अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

तस्बिरः बिएल

विगत दुई दशकदेखि लोकदोहोरी क्षेत्रमा अनवरत साधनारत सर्जक हुन् गायक बिमलराज क्षेत्री। नेपाली लोकदोहोरी पारखीबीच लोकप्रिय उनको मेला महोत्सवमा पनि उपस्थिति बाक्लै छ।

२०५६ सालबाट गायन यात्रामा आएका क्षेत्रीलाई ‘बल्लै भो भेट...’ भन्ने दोहोरी गीतले चर्चाको शिखरमा पुर्‍याइदियो। त्यसपछि उनले आफ्नो गायन क्षेत्रबाट कहिल्यै पछाडि फर्कनुपरेन।

श्रोता दर्शकलाई नचाउने र रूवाउनेदेखि आफ्नो जिल्लालाई चिनाउनेसम्मका थुप्रै गीतमा उनले स्वर भरे।

एकपछि अर्को चर्चित गीत गाउँदै लोकदोहोरी क्षेत्रमा अब्वल क्षेत्री अल्लारे उमेरमै २० वर्षअघि गायक बन्ने सपना देखेर राजधानी आए।

यो बीचमा सङ्घर्ष र सफलताका थुप्रै कथा बुनिए।

झलकमान गन्दर्भका गीत सुनेर हुर्किएका क्षेत्रीलाई सारङ्गीको धुन र आवाजले निकै मोहनी लगाएको थियो।

बासुँरीसँग अत्यन्तै लगाव उनले गीत संगीतलाई बासुरीको धुनमा समेटे। ‘म त्यति बेला ४-५ वर्षको थिएँ। दाजुले घरमा बासुँरी लिएर आउनुभएको थियो। जानी-नजानी बजाउँथेँ,’ उनले भने, ‘अनि त्यही बासुरीको धुनमा तोतो बोलीमा गीत गाउँथे।’

 ‘ऊ बेला अहिले झैँ बजार र मुरली कहाँ पाउनु? बाँसुरी बनाउनकै लागि थुप्रै बाँसका झाङ चाहर्नुपथ्र्यो। त्यसरी बनाएको बाँसुरी मध्येको एउटा, अहिले पनि मसँग सुरक्षित छ,’ उनले भने, ‘त्यही बाँसुरीको धुन पछ्याउँदै म सङ्गीतको सागरमा पसेँ।’

परिवारमा सांगीतिक माहोल थिएन। बाबु भारतीय सैनिकमा जागिरे थिए। एउटा छोरालाई सैनिकमै लगाउन पाए आफ्नो विरासत धान्छ भन्‍ने विश्वास र आशा परिवारको थियो।

बुवाको विश्वाससामू उनको रहरको तादम्यता मिलेन। तर, बुवाका अगाडि उनले आफ्नो रहर मारे। बुवालाई पछ्याउँदै बैंगलोर पुगेर सैनिक जीवन सुरू गरे। तर, बासुरीको धुनमा रमाउने मान्छे राइफलसँग खुशी हुन सकेनन्। उनी सैनिक जीवनलाई छोडेर स्वदेश फर्किए।

संगीतको भोक नेपाल आएपछि झनै थपियो। त्यसपछि वि.सं.‌ २०५६ सालमा बाँसुरी बोकेर पर्वतको तत्कालिन विकट कुर्घा गाउँबाट खल्तीमा ११ सय बोकेर काठमाडौंको नाइट बस समाते।

‘जब बुवाको मृत्यु भयो अनि जन्म दिने आमालाई दुःख दिन मन लागेन र काठमाडौं आएँ,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘म पिरमा रून्छु। तर, तनावमा रूदिनँ।’

काठमाडौ आउदैँमा कहाँ सपना पुरा हुन्थ्यो र! काठमाडौं सपना फुलाउने कुनै बेलुन थिएन। सपनालाई पुरा गर्न संघर्षकै खाँचो थियो। उनीसँग मिठो स्वर थियो। तर, प्रस्तुत गर्ने ठाउँ थिएन।

काठमाडौं आएर पेट पाल्न पनि गाह्रै थियो। त्रिभुवन सहकारीमा जागिरे, शिक्षक, अन्तराष्ट्रिय विमानस्थल हुँदै उनले अन्ततः दोहोरी साँझमा जागिर पाए।

जागिरकै क्रममा केही रकम जोहो गरेर केही गीतसमेत रेकर्ड गराए। तर, ती गीत हराएर गए। बिमल पनि फ्लप भए। यद्यपी उनले हिम्मत हारेनन्।

साथी डिल्लीराजकै सहयोगमा २०५५ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिए, तर फेल भए। त्यतिबेलै दोहोरी साँझमासमेत परीक्षा दिए, त्यहाँ पनि फेल भए।

‘स्वर परीक्षा र दोहोरीमा नाम निस्किएन। पुरै धर्तिनै कालो जस्तो लाग्यो। तर, पनि मैले हरेस खाइनँ, नाम निस्कने आशा राखिराखेँ,’ उनले हिम्मत हारेनन्।

त्यसपछि फेरि दोहोरी साँझमा परीक्षा दिए, पास भए अनि दोस्रोपटक २०६० सालमा फेरि रेडियो नेपालमा स्वर परीक्षा दिए, त्यहाँ पनि पास भएर देखाए।

तत्कालिन समयमा काठमाडौंमा २ वटा मात्र दोहोरी साँझ भएकाले त्यहाँ जागिर खान पनि स्वर परीक्षा दिनु पर्थ्यो।

२०५७ सालदेखि २०६४ सालसम्म बिभिन्न दोहोरीहरूमा काम गरेँ।  महिनाको १५ सयबाट सुरू गरेका उनले मासिक २५ सयसम्म बूझ्ने भइसकेका थिए।

