प्रधानमन्त्रीज्यू, बुहारीको 'मृगौला' थाक्यो : विन्ति छ-आराम गर्नुहोस् !

देश त पहिलैदेखि दीर्घरोगी छँदैथियो... अब त प्रधानमन्त्री पनि उस्तै पायो । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू

तपाईंपछि प्रधानमन्त्री बन्ने लाइनमा को छ?, त्यो मलाई ठ्याक्कै थाहा छैन । खैर जो भएपनि मेरो चासोको विषय होइन । फेरि तपाईहरु वा अर्काे कुनै कित्तावाट आउने नयाँ वा पुरानो अनुहारले देशको मुहार फेर्छ भन्नेमा कम्सकम म विश्वस्त छैन । तपार्ईप्रति मेरो कुनै आग्रह पनि छैन, न पूर्वाग्रह नै छ । तपाईको स्वास्थलाभको कामना । चाँडो निको हुनुहोस् । भर्खरै मात्र उपचार गरेर स्वदेश फर्कनु भएको छ ।

देशको कार्यकारी प्रमुख विरामी हुँदा देश नै विरामी भएको अनुभूति हुँदोरहेछ । अझ त्यसमाथि पनि उपचारका लागि तारान्तार विदेश नै जानुपर्दा त त्यो अझ बढी पीडादायी हुने नै भयो ।  तर, तपाई आफ्नो स्वास्थ्य यति जर्जर हुदाँ देश र जनताका लागि दौडधुप गर्ने तपाईको साहस र आत्मवल भने अद्भूत छ र यसलाई सलाम भन्नैपर्छ । देश र जनातालई हुने पीडा आफ्नो ठाउँमा छ, त्यसको प्रवाहको कुरा र सन्दर्भ अर्कै होला । 

पञ्चतत्वले वनेको शरीर वालक, वयस्क, युवाहुँदै एकदिन वूढो हुन्छ । तपाईको अहिलेको उमेर वुढौली उमेर नै हो । एकत तपाईको उमेर बूढो भयो । त्योभन्दा पनि आफै विरामी हुनुहुन्छ पटक पटक विदेशमा उपचार गराइरहनु भएको छ । यो उमेर र तपाईको स्वास्थ अबस्था हेर्दा देश र जनताप्रति तपाईले दिएको योगदान उच्च रहेको छ ।

तपाईकोे स्वास्थका बारेमा आफैले पनि स्पष्टिकरण दिइहनु भएकै छ । केही तपाईका सहकर्मीहरुले तपाईको स्वास्थ स्थितिको विषयमा नकरात्मक टिप्पणी गरेको तपाई आफैले सार्वजनिक कार्यक्रममै जानकारी गराइसक्नु भएको छ । फेरि पनि तपाई विरामी हुदाँ देशनै विरामी भएको जस्तो हुन छोडेको छैन । यसैले फेरि पनि कामना छ तपाई चाँडै निको हुनुस ।

परिवर्तनको खातिर तपाई जीवनभर लड्दैआउनु भएको छ । यस क्रममा जेल, नेलको भोगाइको पनि लामो श्रृंखला छ । राजनीति नै कर्म बन्यौ, पेशा बन्यौ वा भनौ जीवन वन्यौ । यो वाहेक तपाईले अरु सोच्दै सोच्नु भएन । त्यही कर्मले त्यही पेशाले दुईपल्ट देशको कार्यकारी प्रमुख वनायो । अहिले त प्रचण्ड वहुमतको सरकारको प्रमुख तपाई ।

जीवनभर गरेको तपाईको काम देश र जनताका लागि थिए । तर, अव तपाई आराम गर्नुस् । मानिसको उमेरसँगै ग्याष्ट्रिक वढ्दै जान्छ, सुगर देखिन थाल्छ, प्रेसरको औसधी नियमित खानु पर्छ, मनतातो पानी खाईरहनु पर्छ, वेलावेलामा अस्पताला गइरहनु पर्छ । आखिर बूढो शरीर न हो, स्वास्थ्यसम्बन्धी अनेक कमजोरी देखिन थाल्छन् । अन्य मानिसभन्दा तपाईको आत्मवल बलियो छ । त्यसैले होला, अझै पदका लागि राजनीति गरिहननु भएको छ ।

मलाई लाग्छ तपाईले गर्नुपर्ने सबै काम गर्नु भयो । सवै भन्दा महत्वपूर्ण काम तपाईले सुतरे वसेका नेपाली आम जनमानसमा विकासरुपी सपनाको विजारोपण गरिदिनु भयो । हिन्द महासागरमा नेपाली पानीजहाज चलाउन सम्भव छ भन्दै काठमाडौंमा सम्पर्क कार्यालय खोलिदिनु भयो । समुद्र नदेखेका सामान्य नेपालीको पानीजहाज चढ्ने र पानीजहाजमा समान ओसारपसार गर्ने सुनौलो अवसररुपी सपना योभन्दा अरु के हुन सक्ला र ?

जाडो महिनामा नेपालको उत्तरी नाकामा गएर “हो त्यही ठाँउवाट हो सरर सरर चिनियाँ रेल गुड्ने' भन्दै पहाडका डाँडामा विकासको हरियो सपना छर्नु भयो । पूरा होला नहोला त्यो बेग्लै कुरा भयो । तर, कम्तिमा सपना त छरेर आउनु भयो । अरूले त त्यति पनि कहाँ गर्न सकेका थिए र ?

खाना नपाएर भोकभोकै सडकमा सुतेका नेपालीलाई 'भोकै भए सरकारलाई खबर गर्नु, अव नेपालमा भोकभोकै कोही मर्नु पर्दैन' भन्दै तपाई माइकमा बोल्दा परर परर ताली पड्क्यो । तपाई मुसुमुसु हाँसिरहनु भयो ।

लाखौ रुपैया सयकडा तीनका दरले व्याज खोजेर खाडी मुलुक हिडेको सामान्य एक युवालाई रोजगार देशमा पाइन्छ किन जाने विदेश भनेर ऋण लिन हिडेका वृद्द वा आमाको आशा जगाईदिनु भयो । राजधानीको पोलपोलमा र मुलधारका दैनिक पत्रिकाका मसखपृष्ठमा आफ्नो मुसुक्क हाँस्दै गरेको कलेवर फोटो राखेर सरकार यहाँ छ भनेर गज्जवको उपस्थिति देखाउनु भयो । कुरै कुरामा नेपाल कहाँ पुगेन र ?, विकासको चरम उत्कर्षमै पुग्यो । हिमालको पानी युरोप, अमेरिका पुग्यो । मुस्ताङको स्याँउ रेल चढेर विदेश पुग्यो । नेपाल विश्वकै मिनी स्विट्जरल्याण्ड वन्यौ । मेलम्चीको खानेपानी धारा धारामा पुग्यो । ग्यास, पेट्रोल उत्पादन नेपालमै भयो । कति कति ? म र मेरो अघिल्लो पुस्ताले सुन्दै आएको यही नेपाल हो । आशा गरौं मेरो पछिल्लो पुस्ताले उपभोग गर्न पाओस् ।

मानिसले उपलव्धीको शिखरमा हुँदा छुट्टि लियो भने त्यसको अर्थ हुन्छ । तपाईले व्यक्तिगत रूपमा पार्टीलाई दुई-तिहाई दिलाएर नेपाली कम्युनिष्ट आन्दोलनमा अभूतपूर्व उपलव्धी हासिल गर्नुभयो । हरेक कुराको उत्थानपछि पतन निश्चित हुन्छ । यो प्रकृतिको नियम हो । अब तपाईका लागि माथि जाने कुनै मुकाम नै छैन । 

सम्माननीय प्रधानमन्त्रीज्यू,

कहिलेकाँही समय मिल्यो भने चुनावी घोषणापत्र हेर्नु होला । कहिँकतै तपाईको कार्यालयमा हुनसक्छ झिजो नमानी हेर्नु होला । चुनावताका तपाईले गरेको भाषणलाई एकपल्ट युवट्युवमा हेर्नुहोला मेरो आग्रह छ । रेल, चारलाइनको सडक, विकास, दुई अंकको आर्थिक वृद्दिदर यी त सामान्य थिए त्यतिवेला जतिवेला देशमा चुनावको सरगर्मी चढ्दो थियो । मलाई थाहा छ, तपाईंको एकल पहल पर्याप्त छैन तर केही त अवस्य हुन्छ । तपाईको निडर, साहसिक निणर्य, अठोटले नेपाल देशको कायापलट गर्न सक्ने वहुमत सरकारको पावर छ तपाईसँग । तर पनि, खासै केही भएको देखिएन प्रधानमन्त्रीज्यू ।

साम, दाम,दण्ड, भेद- सवै प्रयोग गरेर देशको काचुँली फेर्न सम्भव छ । कुनै समय भोकमरीले ग्रस्त इथियोपियाको विकासले संसारलाई चकित बनाएको छ । चाहने हो भने विकास सम्भव छ भन्ने पुष्टी गरिदिएको छ । तर, हामी भष्ट्राचारको चंगुलवाट उम्कन सकेका छैनौं । भन्न त तपाईंले भष्ट्राचारीको अनुहार पनि हेर्ने छैन भन्नु भएको हिजै जस्तो लाग्छ । तर, कौडीको भाउमा वालुवाटार किन्ने सुकुमबासी नेता तपाई छेउछाँउ भएर हिड्दा पनि नेता मात्र देख्नुभयो, भष्ट्राचारीको हेक्कै पाउनु भएन । यस्तो चेतले कसरी भ्रष्टाचारी चिनिन्छ र मुख हेर्नु ?

प्रधानमन्त्रीज्यू, माफ गर्नुहोला । व्यक्तिगत रुपमा तपाईलाई आरोप-प्रत्यारोप लगाउन खोजेको होइन । लोकतन्त्रमा यत्ति त भन्न पाइन्छ होला । करौडौ भष्ट्राचार गर्नेहरु, कानुनी राज्यको उपहास गर्नेहरु, गुण्डागर्दी गर्नेहरुको जमात तपाईको आसपासमै छन्, धेरै टाढा खोज्न जानुपर्छ जस्तो लाग्दैन । सिहंदरवारभित्र झुण्डिएका नेपालका प्रधानमन्त्रीहरुको फोटोमा तपाईको  फोटो पक्कै छ । फरक यत्ति थियो पछिल्ला प्रधानमन्त्रीभन्दा तपाईवाट देश र जनताको आशा धेरै थियो । विकासको मूल फुटाउने वलियो जनआधार भएको सरकार प्राय : असफल भयो यो अवधिको मुल्याडकनमा । नढाँटी भनौ हिजोआज तपाईले वोलेका, भाषण गरेका र कहिकत्तै प्रसंगवश भनेका कुराहरु पत्याउन गाह्रो हुन्छ । तर पनि , तपाईले देखाएको सपना पूरा होस्, शुभकामना छ ।

गणतन्त्र नेपालको प्रमुख तपाईलाई झर्राे, साहित्यिक, घुमाउरो, शव्दकोषमा खोज्नुपर्ने अप्ठेरा शव्दहरु प्रयोग नगरी सरल भाषामा मैले टाढावाट देखेको कुरा लेखेको हो । अन्यथा अर्थ नलागोस् । मेरो आग्रह छ अव दौडधुप गर्ने समय होइन तपाईको । त्यसैले आराम गर्नुहोस्, सल्लाह दिनुहोस् । तपाईको शरीरको माग यही हो । र, यही मागले तपाईको भूमिका परिवर्तनको कुरा उठाएको हो । 

मानिसले उपलव्धीको शिखरमा हुँदा छुट्टि लियो भने त्यसको अर्थ हुन्छ । तपाईले व्यक्तिगत रूपमा पार्टीलाई दुई-तिहाई दिलाएर नेपाली कम्युनिष्ट आन्दोलनमा अभूतपूर्व उपलव्धी हासिल गर्नुभयो । हरेक कुराको उत्थानपछि पतन निश्चित हुन्छ । यो प्रकृतिको नियम हो । अब तपाईका लागि माथि जाने कुनै मुकाम नै छैन । सुखी नेपाली, समृद्ध नेपाल त एउटा अतृप्त सपना हुनसक्छ । मानिस कति हुँदा सुखी हुन्छ र देश के हुँदा समृद्ध हुन्छ - त्यसको हिसाब-किताब त कसरी लगाउन सकिएला र ?

 

Comments

राजेन्द्र पराजुली