सुकुम्बासी बस्तीका कलिला बालिका जोगाउनै मुश्किल! (भिडियोसहित)

राजधानीको सबैभन्दा व्यस्त कोटेश्वर-जडिबुटी सडकहुँदै अलकति अगाडि भक्तपुरसँग सीमा जोडिएको जडिबुटी पुलबाट बायाँ तिर हेर्‍यो भने देखिन्छ लहरै सुकुम्वासी बस्ति।  

उक्त वस्तीमा बस्ने परिवारलाई यतिबेला आफ्ना स-साना छोरीहरू जोगाउन निकै गाह्रो भइरहेको छ।

लगभग बीस वटा टहरा रहेको उक्त क्षेत्रमा विशेष गरी ज्यामी मजदुरी गर्ने मानिसको बसोबास रहेको छ।

यहाँ विभिन्न उमेरका पुरूषहरू आउने जाने क्रम बाक्लिएको छ। उनीहरूले त्यहाँका बालिकालाई चकलेट, विस्कुट जस्ता खानेकुरा किनिदिने अनि प्रलोभनमा पारी यौन दुर्व्यवहार र बलात्कार गर्ने घटना हिजो आज सामान्य जस्तै भइसकेको छ।

साँझको समयमा मुखमा मास्क लगाएका नौला मान्छे सुकुम्बासी क्षेत्र वरिपरि आउने र यहाँका बालिकालाई फकाएर रेन्टुरेन्ट लगि खाजा खुवाउने अनि उनीहरूलाई यौन दुर्व्यवहार गर्ने घटना सामान्य जस्तै भएको स्थानीय बताउँछन्।

४८ वर्षिया देवीमाया (नाम परिवर्तन) ले गरिबीका कारण गाँउमा छोराछोरी पाल्न समस्या भएपछि दुधे छोराछोरीसहित १० वर्षअघि काठमाडौं आइन्।

‘गाउँबाट आएपछि यहाँ छाप्रो हालेर बसेका छौं। सुरूमा हामी दुबै बुढाबुढी ज्यामी काम गर्थ्यौ। अहिले बुढालाई मुटुको रोगले थला पारेको छ। केही गर्न सक्दैनन्। म काम गरौं कि, यी दुइटी छोरीलाई कुरेर बसौं’, गहभरी आँशु पार्दै भनिन्।

मुटु रोगले थलिएका श्रीमानलाई छोडेर काम गर्न जाने उनी घर फर्कदा छोरीहरू हुन्नन्।

‘बुढा ओछ्यानमै हुन्छन् म दिनभरी घर बनाउने ठाउँमा गएर ढुङ्गा बोक्ने काम गर्छु। साझ आउँदा छोरी घर हुँदिन’, उनले भनिन्।

उनकी कान्छी छोरी रमा (नाम परिवर्तन) ११ वर्षकी भईन्। उनलाई बस्तीमा आउने नौला मान्छेले प्रलोभनमा पारेका छन्। ‘मुखमा मास्क लगाएर आएका अंकलहरूले चकलेट, बिस्कुट र पैसा दिनुहुन्छ अनि मकैबारीमा लगेर फोहोर कुरा गर्न लगाउनुहुन्छ’, उनले भनिन्।

उनकी आमा देवीमायाका अनुसार छोरीलाई फकाएर लैजानेले बलात्कार गर्ने गरेको भन्दै उनीहरू रगत चुहाउँदै घर आएपछि आफूले लामो समयसम्म उपचार गरेर छोरी बचाएको बताइन्।

देवीमायाकी जेठी छोरी १२ वर्षकी भईन्। उनलाई कोही विदेशी आएर कोरिया लगेर पढाइदिने भन्दै फकाएका रहेछन्। ‘गरिब मान्छे छोरीलाई उनीहरूसँग पठाउँ कि जस्तो लागेको थियो। तर, बेच्छन् कि भन्ने डरले पठाउन मन लागेन,’ उनले भनिन्।

उनि अहिले कोटेश्वरको एउटा क्याटरिङ्गमा काम गरिरहेकी छन्।

कुन दिन छोरी पेट बोकेर आउली भन्ने चिन्ताले हिजो आज देवीमायालाई पिरोलेको छ। एकातिर रोगि वुढाको चिन्ता अर्को तिर छोरीहरुको पिर, यही पिरले उनी आफैं मानसिक रोगको सिकारसमेत भएको बताउँछिन्।

‘कुनै संस्थाले छोरी लगेर राखिदिए मलाई आनन्द हुन्थ्यो’, उनले भनिन्।

देवीमायाकी छोरी प्रियाका २ जना साथी छन्। एउटी ९ वर्ष र अर्की ११ वर्षका। उनीहरू दिदीबहिनी हुन्।

‘आमा दिनभरी रक्सीले मातेर बस्नुहुन्छ। बुबा ज्यामी काम गर्नुहुन्छ’, उनीहरूले भने।

ती दुई मध्ये सानी नानी स्थानिय सरस्वती माध्यमिक विद्यालयमा पढ्छिन्। उनी कक्षामा सधै प्रहिलो हुन्छिन्। तर, हिजोआज आफ्नो टोलमा आउने नौला अंकलहरूले विभिन्न प्रलोभन देखाएर नजिकैको मकैबारीमा लगि यौन दुर्व्यवहार गर्ने रहेछन्।

ती नौला अंकलले ५०० दिन्छु भनेर उनीहरूलाई फकाएर मकै बारीमा लग्ने गरेका रहेछन्।

‘पहिलो पटक धारामा पानी थापिरहेको बेला फकाएर मकैबारीमा लगेर आफ्नो सुसु मुखमा हाल्न भने तर हामी भागेर फर्कियौ’, ती बालिकाले भनिन्।

उनीहरूलाई अझै पनि अपरिचित अधवैशे पुरूष र केटाहरू आएर लैजाने गरेको स्थानीय बताउँछन्।

‘आन्टी मलाई धेरै पढ्न मन छ। ममीले रक्सी खाएर पिट्नु मात्र हुन्छ। मलाई हजुरले आफ्नो घर लैजानुस् न, मलाई धेरै पढ्ने मन छ,’ स्तम्भकारसँग ती बालिकाले भनिन्।

यति राम्रो पढ्ने यी साना बालिकाहरू दैनिकजसो यौन दुर्व्र्यवहारमा पर्दा भोलि यिनिहरूको भविष्य कस्तो होला?

काठमाडौं वरपर रहेका सुकुम्बासी बस्तिमा यो समस्या विकराल भएको सामाजिक रूपान्तरणका लागि युवा वाईएसटी नेपालकी कार्यकारी निर्देशक भिक्ट्री थापाले बताइन्। ‘यसको निराकरणका लागि सरकारले संघ संस्थाको मुख ताकेर मात्र हुन्न आफ्ना नागरिकको सुरक्षाको लागि राज्यले पहल गर्नुपर्छ’, उनले भनिन्।

हरेक सुकुम्बासी क्षेत्र वरिपरी प्रहरीको निगरानि बढाउने र यौन दुर्व्र्यवहार गर्नेलाई कडा कारबाही गर्ने हो भने यस्ता घटनामा कमि आउने उनले बताइन्।

विभिन्न संघ संस्थाले कति बच्चालाई लगेर कहिलेसम्म राख्न सक्छ र?, सरकारले यस्ता घटनानै हुन नदिने तर्फ कदम नचाल्दासम्म बालबालिकामाथिको जोखिम बढ्दै जाने उनको तर्क छ।

वाईएसटी नेपालले सुकुम्वासी क्षेत्रमा बसोबास गर्ने जोखिम परिवारका बच्चाहरुलाई पढाईको लागि आर्थिक सहयोग गर्ने र गरिब परिवारको लागि आर्थिक उपार्जनको लागि सहयोग गर्ने काम गर्दै आएको छ।

नेपालको संविधानले बालबालिकाको अधिकारलाई संविधानको मौलिक हक अन्तर्गत राखेर यसको व्याख्या गरेको छ। १८ वर्ष मुनिका वालबालिकालाई उसको सहमतिमै यौन सम्वन्ध राखे पनि त्यसलाई बलात्कार मानी सोही अनुसारको कानुनी सजाय तोकेको छ।

तर यी स-साना कलिला बालिकालाई घरवरीपरीकै  मकैबारीमा लगेर यौन शोषण र बलात्कार गर्दासम्म पीडितलाई कारबाहीको दायरामा ल्याउन नसक्नु राज्यकै कमजोरी हो।

 

Comments

राजेन्द्र पराजुली