 ‘मैले दोहोरी साँझमा काम गर्दा कहिल्यै कसैको हेपाई सहनु परेन’, त्यतिखेर स्वर परीक्षा पास गरेर आएकोले होला मलाई त्यस्तो कुनै गाह्रो भएन।’

यसै क्रममा लुम्ले काँडे जाउँ, बल्लै भेट भयो, रानी घाटैमा, हिमाल सेतै छ, औँठी स्वयम्बर, रमिता चलचित्रको 'बनैमा चरी' सम्म आइपुग्दा लगभग चार सय भन्दा बढी गीतमा उनको स्वर गुन्जिसकेको छ।

‘गीतको सङ्ख्या बढाउनु कुनै ठूलो कुरा होइन। गीत दर्शक स्रोताले मन पराउनु गहन कुरा हो’, उनले भने,‘गीतमा गुणस्तरीयता हुनैपर्छ।’

२०५९ सालदेखि ६३ सम्म गायक बिमलराज क्षेत्रीका गीतहरू निकै चर्चित बने। त्यसबेला उनका गीतहरू रेडियोका लोकगीतसम्बन्धी कार्यक्रममा स्रोता, दर्शकका रोजाइमा सबैभन्दा बढी हुन्थे।

गायक क्षेत्रीका गीतहरूमा समाजका कथाव्यथा र मायाप्रीतिको समिश्रण पाइन्छ। उनले आफ्नै घरगाउँका शब्द र भाकालाई पनि गीत बनाएर गाए।

त्यसबेला रोजगारीका लागि खाडीमुलुक र मलेसिया जानेक्रम भर्खर भर्खर सुरु भएको थियो । बरू लुकीछिपी काम खोज्दै जापान जाने नेपालीहरू थुप्रै थिए। बिमलराज क्षेत्रीको एउटा गीत आयो ‘जापान टोकियो...’ यो गीत रोजगारीका लागि विदेशिने नेपालीको भावना प्रतिनिधित्व गर्छ। गीतहरू चर्चित हुँदा स्रोता, दर्शकको माया स्वाभाविक थियो ।

‘मधु बनैमा... सुपारि चाम्रो...., जापान टोकियो...., जस्ता गीत गाइसके पछि उनलाई दर्शक स्रोताले मन पराइदिनुभयो। त्यसपछि सांगीतिक करियरलाई मैले पछि फर्किएर हेर्नु परेको छैन’, उनले भने।

प्रविधिको विकाससँगै नेपाली लोकदोहोरी क्षेत्रमा ठूलो उतारचढाव आएको छ। यसले प्रभाव पारेको छ।

नयाँ प्रविधि विकासको प्रभाव लोकदोहोरी क्षेत्रमा पनि देखिएको भन्दै उनले लोक भन्‍ने कुरा हरेकको जनजिब्रोमा झुन्डिएको हुन्छ। जहाँ मानव छ। त्यहाँ संस्कृति छ। भाषा छ। धर्म हुने बताए।

नेपालको सन्दर्भमा पप र पश्चिमा गीतको प्रभाव बढ्दै गएको भन्दै उनले भने, ‘यो पनि कुनै न कुनै समुदायको संस्कृति हो। कमजोरी के भइदियो भने हामीले तिनै संस्कृतिलाई पछ्याउँदै हिड्यौँ।’

नेपाली संस्कृति पनि झाङ्गिँदै जाने हो भने हामीलाई पछ्याउनेको संख्या पनि बढ्ने उनको दाबी छ।

हरेक क्षेत्रमा सफल हुने वा नहुने भन्‍ने मूख्य जड परिवार हो। इमान्दारीसाथ गरेको आम्दानीले परिवार सन्तुष्ट बनिदियो भने सफल हुन धेरै समय लाग्दैन,' बिमल भन्छन्, 'अभिभावकले सन्तानलाई अनेक दबाब दिदैँमा सन्तान सफल हुँदैनन्। सन्तानको सही लक्ष्यलाई मार्ग दर्शन गर्ने काम अभिभावककै हो।'

रोजीरोटीका लागि नारायण गोपाल, तारादेवी, झलकमान गन्धर्व र धर्मराज थापाहरू पलायन भएको भए आज हामीले नेपाली संगीत भन्‍न पाउने अवस्था नआउने उनले बताए।

ग्रीनकार्ड र चर्चाको लोभले गर्दा नेपाली लोकदोहोरी क्षेत्र धरासायी बन्दै गइरहेको भन्दै उनले चर्चामा आउनेबितिक्कै आफ्नो धरातल भुल्ने प्रवृत्ति बढ्दै गएकोप्रति असुन्तुष्टी पोखे। ‘अग्रजको सम्मान छैन। नयाँ अनुहारलाई सहयोग छैन। अनि कसरी हुन्छ समृद्धि ?', उनी आफैँलाई प्रश्न गर्छन्, 'विकृति छ भने सुधार गर्नुपर्ने दायित्व पनि हाम्रै हो।'

कुनै पनि क्षेत्रमा सफल हुन संघर्ष र त्याग हुनै पर्ने भन्दै उनले लोक संगीतको क्षेत्रमा धेरै गर्न बाँकी रहेको बताए।

‘सगरमाथा चढ्दा बेसक्याम्प आउँनु अगाडि नै हामी हार्‍यौ भने त्यसको कुनै अर्थ हुँदैन। मैले पनि कुनै समय दोहोरी साँझमा काम गर्दा पैसा पाउँदिन थिएँ। कतै सांस्कृतिक कार्यक्रममा जाँदा पनि पैसा आउँदैन थियो। तर, आफ्नो लगनबाट बिचलित भइनँ,’ उनले भने।

‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ’, ४० वर्षे क्षेत्रीले भने, ‘अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ।’

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली