नसोधौं- 'जन्मभूमिले के दियो ?', सोधौं- 'जन्मभूमिलाई के दियौ ?'

ठूलो कुरा गर्नै पर्दैन, सानो काम मात्रै गरे पुग्छ । एक प्रतिकात्मक तस्बिर : सामाजिक सञ्जाल

नेपाल एउटा यस्तो देश हो जहाँ जसले जे गर्ने हो, त्यति नै गर्दा पनि रातारात सेलिब्रेटी हुन पाइन्छ । अरू अतिरिक्त मेहेनत र पौरख गर्नै पर्दैन ।

हरेक क्षेत्रमा यसका हजारौ दृष्टान्त छन् । दृष्टान्त सम्झन धेरै टाढा जानै पर्दैन, रवि लामिछानेसम्म मात्र पुगे हुन्छ । उनले पत्रकारिताले गर्ने धेरै ठूलो काम गरेकै हैनन्, एउटा प्राथिमक काम आवाजविहीनको आवाज हुने काम मात्र गरेका हुन् । एउटा पत्रकारले गर्नुपर्ने २३ काममध्ये एउटा प्राथमिक काम हो त्यो । त्यति नै अरूले गरेनन्, रविले गरे । त्यसैका लागि उनी रातारात हिरो मात्र हैन, धेरैका लागि त देवता नै भए ।

फेरि पनि भनोैं एउटा पत्रकारले गर्ने न्युनतम काम हो- आवाजविहिनको आवाज हुने, यो कुनै अतिरिक्त काम नै हैन । त्यही आधारभूत काम गर्दा नेपालमा के हुन पाइन्छ ? त्यसको ज्यूँदोजाग्दो उदाहरण हुन् रवि । 

'म खाउ मै लाउ, सुख सयल वा मोज म गरुँ । 
म हाँसु मै नाचुँ अरु सब मरुन् दुर्बलहरु ।।'

कवि शिरोमणि लेखनाथ पौड्यालले ऋतुविचारमा भनेका यी पंक्तिहरू अहिले नेपाली जातिको आमचरित्र भएको छ । त्यागको भावना मर्दै गएको छ नेपालमा  । जो पनि ठाउँ नपाउँदा त्याग महात्म्य गाउँने तर ठाउँमा पुग्ने बित्तिकै सबै बिर्सेर हसुर्न नै लागेका हजारौ दृष्टान्त पाइन्छन् । यस सन्दर्भमा केही अपवाद भेटिदा अनौठो मानेर समाचार बनाउनुपर्ने र नमूनाका रूपमा समाजमा पेस गर्नुपर्ने अवस्था छ ।

घरदेशमा मात्र हैन, परदेशमा पनि त्यागका नमूना विरलै भेटिन थालेका छन् ।नेपाली जाति चर्चा र पैसा भए जे गर्न पनि तयार रहेको अवस्था छ । चर्चाका लागि हिजोआज सामाजिक सञ्जालमा सिटिजन जर्नालिज्मको स्पेस मिलेको छ । कनी कनी गल्तीकै राश लगाए पनि त्यही स्तरको बजारमा सञ्चार भैहाल्ने भएकाले चर्चा मिलिहाल्छ । पहिला नाम राख्ने कुरा हुन्थ्यो, अहिले त्यो चर्चा संस्कारमा बददिएको छ । नाम होस् या बदनाम- गुमनाम नहोस् भन्न थालेपछि यो अवस्था सिर्जना भएको हो । 

आमसञ्चारको कोणबाट हेर्दा संसार मासिफिकेसनमा गएको छ । अर्थात् सबै उस्तै हुने अवस्थाले गर्दा मान्छेले आफ्नो स्वपहिचान गुमाउँदैछ । पहिला टाढैबाट हेर्दा पहिरनले नै महिला र पुरूष चिनिन्थ्यो, नजिक गएर हेर्दा विवाहित हो कि अविवाहित त्यो पनि थाहा हुन्थ्यो, नाम र बीचको नाम हेर्ने बित्तिकै थर र लिंग स्प्ष्ट हुन्थ्यो । नामले नै  जाति र राष्ट्रियताको पनि अनुमान गर्न सकिन्थ्यो  । तर, अब समानताका नाममा सबै कुरा छासमिसे हुँदा धेरै कुरा छुट्याउन गाह्रो भैरहेको छ । मासिफिकेसनले दिएको सबैभन्दा घातक पीडा यही हो । 

यही पीडाबाट मुक्त हुन नेपाली जातिमा ठूलो छटपटाहट छ । त्यसका लागि विभिन्न संघसंस्था र त्यसको पदाधिकारी हुनु परेको छ । जसले दिने भिजिटिङ कार्डमा आफूलाई बचाउनुपर्ने अवस्था छ । यही स्वपहिचानको खोजीका लागि एनआरएन एउटा ठूलो बजार भएको छ। यसले एउटै देशमा सय हैन, हजारौंको संख्यामा परिचय बाँडििदन्छ । अमेरिकामा एनआरएन च्याप्टरको सदस्यसम्मको हिसाब गर्दा पाँचसयभन्दा बढी त यसैले भिजिटिङ कार्ड बनाइदिएको छ। 

नेपाल सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै छ । २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर अगाडि बढाइएको यो योजना बीचैमा पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि थला पर्यो । विरामी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नै त्यो प्रोफाइल पनि  लामो समय आफैंसँग राखेर यसलाई अरू कुज्याएँ । जब समय घर्किदै गयो र दोष आफ्नै थाप्लोमा आउँने जस्तो देखियो । त्यसपछि प्रधानमन्त्री ओलीले पार्टीमा उनको स्थायी प्रतिपक्षका रूपमा रहेका योगेश भट्टराईलाई चुनौतिका रूपमा भारी बोकाए ।  

नेपाल एउटा यस्तो देश हो जहाँ जसले जे गर्ने हो, त्यति नै गर्दा पनि रातारात सेलिब्रेटी हुन पाइन्छ । अरू अतिरिक्त मेहेनत र पौरख गर्नै पर्दैन । हरेक क्षेत्रमा यसका हजारौ दृष्टान्त छन् । दृष्टान्त सम्झन धेरै टाढा जानै पर्दैन, रवि लामिछानेसम्म मात्र पुगे हुन्छ । उनले पत्रकारिताले गर्ने धेरै ठूलो काम गरेकै हैनन्, एउटा प्राथिमक काम आवाजविहीनको आवाज हुने काम मात्र गरेका हुन् । एउटा पत्रकारले गर्नुपर्ने २३ काममध्ये एउटा प्राथमिक काम हो त्यो । त्यति नै अरूले गरेनन्, रविले गरे । त्यसैका लागि उनी रातारात हिरो मात्र हैन, धेरैका लागि त देवता नै भए ।

अहिले पर्यटन मन्त्रीका रूपमा भट्टराई त्यो चुनौति स्विकार गरेर लागिपरिरहेका छन् । यस क्रममा संसारभर रहेका गैरआवासीय नेपालीलाई कम्तीमा एकजना बराबर एकजना विदेशी नेपाल भित्र्याउन सहयोग गर्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को प्रोफाइल फ्रेम राख्न पनि उनले सबै नेपालीलाई अनुरोध गरेका छन् । तर, दुर्भाग्य रहर,कहर, नियति जेले भए पनि विदेशिएका नेपालीले उनको अनुरोधलाई सकारात्मक रूपमा लिएको जस्तो देखिएको छैन । यद्यपि, उनीहरूका सामाजिक सञ्जालका स्टाटस हेर्यो भने नेपालका लागि उनीहरू जति अरूले सोच्ने मात्र हैन, कल्पना पनि गर्न नसक्ने जस्तो रोइलो देख्न पाइन्छ ।

यही क्रममा संयुक्त अरव इमिरेट्सको  गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले नेपाल भ्रमण वर्ष २०२० को लोगो राखेको टीसर्टमार्फत् नेपालको प्रवर्द्धन गरेछ । परिषदले नै संस्थागत रूपमा गरेको हो वा केही युवाले स्वस्फूर्त रूपमा गरेका हुन् - त्यो त थाहा भएन तर सामाजिक सञ्जालमा त्यस्ता टीसर्ट लगाएका तस्बिरहरू देखिएका छन् । विदेशमा बस्ने हरेक नेपाली नेपालका अवैतनिक सद्भावना राजदूत हुन् । आफू बसेको मुलुकमा आफ्नो जन्मभूमि नेपालको प्रतिष्ठासहित प्रतिनिधित्व गर्नु, प्रवर्द्धन गर्नु एक नेपाली हुनुको नाता यो एक आधारभूत कर्तव्य हो । यो कुनै अतिरिक्त काम र दायित्व नै हैन । नेपाली हुनुको अर्थमा पनि यति गर्नु जो कोहीको पनि नैसर्गिक दायित्व बन्छ । तर, यति गर्दै पनि नेपालीले स्यावासी पाउँछ ।

त्यसैले नेपालमा हिरो हुन कुनै अतिरिक्त काम गर्नै पर्दैन । जो कोहीले पनि गर्नुपर्ने आधारभूत काम मात्रै पनि गरिदियो भने ऊ समाचार बन्छ, सेलिब्रेटी बन्छ । यस अर्थमा हामी कति भाग्यमानी - कुनै अतिरिक्त मेहेनत, त्याग र परिश्रम बिनै रातारात हिरो हुन सक्छौं । तर, हेक्का राख्नुपर्ने अर्को कुरा के पनि हो भने नेपालमा जसरी सजिलै नायक बन्न सकिन्छ, त्यति नै सजिलै सानोतिनो गल्तीले खलनायक पनि हुन सकिन्छ। यसका ज्यूँदाजाग्दा अनेकौ उदाहरण पाइन्छन् ।

अहिलेलाई यति भनौं, युएईका केही गैरआवासीय नेपालीले नेपाल भ्रमण वर्ष २०२०को टिसर्ट लगाएर तस्विर खिचे । अनि, सामाजिक सञ्जालमा राखिदिए । त्यति गरेबापत उनीहरू धन्यवादका पात्र भएका छन् । यो पंक्तिकार पनि उनीहरूलाई धन्यवाद दिन चाहन्छ । किनकि उनीहरूले ठूला कुरा गरेनन्, सानो भए पनि काम गरेर देखाए । हामीलाई यतिबेला ठूला कुरा गर्ने हैन, सानो काम गर्ने नेपाली चाहिएको छ ।

हेक्का राखौं- देश त परिवर्तन गर्न सकिन्छ तर जन्मभूमि परिवर्तन गर्न सकिदैन । त्यसैले जन्मभूमिलाई समृद्ध बनाउन केही योगदान गरेर ऋणको भार कम गरौ । ठूलो कुरा हैन, सानो काम गरौं । यसो गर्दा नसोधौं- 'जन्मभूमिले हामीलाई के दियो ?', सोचौ- 'जन्मभूमिलाई हामी के दियौं ?'

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली