आजसम्म मलाई महिनावारी हुँदा किताब छोएर कहाँ पाप लाग्यो?

तस्बिरः बिएल

जन्मदेखि नै हरेक सम्बन्ध, संस्कृति, नियम, चलनचल्ति आदिको बोझिलो भार बोकेर हिँड्दै स्वतन्त्र छु भन्ने मान्छेको वाकध्वनिले आश्चर्यचकित बनाउँछ।

नियमभित्र बस्यो भने मान्छे अनुशासित हुन्छ उसले कुकर्म गर्न सक्दैन्। समाज सुन्दर बन्छ भन्ने मान्यता यदाकदा मलाई पाखण्डीपूर्ण नै लाग्छ। कुनै एउटा वर्ग समुदायबाट निर्माण गरिएको नियमभित्र सबैले खुम्चिनुपर्ने कुरा वाहियात विषयवस्तु हो।

प्रसड्ग केही समय अगाडिको मात्र हो। विद्यालयमा एकजना अभिभावक आउनुभयो र मलाई हजूरसित कुरा गर्नु छ भन्नुभयो। उहाँको मुहारमा केही हैरानी , केही संकोच , अनि केही डरको तरड्ग तैरिरहेको अनुभूति गरेँ। यद्यपि मैले उत्सुकतावश सोधेँ– भन्नुस न, उहाँले हिचकिचाउँदै भन्नुभयो– ‘भन्न निकै अपठ्यारो लागिरहेछ तर के गर्नु ? परीक्षा नजिकै आउँदैछ , छोरी पहिलो चोटी पर सरेकी छे। उसलाई अरूको घरमा राखेर स्कूल आउनबाट कसरी रोक्नू? छरछिमेकमा आफ्नै दाजुभाइ छन् दाजुभाइको मुख हेर्नु हुदैन् भन्छन् त्यसैले निकै समस्या परिरहेको छ। छोरीले मसँग हजूरले धेरै माया गर्ने कुरा गरिरहन्छे। त्यसैले यदि मिल्छ भने उसलाई हजूरसँग राखीदिनुभयो भने पढ्नलाई रोक्नुपर्दैनथ्यो भनेर भन्न आएकी हूँ।’

एकदमै आत्मीय तरिकाले भनिएको उक्त कुरालाई मैले नकार्न सकिनँ। बेलुकीबाट उक्त छात्रा मसँग मेरो कोठामा बस्ने तय भयो।

म झीनामसिना कुरातर्फ त्यति ध्यान दिन्नँ। तर, छात्रा समाजले तोकेको तल्लो वर्गभित्र परेकोले अरूलाई मेरो निर्णय स्वीकार्य भएन। समस्या तल्लो जातकी केटीलाई सँगै राख्दा जात जाने थियो। एकैचोटि विद्रोह ओकल्न त्यतिबेला जायज ठानिनँ। अभिभावक निराश भएको देखे छोरीको पढाई छुट्ने डरले साथमा छात्राले पनि निन्याउँरो अनुहार लगाइन्।

हरेक समस्याले समाधान संगै बोकेर ल्याएको हुन्छ। मैले उहाँलाई सम्झाउँदै भनेँ – यो समयमा आएर हामीले यसरी महिनावारीको कुरालाई लिएर परम्परागत मान्यतालाई नै पछ्याउँदै जानुपर्छ भन्ने छैन्। तपाईँ आफ्नै घरमा छोरीलाई राख्नुस् अनि स्कूल पनि पठाउनुस्। महिनावारी हुँदा किताब नै छुन नहुने होइन्।

मेरो कुराबाट उहाँ कृतज्ञ भएर फर्कनु भयो। यो धरातलमा मान्छेले बनाएको विविध नियमभित्र मान्छे स्वय अल्झिरहेको छ निस्कन नसक्ने गरी सानैदेखि चित्त नबुझेका कुरामाथि प्रश्न तेर्साइहाल्ने मेरो बानी अहिले मत्थर भएको छ।

तार्किक तरिकाले मलाई चित्त बुझाउन नसक्ने मेरी सोझी आमा कतिपटक आजित हुनुभएको छ मबाट। म स्वंयलाई थाहा छैन्। बाबा भने मेरो कुरालाई महत्व दिनुहुन्थ्यो र खुशी हुनुहुन्थ्यो। हरेक मान्छेले आफूलाई एकान्तमा उदाड्गो बनाउन सहज महसूस गर्छ। मेरो मनको इतिहासमा सबैभन्दा बढी भित्री हलचल भएको दिन त्यही नै थियो। आफैंभित्रको एकल संवाद , मनोवाद अनि आत्मिक द्वन्द्वले मलाई विगततिर घचेटिहाल्यो। यतै कतै सम्झनाको घर्रामा कोचेर राखेको एक सत्यताको फाइलिड्ग पेपरमा अंकित अक्षरहरूमा वर्तमानको एकान्त हावी हुन पुग्यो।

एक धुमिल आकृति नजर अगाडि नृत्य गर्न सुरू गरिहाल्यो म त्यसैमा अल्झिएँ केहि पल। कक्षा नौ मा पढ्दाको अन्त्यतिरको कुरा थियो। म पहिलोपटक महिनावारी भएको केही डर र संकोचले आमालाई बताए।

आमाले अत्तालिदै घरबाट बाहिर निस्कन भन्नुभयो मानौं कुनै ठूलो भूकम्पले घरलाई हल्लाउँदै थियो। दाँयाबाँया कतै नहेरी सीधै गोठमा लैजानु भयो।

तल एउटा गाई, एउटा बाछी र तीनवटा बाख्रा थिए। माथि चोटामा बस्न मिल्ने ठाँउ थियो। उहाँले त्यहाँ पराल ओछ्याएर सामान्य बिस्तरा तयार गरिदिनु भयो र मलाई त्यहाँ बस्न भन्नुभयो। म खुरूखुरू आमाले भनेको मानिरहेँ। नरमाइलो लागेको थियो त्यसरी गोठको माथि चोटामा बस्नुपर्दा। एउटा अपराधीलाई जेलभित्र कैद गरे झै अनुभव भएको थियो मलाई प्रन्ध दिनको कारागारमा।

एकचोटि त आँट गरेर भनेँ – आमा म घरमा बस्छु। तर आमा मान्नु भएन। धर्मको ठूलो बोझले उहाँलाई थिचिरहेको थियो उल्टै भन्नुभयो – तेरा बाऊले छोरीलाई अरूको घरमा लगेर नराख्नु भनेको भएर मात्रै नत्र म गोठमा पनि राख्दैनथे।

मैले त्यतिबेला ठूलै गुण ममाथि लगाइएको अनुमान लगाए। त्यसपछि सबै कुरालाई मैले स्वीकार गरेँ। गोठ नै सहि घरसँगै टाँसिएको त छ। आमा बेला बेलामा आउनु त हुन्छ। मलाई अरूको घरमा नराखेर गोठमा राख्दा पनि मेरी आमाले केहि गुनासाहरू सुन्नुपरेको पक्कै थियो। यो जगत र यहाँका मानिसहरूलाई अरूकै कुरामा चासो हुँदो रहेछ।

मैले यति मात्र बुझे त्यति बेला। मूर्खहरू कतिपय प्रश्नको उत्तर दिन नसकेर मौन रहन्छन् र विद्वानहरू हाम्रो अस्तित्वमा भएका कतिपय कुराप्रति मौन रहनु उचित ठानेर केहि बोल्दैनन्।

त्यतिबेला प्रश्नहरूको एक विशाल पहाड मेरा सामु उभिएको थियो भने असन्तुष्टिको तीव्र हलचल हुँदै थियो। एकातिर शारीरिक पीडाको प्रथम बोध अर्कातिर मानसिक उकुसमुकुस अनि त्यो भयावह सन्नाटामा आफूलाई अटाइराख्नु बाहेक मसँग कुनै अरू विकल्प थिएन सामु।

गाँउघरमा म सरहका अरू पनि नछुने हुन्थे , अरूको घरमा लुकेर बस्थे। त्यसैले म पनि आमाले भनेको मानेर चुपचाप यसरी बस्नुपर्छ भन्ने कुरालाई मेरो मनले स्वीकार्न सकेको थिएन। न त परिपक्व मस्तिष्क थियो , न त कुनै कुराको खुलेर विरोध गर्ने सामथ्र्य , न त कोही साथीसंगी।

त्यतिबेला रहस्यमय गुफाभित्र पसेर अनौठा कुरालाई एकोहोरो हेरिरहेझै म पनि किशोरावस्थाको त्यो चरणमा जीवनको रहस्य अनि यो धरातलको टीठलाग्दो परिबन्दमा आफूलाई अल्झाइरहे। नढाँटी भन्नुपर्दा मलाई त्यतिबेला समयको धुन सँगालेर गीत गाउन मन लागेको थियो। शून्यताको अट्टहासमा मादल बजाउन मन लागेको थियो अनि मन लागेको थियो एकचोटि बाहिर निस्केर बहने हावासँग साउती गर्न र वोटविरूवाहरू छुन। तर त्यतिबेला ती सबै सबै नै वर्जित थिए मेरा लागि त्यसैले ती सारा चाहनाको नदीलाई मैले बलजफती बग्नबाट रोकिदिएँ। 

मात्र रोक्न सकिन रक्तस्रावलाई जुन प्राकृतिक थियो र प्रथम अनुभूति थियो। आमाले बेला बेलामा आएर सम्झाउनुहुन्थ्यो – बाहिर हेर्नु हुदैन है छोरी, कुनै घरको धुरी हेर्नु हुँदैन। बिहान घाम आउने बेलामा यो झ्याल नखोल्नू, यहाँ राखेका किताबहरू नछुनू कुनै पनि पाप लाग्छ धेरै। दिक्क लाग्यो भने सुत्नु बरू। यहाँ खानेकुरा छ खानु तर बाहिर नहेर्नू।

मैले आवाज ननिकालिकन सहमति जनाउन टाउको हल्लाइदिएँ। आमा सन्तुष्ट हुनुभयो। तर, उहाँको सन्तुष्टिले मलाई असन्तुष्ट बनाइ दियो। भनिन्छ नि निषेधित वस्तुप्रतिको आकर्षण मान्छेमा स्वभावत बढी हुन्छ। जतिसुकै आदर्श भट्याए पनि मान्छे एकान्तमा आफूलाई छुट्टै तरिकाले प्रस्तुत गर्छ।

आमाले तयार पारिदिएको बिस्तरामा बसेर मैले त्यस ठाँउको भूगोललाई निरीक्षण गरेँ। एकातिर कुनामा दाउराको चाड्ग मिलाएर राखिएको थियो। नजिकै केहि बिस्कुटको प्याकेट , चाउचाउ , दालमोड र चकलेट राखिएको थियो। भित्तामा नै टाँसेर बनाएको तीन खण्डको दराजमा केही पुराना किताबहरू थिए।

मैले समय काट्ने गतिलो साधन भेटेँ। जुरूक्क उठेर दराज छेउ पुगे तर टक्क अडिएँ। मनभित्र आमाले  पाप लाग्छ छोरी भनेको कुरा गुञ्जियो र फरक्क फर्केर फेरि आफ्नै ठाँउमा बसेँ।

यसरी पहिलो दिन आफूलाई बाँधेर राखे आमाले भनेजस्तै गरी सुतेर बिताए र कुनै पाप गरिनँ। एकातिर असिमित समय अर्कोतिर उत्सुकता किताब पढ्ने त्यसैले दोस्रो दिनबाट पूरा समय दिनभरी पढ्थेँ पुराना संकलित पुस्तकहरू।

आमा आउनुहुँदा सिरानीमुनी लुकाउँथे किताब र चूपचाप बस्थे। यस्तो लाग्थ्यो कि म लामो समयदेखि नै यसैगरी मौन बसेकी छु केही नगरीकन। राति गोठमा बत्ती नभएकोले पढ्न पाउँदैनथेँ अनि झ्यालबाट बाहिर हेर्थे। हाम्रो घर गोठ केहि अग्लो ठाँउमा थियो त्यहाँबाट हेर्दा तल धेरै घर धुरीहरू लश्करै देखिन्थे। मैले घण्टौसम्म घरका धुरीहरू हेरेकी थिएँ जूनको उज्यालोमा। बिना कुनै ठोस उद्देश्यले।

जाडो महिनाको समय आमाले अँध्यारोमा नै तातोपानी तताएर ल्याईदिनुहुन्थ्यो नुहाँउनलाई। अँध्यारोमा नै एकपटक फेरि ति धुरीहरूलाई हेरेर सन्तुष्ट भई म माथि उक्लन्थेँ। त्यो कोठाको भूगोलमा कैद मेरो अस्तित्व र बाहिर उन्मुक्त भई उड्न खोज्ने मनले पन्ध्र दिनपछि मुक्ति पायो कारागारबाट।

घामको स्पर्श नपाएकीले होला म पहेली भएकी थिएँ। सबैभन्दा बढी खुशी स्कूल जान पाइने भयो भन्ने कुरामा थियो। बिस्तारै सबै कुरा सामान्य हुँदै गयो। मनभित्र गुम्फित यो कुरा मैले कतै भन्ने दुस्साहस गर्न सकिन। यो घटनाले मलाई सबै याद दिलायो। थाहा छैन् आजसम्म मलाई महिनावारी हुँदा किताब छोएर कहाँ पाप लाग्यो?

अनि मैले बाहिर हेरेर के भयो ? किनकी जीवनमा आजसम्म त्यस्तो कुनै कुरा घटेको छैन् जस्तो लाग्छ। जब केहि नै हुने रहेनछ त यस्ता वाहियात कुरालाई बिरालो थाममा बाँधेर श्राद्ध गरेजस्तो नियम बनाई किन पालना गर्नुपर्ने त्यही बुझिन मैले आजसम्म समाजमा नियम हुनु जरूरी छ जसले मान्छे सहिमार्गमा हिँड्छ भन्ने अवधारणाको बिरोधमा उत्रिएकी पक्कै होइन्।

केवल महिलाले मात्रै पालना गर्नुपर्ने नियम बनाएर समाजलाई अनुशासित बनाउन खोज्नु कति सम्म जायज हो भन्ने कुरातर्फ ध्यानाकर्षण गराउन खोजेकी हूँ।

अनावश्यक नियमको चौबन्दी भिराएर महिलालाई मात्रै हरेक पटक निष्क्रिय बनाउने प्रपञ्चको भने म घोर विरोध गर्छु। अशिक्षित मात्र होइन शिक्षित वर्ग समुदायमा पनि एउटा चमत्कारिक अन्धविश्वासको जुन जालो लागेको छ त्यो हटोस र सुन्दर समाजको स्थापना हुन सकोस धरातलीय ऐनाले नारी र पुरूषमा कुनै विभेद नतेस्र्याओस म यहि चाहन्छु।

६/७ दिनदेखि अनुपस्थित अर्की छात्राको बारेमा सोधीखोजी गर्दा एउटी छात्रा नजिकै आइन् र मेरो कानमै मुख जोडिन्। अनि बिस्तारै बताइन् पहिलोपल्ट महिनावारी भएर पढ्न नआएको कुरा।

इतिहास दोहोरिन्छ हरेक पटक कथाको रूप धारण गर्दै कसरी सोचलाई परिवर्तन गर्ने भन्नेतर्फ सोच्ने बेला भएको छ अब। अस्तु

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली