खाएछन्।

उनले बाबाको खिल्ली उडाउँदै अलि ठूलो स्वरमा भनेछन्, ‘यस्तो पनि बाबा हुन्छ?’

अगाडि हिँडिरहेका स्वामी रामाले त्यो कुरा ठ्याक्कै सुनिहालेछन्। अनि, रामनारायणलाई बोलाएर सोधेछन्, ‘बाबा कस्तो हुनुपर्छ त?’

रामनारायण त अक्क न बक्क परिहाले। अनि उनले रामनारायणलाई आफ्नो कोठामा लगेर भनेछन्–‘तँ ३ वटा कुरा सोध्। जे मन लाग्छ त्यही। म सब बताइदिन्छु।’

रामनारायणले पहिलो प्रश्न सोधेछन्,‘नेपालमा कसको सरकार बन्छ?’

स्वामीले उत्तर दिएछन्, ‘कांग्रेसको।’

दोस्रो प्रश्न सोधेछन्, ‘त्यसो भए को प्रधानमन्त्री हुन्छ?’

‘बीपी कोइराला।’

अनि तेस्रो प्रश्न सोधेछन्,‘म मन्त्री बन्छु कि बन्दिनँ।’

‘बन्छस्।’

मन्त्रिपरिषद्मा आफू पनि पर्ने भविष्यवाणीबाट उत्साहित हुँदै रामनारायणले चौथो प्रश्न सोध्न खोजेकामात्र के थिए, स्वामीजीले रोकेछन्, ‘तँलाई मैले ३ वटा प्रश्नमात्र सोध् भनेको थिएँ। तैले ४ वटा सोध्न खोजिस्। यो अनिष्टको संकेट हो। तेरो निधन क्यान्सरबाट हुन्छ।’

स्वामीजीले भविष्यवाणी गरेको केही समयमै नेपालमा कांग्रेसको सरकार बन्यो। बीपी प्रधानमन्त्री भए। र, रामनारायण मिश्र मन्त्री पनि भए।

स्वामीजीले चौथो प्रश्नमा अनिष्टको संकेत देखेका थिए। नभन्दै, १८ महिनामै बीपी कोइरालाको जननिर्वाचित सरकारमाथि ‘कू’ भयो। र, पछि रामनारायणको निधन पनि क्यान्सरबाटै भयो।

शाही ‘कू’ पछि बीपीसहित ७ जनालाई सुन्दरीजलमा थुनामा राखिएको थियो। त्यहाँ रहँदा रामनारायणले स्वामीजीको भविष्यवाणी सुनाएका रहेछन्।

***

बीपीसँग मेरो पहिलो भेट २००४ सालमा भयो। उनी राणाविरूद्ध आन्दोलन छेड्न काठमाडौं आएका थिए। त्यति खेर बीपीलाई लुकाएर राख्न हामीलाई निकै हम्मे पर्यो। सुरुमा सूर्यबहादुर बस्नेतको घरमा लुकायौं। कट्टर कांग्रेसी भएकाले उनले निकै सास्ती खानुपर्यो। अहिले उनी क्यानडामा छन्। डाक्टर। केही वर्षअघि क्यानडा सरकारले उनको समाजसेवाको मूल्यांकन गर्दै एउटा बाटै उनको नाउँमा राखेको छ।

त्यति बेला बीपीलाई डिल्लीबजारमा लुकाउने काममा म, सूर्यप्रसाद, विज्ञानदेव पन्त, विजयकुमार र चन्द्रघर उप्रेती बढी सक्रिय थियौं। तर, कताकताबाट राणाहरूले बीपी डिल्लीबजारमा लुकेर बसेका छन् भन्ने सुइँको पाइहाले।

हामीले रातारात बीपीलाई भगाएर भेडासिंहस्थित पूर्णबहादुर एमएको घर पुर्यायौं। केही दिनपछि त्यहाँ पनि सुराकी सक्रिय भए। त्यसपछि उहाँलाई असन, त्यउडस्थित त्रिरत्न मानन्धरको घर लग्यौं। बीपी त्यहीँबाट समातिए। किसुनजी कसरी हो, उम्किन सफल भएछन्।

आफूले मानेको नेता समातिएपछि आन्दोलन सञ्चालन गर्न हामीलाई अप्ठ्यारो पर्यो। हामीले सत्याग्रहको बाटो समात्यौं। म, राधेश्याम (विजयकुमार), विज्ञानदेवलगायत साथीहरू मिलेर सत्याग्रह सुरु गर्यौं। किसुनजीले आफ्नो किताबमा पनि यो कुरा लेखेका छन्।

सत्याग्रह २७ दिन लम्बियो। प्रधानमन्त्री मोहनशमशेर राणालाई दबाब परेछ कि क्या हो, बीपीलाई रिहा गरे। त्यसपछि उहाँ भारततिर लाग्नुभयो।

***

 

म कांग्रेसमा प्रवेश गरेको २००३ सालमै हो। त्यति बेला कांग्रेस दुई चिरामा विभाजित थियो। सूवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेस र बीपीको राष्ट्रिय कांग्रेस। यही विभाजनले राणा विरोधी आन्दोलन सोचेजति प्रभावशाली हुन सकेको थिएन।

२००५ सालतिर मेरो सम्बन्ध गाँसिन पुग्यो, राजा त्रिभुवनसँग। घोडेजात्राको दिन राति भद्रकालीमा रथ जुदाउने चलन थियो। अहिले आर्मीको हेडक्वार्टर भएको ठाउँमा ठूलो बाँसको झ्याङ थियो। जात्रा हेर्न त्रिभुवनका दुई छोरा बसुन्धरा र हिमालयन १३ र १४ नम्बरको गाडी चढेर त्यहाँ आएका रहेछन्। म र विज्ञानदेव पनि जात्रा हेर्न गएका थियौं। हामीले त्यही बाँसको झाडीमा लुकेर दुवै अधिराजकुमारलाई आफ्नो परिचय दियौं।

सुरुमा त उनीहरूले विश्वासै गरेनन्। केही बेर कुराकानीपछि भने, ‘त्यसो भए बुवा महाराजधिराज (त्रिभुवन) लाई भेट्नुपर्छ।’

त्यसको केही दिनसम्म हाम्रो सम्पर्क भएन। त्रिभुवनलाई पुरै निगरानीमा राखिएकाले सम्पर्क गर्न गाह्रो पनि थियो। हामीले योजना बनायौं, कमलपोखरीमै बस्ने ‘बलदेव’ नाम गरेका हजामलाई फकाउने। ऊ त्रिभुवनको दाह्री र कपाल काट्न दरबार जान्थ्यो। हामीले ऊसँग कुरा पर्यौं। सुरुमा त खुबै डरायो। धेरै दिनको प्रयासपछि बल्ल हाम्रो सुराकी बन्न राजी भयो।

एकदिन त्रिभुवनले सन्देश पठाए, ‘राति दरबारको पछाडि बाँसको झ्याङमा भेट्नू।’ म निकै उत्साहित भएँ।

त्यही रात म र विज्ञानदेव दरबारको ठूलो पर्खाल नाचेर त्रिभुवनलाई भेट्न गयौं। त्यतिबेला त्रिभुवनसँगै वसुन्धरा र हिमालयन थिए। तत्कालीन युवराज महेन्द्रलाई नदेखेपछि हाम्रो मनमा कौतुहल जाग्यो। सोध्यौं, ‘सरकार, युवराजसँग त भेट्न पाइएन नि?’

त्रिभुवनले भने, ‘पछि थाहा पाउलाऊ। हामी छँदै छौं।’

त्यसको अर्थ खोल्न लामो समय कुर्नुैपरेन। २०११ सालमा त्रिभुवनको निधन भएपछि थाहा पाइयो, महेन्द्र कति हदसम्म महत्त्वाकांक्षी रहेछन्। खासमा त्रिभुवनलाई नै फिटिक्कै विश्वास रहेनछ, महेन्द्रमाथि। स्वास्नीमार्फत राणाहरूकोमा कुरा पुर्याउँछ भन्ने लागेको रहेछ, उनलाई।

त्यही भेटमा त्रिभुवनले सूवर्ण र बीपीलाई एकजुट भएर काम गर्न सल्लाह दिएका थिए। उनले आफ्नो मनसाय यसरी प्रकट गरे, ‘भनी देऊ दुवैलाई, एकहातले ताली बज्दैन। ताली बज्न दुई हात चाहिन्छ।’

राजा त्रिभुवनको यो सन्देश हामीले नै भारत पठायौं। केही समयमै सूवर्ण र बीपी मिलेर नेपाली कांग्रेस स्थापना गरको खबर आयो। त्यसपछि हामीले बीपी र त्रिभुवनको बिचौलिया भएर काम गर्न थाल्यौं।

