इरानी सुन्दरीका सुइना

तस्बिरः बिएल

ए नातिनी

ए दुखिमति

आ बा आ किन रुकिस् तँ

बाज्या हट्ट सक्तैन। पेट दुख्तो छ।

अब होटल जाउला साहुजीकन भात पकाइ देऊ भनौंला। पानी तताइदेऊ भनौंला, आ बा आ सुस्त आ ....

होटल पुगेपछि भात त के दिदैनन् तातो पानीसम्म पनि। अनि अश्रुपूर्ण नयनले नातिनीको मुहारमा हेरेर भन्छन् बाजे - अब एक फाको चामल खादै गर। हामी दुखी तलजाती कन को हेर्दा छन्। को पत्याउछन्। छुए पछि देवता लाग्दो अरे न भात पकाइ दिए न पानी तताइ दिए।

यो सम्बाद हो नाटक सुइना कर्णालीका बाट उद्घ्रित गरिएको। नाटककी बालकलाकार इरानी सुन्दरी भाम १२ वर्षकी थिइन् काठमाडौं गुरूकुलमा उक्त नाटक प्रदर्शन गरिदाँ। साँझ होटलको छेउमा चिसो भुँइमा बाजेको काखमा पल्टिएर नातिनीले गाएको डेउडा गीतका पक्ति र तिनको कर्णप्रिय स्वरले उतिबेलै छोएको थियो दर्शकको मनमुटु।

पाँच छ महिना अगाडिशंखमुलस्थित भोजराज भाटको अफिसमा देखापरिन् कर्णालीकी एक जना गायिका। भोजराजले उनलाई बोलाएका थिए आफूले बनाउँदै गरेको डकुमेन्ट्री मिसन साइपालमा गीत गाउनका लागि। गीतका शब्द लेख्ने जिम्मा पाएको मलाई भोजराजले परिचय गराए इरानीसँग। कुरा गर्दै जाँदा थाहा भयो नाटकमा नातिनी बनेकी बालिका मुगुकी तिनै इरानी थिइन्।

यो पनि हेर्नुहोस् -भारतले यसरी कब्जा गर्यो- कालापानीका तीन नेपाली गाउँ

इरानीसँग परिचय हुने बित्तिकै स्मृतिपटलमा झुल्किसक्यो करिब आठ वर्ष अघि गुरूकुलमा कर्णालीबासीले देखाएको नाटकको दृश्य। सुमन मल्लद्वारा लिखित एवं सुनिल पोख्रेलद्वारा निर्देशित सुइना कर्णालीका नाटकमा एक वृद्धले सुइना देख्छन् युरोपेली मुलुकबाट कर्णालीको जडीबुटीको अत्याधिक माग आएको, कर्णालीमा कम्प्युटरदेखि अनेक उपकरणहरू बनाउने कम्पनी भएको, बढी भएको बिजुली विदेशमा बेचेको। मन्त्रीहरूदेखि उच्च ओहोदाका व्यक्तिहरूले आफ्नै भाषा पहिरन र चालचलनलाई महत्व दिएको। सिँजा विश्वविद्यालय खुलेको। एक समृद्ध कर्णाली राज्य जहाँ ऋण माग्न नेपाल (काठमाडौँ) बाट प्रधानमन्त्री आउँदा कर्णाली राज्यले उदार दिलले मागेकोभन्दा केही बढी अनुदान दिएर पठाएको दृश्य।

निद्रा खुलेपछि सपना भङ्ग हुन्छ। हजुरबुबा बनेका नन्दप्रसाद खत्रीको काखमा भोकले सुस्ताएकी नातिनीको भूमिकामा रहेकी तिनै १२ वर्षिया इरानीले गाएको डेउडा गीतका पङ्क्ति अझैकानमा भिजेकै छन्:

पिउनु छैन घुट्को पानी खानु छैन गास

भारी बोक्दै लौरी टेक्दै टुटी गयो आश

 

त्यो आशा राज्यप्रतिको थियो, सिंहदरबारप्रतिको थियो जुन कर्णालीवासीले हिजो–आज तोडिसके। उनीहरुले देखीसके लोकतन्त्रका मुखडा पनि। सपना त सिंहदरबारले पनि देख्दो हो तर केवल कुर्सीको, कमिसनको र विदेश भ्रमणको। ती कर्णालीवासीले देखेको जस्तो, मेरो भूगोलको जस्तो मित्रताको, सिर्जनात्मक जिन्दगीको, धैर्यको, स्वाभिमानको, आफ्नोपनको निस्वार्थ सपना देख्न सक्दैन।

यो पनि हेर्नुहोस् यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

लामो समय पछि पुनः आज देखा परिन् इरानी अनलाइनमा र भनिन्– अंकल चाडै नै मेरो नयाँ गीत आउँदैछ। शुभकामना दिएर म पुन घोरिए त्यही नाटको दृश्यको सम्झनामा। पुन हेर्न थाले युट्यूवमा राखिएको उक्त नाटकलाई। एक चुलबुले केटी। पछिल्लो समय गीत गाउने सुइना बोकेरै छिरेकी हुन् काठमाडौं। उसो त उनी तीन चार कक्षामा पढ्दा ताका नै गाउँथिन। त्यतिखेरै मुगुमा तयार थियो एउटा नाट्य समूह। त्यो समूहमा गीत गाउन र अभिनय गर्न बोलाइन्थ्यो उनलाई।

पछि ६ कक्षामा पढ्ने बेला मुगुको नाट्य समूह आउने भयो गुरुकुल काठमाडौंमा नाटक देखाउन। छोरीलाई त्यति टाढा पठाउन मानिरहेकी थिइनन् उनकी आमा चक्रा देवीले। बुवा गजेन्द्र बहादुर भाम गीत कविता पनि लेख्ने प्राथमिक स्कुलका शिक्षक थिए। थाहा थियो बुवालाई गीतसंगीत, साहित्य र कलाको महत्व र त अनुमति दिए काठमाडौं जान। २७ जनाको समूहमा १२ वर्षिया इरानी पनि पुगिन काठमाडौं।

३ महिनासम्म काठमाडौमै बस्नु पर्ने भयो। नाटकको माग बढि नै रह्यो। निकै नै चर्चामा आयो नाटक। इरानी भन्छिन् – सुरुमा त कहाँ आए जस्तो लाग्थ्यो। तीन महिनासम्म आमाबुवाबाट छुट्टिएर बस्नु पर्दा घरको याद आउँथ्यो। निकै नै अत्यास लाग्थ्यो।’

एक पल्ट राति सपना देखिछन्। दोस्रो दिन बिहानै सुनाइछन् राजेश खत्रीलाई – इ बरी मुइले त घर गया सुइना देख्या। राजेश उनको निकै ख्याल राख्थे। माया गर्थे र कहिले काही ठट्टा गरेर जिस्क्याउथे पनि। त्यतिबेला राजेशले मजाक गरेछन् – ला यस्तो सपना देखे पछि त मरिन्छ नानु।

इरानी गाडी देखे पछि डराएर दगुर्थिन। दगुर्न सकिनन् भने चिच्याइदिन्थिन। शायद यही डरको कारण देखिन् उनले सपनामा पनि गाडी। सबै जना छतमा घाम तापिरहेका बेला उनी एक्लै कोठामा बसेर रुन थालिछन्।

यो पनि हेर्नुहोस्- त्यो एक समय थियो, राजा वीरेन्द्र गीत गाउन बोलाउँथेः लोक गायक कृष्ण कँडेल

उनलाई नदेख्दा खोज्दै कोठामा पुगेछन् राजेश। रोइरहेकी इरानीलाई देखेर भनेछन् – के भो तँलाई, किन रोएकी ? जिस्क्याएको पो त। अनि फकाउन थालेछन्।

दिनमा दुई शो चल्थ्यो नाटक। नाटक हेरिसके पछि कतिपय दर्शक त्यो नानी कहाँ छ भनेर खोज्दै आउँथे। ती दिन सम्झेर अहिले कस्तो कस्तो लाग्छ उनलाई। उनी सुनउँछिन– कसैले खानेकुरा दिन्थे। कसैले पैसा दिन्थे। पैसा पाउने बित्तिकै दौडिहाल्थे नजिकको पसलतिर। रिचार्ज कार्ड किनेर ल्याउँथे अनि आमालाई फोन गर्थे घरमा।

स्वरकै कारण उनले ८ कक्षादेखि निःशुल्क पढ्न पाइन। मुगुमा रहेको थापा मेमारियल बोर्डिङका शिक्षक घरमै आएर प्रस्ताव राखेछन् हामी उनलाई फ्रिमा पढाउन तयार छौं भनी। अनि उनी बोर्डिङमा पढ्न थालिन्। त्यतिखेर मुगुमा दुईवटा मात्र बोर्डिङ स्कुल थिए। स्कुलमा पढ्दा बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुन्थिन्। कक्षा ९ मा पढ्दा मुगुमा एफ एम खुल्यो। 

 

सुरूमा उक्त एफ एममा गीत गाउन बोलाएछन्। पछि त्यहाँ बाल कार्यक्रम संचालन गर्न समेत मौका पाइन। तर उक्त कार्यक्रम तीन महिना मात्र चलाइछन्। नजिकमा एस एल सी परीक्षा आउन थाले पछि उनले कार्यक्रम चलाउन छोडिदिइन। प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेर ठुल्बुवाको छोरासँग पढ्न हिँडिन् काठमाडौं। क्याम्पस भर्ना भएर पढ्न थालेको ६ महिना पछि उनले गीत रेकर्ड गर्ने मौका पाइन। मौका दिए थापा मेमोरियल बोर्डिङका शिक्षक अर्जुन खत्री न्यौपानेले। तिनै अर्जुन सरसँग गाइन गीत। रेडियो मुगुबाट नियमित जसो बज्न थालेछ गीत।

एकदिन राजेश खत्रीसँगको भेटमा सुनिल पोख्रेलले सोधेछन् – इरानी काँ छन् के गर्दै छन् ? काठमाडौंमै पढिरहेको कुरा राजेशबाट थाहा पाएपछि पोख्रेलले पुनः भनेछन् – ६ महिने कोर्स सुरु हुँदै छ नाटक सिक्न पठाइ दिनू निशुल्क पढाइ दिन्छु।

यो पनि हेर्नुहोस् काला धर्ती निला आकाश मेरो बाटो बता (भिडियो सहित)

कताकताबाट फोन नम्बर पत्ता लगाएर सम्पर्कमा आएका राजेशले इरानीलाई पुर्‍याए गुरुकुल। गीत गाउन शिवाय अरु क्षेत्रतिर मनै नलाग्ने भएपछि ३ महिना मात्र पढेर छोडिदिइन अभिनय सिक्न पनि।  मुगु घुम्न गएको बेला उनले गाएको गीत सुनेपछि उनको घरमै पुगी फोन नम्बर लिएका नाइट बेण्डका जसन कुँवरले एकदिन फोनबाटै भनेछन् – हामी गीत गाउन दिन्छौ अनि गाए बाफत पैसा पनि दिन्छौ, गाउँछ्यौ ? नाइ भन्ने त सवालै थिएन। उनले दोस्रै दिन भेटिन नाइट ब्याण्डका जसन कुँवर,निराजन शाक्य,मीना सिंहलाई।

अनि थालिन गीत प्राइटिक्स गर्न। केही दिनमै चोभारको खुला चौरमा गीतको रेकर्डिङ र छायाङ्कन एकै पटक हुन गयो। उनीसँगै गायनमा थिए मीना सिंह, कर्णराज गिरि, र जसन कुँवर। गायनमा नितान्त नौलो प्रस्तुति रहेको उक्त गीतले बजारमा चर्चा पनि पायो। युटुबमा राखिएपछि गीत मुगुमा निकै चल्यो। सबैले मन पराए। उनले हालसम्म डेउडा र लोकगीत गरी करिब एकदर्जन गीतमा स्वर दिइसकेकी छन्।

पछिल्लो समय दाइकी ५ वर्षकी छोरीलाई ल्याएर काठमाडौंमा आफुसँगै राखी पढाइरहेकी छन्। उनी भन्दा कान्छी दुइ बहिनीले घरजम गरिसकिन्। एउटी बहिनीले त छोरी पनि पाइसकिन। इरानी भने गीतसंगीतमै आफ्नो जिन्दगी समर्पण गर्ने कुरा बताउँछिन्।

अब छिट्टै शास्त्रीय संगीत सिक्ने योजना बनाएकी छन्। आधुनिक गीत गाउने ठुलो रहर छ उनको। आधुनिक गीत रेकर्ड गरिरहेको सुइना देख्छिन् उनी अचेल।

Comments

राजेन्द्र पराजुली