सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

दार्चुला सदरमुकामबाट उत्तर–पश्चिममा पर्ने हुती गाउँ प्रवेश गर्न ठूला–ठूला खोला छिचोल्नु पर्ने हुन्छ। बाटामा देखिने मनमोहक झरनाहरूले जो कसैको मन लोभ्याउने गर्दछ। प्रकृतिसँग पौढेजोरी गर्दै यो गाउँ पुग्दा ४ घण्टाको बाटो कतिबेला टुँगियो पत्तै हुँदैन।

भाद्र शुक्लपक्षदेखि सुरू हुने ‘गौंरा पर्व’ सुदूरको सबैभन्दा ठूलो चाडहरूमा पर्छ। यो पर्व भब्यताका साथ मनाइने गरिन्छ। विशेषगरी महिलाहरूले निराहार रहेर यसलाई मनाउने गर्छन्।

यो पर्वले यहाँको भाषा, संस्कृतिलाई पहिचान दिलाउन ठूलो भूमिका खेलेको छ। महिलाहरू गौंरा पर्वको बेला निराहार रहेर पंच अन्न अथवा पंच बेरुडी भिजाएर गौरी–शंकर भगवानको पुजा गरेपछि मात्र ग्रहण गर्ने चलन छ। स्थानीय भाषामा यसलाई बेरुडा भनिन्छ।

गौंराको पहिलो दिन गाउँका बर्तालु महिलाहरू घरबाट निस्किएर धानको खेतमा पुग्ने गर्छन्। र, साँउ टिपी गौरी र शंकर भगवानको प्रतिमा बनाउँछन्। साँउको घासबाट निमार्ण गरिएको गौरी–शंकरको प्रतिमालाई खेतमै पुजा गर्ने चलन छ। 

पछि गाउँको मुखियाको काँधमा गौरी–शंकरको प्रतिमा राखेर घर भित्र्याउने र घर ल्याएपछि पनि उक्त प्रतिमाको पूजा गर्ने गरिन्छ।

सुदूरपश्चिमलगायत दार्चुलामा मनाइने गौंरा पर्वको महत्व यस्तो छ कि, यो पर्व मनाउन  देश–विदेशमा रहेकाहरू घर फर्किने गर्दछन्।

हुती गाउँका महिलाहरू गौरी–शंकरको प्रतिमालाई टाउकोमा राखेर नाच्दैं गाउँदैं गौंरा पूजा गर्ने स्थानसम्म पुग्ने गर्छन्। 

यो पर्वमा पुरुषहरू पनि आफ्नै हिसाबले रमाइरहेका हुन्छन्। गाउँका सबै एकै ठाउँमा बसेर भलाकुसारी गर्छन्।

गौंरा पर्वमा विशेष गरेर बृद्धबृद्धाहरू रातिको समयमा पनि पूजामा लिन हुन्छन्। केही जाग्रामै बस्छन्।

वयश्य भने रातभरी देउडा खेलेर मनको बह पोख्छन्। 

प्राचिन समयदेखि चल्दै आएको हुनाले देउडा संस्कृतिको पनि आफ्नै महत्व छ। युवा–युवती हातमा हात राखी खुट्टामा पैतला मिलाउँदै नाचेको देख्दा लाग्छ, उनीहरू सुदूर संस्कृतिको संरक्षण गर्न ऐक्यबद्ध भएका हुन कि? 

गौरा पर्व समाप्त भएको दिन गाउँभन्दा केही टाढा पर्ने मन्दिरबाट दामहाको तालमा नाच्दैं गाउदैं सम्पूर्ण गाउलेहरू गाउँ फर्किन्छन्।

वास्तवमा सुदूरपश्चिमको पहिचान नै यसको कला, संस्कृति र सभ्यतामा रहेको छ।

हेर्नुहोस् भिडियो रिपोर्ट

Comments

राजेन्द्र पराजुली