***

२००७ सालपछि बीपीहरू नेपाल फर्किनुभयो। उहाँहरूलाई गौशालाको गोश्वारा हवाई अड्डा (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा स्वागत गर्नेहरूको यति ठूलो भीड थियो, लाग्थ्यो, काठमाडौंको पुरै जनता उर्लिएका छन्। खुट्टा टेक्ने ठाउँधरी थिएन, विमानस्थलमा।

***

नयाँ दिल्लीमा राणा, राजा र कांग्रेसबीच भएको सम्झौताअनुसार मोहनशमशेरकै नेतृत्वमा अन्तरिम सरकार गठन भयो। बीपी गृहमन्त्री हुनुहुन्थ्यो। उहाँ त्रिपुरेश्वर गेस्ट हाउसमा बस्नुहुन्थ्यो। आफ्नो सत्ता गुमेको चोटमा राणाहरूले बीपीलाई मार्ने षड्यन्त्र गरे। त्यति बेला भरतशमशेर राणाको सक्रियतामा खुकुरी दल (गोरखा दल) स्थापना भएको थियो। खुकुरी दलका थुप्रै कायृकर्ता हातमा खुकुरी बोकेर बीपीलाई मार्न गेस्ट हाउस पुगे। भीड देखेर गणेशमानजीहरू अत्तालिनुभएछ।

बीपी बसेको कोठमा छिरेर एकजना आर्मीका पूर्वसुवेदारले खुकुरी हान्न के लागेका थिए, बीपीले आफैंले पेस्तोल झिकेर गोली चलाउनुभयो। सुवेदार त्यहीँ ढल्यो। भरतशमशेरसहित अरू धेरै पक्राउ परे।

तर, केही दिनपछि नै भरतशमशेर जेलबाट निस्किए। उनी मुक्त हुँदा जयजयहार गर्नेको भीड देखियो। मलाई भने यो चित्त बुझेन। आफ्नो नेतालाई मार्न जाने व्यक्तिलाई बिनाकारवाही बाहिर निकाल्ने घटनाले निकै रिस उठ्यो।

एकदिन राजा त्रिभुवनले भेट्न बोलाएका थिए। त्यहीँ आफ्नो रिस पोखिहालेँ, ‘सरकार तपाईँविरूद्ध नारा–जुलुस गर्ने। बीपीलाई मार्न खोज्ने मान्छेलाई छाडेर राम्रो भएन।’

त्यतिबेला म बढी नै विचलित भएछु। मेरो आवाज चर्को थियो। त्रिभुवन मसँग बम्किए, ‘मलाई के थाहा। भरतशमशेर थुनामुक्त भएको खबर मैले उनी बागमती (पुल) आइपुगेपछि मात्र थाहा पाएँ। तिम्रो नेता (बीपी) ले प्रधानमन्त्री हुन नपाएको रिस ममाथि पोख्ने?’

यो सुनेपछि म त अलमल्ल परेँ।

***

कांग्रेसलाई दरबारबाट दुःख दिने काम भएछि ऋषिकेश शाह र मथुरालाल बीपीकहाँ पुगे। बीपीसँग मेरो राम्रो सम्बन्ध भएकाले मलाई पनि आफूसँगै ‘डेलिगेसन’ मा लगेका थिए। यो २०३३ सालमा बीपी मेलमिलापको नीति लिएर काठमाडौं फर्किएपछिको कुरा हो।

ऋषिकेशले प्रस्ताव राखे, ‘बीपीबाबु यसरी भएन, दरबारले कहिल्यै प्रजातन्त्र दिँदैन। त्यसैले कम्युनिष्टसँग मिलेर जाऔं।’

यो सुन्नेबित्तिकै बीपीले मलाई टुलुटुलु हेर्नुभयो। सायद उहाँलाई ममा बिचलन आयो भन्ने लाग्यो होला। उहाँले सबैलाई स्पष्ट पार्नुभयो, ‘कम्युनिष्टसँग म हात मिलाउँदिनँ। चाहे नेपालमा प्रजातन्त्र स्थापना गर्न मलाई १० वर्ष लागोस कि २० वर्ष।’

(नवीन अर्यालले गरेको कुराकानीमा आधारित)

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली