किन मधु लियमेले भारतीय संसदभित्र भने, ‘ईन्दिरापछि भारतमा कुनै ठूलो नेता छ भने बिपी हुन्’

तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुसँग बीपी काेइराला।

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

२०३१ सालमा भारतीय समाजवादी नेता जयप्रकाश नारायण(जेपी)ले प्रधानमन्त्री ईन्दिरा गान्धीविरुद्ध ‘सम्पूर्ण क्रान्ति’ को बिगुल फुके। त्यति बेला नेपालका अपदस्त प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) भारतमा निर्वासित जीवन बिताइरहेका थिए। ईन्दिरालाई थाहा थियो–बिपी चुप लागेर बस्दैनन्। त्यसमा पनि उनी जेपीसँग पारिवारिक मात्र होइन, सैद्धान्तिकरूपले पनि नजिक छन् भन्ने कुरा ईन्दिराले बुझेकी थिइन्।

त्यसैले उनले आफ्नो दूत मार्फत कुरा पठाइन्। त्यति बेला बिपी ८ वर्ष सुन्दरीजल जेलबाट बिताएर नेपालमा पुनः प्रजातन्त्र पुनःस्थापनाको अभियानमा थिए। त्यसैको तयारी स्वरुप २०३० सालमा उनले दोस्रो पल्ट सशस्त्र क्रान्तिको आवहान गरिसकेका थिए।

यसका लागि उनी सुरुमा ईन्दिरासँग आर्थिक र नैतिक दुवै समर्थन जुटाउन गएका थिए। ईन्दिराबाट आश्वासन त पाएँ तर काम भने अगाडि बढेन। किनभने ईन्दिरा चाहन्थिन्, बिपी भारतमा चलिरहेको आफूविरूद्धको समाजवादी आन्दोलनमा नलागून्। तर, बिपी चुप लागेर बस्न कहाँ सक्थे र!

इन्दिरा गान्धी

भारतको स्वतन्त्रता सग्राममा दुई पल्ट भारतीय जेलमा परिसकेका व्यक्ति। त्यसमा पनि एक कट्टर समाजवादी! उनी अदृश्यरुपमा आन्दोलनमा होम्मिए। अझ, भनौं ईन्दिराले आपत्काल लागू गरेपछि जयप्रकाश, चन्द्रशेखर, अटलबिहारी बाजपेयी, मोरारजी देसाईलगायतका थुप्रै नेता पक्राउ परे।

त्यसपछि आन्दोलनले कुन रुप लिने हो? सबै अन्योलमा थिए। त्यति बेला कर्पुरी ठाकुरलगायतका अन्य नेताहरूलाई आन्दोलनको लागि उर्जादिने देखि योजनाको विषयमा गोप्य जानकारी गराउने विषयमा सक्रिय भए, बिपी।

आफैविरूद्ध लक्षित आन्दोलनमा बिपीको संलग्नता पक्कै पनि ईन्दिरालाई मन पर्ने कुरा थिएन। यसैबीच ओखलढुंगा आक्रमणको गुप्त योजना बीचैमा चुहिएका कारण तुहियो। आक्रामणमा गएका प्रायः सवै जवान सोलुखुम्बुको टिम्बुरबोटेमा मारिए।

यो अपरेशनको असफलता बिपीका लागि स्तब्ध पार्ने खालको थियो। यही कारण नेपाली राजनीतिले नै कोल्टे फेर्यो।

किनभने बिपी २००७ सालमा राजा, राणा र कांग्रेसबीच सम्झौतामा बसेको भारतका कारण नेपालमा प्रजातान्त्रिक व्यवस्था मजबुत हुन नसकेको निर्णयमा पुगिसकेका थिए। त्यसैले उनी चाहन्थे, ओखलढुंगा आक्रमणपछि त्यहाँ आफ्नै वैध सरकार स्थापना गर्ने र अन्तर्राष्ट्रिय समर्थन जुटाउने।

उनले यसका लागि संसारभरी छरिएर रहेका समाजवादी देशसँग कुरा पनि गरिसकेका थिए।

तर, यसको असफलतासँगै ईन्दिराले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई दिनसम्म दुःख दिइन्। त्यसमा पनि विशेष २०३० सालमा प्लेन अपहरणमा मुछिएका व्यक्तिहरूलाई खोजी–खोजी जेल कोच्न थालियो।

यसैबीच, तत्कालीन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियमा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत डा. सुकार्नोको सत्ता पलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’ को बढ्दो उपस्थितिको विश्लेषण गर्दै बिपीले ‘राष्ट्रिय मेलमिलाप’ को नीति अख्तियार गरे।

र, २०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले। बिपीको त्यो निर्णय ईन्दिराका लागि स्तब्ध पार्ने खालको थियो। ईन्दिराको विश्लेषण थियो, आफ्नो देशमा फाँसीको सजाय बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाइकन कसरी जान सक्छ? ईन्दिराको फर्मुला थियो–बेलायतीहरू जस्तै ‘फुटाउ र राज्य गर’। बिपी देखाएर दरबारलाई तर्साउँने। दरबार देखाएर बिपीलाई। दरबार पनि ‘चिनीयाँ कार्ड’ देखाएर ईन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो।

बिपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन ईन्दिरासँग कुनै कार्ड नहुने भयो। त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बिपीकहाँ भेट्न पठाइन्। आसामका बरुवा काशी हिन्दु विश्वविद्यालयमा पढ्दैताका बिपीका मिल्ने साथी थिए।

‘ईन्दिरा इज इन्डिया। इन्डिया इज ईन्दिरा’ को नारा दिँदै ईन्दिराको आर्शिवाद पाएका बरुवाले बिपीलाई फकाउने अनगिन्ति प्रयास नगरेका होइनन्। तर, बिपीले ‘महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै’ उनको सवै प्रस्ताव अस्विकार गरे।

यस्तै, सन् १९७१ भारत–पाकिस्तान युद्धताका रक्षामन्त्री रहेका जगजीवन रामले पनि बिपीलाई फकाउँन फोन गरेका थिए। सन् १९४२ स्वतन्त्रता संग्राममा बिपी र जगजीवन हजारीबाग जेलमा सँगै थुनामा परेका थिए। त्यसैले उनीहरू बीच राम्रो सम्बन्ध थियो। उनले फोन गरेर बिपीसँग भेट्ने समय मागेका थिए। तर, बिपीले फोनबाटै भनेछन्– ‘महारानीले पठाएको भए भेट्ने कष्ट नगर्नुस्। साथीको नाताले आउनुहुन्छ भने आउनुहोला।’

जगजीवनले कुरा बुझे। उनी बिपीलाई भेट्न गएनन्।

लोकतन्त्रको हत्या गर्दै इमर्जेन्सी लगाउने ईन्दिराको निर्णयलाई बिपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’ तर्फ उन्मुख बताउँथे। त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्– भारत अब ठूलो जेल भयो। सानो जेल नेपालमै फर्किन्छु।

बनारसस्थित मामुरगञ्जको निरालानगर कोलोनीमा बस्दाँ बिपीले भनेको कुरा बिएचयुका पूर्व प्राधानाध्यापक सुरेन्द्रप्रताप सिंह अझै सम्झन्छन्। भन्छन्– ‘इमर्जेन्सी के बाद इन्डिया भी जेल बन गया। हमारा छोटा जेल हे। छोटा जेलमे जाउँगा।’

जेपीजस्ता ठूलो कदका नेता, जसले ईन्दिरालाई ‘इन्दू’ नाम दिएका थिए। उनैलाई जेल कोच्ने काममा संलग्न ईन्दिराको बन्दै गरेको ‘इमेज’ बाट बिपी खुसी थिएनन्।

उनलाई थाहा थियो, ईन्दिराको बन्दै गरेको ‘इमेज’ नेपालका लागि पनि खतरनाक थियो। त्यसैले भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर नेपाली काग्रेसका नेताहरूलाई भन्ने गर्थे– तिमीहरू जस्तो फुच्चे देशको प्रधानमन्त्रीले हाम्रो देशको प्रधानमन्त्रीसँग टक्कर लिएको परिणाम हो, तिमीहरूले दुःख भोग्नु परेको।’

२०४२ सालमा विराटनगर आउने क्रममा चन्द्रशेखरले ईन्दिराको विषयमा एउटा रोचक कुरा बताएका थिए। त्यति बेला चन्द्रशेखरसँगको संवादमा संलग्न बद्रिनारायण बस्नेत भन्छन्–‘इमर्जेन्सीपछि ईन्दिराको इमेज ध्वस्त भइसकेको थियो। बंगलादेश टुक्राएपछि रणचण्डी भई। बंगलादेश टुक्राउन नसकेको भए, आफ्नो इमेज सुधार्न नेपाललाई हान्थी। तिमीहरू दुविधामा रहनुपर्दैन्।’

....

बिपीको चुलिदो अन्तर्राष्ट्रिय ख्यातीबाट राजा महेन्द्र मात्र होइन, भारतका पूर्व प्रधानमन्त्री जवहारलाल नेहरु पनि संशकित थिए। तर, नेहरु भारतजस्तो ठूलो देशमा भएको आन्दोलनको ‘प्रोडक्ट’ थिए। त्यसैले प्रजातन्त्रप्रति उनको रवैया छोरी ईन्दिराभन्दा स्पष्ट थियो। नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउनेसम्बन्धमा उनी पनि थुप्रै ठाउँमा चुकेका छन्। धेरै विश्लेषकहरू यसलाई बिपी र नेहरूबीचको ‘इगो’ मान्छन्। केहीको विश्लेषण छ, नेहरुभन्दा पनि अंग्रेज नोकरशाह (ब्युरोक्य्राट) नेपालको शाषन व्यवस्थामा हावी हुँदै आएका छन्।

भारत स्वतन्त्र भएपछि नेहरुको ‘पोलिसी’ को विषयमा भारतीय नेताहरू मात्र होइन, बिपी पनि आलोचक थिए। उनी अंग्रेजको जमानाकै ‘ब्युरोक्य्राट’ लाई निरन्तरता दिएकोमा नेहरुको खुलेर आलोचना गर्थै। उनको भनाई थियो– स्वतन्त्र भारतमा ब्युरोक्रेसीमा पनि परिवर्तन गर्नुपर्थ्याे।

२००७ सालको क्रान्तिमा भारतीयहरूको भूमिका, त्यसमा पनि विशेषत नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहको भूमिकालाई लिएर बिपीले धेरै ठाउँमा असन्तोष पोखेका छन्। त्यति बेला आन्दोलनको सम्पूर्ण कमाण्ड नेपाली कांग्रेसले गरेको थियो। तर, राजा, राणा र कांग्रेसबीच सम्झौता हुँदा काग्रेसलाई एकप्रकारले ‘आइसोलेसनमा’ राख्ने काम भयो।

काशी हिन्दु विश्वविद्यालयका पूर्व राजनैतिक प्राध्यापक डा. दीपक मल्लिक भन्छन्– ‘बिपीको भनाई साँचो पनि हो। चन्द्रेश्वरलाई अंग्रेजहरूले नै ‘सर’ को उपाधि दिएका थिए।’

नेहरु र बिपीबीच अर्को पनि असमानता थियो । त्यति बेला संसारभरी ‘सौन्दर्यवाद’ चलिरहेको थियो। नेहरु ‘सौन्दर्यवाद’ पछ्याउँथे। तर, बिपी धेरै अर्थमा यर्थातवादी।

चीनले तिब्बत कब्जा गर्नुअघि बिपीले धेरैपल्ट नेहरूलाई भनेका थिए। तर, नेहरूले चीनको आन्तरिक समस्या देखाउँथे, असम्भव भन्थे। नभन्दै चीनले १९५० मा तिब्बतलाई आफ्नो देशमा गाभ्यो। ईन्दिराले १९७३ मा सिक्किमलाई भारतमा विलय गराइन्। यसपछि रणनीतिकरुपमा नेपालको आँखा संसारभरीको मुलुकतर्फ केन्द्रित भयो।

बिपीको दृढ विश्वास थियो, समाजवादी सिद्धान्तले मात्र पूर्णरुपमा देश विकास गर्न सकिन्छ। जवहारलाल समाजवादको कुरा त गर्थे तर लागू गर्न डराउँथे। २००८ सालमा नेहरुकै आर्शिवादले दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए भन्ने हेक्का बिपीलाई राम्रैसँग थियो।

किनभने, २०२९ सालतिर सशस्त्र आन्दोलनका लागि भारतबाट आर्थिक र नैतिक समर्थन माग्न बिपीका भाई गिरिजाप्रसाद कोइराला ईन्दिरा गान्धीलाई भेट्न गएका थिए। त्यति बेला ईन्दिराले भनेकी थिइन– बिपी बुढा हो गए हें, अस्वस्थ्य भी रहते हें। क्यो ना आप क्रान्तिका नेतृत्व किजिए? क्या सहयोग चाहिए, करेगे।’

त्यो कुरा गिरिजाले बिपीलाई सुनाए। त्यति बेला बिपीको प्रतिक्रियाको विषयमा बस्नेत भन्छन्–‘दाजु र मलाई जसरी फोडे। त्यसैगरी तिमी र मलाई फोड्न लागेका हुन।’

फेरि २०१७ सालमा आफ्नो सरकार ‘कू’ गर्न नेहरुसँग राजा महेन्द्रले विश्वास लिइसकेको कुरा पनि बिपीलाई थाहा थियो। कुमारमणि दीक्षिण, जो बिपीका सहायक थिए, उनले आफ्नो पुस्तकमा पनि लेखेका छन्– ‘बिपीले नेहरुसँग सहयोग मागेका थिए। तर, उनले दिन चाहेनन्।’

नेपालमा प्रजातान्त्रिक सरकार अपदस्त हुँदा नेहरु काश्मिरमा थिए। उनले त्यति बेला नेपालमा सत्ता परिवर्तन हुन्छ भन्ने आफूलाई थाहा भएको बताएका थिए। तर, व्यवस्था नै परिवर्तन हुन्छ भन्ने थाहा नभएको प्रतिक्रिया दिएका थिए।

जुनबेला राजा महेन्द्रले बिपीको सरकार ‘कू’ गरे। त्यति बेला भारतका प्रधानसेनापति धिमैया चितवनमा थिए। उनले त्यति बेला कांग्रेसको विषयमा दिएको अभिव्यक्तिका कारण उनलाई बर्खास्त गरिएको थियो। महेन्द्रले बिपीलाई प्रधानमन्त्रीबाट अपदस्त गर्न भारतीय सरकारलाई ‘नालापानी’ बुझाए। यस्तै चीन सरकारसँग सगरमाथा आधा–आधाको सम्झौता गरे।

यसअघि बिपी प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा सगरमाथा आधा गर्ने विषयमा चिनियाँ नेताहरूले दबाब नदिएका होइनन्। तर, उनले सगरमाथा पूर्ण रूपमा आफ्नो भूभागमा पर्ने भन्दै सम्झौंता गर्न मानेका थिएनन्।

बिपीको चीन भ्रमण रद्द गर्न नेहरुले हस्तक्षेप गर्न खोजेका थिए। तर नेहरुको कुरा सुनेपछि बिपी रिसाएका थिए।

बिपी प्रधानमन्त्री हुँदै बोर्डर नजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एकजना हवलदार बमबहादुर सम्बाज मारिए। नेहरुले कडा वक्तब्य दिए– हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो। त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ।’

तर, बिपीलाई सर्वभौम राष्ट्रको प्रधानमन्त्रीको रुपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन। उनले भोलीपल्टै नेपाली संसद् भवनबाट नेहरुलाई प्रत्युत्तर दिए– उत्तरी सीमामा जुन घटना भयो। यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो। हामी भन्न चाहन्छौं, हाम्रो भूभागको रक्षा हामी गर्न सक्षम छौं।’

पछि भारतको राजधानी नयाँ दिल्लीमा पत्रकारहरूले बिपीको प्रत्युत्तरको विषयमा नेहरुलाई सोधेका थिए। नेहरुले जवाफ दिए– ‘बिपीले भनेको कुरा ठिक हो।’

यो घटनामा चीनले आफ्नो गल्ती स्विकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपैयाँ प्रदान गरेको थियो, जुनपछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बिपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो।

‘भारतमै बस्दा बिपीको निष्ठा र राजनीतिक सुझबुझका कारण नेहरुलाई लागेको हुनुपर्छ, भारतको हितमा बिपीभन्दा महेन्द्रलाई बढि उपयोग गर्न सकिन्छ। त्यसैले उनले बिपीको सरकार अपदस्त गर्न मौन स्विकृति दिए। तर, सत्ता हातमा आएपछि महेन्द्रले उल्टै चिनियाँ कार्ड खेले’, प्लेन अपहरणकाण्डमा संलग्न विनोद अर्याल भन्छन्।

यसैको प्रतिक्रिया स्वरुप नेहरुले कोलकाता बसेका नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष सुवर्णशमशेर राणामार्फत सशस्त्र विद्रोह गराउने प्रयास गरेका थिए। त्यति बेला आफ्नो अभियानमा बिपीको समर्थन रहेको देखाउन नेहरुले कोइराला परिवारको कुनै एक सदस्यलाई ल्याउन सुवर्णलाई आग्रह गरेका थिए। ‘सुवर्णले शेखर कोइरालाको बुवा केशवप्रसाद कोइराला, जो २००७ सालमा कांग्रेसले विराटनगर कब्जा गरेपछि स्थापना गरेको सरकारका प्रमुख थिए। उनैलाई लिएर गए’, अर्याल भन्छन्।

त्यति बेलाको कांग्रेसको सशस्त्र विद्रोह ‘गुरिल्ला शैली’ मा भएको थियो। सरकार हायलकायल भइसकेको थियो। तर, त्यति नै बेला २०१९ सालमा चीन र भारतबीच सीमा विवादलाई लिएर युद्ध भयो। चीनले धम्की दियो–‘नेपालमाथि हुने कुनै पनि आक्रमणलाई चीनले आफूमाथि भएको ठान्ने छ।’

नेहरुले बिद्रोहका लागि पैसादेखि सवै कुरा उपलब्ध गराएका थिए। तर, चीन– भारत युद्धपछि सबै रोकियो। सुवर्णले युद्धविराम गर्नु पर्यो। युद्धमा भारतको पराजय भयो।

राजनैतिक सोचका हिसाबले बिपी र नेहरु दुई विपरित ध्रुवका नेता मानिन्छन्। तर, यति हुँदा हुँदै पनि दुवैमा एकअर्काप्रति आगाध स्नेह थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि २००५ सालमा बिपी दोस्रो पल्ट काठमाडौंमा पक्राउ परे। यति बेला उनको रिहाईका लागि समाजवादी नेता डा. राममनोहर लोहिया नयाँ दिल्लीस्थित नेपाली दूतावासको अगाडि अनसनमा बसे। बिपीलाई तीन महिना जेल राखियो।

पछि नेहरुकै दबाबमा बिपी थुनामुक्त भए। नेहरुले बिपी पत्नी सुशिलालाई भनेका थिए– तिम्रो लागि जति बेला पनि मेरो घर खुला छ।

बिएचयुका प्रोफेसर सुरेन्द्रप्रतापका अनुसार नेहरुको घरमा दुईजना ब्यक्तिलाई बिना पास भित्र प्रवेश गर्ने अनुमति थियो– एउटा–अमिताभका पिता हरिवंशराय बच्चन र अर्को बिपी तथा सुशिलालाई।

नेहरुको स्वभावको विषयमा भारतीय समाजवादी नेता तथा पत्रकार भोला चटर्जीलाई बिपीले दिएको अन्तर्वार्तामा भनेका छन्– ‘म दुईवटा कारणले जवाहरलालजीप्रति कृतज्ञ छु। एउटा कारण निश्चय पनि व्यक्तिगत। मैले भोक–हडताल (राणाहरुको जेल) गरेका बेला उहाँले दुइपल्ट मेरो ज्यान बचाउनुभयो। उहाँसँग मेरो नीतिगत असहमति भएपनि।’

बिपी प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा जवहारलालले भब्य स्वागत गरेका थिए। यस विषयमा बिपीले लेखेका छन्– ‘श्रीमति पनि साथै थिइन्। मेरी कान्छी छोरी त्यस बेला सानै थिई। त्यसैले ऊ पनि हामीसँग गएकी थिई। विमानस्थलमा स्वागत कार्यक्रम हुँदा हाम्री छोरीलाई ईन्दिराजीले लगिन्। मलाई हैदरावाद हाउसमा राखिएको थियो। उहाँहरु त्यहाँ आउनुभयो। उहाँहरुले मलाई विदेशी पाहुना वा सरकारी पाहुनाको व्यवहार होइन, परिवारिक पाहुनाको व्यवहार गर्नुभयो।’

बिपी र नेहरुको बढ्दो हिमचिमलाई लिएर समाजवादी नेता लोहियाले धेरै पल्ट असन्तोष व्यक्त गरेका थिए। लोहिया भारतीय राजनीतिका बौद्धिक नेता त थिएनै, भारतीय संसदभित्र उनले गरेको एउटा सशक्त भाषणको सधै चर्चा हुने गरेको छ।

सन् १९६३ मा लोहिया फररुखावाद उपचुनाव जितेर विद्यानसभा पुगे। त्यति बेला प्रधानमन्त्री नेहरुले आफ्ना देशका जनताले प्रतिदिन १५ आना कमाउने दाबी गरे। तर, लोहियाले प्रधानमन्त्रीको दाबीलाई झुटको संज्ञा दिँदै भारतीय जनता ३ आनामा बाँचिरहेको बताए। यसका लागि उनले सर्वेक्षण गराउन माग गर्दै नेहरुलाई लोकसभा भित्रै चुनौती दिए– तपाईले भनेको कुरा साबित भयो भने म संसद सदस्यबाट राजीनामा दिन्छु। मेरो दाबी सावित भयो भने के तपाई राजीनामा गर्नुहुन्छ?’

यो भाषण भारतीय राजनीतिमा ‘तीन आनाविरुद्ध पन्त्र आना’ को नामले चर्चित छ। अहिले पनि भारतमा भन्ने गरिन्छ– नेहरुको हृदयघातका कारण निधन हुनुमा लोहियाको आगो ओकल्ने भाषण जिम्मेवार छ। 

....

बिपी स्कुले जीवनदेखि नै भारतको स्वतन्त्रता संग्राममा होम्मिएका थिए। उनी ९ बर्षको हुँदा आतंककारी समूहमा लागे। जसको नाम थियो, बाँदर सेना। यसै समूहले बैक लुट्यो। त्यति बेला उनी पनि पक्राउ परे। तर, जिल्ला मजिस्ट्रेटले पत्याउँदै पत्याएन। उनी तुरुन्तै रिहा भए। यसपछि कम्युनिष्ट विचारधारातर्फ आकर्षित भए।

बिएचयुमा अध्ययनरत रहँदा उनले देवकान्त बरुवा, महाबीरप्रसाद सिन्हा, देवेन्द्रप्रसाद सिंह र राजेश्वर रावजस्ता साथीसँग मिलेर विद्यार्थी संगठन नै खोले। उनी संगठनका सचिव थिए। पछि अध्यक्ष नै भए।

यसैक्रममा सन् १९२८ मा कम्युनिस्ट इन्टरनेशनलको छैटौ अधिवेशनले सवै राष्ट्रवादी र लोकतान्त्रिक समाजवादीलाई ‘सोशल फासिस्ट’ भन्यो। जयप्रकाश पनि पहिले कम्युनिस्ट दर्शनबाट प्रभावित थिए। तर, उनलाई छैटो अधिवेशनले पारित गरेको प्रस्ताव मनपरेन। यसमा पनि सोभियत संघमा स्टालिनले आफ्ना विरोधीविरूद्ध चलाएको नरसंहारपछि लगभग कम्युनिष्ट पार्टीबाटै जेपीको मोह भंग भयो। यद्धपि माक्र्सवादी चिन्तनको आकर्षण छँदै थियो, उनमा। त्यसैले देशभरि घुम्दै हिँडे। यसै क्रममा उनको बिएचयुमा भेट भयो, बिपीसँग।

बिपी पनि स्टालिनको नरसंहारबाट स्तब्ध थिए। उनको झुकाव ट्रोटस्कीतर्फ ढल्किसकेको थियो। पछि बिस्तारै गान्धीतर्फ आकर्षित भए।

सन् १९३३ मा आचार्य नरेन्द्र देवको अध्यक्षतामा कांग्रेस समाजवादी पार्टी गठन भएपछि उनी त्यसको सक्रिय सदस्य बन्न पुगे। यसैक्रममा उनी भारतका चर्चित समाजवादी नेताहरु नरेन्द्र देव, जेपी, लोहिया, मीनु मसानी, अच्युत पटवर्द्धन, एनजी गोरे, अशोक मेहतासँग वैचारिक मन्थनमा भाग लिन्थे। उनी विहारदेखि महाराष्ट्रसम्म स्वतन्त्रता आन्दोलनमा खटिएका थिए।

सन् १९४२ मा जेल परेपछि त उनको ख्याती भारतमै चुलिसकेको थियो। उनी २ बर्ष जेल परे। त्यति बेला महात्मा गान्धीलाई आन्दोलनको हरेक रिपोर्ट थाहा हुँन्थ्यो।

त्यसैले उनी बिपीबाट पनि निकै प्रभावित थिए। ‘भारत स्वतन्त्र हुनुअघि नै बिपीको ख्याती यहाँ चुलिसकेको थियो। समाजवादीहरू उहाँको बौद्धिकताबाट प्रभावित त थिए नै गान्धी र नेहरु पनि आकर्षित थिए’, बनारसका बरिष्ठ वकिल विनोद सिंह भन्छन्।

विनोद भारतका अर्का समाजवादी नेता सागरप्रसाद सिंहका भतिजा हुन। सागरप्रसाद २००७ सालमा विराटनगरमा लड्न बिपीसँगै नेपाल आएका थिए। २०३३ सालमा बिपी मेलमिलापको नीति लिएर फर्किदा नेपालमा राजद्रोह सम्बन्धि उनीविरुद्ध ७ वटा मुद्धा थियो। बिपीको पक्षमा त्यो मुद्धा लड्न मुम्बईका पूर्व न्यायाधीस बिएन तारकुण्डेसँगै नेपाल आएको तीन सदस्यीय वकिलहरूको टोलीमा सागर पनि सम्मिलित थिए।

.....

भारतमै राजनीति गर्ने ठूलो अवसर थियो, बिपीलाई । तर, भारतको पक्षमा स्वतन्त्रता संग्रामको लडाइ लड्दा पनि उनको दिमागमा थियो, मात्र नेपाल। जब लोहियाले पहिलो पल्ट गान्धीलाई भेटाउन बिपीलाई लगे, उनको उमेर १५ वर्ष मात्र थियो।

लोहियाले सन् १९२९ मा बिपीलाई गान्धीसँग भेटाइदिएका थिए। त्यति बेला गान्धीको प्रश्न थियो, कसको प्रेरणाले राजनीतिमा लाग्यौं। त्यतिबेला बिपीले भनेका थिए– पिताजी (कृष्णप्रसाद) को प्रेरणाले। म तीन वर्षको हुँदा पिताजी नेपाल छाडेर आउनुभयो। उहाँका कारण हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ। हाम्रो सबै सम्पत्ति रोक्का छ। हामी १२ वर्षदेखि भारतमा निर्वासनको जीवन बिताइरहेका छौं।’

विनोद सिंह बिपीलाई नेपालको गान्धी भन्न रुचाउँछन्। उनका अनुसार भारतलाई स्वतन्त्रता दिलाउन गान्धीको भूमिकाजस्तो रह्यो। नेपालमा प्रजातन्त्रको बीजारोपण गर्ने योगदान बिपीको थियो। तर, गान्धीले हतियार उठाएनन्। बिपीले भने दुईपल्ट सशस्त्र आन्दोलन आह्वान गर्नु पर्यो।

यसलाई बिएचयुका प्राध्यापक दीपक मल्लिक यसरी अर्थ्याउँछन्, ‘जुन देशको जग नै सामन्ती सोचमा उभिएको छ, जहाँ एउटा व्यक्ति (राजा) लाई भगवानको अवतार मानेर ८० प्रतिशत जनताले पूजा गर्छन्, त्यसमा पनि पढेलेखेका व्यक्तिहरू राजाकै झोलीमा छन्। यस्तो ठाउँमा जनताको बाँच्न र बोल्न पाउने मौलिक अधिकारसहितको प्रजातन्त्र स्थापित गर्छु भन्नु आफैंमा आत्मघाती निर्णय थियो। त्यो जोखिम बिपीले उठाएकै हुन। यो पृष्ठभूमिमा गान्धीले नेपालमा अहिंसात्मक आन्दोलन गरेका भए, सायद धेरै पहिले मारिन्थे होला।’

मुलतः बिपी गान्धीवादी थिए। तर, उनले हतियार पनि उठाए। यसलाई रणनीतिक मान्छन, मल्लिक। भन्छन्– ‘बिपीले देशलाई राम्रोसँग बुझेका थिए। यस कुरामा लोहिया र जयप्रकाशभन्दा नितान्त भिन्न देखिन्छन, बिपी।’

बिपीको एउटै लक्ष्य थियो, नेपाली जनतालाई उसको वैयक्तिक अधिकार दिलाउने। राणाकालमा उनी दुईपल्ट जेल परे। २००३ सालमा जेल पर्दा उनलाई छुटाउन महात्मा गान्धीले नै हस्तक्षेप गर्नु पर्यो। २००५ सालमा नेहरुले। ६८ वर्षे जीवनकालमा बिपीले नेपालमा १० बर्षमात्र स्वतन्त्ररुपमा राजनीति गर्न पाए। २००७ सालअघि उनको पुरै परिवार भारतमा निर्वासित थियो।

२००७ देखि २०१७ सालसम्म मात्र उनले स्वतन्त्ररुपमा नेपालमा राजनीति गतिविधि गर्न पाए। जनताले दिएको मतको अपमान गर्दै महेन्द्रले उनको सरकारलाई १८ महिनामै अपदस्त गर्यो। जसका कारण उनले ८ बर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताउनु पर्यो। २०२५ सालपछि उनी फेरि भारत निर्वासनमा लागे।

२०३३ सालमा मेलमिलापको नीति लिएर फर्किदा पनि २ बर्ष महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा थुनामा परे। २०३६ सालमा जनमत संग्रहको घोषणपछि बाँकीको ३ वर्ष प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गराउने अभियानमा सक्रिय थिए।

तर, घाँटीको क्यान्सरका कारण २०३९ सालमा निधन भयो। बिपीको व्यक्तित्व तथा उनको बिचारधाराबाट डराएको दरबारले २००७ देखि २०४६ सालसम्म नेपालमा १० जना प्रधानमन्त्रीको प्रयोग गर्यो। जसमा १९ पल्ट त प्रधानमन्त्री नै फेरबदल गर्नुपर्यो। त्यतिले नपुगेर त्रिभुवन र महेन्द्रले तीनपटक शासनसत्ता आफ्नो हातमा लिए।

कोलकाताको चर्चित मार्बल हाउसका मालिक विद्यासागर गुप्त बिपीलाई विचारमा अडिग, स्पष्ट नेता भन्न रुचाउँछन्। भन्छन्– ‘उहाँले पदलाई कहिल्यै प्रधानता दिनु भएन। उहाँको दिमागमै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद थियो। आफ्ना यि विचारसँग सम्झौता गरेको भए। नेपालको इतिहासमा यति धेरै प्रधानमन्त्री हुँदैन्थे।’

उनको विश्लेषणमा २०१७ सालमा राजा महेन्द्रले बिपीलाई अपदस्त गर्नुमा समाजवादी कार्यक्रम लागु गर्न बिपी क्रियाशिल हुनु हो। यसमा पनि मुख्य त क्रान्तिकारीभूमि सुधार राजा महेन्द्रको छटपटी थियो।

‘जुन दिन बिपीले आफूहरूले प्रत्युत्पादन गरेको वैज्ञानिक भूमिसुधार लागु गर्दै हुनुहुन्थ्यो। त्यही दिन ‘कू’ भयो। यो लागु भएको भए नेपालको २ सय बर्ष लामो सामन्ती संरचना भत्किन्थ्यो। त्यसैले बिपीविरूद्ध राजा र सामन्तवादी शक्ति पहिले नै एकजुट भइसकेका थिए’, उनी भन्छन्।

पछि महेन्द्रले आफूलाई पनि क्रान्तिकारी देखाउन नक्कल त गरे । तर, नक्कल र सक्कलमा मतभिन्नता हुन्छ। बिपीका पिए कुमारमणीले आफ्नो आत्मबृत्तान्तमा पनि उल्लेख गरेका छन– ‘जंगल राष्ट्रियकरण गर्दा सरकारले मुआब्जाको पनि ब्यवस्था गरेको थियो। तर, महेन्द्रका भाई हिमालयलाई मुआब्जा पुगेनछ। उनले हाकाहाकी भनेछन– मुआब्जा पुगेन। बिपीले स्पष्ट भनिदिए– योभन्दा बढ्ता पाइदैन्।’

....

समयको वेगलाई नाप्न सक्ने बिपीको क्षमताबाट वकिल विनोद सिंह अहिले पनि कायल छन्। उनी बिपी मेलमिलापको नीति लिएर नेपाल फर्किनेबेला आफ्ना काकासँग भएको एउटा संवाद अहिले पनि सम्झन्छन्।

‘काकाले उहाँको सुरक्षालाई लिएर चिन्ता जाहेर गर्नुभयो’, विनोदले भने– ‘बिपीको उत्तर थियो, उनलाई (राजा) थाहा छ। मलाई केही गर्यो भने उनको हालत के हुन्छ। त्यसैले हँदै गरे जेलमा थुन्छन्।’ उनी बिपीलाई उपचार गराउन विदेश पढाउनु पनि दरबारको बाध्यता भएको बताउँछन्।

‘बिपी साधारण नेता थिएनन्। त्यसैले जेलमा केही भयो भने, त्यही दिन राजशाही खतम हुन्छ भन्ने राजालाई राम्रैसँग थाहा थियो’, उनी भन्छन्।

बिपीको यही उचो व्यक्तित्व देखेर एकपल्ट भारतीय सासदमा समाजवादी नेता मधु लिमयेले भनेका थिए– ईन्दिरा ठूलो देशको नेता भएर ठूलो भइन होला। तर, विश्वेश्वरप्रसाद कोइरालाको कुरा गर्ने हो भने भारतमा अहिले पनि ईन्दिरापछि कुनै ठूलो नेता छन् भने विश्वेश्वर नै हुन्। उनी अन्तर्राष्ट्रिय छवी भएका नेता हुन्।’

बिपीको राजनीतिक उचाइ यस्तो थियो कि भारतमा मात्र होइन, चिनियाँ नेताहरूसँग पनि उनको निकटस्थ सम्बन्ध थियो। बौद्धिकता,सुझबुझ, संघर्षपूर्ण राजनीतिक जीवन, राष्ट्रियता र प्रजातन्त्रप्रतिको अविचलित अडानका कारण उनले आफ्नो अन्तर्राष्ट्रिय हैसियत बनाएका थिए। अझ भारतका सत्तापक्ष र प्रतिपक्षका शीर्षस्थ नेताहरुसँग त उनको पारिवारिक जस्तै सम्बन्ध थियो। यो तहको सम्बन्ध सायदै अरु कुनै नेपाली राजनीतित्रको थियो, न निकट भविष्यमा हुने सम्भावना छ।

 

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली